
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज मंगलबार माघ २९ । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
धरहरा चढ्ने समय बढ्यो, रु एक करोड ५२ लाख राजस्व असुल
काठमाडौँ । गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो ।
यही माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्ने गरिएको थियो । अहिले समय थप गरी ४ः१५ बजेसम्म टिकट काट्ने पाइने र साँझ ५ बजेसम्म चढ्न पाइने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार सञ्चालनको तीन महिना नपुग्दै प्रवेश शुल्कबापत रु एक करोड ५२ लाख राजस्व सङ्कलन भएको छ ।
गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएका ऐतिहासिक धरहराबाट यही माघ २४ गते बिहीबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको निर्देशक अर्यालले बताउनुभयो । प्रत्येक बुधबार धरहरा बन्द रहने भन्दै अन्य दिन यहाँ आउने नागरिकको सङ्ख्या दैनिक एक हजार दुई सयको हाराहारीमा रहेको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् । धरहरा चढ्न प्रतिव्यक्ति रु दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु पाँच सय र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति रु एक हजार शुल्क अर्यालले बताउनुभयो । उहाँका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति ९गठन० आदेश, २०८१ बमोजिम शुल्क लिइ धरहरा सञ्चालनमा ल्याइएको हो । गत मङ्सिर ६ गतेको मन्त्रिपरिषद् बैठकले धरहरा खुला गर्ने र शुल्क स्वीकृत गर्ने निर्णय गरेको थियो ।
उक्त स्थानमा पार्किङ गर्दा चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० र दुईपाङ्गे्र सवारीका लागि रु १० तोकिएको छ । धरहरा परिसरमा प्रवेशका लागि रु ५० निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु पाँच हजार तोकिएको छ भने व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा रु पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा रु एक हजार तोकिएको निर्देशक अर्यालले उल्लेख गर्नुभयो ।
अमेरिकी डलरको भाउ पुनः बढ्यो
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३९ रूपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रूपैयाँ २७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४४ रूपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ४४ रूपैयाँ ९५ पैसा तोकिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रूपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ७४ रूपैयाँ १५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रूपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ २० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रूपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ २३ पैसा र बिक्रीदर एक सय तीन रूपैयाँ ६७ पैसा निर्धारण गरिएको छ ।
सुनको मूल्य बढ्दा चाँदीको घट्यो, आज सुन प्रतितोला रू एक लाख ७० हजार दुई सय
काठमाडौँ ।सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू छ सय बढेको हो । सोमबार प्रतितोला रू एक लाख ६९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने प्रतितोला रू ३० घटेको छ । आज चाँदीको मूल्य प्रतितोला रू एक हजार नौ सय ४५ निर्धारण गरिएको छ ।
एस.के. इनर्जीले २० करोड ८० लाखको आइपीओ निष्कासन गर्ने
काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ८० हजार कित्ताले हुन आउने २० करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको हो । जसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सेयर निष्कासन सम्बन्धी सम्झौतामा एस।के। इनर्जीका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरे ।
चन्द्रागिरी हिल्स लिमिटेडको खुद नाफा ५.७८ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा चन्द्रागिरी हिल्स लिमिटेडले ६ करोड ६४ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमाभन्दा ५.७८ प्रतिशतले बढी हो ।
पुस मसान्तसम्म आइपुग्दा यसको आम्दानी भने ७।५६ प्रतिशतले घटेर ४२ करोड २५ लाख ३७ हजार रुपैयाँमा आएको छ । गत वर्ष यसैअवधिमा यस कम्पनीले ४५ करोड ७५ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
प्रशासनिक खर्च घट्दा आम्दानीमा गिरावट आए पनि यसको खुद नाफा बढेको हो । १ वर्षको अवधिमा यस कम्पनीको प्रशासनिक खर्च ८.५५ प्रतिशतले घटेर ५ करोड २१ लख रुपैयाँमा आएको छ ।
आन्तरिक राजस्व र भन्सार विभागका महानिर्देशकसहित १७ सहसचिवको सरुवा
काठमाडौं । आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकहरूको सरुवा भएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थसचिवसँगै आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक पनि हटाएका हुन् ।
सोमबार बसेको मन्त्रिरिषद् बैठकबाट आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई सामान्य प्रशासन मन्त्रालय तथा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको हो ।तत्काल यी दुई महानिर्देशकका लागि जिम्मेवारी तोक्ने काम नभएको जनाइएको छ ।
सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क र बढी हुने साउथ सुडान
काठमाडौँ ।विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क र सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा साउथ सुडान देखिएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कअनुसार एक सय ८० देश सम्मिलित यस सूचकाङ्कमा डेनमार्क विगत सात वर्षदेखि लगातार ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा रहेको छ । यस्तै, साउथ सुडान आठ अङ्क प्राप्त गरी यस वर्ष सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा दर्ज भएको छ ।
दक्षिण एसियाली मुलुकहरूमा भुटानले ७२ अङ्क, भारतले ३८ अङ्क, मालदिभ्सले ३८ अङ्क, नेपालले ३४ अङ्क, श्रीलङ्काले ३२ अङ्क, पाकिस्तानले २७ अङ्क, बङ्गलादेशले २३ अङ्क र अफगानिस्तानले १७ अङ्क प्राप्त गरेका छन् । छिमेकी चीनले ४३ अङ्क प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
विशाल बजार कम्पनी लिमिटेडको १४ प्रतिशत लाभांश घोषणा
काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले १४ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले १४ प्रतिशत अन्तरिम नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते साधारण सभा पनि बोलाएको छ ।
सभा त्रिभुवन आर्मी अफिसर क्लब, सन्धार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा लाभांश प्रस्ताव पेश हुनेछ । साथै, आर्थिक वर्ष २०७०–७१ देखि २०७५-७६ सम्मको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ र २०८१-८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सगरमाथा लुम्बिनी इन्सुरेन्सको खुद नाफा ६७.२१ प्रतिशतले घट्यो
काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ६७.२१ प्रतिशतले थोरै हो । गत वर्ष यसले २० करोड रुपैयाँ नाफा कमाएको थियो । यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने १.०२ प्रतिशतले बढेको छ ।
अर्थमन्त्रालय , अख्तियार र राष्ट्रपति कार्यालयका सचिवहरूको जिम्मेवारी हेरफेर
काठमाडौँ । अर्थमन्त्रालयका सचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायलाई ल्याइएको छ ।अर्थमन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालय सरुवा गरिएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सचिव हेरफेरको निर्णय गरेको जनाइएको हो ।
अख्तियारमा सचिवको रूपमा कार्यरत उपाध्यायलाई सरकारले देशको आर्थिक नीति, बजेट व्यवस्थापन, राजस्व नीतिहरू बनाउनु पर्ने जिम्मेवारी ल्याउने निर्णय गरेको छ । आर्थिक प्रशासनमा राम्रो अनुभव सँगालेका भनिएका उपाध्यायले यसअघि कर्णाली प्रदेशको अर्थ सचिव भएर एक वर्ष काम गरिसकेका छन् । यसैगरी बागमती प्रदेशको प्रमुख सचिवका रूपमा पनि एक वर्ष जिम्मेवारी सम्हालेका उपाध्याय श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिवको रूपमा चार महिना र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सात महिना सचिवको रूपमा कार्य गरिसकेका छन् ।
शेयर बजार : नेप्से परिसूचकमा ६.५४ अंकले बढेर २६८३.८६ बिन्दुमा,७ अर्ब २४ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ६.५४ अंकले बढेर २६८३.८६ बिन्दुमा आएको छ ।आज ७ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ५ वटा समूहका सूचक सकारात्मक बनेका छन् । विकास बैंक समूहमा सबैभन्दा बढी भएको छ ।
यस दिन २ सय ९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३६ करोड ८१ लाखसहित कारोबार रकममा सीइडीबी होल्डिङस अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः न्यादी हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर परेका छन् ।
हिमालयन डिष्टिलरीको खुद नाफा नाफा १४७ प्रतिशतले बढ्यो
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १४७ प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीले रू १६ करोड ३६ लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू ४० करोड ४९ लाख पुगेको छ । चालू आवमा कम्पनीको बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij