
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन २७ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा पहिलो दिनमै माग भन्दा ४.१८ गुणा बढी आवेदन
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा ६१ करोड ७३ लाख ६२ हजार रुपैयाँ बरबरको आवेदन परेको छ । पहिलो दिन अर्थात् आज मंगलबार साँझसम्ममा ४ लाख ९८ हजार १६१ जना सर्वसाधारण आवेदकहरुले ६१ लाख ७३ हजार ६२० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा ४.१८ गुणा बढी हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन लाइफ इन्सुरेन्स र नेष्डो समृद्ध लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
जसमा सिटिजन लाइफ इन्सुरेन्सको २६.९८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । मंगलबारको अन्तिम कारोबार मूल्य ७२५.६० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात भाउ ५७१.४१ रुपैयाँ कायम भएको छ । नेष्डो समृद्ध लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य २२ सय ७३ रुपैयाँलाई आधार मानेर यसको भाउ समायोजन गरिएको हो । समायोजन पश्चात भाउ १९ सय ८९.५० रुपैयाँ कायम भएको छ ।
स्टान्डर्ड चार्टर्ड बैंकको ६१ लाख २९ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्टान्डर्ड चार्टर्ड बैंकको ६१ लाख २९ हजार १४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यस बैंकले गत वर्षको नाफाबाट वितरण गरेको ६.५० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो ।
शेयर बजार : नेप्से परिसूचकमा ३२.२१ अंकले घटेर २७१९.२० बिन्दुमा, ८ अर्ब ३९ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ३२.२१ अंकले घटेर २७१९.२० बिन्दुमा आएको छ । आज ८ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।
यस दिन ३०३ कम्पनीको १ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५८ करोड ६५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र महालक्ष्मी विकास बैंक परेका छन् ।
विशाल बजार कम्पनी लिमिटेडको साधारण सभा रोकियो
काठमाडौँ । विशाल बजार कम्पनी लिमिटेडको ३४औँ साधारण सभा रोकिएको छ ।साधारण सभाको पूर्व सन्ध्यामा जिल्ला अदालत काठमाडौँ र उच्च अदालत पाटनले साधारण सभा स्थगित गर्न अन्तरिम आदेश दिएपछि भोलि हुने तय गरिएको साधारण सभा रोकिएको हो ।
कम्पनीका शेयरधनीहरूले उजुरी दिएपछि भोलि हुने साधारण सभा रोकिएको छ । साथै अदालतले १५ दिन भित्र अदालतलाई जवाफ पठाउन कम्पनीलाई आदेश दिएको छ । वार्षिक साधारण सभा कम्पनीको हित विपरीत भएकोले शेयरधनी सुनिलकुमार शाक्यले उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र ऋषि राजभण्डारीको फागुन २६ गतेको इजलाशले कम्पनीको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
दक्षिण अफ्रिकाको उत्तरपूर्वी क्षेत्रमा बस पल्टिँदा १२ जनाको मृत्यु, ४५ घाइते
जोहान्सबर्ग । दक्षिण अफ्रिकाको उत्तरपूर्वी गौतेङ प्रान्तमा मङ्गलबार बिहान एउटा बस पल्टिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।
“दुर्घटना स्थानीय समय अनुसार बिहान ६ः४५ बजे जोहानेसबर्गको ओआर ताम्बो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको एकुरहुलेनी सहरको राजमार्गमा भएको थियो,” एकुरहुलेनी सहरको यातायातका लागि मेयर समितिका सदस्य एन्डिले मङ्गवेवुले बताउनुभयो ।
दुर्घटनामा परी कम्तीमा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । पैँतालिस जना घाइते यात्रुलाई नजिकैका अस्पतालहरूमा लगिएको मङवेभुले बताउनुभयो ।
“मृतकका परिवारप्रति हाम्रो हार्दिक समवेदना र क्षेत्रका विभिन्न अस्पतालहरूमा लगिएकाहरूको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्दछौं ।”
समाजवादी मोर्चाले चैत्र १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने
काठमाडौं । समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने भएको छ । मोर्चाले आगामी चैत्र १५ गते काठमडौंमा प्रदर्शन गर्ने कार्यक्रम आयोजना गरेको हो ।
समाजवादी मोर्चाको मंगलबार बसेको बैठकले यस्तो निर्णय लिएको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिए ।
यसअघि समाजवादी मोर्चाले चैत्र २४ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो । तर, पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै चैत १५ गते नै उक्त कार्यक्रम तय भएको उनले जानकारी दिए ।
‘चैत्र २४ गते ऐतिहासिक कार्यक्रम गर्ने सोचेको थियो । आगामी चैत्र १५ गते काठमाडौंमा गणतन्त्रको पक्ष र प्रतिगामी हर्कतको खिलापमा हजारौं जनताको विरोध प्रदर्शन गर्ने निर्णय भएको छ,’ उनले भने ।
उपभोक्ता अदालत आगामी चैत २ गतेदेखि सञ्चालनमा आउने
काठमाडौँ । उपभोक्ता अदालत आगामी चैत २ गतेदेखि सञ्चालनमा आउने भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आज प्रतिनिधिसभा बैठकमा उपभोक्ता अदालत गठनसम्बन्धी सूचना टेबुल गर्नुहुँदै चैत २ गतेदेखि अदालत सञ्चालनमा आउने जानकारी दिनुभयो ।
उपभोक्ता संरक्षण ऐन २०७५ को व्यवस्थाअनुसार यो अदालत गठन भएको हो । सरकारले काठमाडौँ उपत्यका मुकाम रहने गरी काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्रका उपभोक्तासम्बन्धी मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन थियो छ । उपभोक्ता अदालतमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको छ । त्यस्तै, न्याय समूहअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत गेहेन्द्रराज रेग्मी र सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत आनन्दराज पोखरेललाई सदस्य तोकिएको छ ।
ट्रम्पद्वारा विद्युत् अतिरिक्त भन्सार लगाएपछि क्यानाडालाई ‘भन्सार शुल्क दुरुपयोगकर्ता’ को आरोप
वासिङ्टन । ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यमा विद्युत् अतिरिक्त भन्सार लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार क्यानाडालाई ‘भन्सार शुल्क दुरुपयोगकर्ता’ भन्दै संयुक्त राज्य अमेरिकालाई क्यानाडाको ऊर्जाको आवश्यकता नभएको दाबी गर्नुभएको छ ।
क्यानाडाको सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्त ओन्टारियोका नेताले सोमबार मिशिगन, मिनेसोटा र न्युयोर्कमा विद्युत् निर्यातमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क थप्न लागेको बताउनुभयो । ओन्टारियोले यी तीन राज्यमा १५ लाख घर र व्यवसायहरूलाई विद्युत आपूर्ति गर्छ ।
“ओन्टारियोले अहिले ‘विद्युत्’ मा, सबै कुरामा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क घोषणा गर्यो”, प्रान्तलाई ‘त्यसो गर्न अनुमति नै थिएन’ भन्ने दाबी गर्दै ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा भन्नुभयो, “क्यानाडा भन्सार दुरुपयोगकर्ता हो र सधैँ रहिआएको छ, तर संयुक्त राज्य अमेरिकाले अब क्यानाडालाई अनुदान दिने छैन, हामीलाई तिमीहरूको कारहरू चाहिँदैन, हामीलाई तिमीहरूको काठ चाहिँदैन, हामीलाई तिमीहरूको ऊर्जा चाहिँदैन, र चाँडै नै, तिमीहरूले त्यो थाहा पाउनेछौ ।”
सर्वोच्च अदालतको आदेशलाई प्रभावित पार्ने गतिविधि नगर्न केसीलाई आग्रह (हेर्नुहोस विज्ञप्ति )
काठमाडौँ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० उच्चस्तरीय समितिले डा बद्री केसीले बृहत एकताको लागि भन्दै आयोजना गरेको संवादप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
पूर्वअध्यक्ष डा शेष घले नेतृत्वको समितिले सर्वोच्च अदालतको २०८० चैत २१ को आदेशअनुसार संघको सदस्यता, निर्वाचन प्रक्रिया लगायतका विषयहरूको समाधान गर्दै एकतापूर्ण महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी पाएको विज्ञप्तिमार्फत जनाएको छ।
विज्ञप्तिमा सर्वोच्च अदालतको आदेश विपरीत कुनै पनि गतिविधि नगर्न केसीलाई चेतावनी दिइएको छ ।
जनताका समस्या सम्बोधन गर्न अध्यक्ष दाहालको सरकारलाई सुझाव
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्या सम्बोधन गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले मिटरब्याज पीडितले न्याय नपाएका, गुठी पीडित जनताका माग सम्बोधन नभएकामा जनता पीडित भएका बताउनुभयो ।
मुलुकको शान्तिप्रक्रिया गणतन्त्र स्थापनाको प्रस्थान विन्दु थियो भन्दै उहाँले राजतन्त्रको अन्त्यका क्रममा देखाइएको सदाशयतालाई कमजोरी नठान्न सम्बद्ध पक्षलाई सचेत गराउनुभयो । जनताको त्याग र बलिदानबाट प्राप्त व्यवस्थाका विरुद्ध जाने छुट कसैलाई नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले लोकतन्त्र र राजतन्त्रको तुलना हुनै नसक्ने बताउनुभयो ।
गभर्नर नियुक्तिमा बिचौलिया हाबी भएकोमा सत्तापक्षका सांसदको आंशका
काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा बिचौलिया प्रेरित व्यक्ति गभर्नर हुन लागेको सत्तापक्षबाटै आशंका व्यक्त गरिएको छ ।सत्तासीन गठबन्धनका ठुला दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालराष्ट्र बैंकको गभर्नर नियुक्तिमा बिचौलियालाई हावी हुन नदिन सरकारलाई सचेत गराएका हुन्।उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै यस्तो बताए ।
सरकार कुनै व्यक्ति वा समूहलाई बोकर हिंड्छ हिंड्दैन भन्ने विषयलाई आफूले नजिकबाट हेरिरहेको उनले बताउन अघि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि राजनीतिक नियुक्ति सम्बन्धमा बिचौलिया हाबी भएको बताएका थिए ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न, ८.७५ नगद लाभांश वितरण
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त साधारणसभा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको थियो ।
साधारण सभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता २०८१ फागुन १५ गते बन्द गरिएको थियो । २०८१ फागुन १४ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिई कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।
सीएनआईको दोस्रो उमन लिडरशिप समिट ट्वेन्टी ट्वेन्टी फाइभको आयोजना हुँदै
काठमाडौँ । सीएनआई सेकेण्ड उमन लिडरशिप समिट ट्वेन्टी ट्वेन्टी फाइभको आयोजना हुन लागेको छ ।नेपाल उद्योग परिसंघ (सीएनआई) ले एक पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जनाकारी दिएको हो ।
निजी क्षेत्रको उत्पादनमुलक एवं सेवामुलक प्रतिनिधिमूलक संस्थाको रूपमा नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना एवं समग्र आर्थिक विकासका लागि नेपाल सरकारसँगको सहकार्यमा आफ्ना गतिविधि सीएनआईले अघि बढाउँदै आएको छ । परिसंघले उद्योग, राजस्व, पूर्वाधार, पर्यटन, महिला नेतृत्व फोरमलगायत समिति÷परिषद्÷फोरम गठन गरी तत्तत् क्षेत्रका लागि विभिन्न गतिविधि एवं नीतिगत सुझाव दिँदै आएको छ । साथै सरोकारवाला अन्य संघ संस्थासँग सहकार्य, समन्वय गर्दै अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गर्दै आएको परिसंघले यसै सन्दर्भमा दोस्रो अन्तर्राष्ट्रिय स्तरको महिला नेतृत्व सम्मेलन (उमन लिडरशिप समिट) २०२५को आयोजना चैत्र ३ गते काठमाडौंँमा गर्न लागेको जनाएको हो ।
अरब राष्ट्रहरूद्वारा इजरायलको गाजाको बिजुली कटौतीको निन्दा गरे
रियाद । साउदी अरब, कतार र जोर्डनले मङ्गलबार युद्धग्रस्त गाजा पट्टीमा बिजुली आपूर्ति कटौती गर्ने इजरायलको निर्णयको निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायलाई कारबाही गर्न छुट्टाछुट्टै वक्तव्यमा आह्वान गरेका छन् ।
युद्धविराम वार्तामा अवरोध देखिएको बेला प्यालेस्टिनी विद्रोही समूह हमासलाई बन्धकहरू रिहा गर्न दबाब दिने प्रयासमा
इजरायलले आइतबार गाजामा एक मात्र पानीको डिसेलिनेसन प्लान्टमा जाने एकमात्र विद्युत लाइन विच्छेद गरेको घोषणा गरेको थियो ।
जलेश्वर भन्सारद्वारा आठ महिनामा दुई अर्ब १५ करोड राजस्व सङ्कलन
जनकपुर । जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले चालु आर्थिक वर्षको आठ महिनामा रु दुई अर्ब १५ करोड ५० लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनाको हालसम्ममा ८३.८९ प्रतिशत राजस्व सङ्कलन भएको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी रामकुमार विकले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा वार्षिक रु चार अर्ब ५३ करोड ६२ लाख ९० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । तर कार्यालयले सो लक्ष्यको ४७.४१ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।
"काठमाडौँ ट्राफिक प्रहरीद्वारा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारेर धनीलाई हस्तान्तरण"
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका २० वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रममा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले छ वटा मोटरसाइकल र १४ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो ।
सवारी साधन हराएको भनी प्राप्त निवेदनका आधारमा खोजतलास थालेको प्रहरीले वास्तविक र नक्कली नम्बर प्लेट राखी सञ्चालन गरेको अवस्थामा काठमाडौँको युएनपार्क, एयरपोर्ट, नयाँबसपार्क, गुहेश्वरी, गौशाला, सुन्दरीजल, कालीमाटी, ठमेल, मालिगाउँ, चुनदेवी, जगाती, दीपज्योती, बौद्ध, गोकर्णेश्वर, नरेफाँट र नेपालटारलगायतका स्थानबाट ती सवारी साधन फेला पारेको जनाएको छ ।
ट्राफिक प्रहरीले चालु आर्थिक वर्षमा हालसम्म ३३७ वटा हराएका सवारी साधन फेला पारी धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका ३६ वटा सवारी साधनसहित त्यसमा संलग्न ५३ जनालाई आवश्यक कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
सांसदहरुको विभिन्न मुद्दामा सरकारको ध्यानाकर्षण, लोकतन्त्र र राष्ट्रिय समस्यामा धारणा व्यक्त
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरुले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने धारणा राख्नुभयो । विद्यमान संविधान विपरीत गतिविधि भइरहेकाबारे पनि सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद महेशकुमार बर्तौलाले संविधानको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य रहेको उल्लेख गर्दै केही दिनयता पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशन र उक्साहटमा समाजमा संविधान विरोधी क्रियाकलाप भइरहेका बताउनुभयो । पूर्वराजा स्वयम्ले यी कार्य गर्नका लागि उक्साइरहेको उहाँको आरोप थियो । लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने सांसद बर्तौलाले बताउनुभयो ।
सांसद अर्जुननरसिंह केसीले सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएको सम्झौता कार्यान्वयन हुन नसक्दा महासङ्घ पुनः आन्दोलनका क्रममा रहेको उल्लेख गर्दै पुनः वार्ता र सहमतिको प्रयास गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र बाध्यकारी बनाउन नहुने उहाँले बताउनुभयो । यसलाई बाध्यकारी बनाउँदा ज्येष्ठ नागरिक, अपाङ्गलगायतलाई समस्या भएको सांसद केसीले बताउनुभयो ।
वीर अस्पतालको निर्देशकमा डा. शर्मा नियुक्त
काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा। दिलीप शर्मालाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा। शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो । नवनियुक्त निर्देशक डा। शर्मा सोही अस्पतालमा १० औँ तहका कर्मचारी हुनुहुन्छ ।
सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु भएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले म्याग्दी नदीको कटानको जोखिममा रहेको तातोपानीको बस्ती संरक्षण आयोजना सञ्चालन गरेका हुन् । बेनी –४ का वडाध्यक्ष अणबहादुर खड्काले चालु आर्थिक वर्ष २०८१/८२ मा सङ्घीय र प्रदेश सरकारको विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरकफरक ठाउँमा पक्की पर्खाल निर्माण थालिएको बताउनुभयो । रु एक करोड ५५ लाखमा ठेक्का सम्झौता गरेको साहाना–बिआरटी जेभी पर्वतले सरस्वती मावि मुनी कम्पोजित प्रविधिको पर्खाल निर्माण थालेको हो । यो योजनाका लागि रु दुई करोड ७० लाख लागत अनुमान गरिएको थियो । म्याग्दी नदीको किनारमा कटान नियन्त्रणका लागि ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीन–तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन पर्खाल निर्माण गरिने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ गुरुङले बताउनुभयो
मंगलबार सुनको मूल्य ५ सय रुपैयाँ घटेर प्रतितोला १ लाख ६९ हजार ९ सय
काठमाडौँ । मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँको घटेको छ ।मंगलबार सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ रहने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ थियो । फागुन १३ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८४ रुपैयाँ रहेको चाँदी आज १९७० रुपैयाँमा झरेको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्कलगायत केही विदेशी मुद्राको मूल्य बढेको छ ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४० रूपैयाँ ०४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ३१ पैसा र बिक्रीदर १५१ रूपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८० रूपैयाँ २२ पैसा र बिक्रीदर १८० रूपैयाँ ९९, स्वीस फ्र्याङ्क एकको खरिददर १५९ रूपैयाँ र बिक्रीदर १५९ रूपैयाँ ६८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ २० पैसा र बिक्रीदर ८८ रूपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ९८ पैसा र बिक्रीदर ९७ रूपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ७८ पैसा र बिक्रीदर १०५ रूपैयाँ २३ पैसा निर्धारण गरिएको छ ।
नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलनको घोषणा, प्रमुख दलका कार्यालयमा धर्ना र अनसन कार्यक्रम
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पहिलो चरणको आन्दोलनका माग सुनुवाइ नभएकाले दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताउनुभयो । महासङ्घले यही फागुन २४ गते पहिलो चरणको आन्दोलन गरेको थियो । विद्यालय शिक्षा विधेयक छिटो अगाडि नबढेकामा महासङ्घको आपत्ति छ ।
महासङ्घका अध्यक्ष सुवेदीले स्थायी, राहत, साविक उच्च मावि, अस्थायी, करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका शिक्षकलगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीको मुख्य मुद्दा शिक्षा ऐनबाट सम्बोधन हुनुपर्ने र विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री ऐन ल्याउने विषयमा आफूहरूको गम्भीर चासो रहेको बताउनुभयो ।
बिमा बोर्डको कार्यकारी निर्देशकमा विकास अर्थशास्त्री डा काफ्ले
काठमाडौँ। सरकारले डा रघुराज काफ्लेलाई स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका विकास अर्थशास्त्री डा काफ्ले कार्यकारी निर्देशक नियुक्त हुनुभएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निजी सचिवालयद्वारा आज यहाँ जारी जानकारी अनुसार सिफारिस समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्तापश्चात अन्तिम सूचीमा डा काफ्लेसहित डा कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । मन्त्री पौडेलले गठन गरेको बिमा सुझाव कार्यदलमा डा काफ्ले सदस्य हुनुहुन्थ्यो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij