काठमाडौँ । अर्थमन्त्रालयका सचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई ल्याइएको छ ।अर्थमन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालय सरुवा गरिएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव हेरफेरको निर्णय गरेको जनाइएको हो ।
अख्तियारमा सचिवको रूपमा कार्यरत उपाध्यायलाई सरकारले देशको आर्थिक नीति, बजेट व्यवस्थापन, राजस्व नीतिहरू बनाउनु पर्ने जिम्मेवारी ल्याउने निर्णय गरेको छ । आर्थिक प्रशासनमा राम्रो अनुभव सँगालेका भनिएका उपाध्यायले यसअघि कर्णाली प्रदेशको अर्थ सचिव भएर एक वर्ष काम गरिसकेका छन् । यसैगरी बागमती प्रदेशको प्रमुख सचिवका रूपमा पनि एक वर्ष जिम्मेवारी सम्हालेका उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिवको रूपमा चार महिना र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सात महिना सचिवको रूपमा कार्य गरिसकेका छन् ।
यसैगरी उपाध्यायले ललितपुर र काठमाडौँको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समेत सम्हालिसकेका छन् । यसअघि अर्थ सचिवको जिम्मेवारीमा रहेका डा. घिमिरे राष्ट्रपति कार्यालयमा सरुवा भएर जाँदा राष्ट्रपतिको कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवको जिम्मेवारी दिई पठाइएको जनाइएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले सहसचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेको छ । लुम्बिनी प्रदेश सरकारको कामु प्रदेश सचिव रहेका अधिकारी सचिवमा बढुवा भएका हुन् । बढुवा सिफारिस समितिको बिहीबारको बैठकले प्रशासनतर्फ रिक्त सचिवमा बढुवाका लागि अधिकारीसहित मदन भुजेल र चन्द्रकला पौडेलको नाम सिफारिस गरेको थियो । अधिकारी बढुवा भएका हुन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij