
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन ४ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने , विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रू. २२ करोड ५० लाख रकम बराबरको अंकित मूल्य रू. १०० का दरले हुन आउने २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासन जारी गर्ने गरी एनआइएमबि एस क्यापिटलसँग सम्झौता गरेको हो ।
जीआई सोलर लिमिटेडले आइपीओ बिक्री गर्ने , बोर्डसँग माग्यो अनुमति
काठमाडौं । जीआई सोलर लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आइपीओ बिक्रीका लागि अनुमति मागेको छ । यस कम्पनीले १०० रुपैयाँ अंकित दरमा १३ लाख ६३ हजार ३६० कित्ता सेयर आइपीओ बिक्री गर्न अनुमति मागेको हो । यो आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धककमा आरबीबी मर्चेन्ट लिमिटेड नियुक्त भएको छ ।
ग्लोबल आइएमई बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार ग्लोबल आइएमई बैंक बोनस सेयर सूचीकृत भएको छ । ग्लोबल आइएमईको १ करोड ९८ लाख ७० हजार ८२३।६३ कित्ता सेयर सूचीकृत भएको छ । बैंकले गत वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो ।
शेयर बजार : आज नेप्से परिसूचक २६९८.०३ बिन्दुमा , कारोबार करिब साढे ९ अर्ब
काठमाडौँ । आज आइतबार साताको पहिलो दिन शेयर बजारमा १९.५६ बिन्दुको वृद्धि भई नेप्से परिसूचक २६९८.०३ बिन्दु पुगेको छ । कारोबार ९ अर्ब ४७ करोड ३ लाख ८ हजार २ सय ६६ रुपैया ५० पैसा बराबर भएको छ ।
आज २ करोड ९ लाख ८४ हजार ४ सय ४० कित्ता शेयरको खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।शानदार मःमः पसलमा आगलागी, मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
काठमाडौं । अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ प्रस्तावसहित फागुन २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, ब्लु स्टार कम्पेक्ल, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ८ बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
इन्फिनिटी लघुवित्तको ३२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ३२ हजार १० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुकले आजदेखि १५ दिनभित्र यस संस्थाको केन्द्रीय कार्यालय, गैंडाकोट, नवलपरासीमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।
प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री र नगरप्रमुखको स्वास्थ्य अवस्थाबारे जानकारी
कीर्तिपुर ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न कीर्तिपुर वर्न अस्पतालमा पुगी त्यहाँ उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
शनिबार पोखरामा भएको आगलागीमा परेका उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित अस्पताल पुग्नुभएको हो ।
भन्सार छली गरी ल्याइएको मोटरसाइकलसहित सवार पक्राउ
काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ बाट भन्सार छली ल्याइएको मोटरसाइकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ चिसापानी घर भई काठमाडौंको थली बस्ने २२ वर्षीय सुजल गुरुङलाई प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो।
परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह
काठमाडौँ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहनुभएका उहाँहरुबीच आज साइडलाइन भेट भएको हो । सो भेटका क्रममा उहाँहरुबीच नेपाल कतारबीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्पारिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्तिलगायतका विषयमा कुराकानी भएको थियो । त्यसअवसरमा मन्त्री डा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सहयोग गरिदिन मन्त्री मुराइखीसँग आग्रह गर्नुभएको थियो ।
राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सिक्टा सिँचाइ र बबई सिँचाइ आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजना समयमा सम्पन्न गर्ने विषयमा आफू गम्भीर र संवेदनशील रहेको बताउनुभएको हो । “मेरो नेतृत्वमा सरकार गठन भएपछि यी आयोजनाहरू समयमै सम्पन्न गर्न तथा निर्माण व्यवसायीको भुक्तानीको समस्या समाधान गर्न मैले सुरुदेखि नै पहल गरिरहेको छु”, उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०८०÷८१ को अन्त्यमा भुक्तानी गर्न बाँकी दायित्वमध्ये हालसम्म रु २२ अर्ब ४३ करोड ३६ लाख भुक्तानी भइसकेको छ ।” प्रधानमन्त्रीका अनुसार राष्ट्रिय परियोजनाका लागि स्रोतको समस्या आउन नदिन सम्बन्धित मन्त्रालयलाई बजेट तर्जुमाका लागि प्रदान गरिएको बजेट ‘सिलिङ’बाट त्यस्ता आयोजनाका लागि सो आर्थिक वर्षमा आवश्यक पर्ने रकम विनियोजन गरी ‘इयरमार्क’ गरेपछि मात्र अन्य आयोजना तथा कार्यक्रममा बजेट छुट्याउने गरी नीतिगत प्रबन्ध गरिएको छ ।
सत्तासीन कांग्रेसका सभापति देउवासमक्ष ऊर्जा उद्यमीहरूको दुखेसो
काठमाडौँ । सत्तासीन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष ऊर्जा उत्पादकहरूले दुखेसो पोखेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा विकासका आयोजना बनाउन नपाउने सर्वोच्च अदालतको फैसला तथा ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आईपीओ निष्काशनको अनुमति रोकिएको दुखेसो कांग्रेस सभापति देउवासँग भेटेर पोखेका हुन् ।
विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ
काठमाडौँ। अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाटिक एयरको उडानद्वारा काठमाडौँबाट मलेसिया जान लागेकी उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा पक्राउ गरिएको हो ।
बैंकहरूको कर्जा निक्षेप अनुपात घट्दो रेन्जमा
काठमाडौं । वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो ) प्रत्येक महिना घटिरहेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) विवरण अनुसार औसत ७९.३५ प्रतिशत भएपनि केही बैंकको भने ६० प्रतिशतको हाराहारीमा झरेको छ ।
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्न ४० अर्ब तान्दै नेपाल राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ तान्न लागेको छ ।बैंकिङ प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको उपयोग गरी आइतबार ४० अर्ब रुपैया तान्न लागेको हो ।
२१ दिनको लागि राष्ट्र बैंकले निक्षेप संकलन गर्न बोलकबोलकर्तालाई आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत् बोलकबोल गर्न भनेको हो ।फागुन २५ गते साँवा तथा ब्याज भुक्तानी मिति राखी बोलकबोलबारे जारी गरिएको सूचनाका अनुसार बोलकबोलकर्ताले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्नुपर्ने छ ।
हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै ,उत्पादन बन्द
बागमती । लामो समयदेखि हेटौँडा सिमेन्ट उद्योग बन्द हुँदा आर्थिक सङ्कट गहिरिँदै गएको छ । यसका कारण सिमेन्ट उत्पादन अन्यौलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगका विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने भन्दै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरणहरु मर्मत सम्भार गरी गत मङ्सिरको पहिलो साताबाटै उत्पादन सुरु गर्ने बताए पनि उपकरण मर्मतको काम नसकिएकाले उत्पादन सुरु गर्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।
तोलामा दुई हजार सात सयले घट्यो सुनको मूल्य
काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रु दुई हजार ७०० र चाँदी रु १५ले घटेको हो ।
गत शुक्रबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तल्लो अरुण जलविद्युत् आयोजनाः प्रभावितलाई ८८ करोड मुआब्जा वितरण
किमाथाङ्का । जिल्लामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु ८८ करोड बढी मुआब्जा वितरण गरिएको छ ।
उक्त आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहनेगरी निर्माण हुनेछ । आयोजना प्रभावित दुवै पालिकाका स्थानीयलाई मुआब्जाबापत रकम वितरण गरिएको हो । आयोजना प्रभावित क्षेत्रका लागि रु ८८ करोड नौ लाख ७८ हजार २०० मुआब्जा रकम वितरण भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आजको मौसम : पहाडी तथा हिमाली भू–भागका हल्का हिमपातको सम्भावना
काठमाडौँ । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij