
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन १२ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा पहिलो दिनमै माग भन्दा ६.८२ गुणा बढी आवेदन
काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा १ करोड २५ लाख ९६ हजार ५४० कित्ताका लागि आवेदन दिएका हुन् । दोस्रो दिन अर्थात सोमबार साँझसम्ममा ९ लाख ६५ हजार २२१ जना सर्वसाधारण आवेदकहरुले १ अर्ब २५ करोड ९६ लाख ५४ हजार कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा ६.८२ गुणा बढी हो ।
कम्पनीले आइतबार (फागुन ११ गते) देखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर जारी गरेको हो ।
व्यापार सहजीकरण गर्ने विषयमा सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभाग र नेपाली महावाणिज्यदूतावासबीच छलफल
काठमाडौँ । मित्रराष्ट्र चीनको सिजाङ स्वायत्त प्रदेशका वाणिज्य विभागका महानिर्देशक चेन जुन र नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच आज महावाणिज्यदूतावासमा भेटवार्ता भएको छ ।
उक्त अवसरमा व्यापार, वाणिज्य, पारवहन, व्यापार मेला र व्यापार सहजीकरण समितिको बैठकलगायत दुई देशबीचका सम्बन्धका विविध विषयमा छलफल भएको ल्हासास्थित महावाणिज्यदूतावासले जनाएको छ ।
बैठकमा महावाणिज्यदूत निरौलाले हिमाल, पहाड र नदीनालाले जोडिएका यी दुई देशबीच ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै चीनले नेपाललाई हालसम्म पुर्याएको सहयोगका निम्ति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि यस प्रकारको सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
महानिर्देशक चेनले दुई देशबीच सम्बन्ध सुदृढ बनाउन महावाणिज्यदूतावासले निर्वाह गरेको भूमिकाको सराहना गर्दै दुई दैशबीच सम्बन्ध सुदृढीकरण र नेपालको विकासमा सहयोग गर्न चीनसधैँ तयार रहेको जानकारी गराउनुभयो ।
शेयर बजार : नेप्से परिसूचकमा ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा, ११ अर्बभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ३.३५ अंकले बढेर २७५८.७५ बिन्दुमा आएको छ । आज ११ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ४ वटा समूहका सूचक सकारात्मक बनेका छन् । अन्य समूहमा सबैभन्दा बढी तेजी आएको छ । समग्रमा सेयर बजारमा लगानीकर्ताको उत्साह बढेको छ ।
यस दिन ३ सय १० कम्पनीको २ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
नेरुडे मिर्मिरे लघुवित्तको ३ लाख ६१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको नाममा रहेको ३ लाख ६१ हजार २१६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा यो संस्थाका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९फागुन १२ गते० बाट ३५ दिन भित्र यस लघुवित्तको केन्द्रीय कार्यालय, बनेपा–८ काभेपलाञ्चोकमा आवेदन दिनु पर्नेछ ।
काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले संस्थापक शेयर विक्रीका लागि माग गरेको बोलपत्र फागुन १५ गते खोल्ने भएको छ ।
कम्पनीले २१ लाख १५ हजार १० कित्ता संस्थापक शेयर विक्रीका लागि माघ २७ गतेदेखि फागुन ११ गतेसम्म बोलपत्र आव्हान गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कम्पनीको केन्द्रिय कार्यालय तिनकुने, काठमाडौंमा विहान ७ः३० बजे खोलिने जानकारी कम्पनीले दिएको छ ।
ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ वैदेशिक रोजगारीका रहेका नेपालीमा बाँडफाँट
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले माघ २१ गतेदेखि फागुन ५ गतेसम्म आईपीओ निष्कासन गरी फागुन ११ गते बाँडफाँट गरेको हो ।
तोकिएको अवधिभित्र आवेदन दिएका ४८ हजार ३१२ जना आवेदकहरुमध्ये १८ हजार जना आवेदकहरुलाई आईपीओ बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । कम्पनीले सर्वसारणमा निष्कासन गर्ने कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत आईपीओ बाँडफाँट गरेको हो ।
यस वर्ष सम्पदा लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
फागुन ११ गते साझ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय पनि कम्पनीले गरेको छ । यस कम्पनीले हालसम्म कुनै पनि लाभांश वितरण नगरेको अवस्था छ ।
प्रि ओपन सेसन :नेप्से सूचक ०.८५ अंकले घट्यो
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.८५ विन्दुले घटेको छ । यससँगै सूचक २७५४.५४ अंकमा आएको छ । ७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ सय ७४ कम्पनीको ९२ हजार २२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ६३ वटा कारोबार भएको छ ।
बिमा प्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस
काठमाडौं । नेपाल बिमा प्राधिकरणको अध्यक्षका लागि ३ जनाको नाम सिफारिस भएको छ । बिमा प्रधिकरण अध्यक्ष सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा ३ नाम सिफारिस गरेको हो । तीन जनामा शरद ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस भएको हो ।
सरकारले अध्यक्ष नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको फागुन ४ गते बसेको अध्यक्ष पदमा आवेदन दिएकामध्ये ५ जनाको नाम ‘सर्टलिस्ट’ गरेको थियो ।
दलित समुदायमाथि विभेद अन्त्यको माग गर्दै प्रदर्शन
काठमाडौँ । दलित समुदायमाथिको विभेद अन्त्य, अन्तरजातीय विवाहलगायत विषयमा उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षणका लागि सरोकार भएकाहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन् ।
दलितका लागि दलित अभियानको संयोजनमा विभिन्न दलित अधिकारवादी संघसंस्थाको सहभागितामा आज भएको प्रदर्शनका क्रममा माइतीघरदेखि नयाँ बानेश्वरसम्म ¥याली निकालिएको थियो ।
दलित हिंसा गर्नेमाथि कारबाही गर, अन्तरजातिय विवाह गर्नेहरूमाथि हुने हिंसा बन्द गर, दलितलाई खै रु लगायतका नारासहित प्रदर्शन गरिएको अभियानका संयोजक खगेन्द्र सुनारले जानकारी दिनुभयो ।
परराष्ट्रमन्त्री डा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
काठमाडौँ। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा देउवा र स्वीस विदेशमन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो । भेटका अवसरमा उहाँहरूबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री डा देउवाले आर्थिक, सामाजिक क्षेत्रका साथै नेपालको शान्ति प्रक्रियामा स्वीस् सरकारको सहयोग र सद्भावका लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले नेपालले सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद् सदस्य, सन् २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद्को सदस्य एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिएकाले यसमा सहयोगका लागि स्वीस् सरकारलाई पनि आग्रह गर्नुभयो ।
कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री
वालिङ (स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ । गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको साझेदारीमा हस्तकलाका सामग्री बनाउँदै आएको हो । आव २०७९/८० मा प्रदेशको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा परियोजना सञ्चालनमा आएको हो । रु एक करोड लागत साझेदारी रहेको उक्त परियोजनामार्फत व्यावसायिकता अभिवृद्धिका लागि हस्तकलाका सामग्री बनाउने ४५ दिने तालिम दिएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताउनुभयो । फाइबरका लागि कच्चापदार्थको रुपमा केराको थाम आवश्यकपर्ने भएकाले किसानलाई निःशुल्क केराका बोट उपलब्ध गराएको उहाँले बताउनुभयो ।
आगामी बजेटका लागि राजस्व परामर्श समितिद्वारा सरोकारवालासँग राय सुझाव माग
काठमाडौँ । राजस्व परामर्श समितिले सरोकारवालासँग राय सुझाव मागेको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि गठन भई काम थालेको राजस्व परामर्श समितिले सरोकारवालाबाट राय–सुझाव मागेको हो । समितिले ३१ चैतसम्म सुझाव पठाउन भनेको हो ।
समिति अन्तर्गत विभिन्न उपसमिति बनाइएका छन् । त्यस्तो सुझाव यी उपसमितिमा समेत पठाउन सकिने समितिले सूचना जारी गरी जनाएको छ ।
आगामी आवको राजस्व नीति बनाउने उद्देश्यले गठित समितिको उपसमितिमा आन्तरिक राजस्व, भन्सार, उद्योग वाणिज्य, लगानी तथा निर्यात प्रवद्र्धन, राजस्व चुहावट नियन्त्रण तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान छन् ।
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (फागुन १२ गते) बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ५ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।
सामाजिक सद्भावका लागि सामाजिक सञ्जालको नियमन आवश्यक छ : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक जरुरी रहेको बताउनुभएको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज ‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र ऐन संशोधनको सम्बन्ध’ मा आयोजित अन्तक्र्रिया कार्यक्रम मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमनसम्बन्धी बन्न लागेको विधेयकले कुनै मिडिया र अनलाइन माध्यम बन्द गर्न नभई सामाजिक सञ्जालमा जथाभावी समाज र राष्ट्र विरोधी अभिव्यक्ति नियमन गर्न खोजेको प्रष्ट पार्नुभयो ।
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा
काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा शोभायात्रा निकालिएको छ ।
पशुपति क्षेत्र विकास कोषको आयोजनामा पशुपतिनाथ मूल मन्दिरअघिको पश्चिम ढोकाबाट सुरु भएको उक्त शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्नुभएको हो । शोभायात्रा पश्चिम मूल ढोकाबाट भुवनेश्वरी चोक, चारशिवालय, पिङ्गलास्थान, गौशाला, जयवागेश्वरी, सिफल, लामपोखरी, चाबहिल गणेशस्थान, चावहिलचोक, मित्रपार्क, उमाकुण्ड हुँदै भुवनेश्वरी चोकमा पुगेर समापन भएको थियो ।
हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको १७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा फागुन ११ गते अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेट बत्तिसपुतलीमा सम्पन्न भएको हो ।
सभाले आव २०७९/८० को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले बोनस शेयरमा लाग्ने कर भने स्वयं शेयरधनीहरुले नै तिर्नुपर्ने विशेषा प्रस्ताव पनि सभाले पारित गरेको छ ।
बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता तथा जारी पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँ कायम हुन आउने भएकोले वृद्धि हुने पुँजीलाई समावेश गरी प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।
नेप्सेको प्रमुख कार्यकारी नियुक्त गर्न दरखास्त आह्वान
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)का लागि दरखास्त आह्वान गरिएको छ ।सिफारिस समितिले सीईओको नियुक्ति खुला प्रस्तस्पर्धाबाट गर्न सोमबार दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिले सात दिन भित्र अर्थात फागुन १८ गतेभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिनुपर्ने जनाइएको छ। आवेदनसँगै व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने सम्भावित उम्मेदवारको योग्यतामा अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि, वाणिज्य वा कानून विषयमा कम्तीमा स्नातकोत्तर, चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेर पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव आवश्यक भनी उल्लेख गरिएको छ ।
रसुवा नाकाबाट ३ हजार ३सय७२ जोर ब्रान्डेड जुत्ता चोरी पैठारी गरी ल्याउने बम्जन इन्टरप्राइजेजका बुद्ध लामा र भन्सार एजेन्टसहित तीन जनालाई राजस्व अनुसन्धानको मुद्दा , दश करोड ८४ लाख भन्दा बढी बिगो र जरिवाना माग
काठमाडौँ । राजस्व अनुसन्धान विभागले रसुवा नाकाबाट ३३७२ जोर ब्रान्डेड जुत्ता चोरी पैठारी गरी ल्याउनेहरू विरुद्ध मुद्दा दर्ता गरेको छ । विभागले मिति २०८१ फागुन ११ गते उच्च अदालत पाटनमा ब्रान्डेड जुत्ता चोरी पैठारी गरी ल्याउने बम्जन इन्टरप्राइजेजका प्रोपराइटर बुद्ध लामा, कुमार श्रेष्ठ र नौल बहादुर तामाङलाई प्रतिवादी बनाइ १० करोड ८४ लाख ६ सय ७४ रुपैयाँ मागदाबी सहित मुद्दा दर्ता गराएको हो ।
उल्लिखित प्रतिवादीहरू मध्ये रसुवा नाकाबाट ३३७२ जोर ब्रान्डेड जुत्ता चोरी पैठारी गरी ल्याउने मुख्य प्रतिवादी जिल्ला सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका वडा न ६ स्थायी ठेगाना भएका बम्जन इन्टरप्राइजेजका प्रोपराइटर बुद्ध लामालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण )ऐन २०५२को दफा २ (छ१) बमोजिमा दुई करोड असी लाख छैसट्ठी हजार सात सय उनान्साट्ठी रुपैया बिगो कायम गरी सोही ऐनको दफा २३(१) बमोजिमा बिगो जफत तथा बिगोको शतप्रतिशत जरिवाना हुन तथा सोही ऐनको दफा २३(१) (ख) बमोजिम कैद सजायको मागदाबी गरेको विभागले जनाएको छ ।
लमजुङमा भूकम्पको धक्का
काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
सुनचाँदीको मूल्य बढ्यो , प्रतितोला रू एक लाख ७० हजार आठ सय
काठमाडौँ । सुनचाँदीको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला रू पाँच सय र चाँदी प्रतितोला रू १५ बढेको हो ।
आइतबार प्रतितोला रू एक लाख ७० हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ७० हजार आठ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदी एक हजार नौ सय ८५ मा किनबेच हुनेछ ।
३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको निर्माण सुरु, सिद्धार्थ, एसबीआई, सिटिजन्स, एभरेष्ट र नबिलको साढे ५ अर्ब लगानी
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो इम्पाएर प्रालि प्रवद्र्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँधदेखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माणका लागि गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशमबहादुर जुुग्जालीले शिलान्यास गरेका छन् ।
आयोजना प्रमुख रमेश सुवेदीले आगामी २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम सुरु भएको बताए । “पहुँचमार्गलगायत पूर्वाधार निर्माण सकेर आयोजनाको मुख्य संरचना निर्माण थालिएको छ”, उनले भने, “बाँध, नाउरा र आउटलेटको अडिटबाट सुरुङ निर्माण थालिएको हो ।”
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij