Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक २० बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् कात्तिक २० बिहीबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक २० बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    भारत–नेपाल स्टार्टअप पार्टनरसीप नेटवर्कको पहिलो कार्यक्रम तयारीमा, अभिमुखीकरण सत्र सम्पन्न

    काठमाडौँ ।  यहाँस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना गर्न लागेको भारत–नेपाल स्टार्टअप पार्टनरसीप नेटवर्कको पहिलो कार्यक्रमसम्बन्धी अभिमुखीकरण सत्र सम्पन्न गरेको छ ।

     

    नेपाल–भारतको स्टार्टअप ‘इकोसिस्टम’बीचको अन्तरक्रियालाई वृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिने पहिलो ‘इन–स्पान’ कार्यक्रम सन् २०२५ डिसेम्बरमा आइआइटी मद्रासमा सुरु हुने कार्यतालिका रहेको दूतावासले जनाएको छ । 

     

    उक्त कार्यक्रममा नेपालका स्टार्टअपका प्रतिनिधिका लागि आइआइटी मद्रास प्रवर्तकसँगको सहकार्यमा आठ हप्ताको प्रशिक्षण र नवप्रवर्तन कार्यक्रम समावेश हुनेछ । उक्त ढाँचामा प्रशिक्षित हुन चाहने सहभागीका लागि तालिम, परामर्श र इन्टर्नसीप समावेश हुनेछ ।

    अध्यक्ष ओलीको अभिव्यक्ति : मानवीय मूल्य र सभ्य आन्दोलनको पक्षमा जोड

    काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालको परिस्थितिमा मानवीय मूल्य र नेपाली समाजको एकता जोगाउँदै मुलुकलाई समृद्ध दिशातर्फ अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

    भक्तपुरको गुण्डुस्थित निवासमा आयोजित भेटघाट कार्यक्रममा विभिन्न नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले, “‘समृद्ध नेपाल, सुखी नेपाली’ हाम्रो राष्ट्रिय गन्तव्य हो, तर यस यात्रालाई रोक्न खोज्ने केही तत्व हावी भएका छन्,” भन्दै ती तत्वप्रति असन्तुष्टि प्रकट गर्नुभयो।

     

    उहाँले असन्तुष्टिलाई सम्मानपूर्वक अभिव्यक्त गर्ने नेपाली परम्परा विपरीत अशिष्ट, अमर्यादित र हिंस्रक आन्दोलनको अभ्यास गलत भएको टिप्पणी गर्नुभयो। साथै, ओलीले सर्वोच्च अदालतको अन्तरिम आदेश विपरीत राजदूतहरुलाई परराष्ट्र मन्त्रालयमा हाजिर हुन बोलाइनु अदालतको अपमान भएको बताउनुभयो।

    कालिका लघुवित्तको नाफा १९.६३ प्रतिशतले वृद्धि, खुद आम्दानीमा उल्लेखनीय सुधार

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार संस्थाले यस अवधिमा २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १ करोड ७० लाख रुपैयाँ नाफाको तुलनामा १९.६३ प्रतिशत वृद्धि हो।

    लघुवित्तको नाफा वृद्धि मुख्यतः खुद ब्याज आम्दानीमा ३१.२३ प्रतिशतले भएको वृद्धिका कारण सम्भव भएको हो। यससँगै सञ्चालन मुनाफा १९.४५ प्रतिशतले र कुल सञ्चालन आम्दानी २५.४८ प्रतिशतले बढेको देखिन्छ। हाल संस्थाको वितरणयोग्य मुनाफा ९६ लाख रुपैयाँ रहेको छ।

    काटिएका मध्ये ११उद्योगलेले बक्यौता बुझाएर विद्युत् प्रसारण लाइन जोड्न लगाए

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले काटेका लाइन उद्योगीहरूले तिरेपछि जोडेको जानएको छ । काटिएकाहरू मध्ये हालसम्म ११ वटा उद्योगले बक्यौता रकम बुझाएर विद्युत लाइन पुनः जोड्न लगाएका हुन् ।नतिर्ने मध्ये रिलायन्स स्पिनिङ मिलले २ करोड ७५ लाख रुपैयाँसहित ठूलो रकम भुक्तानी गरेको प्राधिकरणले जनाएको छ । 

     

    प्राधिकरणका अनुसार गत कार्तिक ४ गते पछाडि बक्यौता नतिरेका उद्योगहरूको लाइन काट्ने कार्य सुरु गरिएकोमा  सुरुमा २५ वटा उद्योगको लाइन काटिएकोमा अहिले ११ वटाले किस्ता वा पूर्ण रकम तिरेर लाइन जोडेका छन् । रिलायन्स स्पिनिङ मिलले बिहीबार  प्रिमियम महसुलको पहिलो किस्ता २ करोड ७५ लाख रुपैयाँ तिरेको हो ।

    वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

    काठमाडौँ।राष्ट्रिय वाणिज्य बैंकले ‘छ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र-२०८९’ को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले रु एक हजारका दरले ३० लाख कित्ता बरारबर हुन आउने रकम रु तीन अर्ब बराबरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा कुमारी क्यापिटललाई दिएको हो । आज राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा सो सम्बन्धमा सम्झौता भएको छ ।

    राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय

    काठमाडौँ। परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही न्यून सङ्ख्या भएपनि यो विषय समाधान उन्मुख रहेको जनाएको छ । राहदानी पुस्तिका बाहिर प्रचारमा आएजस्तो अवस्थामा नरहेको मन्त्रालयले स्पष्ट पारेको हो । मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा खरिद सम्झौता गरिसकेको छ ।

    गतआवमा भोजपुरमा ५१ हजार मेट्रिक टन आलु उत्पादन

    भोजपुर।  जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार नौ सय मेट्रिक टन आलु उत्पादन भएको छ । हिउँदे र वर्खे गरी यहाँ ५१ हजार मेट्रिक टन बढी आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँ दुई सिजनमा गरी तीन हजार २७२ हेक्टर क्षेत्रमा आलु उत्पादन हुने कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी धनश्याम बरालले जानकारी दिनुभयो । विगतमा निर्वाहमुखी खेतीमा सीमित किसानहरू अहिले व्यावसायिक रूपमा आलु खेतीमा लाग्न थालेका उहाँले बताउनुभयो ।“जिल्लामा पछिल्लो समय व्यावसायिक आलु खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ” उहाँले भन्नुभयो,“गत वर्ष भोजपुरमा ५१ हजार मेट्रिक टन भन्दाबढी आलु उत्पादन भएको थियो । आलु किसानको राम्रो आम्दानीको श्रोत बनेको छ ।” ज्ञान केन्द्रले उन्नत जातको बीउ वितरणसँगै विभिन्न ठाउँमा आलु पकेट क्षेत्र निर्धारण गरेर प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

    शेयर बजार : नेप्से परिसूचक११.२९ अंकले घटेर ५९६.१२ बिन्दुमा, कारोबार५ अर्ब ४१करोडभन्दा बढी

    काठमाडौँ । आज बिहीबारको नेप्से बजारमा समग्र गिरावट देखा परेको छ। नेप्से सूचक ११.२९ अंकले घटेर  ५९६.१२ बिन्दुमा अंकमा बन्द भएको छ।

     

    आजको कारोबारमा कुल ५ अर्ब ४१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।  १ करोड  ८ लाख बढी कित्ता सेयर किनबेच भएका छन्।

    स्थायी लेखा नम्बर प्रमाणपत्र जारी गर्ने लगायतका सेवाहरू स्थानीय तहबाट प्रदान गरिने

    काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता सेवा कार्यालहरूबाट प्रवाह भइरहेका सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था मिलाएको छ।

     

    विभागले बिहीबार सूचना जारी गर्दै स्थायी लेखा नम्बर प्रमाणपत्र जारी गर्ने लगायतका सेवाहरू स्थानीय तहबाट प्रदान गरिएको जनाएको हो ।

    विभागअन्तर्गत सञ्चालनमा रहेका करदाता सेवा कार्यालयहरू खारेज भएको अवस्थालाई लिएर अन्यौलग्रस्त अवस्था आएपछि विभागले सूचना जारी जनाएको छ।

    “नो-शेक क्यामेरा” इन्नोभेसन र Galaxy AI अनुभव अब अझ धेरै नेपाली प्रयोगकर्तासम्म

    काठमाडौं ।  सामसङले नेपालमा लोकप्रिय Galaxy M सिरिजको नयाँ सदस्य Galaxy M17 5G सार्वजनिक गरेको छ। प्रिमियम डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक AI-सक्षम फिचरसहित आएको यो स्मार्टफोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक Optical Image Stabilization (OIS) अर्थात् “No Shake Camera” प्रविधि ल्याएको छ। अब जहाँ भए पनि स्थिर र स्पष्ट फोटो तथा भिडियो कैद गर्न सकिनेछ — यो मोबाइल ती प्रयोगकर्ताहरूका लागि आदर्श विकल्प बनेको छ जसले आफ्नो प्रत्येक पललाई प्रो-लेभल क्वालिटीमा कैद गर्न चाहन्छन्।

    एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा

    काठमाडौं। एनसेल र मेटलाइफ नेपालको साझेदारीमा “डाटासँगै जीवन बीमा” नामक एक नवीन योजना सुरु भएको छ । यो सेवा लिने ग्राहकहरुले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउँछन् ।

    कृषि विकास बैंकद्वारा लाभांश वितरण घोषणा

    काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले शेयर धनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

     

    हाल कायम चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस र लाभांश लाग्ने कर समेत गरी ९.७५ प्रतिशत गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने बैंकले घोषणा गरेको हो। साथै  बैंकले अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

    बिहीबार सुनको मूल्य बढेर  प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ  कायम

    काठमाडौँ । बिहीबार सुनको मूल्य बढेर  प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ  कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ तय भएको हो ।  अघिल्लो दिनको तुलनामा यो मूल्य ६ सय रुपैयाँ बढी हो ।

    भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड राजस्व सङ्कलन

    देवदह (रुपन्देही), २० कात्तिकः भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा रु २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।

     

    भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेका अनुसार गत साउनमा रु नौ अर्ब दुई करोड ९४ लाख ३४ हजार, भदौमा रु नौ अर्ब ७० करोड ६३ लाख नौ हजार र असोजमा रु नौ अर्ब २८ करोड ६७ लाख २० हजार सङ्कलन भएको छ । जेनजी आन्दोलनमा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो ।

    राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर स्वदेश फर्कदै

    काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी  भएर आज अपराह्न स्वदेश फर्कदै हुनुहुन्छ । 

     

    राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गर्नुभएको थियो ।सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण स् गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गर्नुभएको थियो ।

     

     
     
     

     

     
     
     
     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij