काठमाडौँ । नेपालको प्रथम महिला न्यायाधीश तथा सर्वोच्च अदालतल पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको ८४ वर्षको उमेरमा शुक्रबार बिहान महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा निधन भएको छ । उहाँको शुक्रबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उहाँका छोराहरु डा. सुजनराजा श्रेष्ठ र सुमनराजा श्रेष्ठ रहनुभएको छ ।
श्रेष्ठ सर्वोच्च अदालतमा ३ बैशाख २०६१ मा नियुक्त भई २० जेठ २०६५ मा अवकाश लिनुभएको थियो । सर्वोच्च अदालतमा पदस्थापन हुनुअघि उहाँ उच्च अदालत राजविराजमा कार्यरत हुनुहुन्थ्यो । लेखन कुञ्जले उहाँको आत्मकथा “शारदा श्रेष्ठः नेपालको प्रथम महिला न्यायाधीश” प्रकाशन गरेको थियो । जसमा उहाँको आफ्नो जीवनयात्रा र न्यायिक क्षेत्रमा भोगेका रोचक अनुभवहरु रहेका छन् । उहाँको अर्को रचना “शंकरमान श्रेष्ठ र मेरो परिवार“ नामक पुस्तक शुक्रबार मात्रै प्रकाशित भएको तर उहाँले आपनो रचना देख्न पाउनुभएन । शुक्रबार प्रकाशन हुँदैछ भन्ने जानकारी भने उहाँलाई थियो ।
उहाँको आत्मकथा मार्फत नयाँ पुस्तालाई दिनुभएको प्रेरणा र ज्ञान अमूल्य रहनेछ । उहाँ एक कुशल न्यायाधीश मात्र नभई, एक प्रतिभाशाली, चेतनशील लेखिका, प्रेरक व्यक्तित्व र समाजसेवी पनि हुनुहुन्थ्यो ।
शारदा श्रेष्ठको निधनले नेपालको न्यायिक, साहित्यिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क्षति भएको छ । यस दुःखद घडीमा लेखन कुञ्ज परिवार शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij