
काठमाडौँ । अधिकांश बैंकहरूले ब्याज दर फागुन महिनामा स्थिर राखेका छन् । दुई बैंकहरूले मात्र हेरफेर गरेका छन् । लक्षमी सनराइज ५.७५बाट ५.५ प्रतिशतमा झारेको छ भने ग्लोबल ग्लोबल आइएमईले ५.७५बाट ६ प्रतिशतमा बढाएको हो ।पछिल्ला महिना ब्याजदर घट्ने क्रम रोकिँदै आएको देखिएको छ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि सार्वजनिक गरेको सूचीअनुसार १८ बैंकहरूको ब्याजदर स्थिर माघ महिनाका लागि तय गरिएजस्तै रहेको छ । बाँकी दुई बैंकमा शून्य दशमलव दुई पाँच प्रतिशतले ग्लोबल आईएमई बैंकको ब्याजदर बढेको छ भने लक्ष्मी सनराइजको घटेको छ ।
यसअघि माघ महिनामा पनि १८ बैंकको ब्याजदर स्थिर थियो । पुस महिनामा १४ बैंकको स्थिर थियो भने मंसिर महिनामा ८ बैंकले स्थिर राख्दा ११ बैंकले घटाएका थिए । समग्रमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर माघ र फागुनको बराबर छ । बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम औसत ब्याजदर ६.० प्रतिशत छ । माघमा पनि ६.० प्रतिशत नै रहेको थियो ।
व्यक्तिगत मुद्दतीमा ५ वर्षमाथिको अवधिका लागि केही बढी ब्याजदर तोकिएको देखिन्छ भने न्यून अवधिको ब्याजदर पनि कम छ । फागुन महिनाका लागि व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर एनएमबी र एनआईसी एसियाको सबैभन्दा धेरै ६.६ प्रतिशत रहेको छ । जुन लामो अवधिका लागि हो ।
राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ ।संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन पाउने छन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता कायमै रहेकाले बैंकहरूले ब्याजदर स्थिर राखेको देखिएको छ । अबका केही महिना नै ब्याजदर प्रायः स्थिर नै रहने अनुमान गरिएको छ । पछिल्लो पटक बैंकहरुबाट जाने कर्जा रकम भने बढ्न थालेकोले बैंकहरूले ब्याजदर घटाउन रोकेका छन् ।नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष साउनदेखि पुस मसान्तसम्म कुल २ खर्ब ६५ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाहित भएको छ
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij