
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन २५ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बोनस सेयरमा मूल्य नेप्सेमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको १.२४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ४४२.४० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर भाउ ४३६.९४ रुपैयाँ कायम भएको छ ।
दुई कम्पनीको हकप्रद र बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनएलजी इन्सरेन्सको हकप्रद सेयर र नेपाल ल्यूब आयलको बोनस सेयर सूचीकृत भएको छ ।आइतबार एनएलजीको ६२.५६ प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो । यसको कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता सेयर सूचीकृत भएको छ ।नेपाल ल्यूब आयलले वितरण गरेको २० प्रतिशत बोनस सेयर पनि आइतबार सूचीकृत भएको छ । यसको १ लाख २१ हजार ४३७.८० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
शेयर बजार : नेप्से परिसूचकमा ४६.३३ अंकले घटेर २७७२.१० बिन्दुमा, १० अर्बभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ४६.३३ अंकले घटेर २७७२.१० बिन्दुमा आएको छ ।आज १० अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । आज ३ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।
यस दिन ३ सय १५ कम्पनीको २ करोड २७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब १२ करोडभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स सबैभन्दा अघि छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर परेका छन् ।
"नेपाल धितोपत्र बोर्डको निर्देशन: ५ करोड पुँजी र १० करोड कारोबार भएका इन्भेष्टमेन्ट कम्पनीलाई सूचिकृत गर्न आदेश"
काठमाडौं ।नेपाल धितोपत्र बोर्डले ५ करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी र १० करोड रुपैयाँ वा सोभन्दा बढी वार्षिक कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीलाई सूचिकृत गर्न निर्देशन दिएको छ। यस निर्णयको उद्देश्य सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) रोकथामको लागि प्रभावकारी निगरानी सुनिश्चित गर्नु हो। सरकारद्वारा २०६४ को सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत धितोपत्र बोर्डलाई इन्भेष्टमेन्ट कम्पनीहरूको नियमनको जिम्मेवारी दिइएको थियो।
‘पर्यटन पूर्वाधार विकासमा सार्थक प्रयास भइरहेको छ’
धरान । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन पूर्वाधार विकासमा सार्थक प्रयास भइरहेको बताउनुभएको छ ।
आज सुनसरीको इटहरी धरानरोडस्थित आँपगाछीमा सुरु भएको तीनदिने ‘इस्टर्न ट्राभल मार्ट’को उद्घाटन गर्दै उहाँले आर्थिक समृद्धिको पहिलो आधार पर्यटन क्षेत्र भएकाले यसमा सरकारले ध्यान दिइरहेको बताउनुभयो । मुलुकको आर्थिक समृद्धि र विकासलाई उच्च प्राथमिकतामा राखेर कोशी प्रदेशको समग्र विकासका लागि योजनाबद्ध रूपमा सरकार अगाडि बढिरहेको पनि उहाँले बताउनुभयो ।
प्रदेशमा रहेको आकर्षक पर्यटकीय गन्तव्यमा पर्यटक आगमन बढाउन स्थानीय तहसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्नुभयो ।
भारतको पञ्जाबमा भवन भत्किँदा एक जनाको मृत्यु, ६ घाइते
नयाँदिल्ली । उत्तरी भारतीय राज्य पञ्जाबमा एक कारखानाको भवन भत्किँदा एक कामदारको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएको प्रहरीले आइतबार जनाएको छ ।
दुई जना मजदुर भग्नावशेषमा फसेको आशङ्का गरिएको छ । पञ्जाबको सहर अमृतसरबाट करिब १५४ किलोमिटर दक्षिण पूर्व लुधियाना जिल्लामा साँझ एउटा कपडा कारखानाको भवन भत्किएको छ ।
कारखानाको भवन भत्किएको समयमा त्यहाँ २९ जना कामदार रहेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताए । “कारखानामा मर्मत कार्य चलिरहेको थियो, जब अचानक एउटा स्तम्भ भत्कियो, जसको कारण पूरै भवन भत्कियो,” एक प्रहरी अधिकारीले बताउनुभयो ।
“भवन भत्किँदा विस्फोटको आवाज पनि सुनिएको थियो । उद्धार कार्य जारी छ ।”
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्वः प्रधानमन्त्री ओली
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशसभा बैठकमा आज विशेष सम्बोधन गर्दै उहाँले जनताको बलिदानपूर्ण र लामो सङ्घर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको व्यवस्थाको मर्म र भावनालाई सम्मान गर्दै लोकतान्त्रिक विधि र पद्धतिमा हिँड्न सबैमा आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहबाट प्रजातन्त्र दिवसका अवसरमा दिइएको अभिव्यक्ति आश्चर्यलाग्दो भएको उल्लेख गर्दै भावनामा बगेर देश नबन्ने स्पष्ट गर्नुभयो । उहाँले मुलुकमा फेरि अस्थिरता जन्माउने खेल भएकाले प्रमुख राजनीतिक दलका यसविरुद्ध उभिएकामा धन्यवाद व्यक्त गर्नुभयो ।
सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनमा सांसदले उठाएका विषयको समयभित्रै जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष दाहालले बैठकको शून्य र विशेष समयमा सांसदहरुले उठाएका विषयमा सम्बन्धित मन्त्रीहरुलाई जवाफ दिन निर्देशन दिनुभएको हो ।
उहाँले अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका सन्दर्भमा सांसदहरुले उठाउनुभएका महिला र बालबालिका, हिंसा, बलात्कार, हत्यालगायत विषय, शिक्षकको आन्दोलन, स्वर्गाद्वारी गुठीको समस्या, दलित, आदिवासी जनजाति र किसानका समस्या एवं सुशासन, सेवा प्रवाहबारे उठेका प्रश्नको जवाफल दिन निर्देशन दिनुभयो ।
पूर्वराजा काठमाडौँमा
काठमाठौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको केही समयको भ्रमण पूरा गरी आज काठमाडौँ फर्किनुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजनीतिक दलका नेता तथा कार्यकर्तासहित पूर्वराजा समर्थित व्यक्ति तथा सङ्घसंस्थाले उहाँलाई स्वागत गरेका थिए ।
पूर्वराजाको स्वागतमा विमानस्थलको मूल ढोकाबाहिर उभिएका अधिकांशको हातमा राष्ट्रिय झन्डा देखिन्थ्यो । राप्रपासहित पूर्वराजा समर्थित विभिन्न समूहको आह्वानमा भएको यस किसिमको कार्यक्रमबाट विमानस्थल–चक्रपथ क्षेत्रको यातायात व्यवस्था प्रभावित भएको थियो । विमानस्थल क्षेत्रको संवेदनशील पक्षलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा गरिएको थियो ।
नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीद्वारा प्रथम प्रभाकर शमशेर जङ्गबहादुर राणा स्मृति कार्यक्रमको आयोजना
काठमाडौँ । नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (निक्की)को आयोजना प्रथम प्रभाकर शमशेर जङ्गबहादुर राणाको स्मृतिमा आयोजित आख्यान कार्यक्रम सम्पन्न भएको छ ।
निक्कीले आयोजना गरेको प्रथम प्रभाकर शमशेर राणा स्मृति आख्यान कार्यक्रममा राणाको आर्थिक क्षेत्रमा भएको योगदानको बारेमा चर्चा गरिएको हो ।
हालै नियुक्त बीमा प्राधिकरणका अध्यक्ष विरुद्ध अख्तियारमा उजुरी, छनौटकर्ताहरू समेतलाई कारबाही माग
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका हालै नियुक्त अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। ओझाले अनुभवको सम्बन्धमा झुटा विवरण र कागजात बुझाएर सरकारलाई ढाँटेको भन्दै उनी विरुद्ध आइतबार अख्तियारमा उजुरी परेको हो।
उक्त उजुरीमा ओझाले बुझाएका कागजात छानबिन गरी कारबाही गर्न माग गरिएको छ। ओझाले सरकारलाई गुमराहमा राखेको आरोप लगाइएको छ। पत्रकार ओझाले नियुक्ति लिनुअघि प्रबन्धकको रुपमा काम गरेको अनुभवसहितको कागजात पेस गरेका थिए।
अर्थमन्त्रीद्वारा तीन करोड भन्दा माथिका आयोजना ल्याउन मन्त्रालयहरूलाई आग्रह
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि तीन करोड रुपैयाँ भन्दा माथिका योजना ल्याउन मन्त्रालयहरूलाई आग्रह गरेका छन् ।बजेट तयारीमा जुटेका मन्त्री पौडेलले आइतबार आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माण सम्बन्धी विषयमा खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।
भेटका क्रममा मन्त्री पौडेलले असंख्य योजना तथा कार्यक्रमबाट बाहिर आउन आग्रह गर्दै पूर्वतयारी सम्पन्न ठूला रुपान्तरणकारी एवम् राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम प्रस्तावमा ध्यान दिन आग्रह गरे ।पौडेलले प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रममा उनीहरुको भूमिका बढाउनु पर्ने र एक पटकका लागि बीउधन (सिडमनी) दिएर भए पनि प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका आयोजना तथा कार्यक्रमहरु हस्तान्तरण गर्नु पर्ने पनि आवश्यकता औँल्याए ।
आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश पारित
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा दियो महल, धुम्बाराही काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिबेदन छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८० र०८१ एनएफआर बमोजिमको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सोसंग सम्बन्धीत अनुसूचीहरु सहितको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।
सभाले कम्पनीको लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम आर्थिक वर्ष २०८१/०८२ का लागि कम्पनीको बाहृय लेखापरीक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने (वर्तमान लेखापरीक्षक श्री एसएआर एशोसिएट्स चाटर्ड एकाउन्टेन्ट्स पुनः नियुक्त हुन सक्ने प्रस्ताव पारित गरेको छ ।
सिरियामा दुई दिनको झडप र प्रतिशोधपूर्ण हत्यामा एक हजारभन्दा बढीको मृत्यु
बेरुत । सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बशर अल–असदका समर्थकहरूबीच दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरूले मृत्यु सङ्ख्या एक हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले शनिबार बताएको छ ।
यो सिरियाको १४ वर्षअघि सुरु भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसाको घटना हो ।
बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सात सय ४५ सर्वसाधारण मारिएका छन् । तीमध्ये एक सय २५ जना सरकारी सुरक्षा बलका सदस्य र एक सय ४८ जना असदसँग सम्बन्धित सशस्त्र समूहका लडाकुहरू मारिएका छन् । लाटाकिया सहर वरपरका ठूलो क्षेत्रमा बिजुली र खानेपानी काटिएको अब्जर्भेटरीले बताएको छ ।
इरानका सर्वोच्च नेताद्वारा क्षेप्यास्त्र सीमा, क्षेत्रीय प्रभावका विषयमा अमेरिकासँग वार्ता गर्न अस्वीकार
तेहरान । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले वार्ताहरू इरानी क्षेप्यास्त्रको सीमा र यस क्षेत्रमा इरानको प्रभावमा प्रतिबन्ध लगाउने उद्देश्यमा केन्द्रित हुने भन्दै दुई देशबीच वार्ताका लागि अमेरिकी प्रयासलाई अस्वीकार गर्नुभएको छ ।
शनिबार अधिकारीहरूको एक समूहलाई सम्बोधन गर्दै उहाँले अमेरिकाको नाम उल्लेख गर्नुभएन तर ‘धम्की दिने सरकार’ वार्ताका लागि आफ्नो प्रयासमा दृढ रहिरहेको बताउनुभयो ।
“उनीहरूको वार्ताको उद्देश्य समस्याहरू समाधान गर्नु होइन, यो ।।। हामी जे चाहन्छौँ त्यो टेबलको विपरीत पक्षमा बसेको अर्को पक्षमाथि थोप्न कुरा गरौँ भन्ने हो”, उहाँले भन्नुभयो ।
सुर्खेतमा तारा एयरको उडान बन्द
काँक्रेविहार । तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ ।
कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गर्नुभएको हवाई सेवा अहिले बन्द भएको हो ।
हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो । ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ ।
दूधको उत्पादन, गुणस्तर र बजारीकरणका लागि चितवनमा नयाँ परियोजना सुरु
चितवन । जिल्लामा उत्पादित दूधको गुणस्तर, उत्पादन र बजारीकरणका लागि नयाँ परियोजना सुरु गरिएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जिल्लामा उत्पादित दूधको गुणस्तर र उत्पादन बढाउन ‘मिल्की वे’ परियोजना सञ्चालनका लागि काम अघि बढाएको हो ।
जिल्लामा उत्पादित दूधको बजारीकरण, गुणस्तर र उत्पादन वृद्धि गर्न किसानलाई सहजीकरण गर्ने उद्देश्यले सो परियोजना ल्याइएको हो । सङ्घका अध्यक्ष किशोर बगालेले यस परियोजनामार्फत दूध उत्पादनको लागत घटाउने, पशु चौपायाको स्वास्थ्यमा पर्ने समस्या समाधानका लागि सहयोग पु¥याउने, यन्त्र उपकरणको प्रयोग बढाउने, बजार व्यवस्थापनमा सहयोग गर्ने, स्वच्छ तथा सफा दूध उत्पादन र सङ्कलनमा सहयोग गर्ने रहेको बताउनुभयो ।
पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाश खुलेन, वायु प्रदूषण बढ्यो
काठमाडौँ । पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा डम्म बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ ।
मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले राससलाई बताउनुभयो । “मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,” उहाँले भन्नुभयो, “अझै तीन दिन यस्तै हुने देखिन्छ ।”
‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको पाचौँ प्रदूषित सहरका रुपमा सुचीकृत भएको छ । आज यहाँको वायु प्रदूषण एक सय ६३ एक्युआई पुगेको छ ।
एक अप्रिल देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ घन्टासम्म सञ्चालनमा आउने
काठमाडौँ । हवाई सेवा १० घन्टा बन्द हँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी चैत १९देखि १८ घन्टासम्म सञ्चालनमा आउने भएको छ ।चैत १९ गतेदेखि (अप्रिल १)बाट ६ घण्टामात्र बन्द गरी स्त्तरोन्नतिको काम सञ्चालन गर्ने निर्णय गरिएपछि १८ घन्टा हवाई सेवा सञ्चालन गर्न लागिएको हो ।
२०८१ कात्तिक २३ देखि चैत १८ गतेसम्मको समय सीमा तोकेर विमानस्थल विस्तार गर्ने योजनाअनुरुप स्तरोन्नतिको काम भइरहेको छ ।अहिले नागरिक उड्डयन प्राधिकरणले दैनिक १० घण्टा विमानस्थल बन्द गरेर स्तरोन्नतिको काम गरिरहेको छ । माघ १९ देखि विमानस्थल बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म सञ्चालन भइरहेकोमा चैत १९ देखि ६ घण्टामात्र (राति १२ देखि बिहान ६ बजे) बन्द हुने भएको जनाइएको हो ।
दिक्तेल–रेग्मीटार सडक निर्माण अन्तिम चरणमा
खोटाङ ।जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित रेग्मीटारसम्मको १४ दशमलव पाँच किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो । सडक निर्माण सम्पन्न भएपछि दिक्तेलबाट महुरे–बुइपा–विजयखर्क–राजापानी घुम्दै रेग्मीटार पुग्नुपर्ने बाध्यताको अन्त्य हुने नगरप्रमुख तीर्थराज भट्टराईले जनाउनुभयो । “दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गौरवको आयोजनामा राखेर आर्थिक वर्ष २०७९÷८० बाट उक्त सडक निर्माण सुरु गरेको हो । निर्माण हुन पाँच सय मिटरमात्र बाँकी छ । पूर्वी तराई जोड्ने यो सडक एक महिनाभित्र सम्पन्न गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो, “दिक्तेल–रेग्मीटार सडक निर्माणमा नगरपालिकाको रु ८५ लाख खर्च भइसकेको छ ।
बाङखोलामा पुुल निर्माण भएपछि पदमार्गमा आउने पर्यटकलाई सहज
म्याग्दी।धवलागिरि गाउँपालिका–३ मुनाको बाङखोलामा पुुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर खोला वारपार गर्नुपर्ने समस्या हटेको छ । धवलागिरि गाउँपालिकाले रु १२ लाख बजेटबाट तल्लो बाङखोलामा १२ मिटर र उपल्लो बाङखोलामा नौ मिटर लामो फलामे पुल निर्माण गरेको हो । गत साउनमा बाङखोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि मुना हँुदै लुलाङ–गुर्जा, ढोरपाटन जाने पदमार्गमा आवतजावतमा समस्या भएको थियो । धवलागिरि –३ का वडाध्यक्ष देवेन्द्र रोकाका अनुसार उपभोक्ता समितिमार्फत कल्भर्ट पुल निर्माण भएपछि तीनवटा वडाका बासिन्दाका साथै, ढोरपाटन गुरिल्ला र डोल्पा पदमार्ग भ्रमणमा आउने पर्यटकलाई सहज भएको छ । छोटो घाट भएको ठाउँमा छिटो बनाउनुपर्ने भएकाले खोलाको दायाँबायाँ मेसिनरी पर्खाल उठाएर फलाम जोडेर कल्भर्ट प्रविधिको पुल निर्माण गरिएको हो । पुल बनेपछि बर्खायाममा बाङखोलाको उर्लँदो भेलमा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता हटेको छ ।
इलाममा उत्पादित मिठाइको माग काठमाडौँ र भारतसम्म
इलाम। सूर्योदय नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कन्याम र श्रीअन्तु हो । गर्मीयाम सुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुँदैछ । कन्यामको चियाबारीमा फोटो, भिडियो लिएपछि चिसो मौसममा रमाउँदै अन्तु पुगेर पोखरीमा डुङ्गा सयर गर्ने, बिहानको भुल्के घाम हेर्ने र फर्किने औसत पर्यटकको ‘सेड्युल’ हुन्छ । तर, घुमफिर गरेर घर फर्किँदा पर्यटक रित्तै जाँदैनन् । उनीहरु नगरपालिकाको केन्द्र फिक्कल बजार पुगेर कोसेली किन्छन् । दुग्धजन्य उत्पादन छुर्पी, घ्यू, ललिपप र बम्बइसन साथै चिया र अकबरे कोसेलीका रूपमा लगिने गरेको छ ।
“कार्यालयमा साथीहरूले इलामको कोसेली खोई भन्छन्”, चितवनबाट घुम्न आउनुभएका रोशन सापकोटाले भन्नुभयो, “ललिपप नलिई नआउनु भनेका छन् । रु छ हजारको किनिसके, जुन हेर्यो, त्यहीँ लैजानुजस्तो छ ।” कोसेली सामान बिक्रीका लागि बजारमा लहरै सजाएर राखिएको छ । एउटा पसलले सामान्यतया पाँचदेखि १० हजारसमम्म बिक्री गर्छन् । फिक्कलमा सयभन्दा बढी पसल खुलेका छन् । “हिजो रु नौ हजारको बिक्री भयो । कुनै दिन चार– हजारको मात्रै बिक्छ । सिजन सुरु हुँदैछ । पोहोर त सिजनमा दिनकै रु ३० हजारसम्म बेचेको”, स्थानीय सुजन सापकोटाले भन्नुभयो । यहाँ आउने पर्यटक खाली हात जाँदैनन् ।
सुनको भाउ सामान्य वृद्धि, चाँदीको भाउ घट्यो
काठमाडौं ।आइतबार सुनको भाउ १०० रुपैयाँले वृद्धि हुँदै प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँमा पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, यसअघि शुक्रबार छापावाल सुनको भाउ १ लाख ७० हजार २०० रुपैयाँ थियो।
चाँदीको भाउ भने ५ रुपैयाँले घटेर १९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ, जबकि शुक्रबार चाँदीको भाउ १९ सय ९० रुपैयाँ थियो।
नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्दै बजारमा अधिक तरलता व्यवस्थापन गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले आइतबार, फागुन २५ गतेदेखि यस उपकरणको बोलकबोल प्रक्रिया सुरु हुने जानकारी दिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्नका लागि २५ अर्ब रुपैयाँ तान्ने योजनासमेत लिएको हो। इच्छुक बैंक र वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।
केन्द्रीय बैंकले यो निक्षेप संकलन उपकरण २१ दिनका लागि प्रयोग गर्ने भएको छ। साँवा र ब्याज भुक्तानी मिति चैत्र १७ गते तय गरिएको छ, र ब्याजदर भने बोलकबोल प्रक्रियाबाटै निर्धारण गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडको माग गर्न सक्नेछन्।
नयाँ सडक समाचार प्रभाव: एयरटेल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोयललाई संस्थाका सम्पूर्ण विवरणसहित बागमती प्रदेशको सहकारी मन्त्रालयले बोलायो
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा न २२ मा रहेको एयरटेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेका अवैधानिक हर्कत र गतिविधिको छानबिन हुने भएको छ ।नयाँ सडक डटकमले एयरटेलले गरेका गलत क्रियाकलापको विषय लगातार उठाउँदै आएको छ ।एयरटेल सहकारीले विभिन्न सरकारी निकायलाई प्रभावमा पारेर गरेका अवैधानिक गतिविधिको छानबिन हुने भएको हो ।
बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले एयरटेल बचत तथा ऋण सहकारी संस्थालाई एक पत्र लेख्दै फागुन २८ गते सम्पूर्ण कागजपत्र र विवरणसहित छलफलमा बोलाएको छ । एयरटेल सहकारीले गरेका अवैधानिक गतिविधिको विषयमा पीडितहरूले उजुरी दिएपछि र मिडियामा समाचार आएपछि अन्ततः मन्त्रालयको सहकारी महाशाखाले अध्यक्ष अशोक गोयल र सहकारीलाई छलफलमा बोलाएको हो ।
हिमपातहुँदा किसान खुसी
मनाङ । जिल्लाका माथिल्लो भेगमा आंशिक हिमपात हुनथालेपछि किसानमा खुसी थालेका छन् । ढिला गरी भएको हिमपातले हिमाल टलक्क टल्केका देखिन्छ । पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो मनाङसम्म हिमपात हुँदै आएको छ । तल्लो क्षेत्रमा भने हालसम्म हिउँ पर्न सकेको छैन । माथिल्लो क्षेत्रमा हिमपात हुँदा यहाँका हिमालमा हिउँ देखिन थालेको छ भने समयमा हिमपात नहुँदा चिन्तित बनेका यहाँका किसानमा खुसी भएका छन् ।
हिमपातले खेतीपातीमा सहयोग पुग्ने किसान याङदुङ गुरुङले बताउनुभयो ।
“हिउँकै भरमा खेती गर्ने हामीलाई समयमा हिउँ नपर्दा समस्या हुने गरेको छ, ढिला गरी हिउँ पर्दा सिँचाइ राम्रोसँग हुन पाउँदैन तर पनि केही राहतचाहिँ हुन्छ”, उहाँले भन्नुभयो, “पानीको काम नै हिउँले गर्छ ।” हिउँ नपरेको बेलामा समेत चिसोले यहाँका खोलानाला, झरना, तालका पानी जम्ने भएकाले सिँचाइमा समस्या हुने गरेको उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारीबाट फर्किएका सर्लाहीका इन्द्रलाल केराखेतीबाट मासिक रु एक लाखसम्म आम्दानी
बरहथवा । बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न हुनुहुन्छ छ । उहाँले साढे सात बिघा खेतमा केराखेती गर्नुभएको छ । उहाँले भन्नुभयो, “मेहेनतअनुसारको उत्पादन र उत्पादनअनुसारको राम्रो व्यापार भएका कारण केराखेतीबाट मनग्य आम्दानी भइरहेको छ ।”
कृषि उत्पादनमा व्यावसायिक रूपले जोडिनुपर्ने उहाँको तर्क छ । “हामी आफ्नो माटोमा सुन फलाउन छाडेर विदेशमा पित्तल कमाउन पुग्ने गर्छौँ”, उहाँले भन्नुभयो । झण्डै पाँच वर्ष वैदेशिक रोजगारीमा मलेसिया मा विताउनुभएका उहाँ युवाहरूलाई देशमै केही गर्न आग्रह गर्नुहुन्छ ।
विगत एक दशकदेखि बिहान सबेरैदेखि साँझ अबेरसम्म उहाँ केराबारीमा भेटिनुहुन्छ । खेतीबारी राम्रो हुन त्यसलाई पर्याप्त स्याहारसम्भार गर्नुपर्ने उहाँको अनुभव छ । “हाम्रो बानी कस्तो छभने खेतमा बाली लगाउने अनि फर्केर नजाने”, उहाँले भन्नुभयो, “यसरी खेती हुँदैन, हाम्रा पितापुर्खाले भन्ने गर्नुभएको उखानै छ । घोकन्ते विद्या, ध्याउन्ते खेती ।”
दोर्दी खोला जलविद्युतले चैत्र १९ गतेदेखि हकप्रद सेयर जारी गर्ने
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले चैत्र १९ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको छ। कम्पनीले १ः१ अनुपातमा कुल १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गर्ने योजना बनाएको हो। यसअनुसार, कम्पनीले १ सय अंकित मूल्यमा कुल १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ।
यो हकप्रद सेयरको लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, फागुन १४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न सक्नेछन्। लगानीकर्ताले २०८२ बैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
यसपटक एनएमबि लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले लगातार दोस्रो वर्ष पनि लाभांश नपाउने भएका छन्। कम्पनीको शुक्रबारको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि नगद र बोनस सहित कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ
नेपाल इन्सुरेन्सको १५.७९ प्रतिशत बोनस सेयर घोषणा
काठमाडौं । नेपाल इन्सुरेन्स कम्पनीले गत वर्षको नाफाबाट १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन २४ गतेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने निर्णय गरेको हो।
यो प्रस्ताव नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण गरिनेछ। यसअघि, इन्सुरेन्स कम्पनीले आव २०७९–८० को नाफाबाट १०.५३ प्रतिशत लाभांश घोषणा गरेको थियो। साथै, कम्पनीले हाल ४० प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पर्खिरहेको छ।
आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाइएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ २७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij