
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन १५ बिहीबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
सिद्धार्थ बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न , बोर्डसँग माग्यो अनुमति
काठमाडौं । सिद्धार्थ बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। यसका लागि बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने योजना बनाएको छ।
यी २५ लाख इकाई मध्ये १० लाख इकाई सर्वसाधारणलाई जारी गरिनेछ, भने बाँकी १५ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई प्राइभेट प्लेसमेन्टका रूपमा बिक्री गर्नेछ।
ऋणपत्र बिक्रीको प्रक्रिया सफल बनाउन एनएमबि क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ।
बुद्धभूमि नेपाल हाइड्रोपावर शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न
काठमाडौं ।बुद्धभूमि नेपाल हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डमा शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न निवेदन दिएको छ, जसमा कम्पनीले १:१ अनुपातमा सेयर बिक्री गर्ने योजना बनाएको छ। यसले यसको चुक्ता पुँजीलाई ४० करोड रुपैयाँबाट ८० करोड रुपैयाँमा पुर्याउनेछ।
कम्पनीले १०० रुपैयाँको दरमा ४० लाख कित्ता सेयर बिक्री गर्न अनुमति मागेको छ। हकप्रद सेयर बिक्रीको लागि एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको भूमिका निभाउनेछ।
नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा माग भन्दा १३.२७ गुणा बढी आवेदन
काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन परेको छ । यसमा आज अन्तिम दिन साँझसम्ममा १९ लाख ९७७ जना सर्वसाधारण आवेदकहरुले २ अर्ब ४४ करोड ८३ लाख २२ हजार कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा १३.२७ गुणा बढी हो ।
शिखर इन्स्योरेन्सको २०औं वार्षिक साधारण सभा सम्पन्न, १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभा फागुन १३ गते कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टर, थापाथलीमा वार्षिक सभा सम्पन्न भएको हो ।
उक्त सभाले कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
शेयर बजार : नेप्से परिसूचकमा ४९.१५ अंकले बढेर २८१५.०४ बिन्दुमा, ११ अर्ब ३९ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ४९.१५ अंकले बढेर २८१५.०४ बिन्दुमा आएको छ । आज ११ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । ५ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । सूचीकृत सबै समूहका सूचक बढेका छन् । वाणिज्य बैंक समूह सबैभन्दा बढी ३।३२ प्रतिशतले बढेको छ ।
। यस दिन ३ सय कम्पनीको २ करोड ६१ लाख ९९ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
आज सानिमा फ्लेक्सी फण्डको इकाई खरिदका लागि आवेदन दिने अन्तिम दिन
काठमाडौँ ।सानिमा क्यापिटलले फागुन ६ गतेदेखि निष्काशन तथा बिक्रीमा ल्याएको सामूहिक लगानी कोष सानिमा फ्लेक्सी फण्डको इकाई खरिदका लागि आवेदन दिने आजअन्तिम दिन रहेको छ।
सो फण्डको इकाई खरिदका लागि फागुन २० गतेसम्म आवेदन दिन पाइने भएपनि मागभन्दा अधिक आवेदन प्राप्त भएका कारण आज बैंकिङ्ग समयपश्चात आवेदन लिने कार्य बन्द गरिने क्यापिटलले जनाएको छ।सानिमा फ्लेक्सी फण्डको कुल आकार १ अर्ब रुपैयाँबराबरको १० करोड इकाई रहेको छ।
साल्ट ट्रेडिङ कर्पोरेशनको साधारण सभा चैत १५ गते , १० प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । फागुन ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कर समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि चैत १५ गते त्रिभुवन आर्मी अफिसर्स् क्लब भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने तयारी कम्पनीको छ । कम्पनीले ऋण सुविधा लिने कार्यलाई पनि छलफल गरी पारित गर्नेछ ।साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीले दिएको छ ।
युनाइटेड इदी मर्दीको ४.२११ प्रतिशत लाभांश घोषणा, हकप्रद सेयर पनि जारी गर्ने
काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको हो । , युनाइटेडले १ बराबर १ को सेयर अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने भएको छ । बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको हो । हाल यस कम्पनीको चुक्ता पुँजी ४४ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
"बजार खुल्ने बित्तिकै नेप्से २८ सयको मनोवैज्ञानिक स्तर पार"
काठमाडौं । सेयर बजार हाल केही उत्साहजनक अवस्थामा छ, जसले लगानीकर्तालाई उत्साहित बनाएको छ। बजार खुल्दा नै नेप्से २७८० को अवरोधलाई पार गर्दै २८ सयको स्तरमा पुगेको छ। यो स्तर एक महत्वपूर्ण मनोवैज्ञानिक बिन्दु हो, र बजारले यसलाई पार गर्नुले सेयर बजारमा सकारात्मक संकेत दिएको छ।
सबै नेपालीलाई अनिवार्य बीमामा जोड्न स्वास्थ्य मन्त्रीको जोड
ललितपुर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बीमामा जोड्नुपर्ने आवश्कतामा जोड दिएका छन् ।विश्व प्रोटिन दिवसको अवसरमा नेपाल दाना उद्योग संघद्वारा बिहीबार आयोजित ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक कार्यक्रममा स्वास्थ्य मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
आफूलाई स्पष्टीकरण सोध्ने अधिकारी मन्त्रीको नभएको कुलमानको ऊर्जामन्त्रीलाई जवाफ
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई स्पष्टीकरण सोध्ने अधिकार ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्कासँग नभएको भनी जवाफ फर्काएका छन् ।मंगलबार ऊर्जा मन्त्री खड्काले कार्यकारी निर्देशक घिसिङलाई सोधको २४ घन्टे अल्टिमेटम सोधेको जवाफमा यस्तो भनिएको हो ।
मन्त्री खड्काले उनलाई हटाउनका लागि निरन्तर सोधेको स्पष्टीकरण र कुलमानको अटेर तथा स्पष्टीकरणको जवाफमा प्रयोग गरिएको भाषाले दुई व्यक्तिबीचको तनाव झन् तन्किन पुगेको अथ्र्याउन सकिन्छ ।अहिले दुवै निकायका प्रमुखबीच भइरहेको विवादले उग्र रुपल लिँदा प्राधिकरणको कामकारवाही पनि प्रभावित हुन थालेको प्राधिकरण स्रोतको भनाइ छ ।
बिहीबार सो स्पष्टीकरणको जवाफ दिँदै घिसिङले मन्त्रालयले आफूलाई स्पष्टीकरण सोध्न नसक्ने जनाएका छन् ।
चैतको अन्तिम साता अग्नि जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनीको आयोजना गरिँदै
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा आगलागी सम्बन्धी जोखिम न्यूनीकरण, सुरक्षा प्रविधिको प्रवद्र्धन तथा स्थानीयस्तरमा जनचेतना अभिवृद्धिका लागि प्रदर्शनीको आयोजना हुन लागेको छ ।आप्सा नेपालले दुई दिने चैत्र २४ र २५ गतेका दिन दरवार मार्ग स्थित होटल याक एण्ड यतिमा फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फ्रेन्स एन्ड एग्जिबिसन २०२५को आयोजना गर्न लागेको हो ।
आप्साले राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त अन्तर्राष्ट्रि सम्मेलन तथा प्रदर्शनीका बारेमा जानकारी गरायो ।आप्सा नेपालको अध्यक्ष सुनिल कुमार श्रेष्ठले सम्मेलनको उद्देश्य बारे जानकारी गराउँदै भने ‘ आगलागीको समस्या नेपालको प्रमुख चुनौतीहरू मध्ये एक हुन् । हरेक वर्ष आगलागीका घटनाहरूले जनधनको ठूलो क्षति पु¥याउँदै आएको छ । जसको सामना गर्नका लागि सरकार तथा स्थानीय तहले गरेका प्रयास प्रभावकारी भएपनि समुदायस्तरमा थप सचेतना र नवीन समाधानहरू प्रवाह गर्ने उद्देश्यका साथ यस सम्मेलको आयोजना गरिएको छ।’
साहित्य परिवर्तनको सम्वाहक हो : सञ्चारमन्त्री गुरूङ
गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले साहित्य परिवर्तनको सम्वाहक रहेको बताउनुभएको छ । ‘बुकवर्म फाउण्डेशन’को आयोजनामा आजदेखि पोखरामा सुरू भएको १२औँ नेपाल साहित्य महोत्सवको उद्घाटन गर्दै उहाँले साहित्य अभिव्यक्तिको सशक्त माध्यम भएको बताउनुभयो ।
भूपि शेरचनको कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढेर आफू क्रान्ति र परिवर्तनप्रति आकर्षित भएको सञ्चारमन्त्री गुरूङले बताउनुभयो । उहाँले बुकवर्मले आयोजना गर्दै आएको साहित्य महोत्सव बहुआयमिक कार्यक्रम रहेको बताउनुभयो ।
काठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ शैक्षिक मेला’ गर्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रियसभागृहमा ‘काठमाडौँ शैक्षिक मेला’ आयोजना गर्ने भएको छ ।
महानगरपालिकाद्वारा थालिएका कार्यक्रमबाट विद्यार्थीमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सीपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको हो ।
मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको छ । मन्त्रालयले केही मेला, महोत्सव र जात्राका नाममा सुर्तीजन्य पदार्थको उत्पादक सङ्लग्नता भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता मेला, महोत्सव र जात्रामा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन नगर्न आग्रह गरेको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन, २०६८ को दफा १० मा ‘उत्पादकलगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो टेलिभिजन, इन्टरनेट, इमेलजस्ता विद्युतीय सञ्चारमाध्यम, अन्तरक्रिया कार्यक्रम, होडिङ बोर्ड, भित्ते लेखन, लोगो सङ्केत, चिन्ह वा अन्य कुनै पनि माध्यमबाट सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गर्न वा कुनै कार्यक्रममा समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइने छैन’ उल्लेख छ । मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले उक्त कानुन विपरीत सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्द्धन गरेको पाइएमा कानुन बमोजिम कारवाही हुने बताउनुभयो ।
निःशुल्क भोजन, बास र शिक्षाको व्यवस्थासहित परोपकारमा रमाउँदै देवघाट गलेश्वर आश्रम
चितवन । पवित्र तीर्थस्थल देवघाटस्थित गलेश्वर आश्रममा गत माघको औँसीका दिन दुई हजार पाँच सयभन्दा बढीले मानिसले निःशुल्क भोजन गरे । यसैगरी माघे सङ्क्रान्तिको दिन पनि त्यत्तिकैको सङ्ख्याका भक्तजन एवं सर्वसाधारणलाई भोजन गराएको अभिलेख आश्रमसँग छ ।
त्यसो त दैनिक तीन सयबढीले यहाँ निःशुल्क भोजन गर्ने गर्दछन् । आश्रम पुग्ने जो कोही भोकै फर्किनु पर्दैन । बिहान १० बजेबाट दिउँसो १२ बजेसम्म र साँझ पाँच बजेबाट सात बजेसम्म यहाँ निःशुल्क भोजन गर्न पाइन्छ ।
सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरु नियन्त्रण गरिने बताउनुभएको छ ।
महान्यायाधिवक्ताको कार्यालयद्वारा आज आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवीय सुख र समृद्धिका लागि डिजिटल प्रविधिको प्रयोग हुनुपर्ने भएकाले अधिकारको प्रयोगका नाममा समाजलाई विकृत बनाउने छाडातन्त्रलाई रोक्न कानुन ल्याएको बताउनुभयो । उहाँले सरकारले सामाजिक सञ्जाल प्रयोगको अधिकारमा तलमाथि हुने गरी कुनै कानुन नबनाउने स्पष्ट गर्दै कार्यान्वयनको दश वर्ष पुगेको अवस्थामा संविधानको समीक्षा गर्दै आवश्यक संशोधन गरिने बताउनुभयो ।
महाशिवरात्रीको अवसरमा विशाल भण्डारा नेपालको पशुपतीमा नि : शुल्क भोजन वितरण , ५० लाखको खर्चमा दैनिक ५ देखि ३० हजारसम्मलाई नि : शुल्क भोजन खुवाईयो
काठमाडौं । विशाल भण्डारा नेपालले महाशिवरात्रीको अवसरमा पशुपतीनाथ मन्दिर परिसरमा नि : शुल्क भोजनसहितको भण्डारा संचालन गरेको छ । विशाल भण्डारा नेपालले फाल्गुन १० गतेदेखि आज १५ गते सम्म नि : शुल्क भोजनसहितको भण्डारा संचालन गरेको हो । पशुपतीनाथ मन्दिर परिसरको हन्स मण्डपसंगै संचालित भण्डारामा दैनिक नि : शुल्क भोजन वितरण गरिएको समाजसेवी रतन शर्माले बताए । उक्त भण्डारामा दैनिक ५ हजार देखि १० हजार भक्तजन तथा साधु संतलाई भोजन वितरण गरिएको समाजसेवी शर्माले बताए ।उक्त भण्डारामा शिवरात्रिको दिन बुधबार २० देखि ३० हजार जना भक्तजन तथा साधु संतहरुलाई नि : शुल्क भोजन खुवाईएको थियो । भण्डारमा भक्तजन तथा साधु संतहरुलाई सहजरुपमा नि : शुल्क भोजन वितरणको ब्यवस्था मिलाईएको किसन शर्मा (अग्रवाल)ले बताए ।
गाडी किन्न सबै ऋण बैंकले दिन नपाउने उपभोक्ताले सबै ऋण लिन नपाउने राष्ट्र बैंकको नयाँ प्रावधान
काठमाडौँ । उपभोक्ताले बैंकलाई विश्वास दिलाएर शतप्रतिशत ऋणमा गाडी किन्न नपाउने भएका छन् । बैंकले पनि शतप्रतिशत गाडी ऋण दिन नपाउने अवस्था सिर्जना भएको छ ।बैंकहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो अर्धवार्षिक समीक्षाबाट यस्तो प्रावधान थपि दिएको छ ।सवारीसाधनको ऋण मूल्य अनुपात (लोन टु भ्यालु रेसियो)मा सीमा तोकिदिएपििछ यस्तो स्थिति उत्पन्न भएको छ ।
मौद्रिक नीतिको समीक्षामा भनिए अनुसार व्यक्तिगत सवारीसाधन र सबै प्रकारका विद्युतीय सवारीसाधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिएको छ ।
भिभोले ल्यायो नयाँ टु हन्ड्रेड प्रो स्मार्टफोन
काठमाडौँ । विश्वप्रसिद्ध मोबाइल ब्रान्ड भिभोले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘भिभो एक्स २०० प्रो’ नेपालमा सार्वजनिक गरेको छ। काठमाडौंस्थित मार्सक्युर होटलमा राष्ट्रिय तथा क्षेत्रीय वितरक, अफिस स्टाफ, तथा मिडियाकर्मीहरूको उपस्थितिमा एक पक्रकार सम्मेलनको आयोजना गरी यो स्मार्टफोन सार्वजनिक गरिएको हो। कार्यक्रममा भिभो नेपालका ब्रान्ड एम्बेसडर पारस खड्काले एक्स २०० प्रो अनावरण गरेका थिए।
भिभो एक्स २०० प्रो ले स्मार्टफोन प्रविधिमा नयाँ बेन्चमार्क स्थापित गर्ने लक्ष्य राखेको छ। जाइस लेन्सको सहकार्यमा उत्कृष्ट फोटो क्वालिटी, शक्तिशाली प्रदर्शन, र आधुनिक डिजाइन प्रस्तुत गरिएको कम्पनीले जनाएको छ।
उत्तर कोरियाले एक अर्ब ५० करोड डलरको क्रिप्टोकरेन्सी चोरी गरेको एफबिआईको भनाइ
वासिङ्टन । अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन ९एफबिआई० ले उत्तर कोरियामाथि गत हप्ता एक अर्ब ५० करोड डलरको डिजिटल सम्पत्ति चोरी गरेको आरोप लगाएको छ । यो इतिहासमा सबैभन्दा ठूलो क्रिप्टो चोरी हो ।
“उत्तर कोरिया क्रिप्टोकरेन्सी एक्सचेन्ज, बाइबिटबाट लगभग एब अर्ब ५० करोड अमेरिकी डलर मूल्य बराबरको भर्चुअल सम्पत्ति चोरीको लागि जिम्मेवार थियो”, एफबिआईले एक सार्वजनिक सेवा घोषणामा भनेको छ ।
ब्युरोले लाजारस ग्रुप पनि भनिने ट्रेडरट्रेटर एक समूह चोरीको पछाडि रहेको बताएको छ ।
त्रिभुवन विमानस्थलबाट झण्डै ४ किलो अवैध सुनबरामद
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर विदेशबाट चोरी तस्करी गरी ल्याएको करिब ४ किलो सुन बरामद भएको छ।
बुधबार राति फ्लाई दुबईबाट आएका तीन जना महिलासँग सुन फेला परेको हो। उनीहरूले मलद्वारमा राखेर सुन ल्याएको खुलेको छ। प्रहरीले बरामद गरेको सुनको परिमाण ३ किलो ७४५ ग्राम रहेको जनाइएको छ।
भन्सार एरिया पास भइसकेपछि विमानस्थलमा खटिएको नेपाल प्रहरीको टोलीले शंका लागेर चेक गर्दा उनीहरूको साथबाट सुन भेटिएको हो।
आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ
काठमाडौँ । सुनको मूल्य आज पनि घटेको छ । बिहीबार तोलामा २०० रुपैयाँ घटेको सुनको मूल्य १ लाख ७० हजार ३ सय रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
सुन बुधबार तोलामा ८०० रुपैयाँ घटेर प्रति तोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ। दुई दिनमा प्रति तोला ४५ रुपैयाँ घटैको चाँदीको भाउ बिहिबार ५ रुपैयाँ बढेर तोलामा एक हजार ९४५ रुपैयाँ पुगेको छ।
रारास्थित एक होटेलमा आगलागी हुँदा चार भवन नष्ट
मुगु। यहाँस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पु¥याएको जनाइएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
आजका लागि युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५६ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ११ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij