
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन २ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
प्रधानमन्त्रीसँग नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको छलफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी एसियाकै अगुवा संस्था सर्वना जुरोङ ग्रुपका कार्यकारी प्रमुख सिन चाओसहितको टोलीले नेपालको पूर्वाधार र सहरी विकासका विविध क्षेत्रमा लगानी विस्तार गर्ने विषयमा आज छलफल गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा कार्यकारी प्रमुख सिनले नेपालमा ऊर्जा, पर्यटन, रेल्ले, सुरूङमार्ग, स्मार्ट सिटी, एक्प्रेस–वे आदि क्षेत्रमा परियोजना पहिचान, प्रस्तावना तयारी र लगानीको इच्छा प्रकट गरेको हो । सिङ्गापुुर सरकारको स्वामित्वमा रहेको विश्वव्यापी लगानीसम्बन्धी निकाय तेमासेकअन्तर्गतको उक्त कम्पनीले हाल नेपालमा कार्यालय स्थापना गरेर काम सुरू गरिसकेको छ ।
विन नेपाल लघुवित्तले पायो एफपीओ निष्कासन गर्ने अनुमति
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले माघ ३० गते ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको ५१ लाख २९२ दशमलव ५० कित्ता एफपीओ जारी गर्न कम्पनीलाई अनुमति दिएको हो ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा एफपीओ जारी गर्न कम्पनीले अनुमति पाएको हो । बोर्डको अनुमति पाएसँगै कम्पनीले सर्वसाधारणमा एफपीओ जारी गर्नेछ ।
पियोर इनर्जीले आईपीओ निष्कासन गर्न , धितोपत्र बोर्डबाट पायो स्वीकृति
काठमाडौं । पियोर इनर्जी लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाएको छ ।
कम्पनीले १६ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनबाट शुक्रवार स्वीकृति पाएको हो ।
विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेड रहेको छ ।
सुनको मूल्य चार सयले बढ्यो , प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँ
काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ४०० ले बढेको हो ।
बिहीबार प्रतितोला सुन रु एक लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ७० हजार २०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला रु पाँचले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ७० निर्धारण गरिएको छ ।
सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको २ लाख १३ हजार कित्ता संस्थापक सेयर बिक्री खुला
काठमाडौ । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख १३ हजार १९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति
काठमाडौँ। कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको रोकिएको निर्माण कार्य तत्काल अघि बढाउने सहमति भएको छ । गृहमन्त्री रमेश लेखकको पहलमा आज गृहमन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिव, नेपाली सेनाका प्रधानसेनापतिसहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको निर्माण कार्य अघि बढाउने सहमति भएको हो । बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा जग्गा विमानस्थल निर्माणका लागि उपयोग गर्न दिने, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाउने विषयमा सहमति भएपछि लामो समयदेखि रोकिएको विमानस्थल निर्माणको काम अघि बढाउने विषयमा सहमति जुटेको हो । गृहमन्त्री लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाँती रहेकाले त्यसलाई सुल्झाउन आग्रह गर्नुभयो ।
‘सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध’
काठमाडौँ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार सूचना प्रविधिको क्षेत्रलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) विज्ञान तथा प्रविधि विभागले आज यहाँ आयोजना गरेको ‘नेपालका लागि सूचना प्रविधिमा आधारित उद्यमशीलताः आर्थिक समृद्धिको नयाँ वाटो’ बिषयक अन्तरक्रिया उहाँले सरकार सूचना प्रविधिको माध्यमबाट मुलुकमा सुशासन कायम गर्ने विषयमा क्रियाशील रहेको बताउनुभयो । सन् २०२६ सम्ममा नेपाल विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने उल्लेख गर्दै उहाँले त्यसका लागि पनि सूचना प्रविधिमा लगानी बढाउन आवश्यक भएको बताउनुभयो । उहाँले कम्पनी स्थापना पनि अटोमेसन (स्वचालित)को मध्यामबाट सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाएको बताउनुभयो । “आज घरमै बसेर कम्पनी दर्ता गर्ने काम अगाडि बढाएका छौँ ।
बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
तनहुँ। जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकहरू यहाँ आएका हुन् । पर्यटन प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर झाँक्रीले पाँच हजार ७९३ जनाले प्रहरीमा अभिलेखका लागि नाम दर्ता गराएको बताउनुभयो । यस्तै, केबलकारका महाप्रबन्धक रोमनमान श्रेष्ठले केबलकार प्रयोग गरी आउने विदेशी पर्यटकको सङ्ख्या दुई हजार तीन सय ५२ जना रहेका छन् । यसैगरी क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष फुलमती थापाका अनुसार पर्यटन प्रहरीको ड्युटीबाहेक अन्य समयमा नाम दर्ता गरेका तर विभिन्न होटलको तथ्याङ्कअनुसार थप एक हजार ९८१ जना विदेशी पर्यटक बन्दीपुर पुगेका छन् । प्रमुख पर्यटकीय गन्तव्यहरू काठमाडौँ र पोखरा तथा चितवन र पोखराको बीचमा पर्ने बन्दीपुरमा विदेशी पर्यटकहरु प्राकृतिक सौन्दर्य र यहाँको प्राचीन कलासंस्कृति हेर्न आउने गरेका छन् । बन्दीपुरमा आउने विदेशी पर्यटकहरूमध्ये सबैभन्दा धेरै चीनका रहेका छन् ।
सात महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियो
काठमाडौँ।चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा यो अवधिसम्म सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत छ । सरकारले चालु आर्थिक वर्षका लागि रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो भने रू १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । तर आयव्यय दुवै कमजोर भएपछि सरकारले अर्धवार्षिक समीक्षामार्फत् सुरुवाती विनियोजनको तुलनामा ९० दशमलव ९९ प्रतिशत मात्रै बजेट खर्च गर्ने संशोधित अनुमान गरेको छ । अर्थात् चालु आर्थिक वर्षमा रू १६ खर्ब ९२ अर्ब ७३ करोड २५ लाख बराबर मात्रै बजेट खर्च गर्ने संशोधित अनुमान छ । सुरुवाती विनियोजनको तुलनामा माघ मसान्तसम्म सरकारको चालु खर्च ४५ दशमलव ८२ प्रतिशत छ । चालुगत शीर्षकमा रू ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा सात महिनामा रू पाँच खर्ब २२ अर्ब ६२ करोड ५३ लाख खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भएकोमा रू ६८ अर्ब ४१ करोड ५९ लाख मात्रै खर्च भएको छ ।
कुश्मास्थित द क्लिफमा विश्वकै लामो र अग्लो मेगाट्रोल सञ्चालनमा
र्वत।कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ । बलेवास्थित द क्लिफ परिसरमा रहेको टावरदेखि कुश्माबजारभन्दा मुनि रहेको टावरसम्म मेगाट्रोलमा यात्रा गर्न सकिन्छ । यसमा एकै पटकमा तीन जनासम्म खेल्न सकिने जनाइएको छ । मेगाट्रोलमा एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १४० किलोमिटरको हुनेछभने एक पटकमा सातदेखि १२ मिनेटसम्म लाग्छ । यसको गति बढाउन पनि सकिने उहाँले बताउनुभयो । मेगाट्रोल सञ्चालनका लागि रु चार करोड लगानी गरिएको कार्कीले बताउनुभयो । “मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जिपलाइन र रोलरकोस्टरको अनुभव दिन्छ”, उहाँले भन्नुभयो, “एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल बिहीबारदेखि व्यावसायिक रुपमा सञ्चालन गरिएको छ ।”
शुभम् पावर लिमिटेडले दोस्रो त्रैमाससम्म कमायो ४६ लाख ३३ हजार रुपैयाँ खुद नाफा
काठमाडौं । शुभम् पावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४६ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिको कम्पनी ६४ लाख ४० हजार घाटामा थियो । विद्युत उत्पादन सुरु गरेसँगै कम्पनी पनि नाफामा गएको हो । यसको विद्युत बिक्रीबाट हुने आम्दानी १ करोड ३० लाख रुपैयाँ रहेको छ ।
मिड सोलु हाइड्रोपावर लिमिटेडको खुद नाफा २२५.१४ प्रतिशत बढ्यो
काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमा ७ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २२५.१४ प्रतिशत धेरै हो ।
यसको विद्यतु बिक्रीबाट हुने आम्दानी १४ करोड ३२ लाख रुपैयाँबाट बढेर १७ करोड ७८ लाख रुपैयाँ पुगेको छ । जसकारण नाफामा सुधार देखिएको हो । कम्पनीको वित्तीय खर्च पनि ७ करोड ५६ लाख रुपैयाँबाट ५ करोड ९ लाखमा झरेको छ ।
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
काठमाडौँ ।सरकारले संयुक्त अरब इमिरेट्स ९युएई०बाट पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले उक्त सेवाको शुभारम्भ गर्नुभयो ।
भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन
भद्रपुर। यहाँस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय ५१ राजस्व सङ्कलन गरेको छ ।
नेपाल र भारतबीच उच्च क्षमताका थप प्रसारण लाइन निर्माण गर्ने सहमति
काठमाडौँ ।अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने महत्त्वकाङ्क्षा सार्वजनिक गरेको सन्दर्भमा दुई देशबीच उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने विषयमा मतैक्यता भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij