
काठमाडौं । आजदेखि नेकपा माओवादी केन्द्रले प्रवासमा पनि जागरण अभियान शुरु गरेको छ । एसियामा रहेका देशहरुमा कार्यरत नेपालीलाई संगठित गर्न जागरण अभियान चलाएको हो । केन्द्रमा जनतासँग माओवादी तराई मधेस जागरण अभियान चलाएको पार्टीले प्रवासमा समेत अभियान सञ्चालन गर्न गरेको हो ।
नेकपा माओवादी केन्द्रको प्रवास एसिया संगठन समितिको आइतबार सम्पन्न भर्चुअल बैठकले ‘प्रवासी मजदुरसँग जनप्रगतिशील मञ्च’ अभियान सञ्चालन गर्न लागेको समितिका अध्यक्ष शनि कुमार वलीले जानकारी दिए । ‘समाजवादी गणतन्त्र निर्माणमा प्रवासी मजदुरको ऐक्यबद्धता, सामाजिक सुरक्षा सहित मजदुरहरूको हकहितका निम्ति जनप्रगतिशिल मञ्चको प्रतिबद्धता’ भन्ने नाराका साथ आज सोमबारदेखि ६ महिनासम्म अभियान सञ्चालन हुने उनको भनाइ छ ।
प्रवास एसिया संगठन समितिका इन्चार्ज ओम शर्माको प्रमुख आतिथ्यतामा भएको बैठकमा विशेष अतिथि सहइन्चार्ज डीबी क्षत्री रहेका थिए । बैठकले केन्द्रमा जस्तै प्रवासमा ६ महिने अभियान गर्ने र उक्त अभियान तीन चरणमा हुने वलीको भनाइ छ । जसअनुसार समिति मातहतका सबै देशहरूका कमिटीले आजबाटै अभियान सुरु गर्नेछन् ।
जसअनुसार पूर्वी एसियामा वली र पश्चिम एसियामा डीबी क्षेत्रीले अभियानको संयोजन गर्ने गरी नेतृत्व गर्नेछन् । अभियानअनुसार पहिलो २ महिना सदस्यता वितरण, दोस्रो २ महिना संगठन निर्माण र तेस्रो चरणमा प्रशिक्षण तथा संगठन निर्माण अभियान चलाउने सहइन्चार्ज क्षत्रीले बताए । अभियानअनुसार १० हजार सदस्य थप्ने गरी कार्ययोजना बनाइएको उनको भनाइ छ । बैठकमा वलीले अभियानको खाका प्रस्तुत गरेका थिए भने प्रमुख अतिथि शर्माले प्रवासबाट पार्टीको पक्षमा माहौल सिर्जना गर्न सबै उत्साहका साथ लाग्नुपर्नेमा जोड दिए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij