
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज माघ ३० बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १५ निर्णयहरू(सूचीसहित)
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । माघ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका हुन् । बैठकले बिमा नियमावली, २०८१ स्वीकृत लगायत १३ निर्णय गरेको छ ।
उही समयमा आज घटेको शेयर बजार फेरि बढ्यो , नेप्से परिसूचक २६८५.७३ बिन्दुमा उक्लियो,कारोबार ८ अर्ब ७१ करोड बढी
काठमाडौँ । आज शेयर बजार फेरि बढेको छ । हिजो बढेको बजार आज १.८६ बिन्दुले बढेर २६८५.७३ बिन्दुमा उक्लिएको हो । आज कारोबार ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार ६२ रुपैया ६८ पैसा बराबर भएको छ । उक्त कारोबारका लागि १ करोड ५५ लाख २० हजार ५सय ५९ कित्ता शेयरको खरिद भएको छ ।तर नेप्सले आजै मार्केट क्लोजको संकेत गरेर सार्वजनिक गरेको बजारको अवस्था १.११ बिन्दुले तल झरेर २६८२.७५ बिन्दुमा अडिएको दर्शाएको थियो ।
सीइडीबी होल्डिङ्स लिमिटेडको खुद नाफा २९०.५८ प्रतिशतले बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सीइडीबी होल्डिङ्स लिमिटेडको खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा २९०.५८ प्रतिशतले बढेर २० करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो । यसअवधिमा कम्पनीको सेवा शुल्क, ब्याज र अन्य आम्दानी २२४.३२ प्रतिशतले बढेर २३ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा चुक्ता पुँजी २३.२१ प्रतिशतले बढेर १ अर्ब ३ करोड ४२ लाख ३७ हजार रुपैयाँ पुगेको छ । यसको रिजर्भ कोषमा १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।
स्कुलबस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४० घाइते
चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन छलफल
काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट सङ्ख्या वृद्धि गर्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने यसघिको आयोगको निर्णय कार्यान्वयनको सहजीकरणका लागि विदेशी विद्यार्थीको सङ्ख्या बढाउने प्रस्ताव आएको हो । यसबारे छिट्टै बस्ने आयोगको बैठकमा प्रस्ताव आउनेछ । हालसम्म मेडिकल कलेजले १० प्रतिशतको सङ्ख्यामा विदेशी विद्यार्थी अध्यापन गराउने प्रबन्ध रहेको छ ।
लुम्बिनी र गण्डकी प्रदेश सरकार संयुक्त बैठकः गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनमा साझा सहमति
लुम्बिनी । लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच संघीय सरकारले अघि सारेको भरतपुर–बुटवल–पोखरा क्षेत्रलाई समेटी गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनको पहलका लागि साझा सहमति गरेका छन् ।
लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच पहिलोपटक पाल्पाको ऐतिहासिक दरबार रानीमहलमा आयोजना गरिएको संयुक्त बैठकमा संघीय सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अघि सारेको गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयन गर्ने सहमति गरिएको हो ।
सरकारले चालु आवको बजेट वक्तव्यमार्फत एकीकृत विकासको अवधारणाअनुसार नमूना विकास अभियान सञ्चालन गर्न भरतपुर–बुटवल–पोखरालाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गरिने घोषणा गरेको थियो । परियोजनालाई सार्वजनिक निजी साझेदारीको नमुना परियोजनाका रुपमा विकास गरी कार्यान्वयन गर्न रु दुई अर्ब विनियोजन गरिएको बजेट वक्तव्यमा घोषणा गरिएको थियो ।
‘बैंक तथा वित्तीय संस्थाले ऋणीको धितो लिलामी प्रक्रिया पारदर्शी बनाउनुपर्छ’
वीरगञ्ज । बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा कानुनी र विश्वसनीय ढङ्गले गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा आज यहाँ आयोजित बैंक तथा वित्तीय संस्थाका प्रादेशिक प्रमुख तथा प्रतिनिधिसँगको अन्तरसंवाद कार्यक्रमका वक्ताहरूले बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा देखावटी रूपमा मात्रै नभएर विश्वसनीय ढङ्गले गर्नुपर्ने बताएका हुन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा पारदर्शिता र विश्वसनीयता कायम गर्नुपर्ने बताउनुभयो ।
नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन
काठमाडौँ ।नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि सङ्घले आन्दोलन स्थगित गरेको हो ।
उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र सङ्घका पदाधिकारीबीच भएको छलफलमा सङ्घले राखेका जायज माग सम्बोधन गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ ।
सङ्घले आन्दोलन घोषणा गरेपछि मन्त्री भण्डारीले निगम र सङ्घका पदाधिकारीलाई छलफलका लागि बोलाउनुभएको थियो । उहाँले सङ्घले राखेकामध्ये जायज माग सम्बोधन गर्ने आश्वासन दिनुभयो ।
खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न
काठमाडौँ। खानेपानीको थोक प्राणालीको पाइप फुट्दा काठमाडौँको बबरमहल क्षेत्र जलमग्न भएको छ । आज दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारहरू अण्डरग्राउण्ड गर्नका लागि ‘होेरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको हो ।
माथिल्लो त्रिशुली प्रथम जलविद्युत आयोजनाद्वारा समुदायिक सहयोगमा १७ करोड खर्च
काठमाडौँ । आयोजना प्रभावित क्षेत्रमा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले हालसम्म करिब १७ करोड रुपैयाँ बराबरको सामुदायिक सहयोग गरेको छ। रसुवामा निर्माणाधीन यो आयोजना २१६ मेगावाट क्षमताको हो।आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले सामुदायिक सहयोग कार्यक्रम (एसएसपी), संस्थागत सामाजिक उत्तरदायित्व र आदिवासी समुदाय योजना कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको हो । कम्पनीले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, संस्कृति जर्गेना, राहत वितरण, जीविकोपार्जन तथा आयआर्जन वृद्धि लगायतका कार्यक्रम मार्फत प्रभावित क्षेत्रमा सामुदायिक सहयोग गर्दै आएको छ ।
बुढानीलकण्ठ नगरपालिकाको चौथो रोजगार तथा वृत्ति मेलाको तयारी पूरा
काठमाडौँ । २०७८ सालदेखि शृङखलाबद्ध रुपमा वृत्ति मेला आयोजना गर्दै आइरहेको बुढानीलकण्ठ नगरपालिकाले यही फाल्गुण २ र ३ गते चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गर्न गइरहेको छ। शिक्षा, सिप र उद्यमशीलता; रोजगारी हाम्रो प्राथमिकता भन्ने नारा सहित चौथो रोजगारी तथा वृत्ति मेला आयोजना गर्न गइरहेको यस नगरपालिकाले यसपालिको मेलामा युवा रोजगारीलाई विशेष प्राथमिकतामा राखिएको छ।
सीमा क्षेत्रमा कडाइ गर्न पोल्ट्री व्यवसायीद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र
चितवन।यहाँका व्यवसायीले भारतमा पोल्ट्री व्यवसायमा बर्डफ्लु देखा परेपछि रोग भित्रिन नदिनका लागि सीमा क्षेत्रमा कडाइ गर्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका छन् । नाकाहरूबाट सेतो अण्डा, मासु र चल्ला अवैध रूपमा चोरी निकासी हुँदा पोल्ट्रीजन्य पदार्थसँगै रोग भित्रिन सक्ने भन्दै व्यवसायीले आज गृहमन्त्रीलाई भेटी सीमा क्षेत्रमा कडाइ गर्नुपर्नेमा ध्यानाकर्षण गराएका हुन् । भेटका क्रममा गृहमन्त्री लेखकले प्रहरी सङ्गठनका प्रमुखहरूलाई आजै बोलाएर सीमा क्षेत्रबाट अवैध रूपमा कुनै पनि पोल्ट्रीजन्य पदार्थ भित्रिन नदिन निर्देशन दिने बताउनुभयो । यसअघि पनि यो विषयमा जानकारी प्राप्त गरेको भन्दै उहाँले नेपालमा रोग भित्रिन नदिन प्रशासनले गर्ने काममा कुनै कमी हुन नदिने आश्वासन दिनुभएको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले बताउनुभयो । पोखरेलले भन्नुभयो, “गृहमन्त्रीले हामीलाई आश्वस्त पार्नुभएको छ, हामी ढुक्क भएर फर्किएका छौँ ।” उहाँका अनुसार भारतको उत्तर प्रदेश र विहारमा बर्डफ्लु देखिएको छ । नेपालका सीमा क्षेत्र र नजिकका बजारमा ३० प्रतिशतभन्दा बढी भारतीय सेतो अण्डा आउने गरेकाले सीमामा कडाइ गर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । रोगको जोखिम र नेपालीको अण्डाको बजार समेत प्रभावित हुने भएपछि गृहमन्त्रीको ध्यानाकर्षण गराइएको पोखरेलले बताउनुभयो ।
नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’मा सहमति
काठमाडौँ ।नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति भएको छ । नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट विद्युत् निर्यातका लागि आवश्यक प्रसारण लाइन निर्माणका लागि मङ्गलबार भारतको नयाँदिल्लीमा नेपाल र भारतबीच सचिवस्तरीय बैठकमा प्रसारण लाइन निर्माण ‘मोडालिटी’बारे सहमति भएको हो । नेपाल र भारतबीच भएको सचिवस्तरिय बैठकमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र भारतको विद्युत् मन्त्रालयका सचिव पङ्कज अग्रवालले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । दुई देशको सचिवस्तरीय वार्ता र सहमतिसँगै अब प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि गत कात्तिक १८ देखि २१ गतेसम्म उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारत भ्रमणका क्रममा अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि भारत सरकारका मन्त्रीहरुसँग छलफल गर्नुभएको थियो ।
बङ्गलादेशी अन्तर्राष्ट्रिय महिला क्रिकेटर सोहेलीलाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको प्रतिबन्ध
दुबई । बङ्गलादेशकी अन्तर्राष्ट्रिय खेलाडी सोहेली अख्तरलाई आइसिसीको भ्रष्टाचार विरोधी संहिताको पाँचवटा उल्लङ्घन गरेको स्वीकार गरेपछि पाँच वर्षका लागि सबै प्रकारका क्रिकेटबाट प्रतिबन्धित गरिएको खेलको नियामक निकायले जनाएको छ । अख्तरले सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको महिला टी–२० विश्वकपमा एक बङ्गलादेशी खेलाडीलाई हिट विकेट आउट हुन १३ हजार पाउन्ड (१६ हजार डलर) को प्रस्ताव गरेकी थिइन् ।
संसदीय सुनुवाइबिना नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामा सुनुवाइ हुँदै
काठमाडौं। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा संसदीय सुनुवाइबिना नियुक्त भएका ५२ जना संवैधानिक पदाधिकारी विरुद्धको मुद्दामा सुनुवाइ भइरहेको छ।
अधिवक्ता ओमप्रकाश अर्याल र अन्यले दर्ता गरेको रिट निवेदन बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका लागि पेश भएको हो। चारवटा निवेदन मध्ये पहिलो निवेदन महान्यायाधिवक्ता कार्यालयले स्थगित गरेको छ। अहिले दोस्रो मुद्दाको सुनुवाइ भइरहेको छ।
डडेलधुराको आलिताल गाउँपालिका र स्याङ्जाको वालिङ नगरपालिकासँग सम्बन्धित निवेदन पालोमा छन्। वालिङ नगरपालिकासँग सम्बन्धित मुद्दाको सुनुवाइ पनि स्थगित भएकाले संवैधानिक इजलासले ५२ जना संवैधानिक पदाधिकारी विरुद्धको निवेदनमा सुनुवाइ गर्ने निर्णय गरेको छ।
अधिकांश बैंकहरूको फागुन महिनामा पनि ब्याज दर स्थिर, एकले बढायो र एकले घटायो
काठमाडौँ । अधिकांश बैंकहरूले ब्याज दर फागुन महिनामा स्थिर राखेका छन् । दुई बैंकहरूले मात्र हेरफेर गरेका छन् । लक्षमी सनराइज ५.७५बाट ५.५ प्रतिशतमा झारेको छ भने ग्लोबल ग्लोबल आइएमईले ५.७५बाट ६ प्रतिशतमा बढाएको हो ।पछिल्ला महिना ब्याजदर घट्ने क्रम रोकिँदै आएको देखिएको छ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि सार्वजनिक गरेको सूचीअनुसार १८ बैंकहरूको ब्याजदर स्थिर माघ महिनाका लागि तय गरिएजस्तै रहेको छ । बाँकी दुई बैंकमा शून्य दशमलव दुई पाँच प्रतिशतले ग्लोबल आईएमई बैंकको ब्याजदर बढेको छ भने लक्ष्मी सनराइजको घटेको छ ।
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा
बेलबारी (मोरङ) । कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत पुस २६देखि माघ १ गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस २०२५’ अन्तर्गत आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई सय ५० को चरा फेला परेका छन् । गत वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ चरा फेला परेका थिए । गणनाका क्रममा यस वर्ष सबैभन्दा धेरै चखेवा जातका चरा एक हजार ६८ र सबैभन्दा कम सेतोकण्ठे गरुड, पानीचाहा, चित्राङ्गद र फुस्रो टिकटिके चरा एउटा–एउटा मात्र फेला परेको आरक्षका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले बताउनुभयो ।
युनाइटेड अजोड इन्सुरेन्सको खुद नाफामा ४७.१६ प्रतिशतको गिरावट, ६ करोड ९६ लाख रुपैयाँमा झर्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा युनाइटेड अजोड इन्सुरेन्सको खुद नाफा घटेको छ । यसअवधिमा नाफा ४७.१६ प्रतिशतले घटेर ६ करोड ९६ लाख रुपैयाँमा झरेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले १३ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
नेपाल दूरसञ्चारको नाफा २ अर्ब ६३ करोड रुपैयाँ , गत वर्षको तुलनामा ३२.९७% घट्यो
काठमाडौं ।नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । टेलिकमको नाफा गत वर्ष यसैअवधिको तुलनामा ३२.९७ प्रतिशतले थोरै हो । गत वर्ष यसले ३ अर्ब ९३ करोड रुपैयाँ नाफा कमाएको थियो ।
फागुन ४ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर
काठमाडौँ ।आगामी फागुन ४ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न उत्तर कार्यक्रम राखिएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिषद् ९ बमोजिम प्रधानमन्त्रीसँग प्रश्न उत्तरसम्बन्धी कार्यक्रम राखिएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई जानकारी दिनुभयो ।
सभामुख घिमिरेले भन्नुभयो, “प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रमका लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह ८ मा रहेका माननीय सदस्यहरूले फागुन महिनामा प्रश्न सोध्नका लागि नियमावलीको नियम ५८ बमोजिम माघ ३० गते दिनको ४ बजेभित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखितरूपमा दिन सक्नुहुने बेहोरा जानकारी गराउँदछु ।”
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij