
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ २८ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
समाजवादीको महाधिवेशनमा दोहोरो अङ्कमा आर्थिक वृद्धिदर हासिल गर्ने विषयमा बहस
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले कृषि क्षेत्रको उत्पादन वृद्धि, न्यायपूर्ण वितरण तथा हरित ऊर्जाको प्रयोगलाई जोड दिने गरी नीति तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
आइतबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनको बन्द शत्रमा नेता तथा कार्यकर्ताले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउने तथा छोटो समयमै दोहोरो अङ्कमा आर्थिक वृद्धिदर हासिल गर्न सकिने विषयलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।
अर्बिट इनर्जीले आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणमा ५० लाख कित्ता आईपीओ निष्कासनको तयारी गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरू समेत सर्वसाधारणका लागि उल्लेखित कित्ता आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको छ । माघ २९ गते कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्रीप्रबन्धकमा नियुक्त गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
साताको दोस्रो दिन पनि शेयर बजारमा ओरालो , नेप्से परिसूचक २६७७. ३२ बिन्दुमा कारोबार घटेर ७ अर्ब मुनि
काठमाडौँ । आज साताको दोस्रो दिन पनि शेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचकमा १०.९८ बिन्दुले गिरावट आएको हो । सोमबार नेप्से परिसूचक २६७७.३२मा अडेको छ । सोमबार कारोबार पनि घटेको छ । सोमबार कुल कारोबार ६ अर्ब ९६ करोड २ लाख ९२ हजार २ सय ३५ रुपैया तीन पैसा बराबर रहेको छ । सोमबार कुल १ करोड ४४ लाख ४३ हजार ७ सय ३५ कित्ता शेयरको खरिद बिक्री भएको हो ।
हिजो साताको पहिलो दिन पनि शेयर बजार ओरालो लागेको थियो । साथै कारोबार पनि घटेको थियो ।
आँखुखोला जलविद्युत कम्पनीको खुद नाफा २२.५० प्रतिशतले बढ्यो
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिमा तुलनामा २२.५० प्रतिशत धेरै हो ।
कम्पनीको वित्तीय खर्च ५ करोड ७२ लाखबाट घटेर ४ करोड ६६८ लाख रुपैयाँमा झरेको छ । यसले गर्दा नाफा बढ्नमा टेवा पुगेको छ । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी भने १० करोड ७६ लाखबाट घटेर ९ करोड २१ लाख रुपैयाँमा झरेको छ ।
रिडी पावर कम्पनीले दोस्रो त्रैमाससम्म कमायो २ करोड ४९ लाख रुपैयाँ खुद नाफा
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा २ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यसअवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेपछि नाफामा चुलिएको हो । गत वर्ष ९ करोड ८२ लाख रहेको उक्त आम्दानी अहिले बढेर १८ करोड ६७ लाख कायम भएको छ ।
सिटिजन लाइफ इन्सुरेन्सको खुद नाफा ८६.७८ प्रतिशतले बढ्यो
काठमाडौं ।चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सिटिजन लाइफ इन्सुरेन्सले २३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ८६.७८ प्रतिशतले धेरै हो ।
यसको लगानी तथा कर्जाबाट हुने आम्दानी वृद्धि हुँदा यसको खुद नाफा बढेको हो । एक वर्षमा लगानी तथा कर्जाबाट हुने आम्दानी २८.३३ प्रतिशतले बढेर ९५ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
खुद बिमा शुल्क आर्जन २३.६९ प्रतिशतले बढेर ३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ३ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ८३ करोड ८० लाख रुपैयाँ रहेको छ ।
तीन कम्पनीको १ करोड भन्दा बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा तीन कम्पनीको कुल १ करोड २ लाख १० हजार ४८९ दशमलव १८ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
सोल्टी होटलको ९२ लाख ९० हजार ८९९ कित्ता, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ६ लाख ११ हजार ६०५ दशमलव ८५ कित्ता र मन्दाकिनी हाइड्रोपावरको ३ लाख ७ हजार ९८४ दशमलव ३३ कित्ता गरेर कुल १ करोड २ लाख १० हजार ४८९ दशमलव १८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
अनलाइन जुवा खेलाएको आरोपमा २३ जना भारतीय पक्राउ
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका–३ स्थित एक घरमा अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले हिजो रातिदेखि आज बिहानसम्म गरिएको अपरेशनमा २३ जनालाई पक्राउ गरी उनीहरूसँग रहेका ८८ मोबाइल, १० ल्यापटप र रु ८१ हजार नगद बरामद गरिएको जानकारी दिनुभयो ।
प्रतिनिधिसभाद्वारा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ सर्वसम्मत पारित
काठमाडौँ ।प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । सभाको आजको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामुख घिमिरेको अनुमतिमा उक्त विधेयक पारित गर्न प्रस्ताव पेस गर्नुभएको थियो । उहाँले यस विधेयक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको सदनलाई जानकारी दिनुभयो ।
भारतको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जामन्त्री नयाँदिल्ली प्रस्थान
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ‘इन्डिया इनर्जी विक–२०२५’ मा भाग लिन नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतको राजधानी नयाँदिल्लीमा यही माघ २९ देखि सञ्चालन हुन लागेको ऊर्जा सप्ताहमा भाग लिन मन्त्री खड्का आज दिउँसो नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयको संरक्षकत्व तथा भारतीय पेट्रोलियम उद्योग महासङ्घको आयोजना हुन लागेको उक्त सम्मेलनमा भारतको कम कार्बन वृद्धि अर्थ व्यवस्थाको लागि अग्रगामी मोडेलको विषयमा छलफल हुनेछ । ऊर्जा पहुँच, सुरक्षा, किफायती र दिगोपनको लागि भारत सरकारको प्रतिबद्धतालाई उक्त कार्यक्रमले थप उजागर गर्नेछ । भारतको ऊर्जा सप्ताहले सबैका लागि स्वच्छ ऊर्जा भविष्यतर्फ प्रेरित गर्ने बताइएको छ ।
क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत सुनिश्चित गर्दै सरकार
काभ्रेपलाञ्चोक। सरकार क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउन लागेको छ । गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त राजमार्ग पुनःनिर्माणका लागि सरकार स्रोत जुटाउन लागिपरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले सडक कुन मोडालिटीमा कसरी पुनःनिर्माण गर्ने भन्ने विषयमा निक्र्योल गर्न निरीक्षण गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा डिभिजन सडक कार्यालय भक्तपुरको टोलीले शनिबार क्षतिग्रस्त सडकको अनुगमन समेत गरेको छ । सडक अनुगमनमा क्रममा मन्त्री दाहालले करिब एक हप्तामा सडक पुनःनिर्माणका लागि स्रोत सुनिश्चितता हुने बताउनुभयो । “करिब एक हप्तामा सरकारद्वारा क्षतिग्रस्त सडक पुनःनिर्माणको स्रोत सुनिश्चितता हुनेछ, त्यसपछि प्रक्रियामा लाग्नेछौँ”, दाहालको भनाइ उद्धृत गर्दै कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले भन्न्नुभयो । योगेशका अनुसार एक हप्तामा क्षतिग्रस्त सडक पुनःनिर्माणको स्रोत सुनिश्चितता भए प्रक्रियागत रूपमा अघि बढ्दा आउँदा वैशाखसम्म ठेक्का लगाइ स्थायी पुनःनिर्माण थालिनेछ ।
डेटा सेन्टर तथा क्लाउड सेवा दिन संस्थाहरू सूचीकरण हुनुपर्ने प्रावधान ल्याउँदै सरकार
काठमाडौँ । सरकारले डेटा सेन्टर तथा क्लाउड सेवा दिने संस्थाहरू अब सूचीकरण हुनुपर्ने प्रावधन ल्याउन लागेको छ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डेटा सेन्टर तथा क्लाउड सेवा (संचालन तथा व्यवस्थापन) निर्देशिका ल्याउँदै अब डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकले सेवा सुरु गर्नुअघि नै सूचना प्रविधि विभागमा सूचीकरण हुनुपर्ने व्यवस्था गरेको हो।
डेटा सेन्टर संचालन गर्न चाहने सेवा प्रदायक कम्पनीले विभिन्न १३ वटा विषयको विवरणसहित विभागमा सूचीकरणका लागि निवेदन दिनुपर्ने भएको छ। गरिएको व्यवस्था अनुसार क्लाउड सेवा दिन चाहनेले विभिन्न ९ वटा विवरणसहित निवेदन विभागमा बुझाउनुपर्ने छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवस : सुशासन पुरस्कारबाट सुदर्शन आचार्य,रमेश धमला,टपेन्द्र कार्की र नवराज मैनाली पुरस्कृत , अन्य को को भए पुरस्कृत ?
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा सुशासनको पक्षमा कलम चलाउने चारजना संचारकर्मीलाई पुरस्कृत र सम्मान गरिएको छ । आयोगले आफ्नो ३४ औँ स्थापना दिवसको अवसरमा स्तम्भकार तथा लेखक सुदर्शन आचार्य, कान्तिपुर टेलिभिजनका रमेश धमला, नागरिक दैनिकका वरिष्ठ संवाददाता टपेन्द्र कार्की र नयाँ पत्रिका दैनिकका नवराज मैनालीलाई भ्रष्टाचार नियन्त्रण र सुशासन अभिवृद्धिमा लेखमार्फत योगदान पुर्याएकोमा पुरस्कार प्रदान गरेको हो ।
प्रभु महालक्ष्मी लाइफको १ लाख ५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख ५ हजार ४०७ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र खरीद आवेदन पेश गर्न सक्नेछन् ।
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छः मन्त्री भण्डारी
काठमाडौँ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा मन्त्री भण्डारीले नवनियुक्त राजदूतका रूपमा तोरुको स्वागत गर्दै नेपालले सदैव जापानसँगको आपसी हितका सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिइआएको बताउनुभयो । “भूकम्पलगायत प्राकृतिक विपत्तिमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति हामी आभारी छौँ, नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको छ”, मन्त्री भण्डारीले भन्नुभयो, “हामी औद्योगिक विकास, निर्यात प्रतिस्पर्धी क्षमता विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ ।” उहाँले मानव संसाधन विकासमा जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति (जेडिएस) योजनाअन्तर्गत विभिन्न क्षेत्रमा नेपालका सरकारी अधिकारीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएकामा जापान सरकारप्रति आभार प्रकट गर्नुभयो ।
दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनबीच व्यापारिक लडाइँ , आयात निर्यातमा कस्तो असर पर्ला ?
काठमाडौँ । चीनले अमेरिकाको अतिरिक्त भन्सार महसुलको जवाफमा अमेरिकामा उत्पादित वस्तुको आयातमा थपेको आयात कर सोमबारदेखि कार्यान्वयनमा आएको छ ।अमेरिकाले चिनियाँ उत्पादनहरूको अमेरिका आयातमा अतिरिक्त भन्सार महसुल थपेको विरोधमा यसअघि चीनले फेब्रुअरी १० देखि लागु हुने गरी गरिएको घोषणा सोमवारदेखि कार्यान्वनमा आएको हो ।विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध बढ्दै गएको र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कैयौँ देशहरूबाट हुने आयातमा थपशुल्क लगाउने धम्की दिइरहेका बेला चिनियाँ सरकारको निर्णय कार्यान्वयन भइरहेको छ ।
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार छ सय तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij