Logo

Mar 13 2025 | २०८१, फागुन २९गते

Mar 13 2025 | २०८१, फागुन २९गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन ५ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू..

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन ५ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू..

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन ५ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    भारतस्थित नेपाली दूतावास र उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युटबीच छलफल

    काठमाडौँ । भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको छ । 
     
    दूतावासले सो इन्स्टिच्युटमा विकसित घटनाक्रमका सम्बन्धमा उक्त शैक्षिक संस्थामा अध्ययनरत नेपाली विद्यार्थीलाई छात्रावासबाट निकालिएको सूचनाप्राप्त हुनासाथ संस्थाका रजिष्ट्रारलगायत प्रतिनिधिसँग छलफल गर्दै सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको दूतावासले जनाएको छ । उक्त संस्थामा रहेका नेपाली विद्यार्थीहरूको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउनसमेत दूतावासले अनुरोध गरेको छ । “यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाइ कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी गराएको छ”, दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

    सरकारलाई शेयर बजारबाट यो वर्ष चार गुना अम्दानी

    काठमाडौँ । सरकारलाई  शेयर बजारबाट चालु आर्थिक वर्ष ७ महिनामा १० अर्ब ८३ करोड ९४ लाख रुपैयाँ आम्दानी  भएको छ । यो आम्दानी गत वर्षको सोही अवधिको तुलनामा चार गुणा बढी  हो।शेयर बजारबाट सरकारले  गत वर्ष ७ महिनामा २ अर्ब ८६ करोड ५६ लााख रुपैयाँ आम्दानी गरेको थियो। यो आर्थिक वर्षको सुरुमै बजार उकालो लागेकाले पुँजीगत लाभकर वृद्धि भएको हो।

     

    गत माघको तुलनामा यस वर्ष सोही अवधिमा पुँजीगत लाभकर ८.०४ प्रतिशतले बढेको छ।

    शेयर बजार : नेप्से परिसूचकमा २९.८७ अंकले बढेर २७२७.९१  बिन्दुमा, १० अर्बभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा २९.८७ अंकले बढेर २७२७.९१  बिन्दुमा आएको छ । आज १० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस दिन ६ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये १० वटा समूहका सूचक बढेका छन् । वाणिज्य बैंक समूह २.१६ प्रतिशतले बढेको छ । 

     

    यस दिन ३०२ कम्पनीको १ करोड ८० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३२ करोड ६४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सीइडीबी होल्डिङस र एनआरएन इन्फ्रास्टक्चर परेका छन् ।

    ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

    काठमाडौँ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. २२ करोड ५० लाख रकम बराबरको कूल २२ करोड ५० लाख  कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य रु.१०० का दरले सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको छ ।
    उक्त कम्पनीले  शेयर निष्काशनका लागि २०८१ साल  फाल्गुन ४ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न  एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि सम्झौता गरिएको जनाएको छ ।

    आज  ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिने अन्तिम दिन

    काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

     

    कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

    बलेफी हाइड्रोपावरको १७ लाख ९८ कित्ता सेयर लिलामी बिक्री खुला

    काठमाडौं । बलेफी हाइड्रोपावरले आज फागुन ५ गते सोमबारदेखि १७ लाख ९८ हजार ६५६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । जसमा कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१,  सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ र सर्वसाधारण समूहको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो ।

     


    यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यो लिलामी सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    नेपाली छात्राको मृत्युका सम्बन्धमा सरकारले कूटनीतिक तवरबाट काम गरिरहेकोे छ : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टलमा एक नेपाली छात्राको मृत्यु भएको विषयमा सरकारले कूटनीतिक तवरबाट काम गरिरहेकोे बताउनुभएको छ ।

     

     

    प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सो विषयमा सरकारले कूटनीतिक तवरले काम गरिरहेको बताउनुभएको हो । 

     

    उहाँले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, “भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआइआइटी० विश्वविद्यालयको होस्टलमा एक जना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टलबाट जबर्जस्ती निकालेको कुरा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कूटनीतिक तवरले काम गरिरहेको छ ।”

    परराष्ट्रमन्त्री डा देउवा र ओमानका विदेशमन्त्री अलबुसाइदीबीच भेटवार्ता

    काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमुद अलबुसाइदीबीच मस्कटमा द्विपक्षीय भेटवार्ता भएको छ । 

     

    आठौँ हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहनुभएका परराष्ट्रमन्त्री डा देउवा र ओमनी समकक्षी अलबुसाइदीबीच आज भेटवार्ता भएको हो । त्यसअवसरमा मन्त्री डा देउवाले सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा विदेशमन्त्री अलबुसाइदीलाई बधाई ज्ञापन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । भेटमा नेपाल–ओमान सम्बन्धका विविध पक्ष र विभिन्न क्षेत्रहरू सहकार्य प्रवर्द्धनका उपायबारे पनि छलफल भएको थियो ।

    सत्र हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारतसँग सहमति’

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारत सरकारसँग सहमति भएको बताउनुभएको छ । इनर्जी इन्फर्मेसन सेन्टर प्रालिद्वारा प्रकाशित ऊर्जा खबर पत्रिकाको सातौँ अङ्क विमोचन गर्दै आज उहाँले ऊर्जा विकास मार्गचित्र, २०८१ को लक्ष्य पूरा गर्न दुई देशका सचिवस्तरीय बैठकले उक्त सहमति गरेको जानकारी दिनुभएको हो । “हामीले आठ अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशलाई निर्यात गर्ने सम्झौता गरेका छौँ, उक्त सम्झौता नेपालको ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो । मन्त्री खड्काले स्रोतमाथिको अधिकार सबैलाई हुने भएकाले विपन्न वर्गलाई सस्तो ब्याजदरमा रु दुईदेखि पाँच लाखको सेयर उपलब्ध गराउनेगरी सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।

    नागरिक लगानी कोष र एल.सी.इनर्जीबीच सेयर प्रत्याभूति सम्झौता

    काठमाडौं । नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल.सी.इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो ।

     

    एल.सी.इनर्जीले प्रति सेयर एक सय रुपैयाँका दरले ६ लाख कित्ता बापतको ६ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको छ । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ ।

    भारतमा कार दुर्घटना : रुपन्देहीका तीन जनाको मृत्यु

    भैरहवा । भारतको प्रयागराजमा लागेको महाकुम्भमा सहभागी हुन गएका नेपाली नागरिक सवार कार भारतमा दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको छ । 

     

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–९ भलुहीका ४५ वर्षीय गणेश खनाल, उहाँकी श्रीमती ४० वर्षीया दीपा खनाल र सोही ठाउँकी ४५ वर्षीया गीता शर्मा रहेका छन् । महाकुम्भबाट स्नान गरेर फर्किने क्रममा भारतको आजमगढ नजिकै उनीहरु सवार कार सडक छेउको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

    नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलको प्रस्ताव स्वीकृत

    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

     

    सभामुख देवराज घिमिरेले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । फागुन ४ गतेको बैठकमा गणपुरक सङ्ख्याको अभावमा यो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन ।

    यसैगरी प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पति भएको ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१’ का सम्बन्धमा सन्देशसहितको विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गर्नुभएको हो ।

    सिमेन्टको मूल्य वृद्धिप्रति सांसदहरूको आपत्ति, सभामुखमार्फत सरकारको ध्यानाकर्षण

    काठमाडौँ । सांसदहरुले सिमेन्टको मूल्य वृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

     

     

    प्रतिनिधिसभा सदस्यहरुले सभामुखमार्फत बजारमा सिमेन्टको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सभाको आजको बैठकमा उपलब्ध शून्य समयमा बोल्दै सांसद राजेन्द्रकुमार केसीले सिमेन्टको मूल्य वृद्धि विनाकारण बढाइएको भन्दै आपत्ति जनाउनुभयो ।

    ठूला उद्योगीहरूका लागि विद्युत आपूर्तिको नयाँ व्यवस्था तयार हुँदै

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले  बिजुलीका ठुला खपतकर्ताहरूका लागि हर्जानासहितको व्यवस्था ल्याउन लागेको छ । भारतमा ठूला उद्योगीहरूका लागि चलन चल्तीमा रहेको व्यवस्था प्राधिकरणले ल्याउन लागेको हो ।प्राधिकरणले यो व्यवस्था  एक महिनाभित्र ल्याएर कार्यान्वयनमा ल्याउने गरी काम अगाडि बढाइएको छ । 

     

    ठूला उद्योगीहरूलाई चाहिने विद्युत खपतको विवरण बुझाउन लगाउने र खपत नभए हर्जना तोक्ने सहितको व्यवस्था ल्याउन लागिएको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार माग र खपतको आधिकारिक अवस्था प्राप्त हुन गई आपूर्ति प्रणाली चुस्त बनाउन सकिनेछ ।

    ५० लाख बढी स्रोत नखुलेको रकमसहित जनकपुरधाममा तीन जना पक्राउ

    काठमाडौँ । प्रहरीले जनकपुर धाममा स्रोत नखुलेको रकम सहित तीनजनालाई  पक्राउ  गरेको छ ।जनकपुरधाम उपमहानगरपालिका–८ बाट स्रोत नखुलेको नगद ५७ लाख ८४ हजार ६३५ रूपैयाँ सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।उनीहरुको साथबाट ३ थान मोबाइल र १ थान ल्यापटप पनि बरामद् गरिएको जनाइएको छ।

     

    पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका–९ बस्ने ३९ वर्षीय भुवनेश्वर राउत, भारत बिहार राज्य सीतामढी थाना परिहार ग्राम पञ्चायत बराही बस्ने ४२ वर्षीय जामुन नायक र जनकपुरधाम उपमहानगरपालिका–८ स्थित न्यू अनुष्का मनी ट्रान्सफर ट्रेडर्सका कर्मचारी सोही उपमहानगरपालिका–८ बस्ने २६ वर्षीय जेनिस साह रहेका छन्।

    बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज

    काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेललाई डिस्चार्ज गरेको छ । उनी शनिबार पोखरामा बेलुन पड्किँदा भएको घटनामा घाइते भएका थिए ।  कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार पछि पौडेल आजै घर फर्किएका छन  ।

    नेशनल लघुवित्तले ३१ हजार ५७६ कित्ता संस्थापक शेयर विक्री खुला

    काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३१ हजार ५७६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

     

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुमा मात्र विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरुमा यी शेयर विक्री गर्न लागिएको हो ।

     
     


     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij