Logo

Mar 13 2025 | २०८१, फागुन २९गते

Mar 13 2025 | २०८१, फागुन २९गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन २८ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन २८ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन २७ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    एनएमबि बैंकको ८६ हजार कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौ । एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ८६ हजार ७११ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

     

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज ९फागुन २८ गते० बाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्नेछ ।

    स्वरोजगार लघुवित्तको एफपीओ शुक्रबार बाँडफाँट हुँदै

    काठमाडौं ।  स्वरोजगार लघुवित्तको एफपीओ शुक्रबार (चैत १ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार शुक्रबार बिहान १० बजे आफ्नै कार्यालय बालुवाटार, काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । 

     स्वरोजगारको एफपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । किनभने यसमा मागभन्दा ११९।८५ गुणा बढी आवेदन परेको छ ।  गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ ।

    शेयर बजार : नेप्से परिसूचकमा १७.२८ अंकले बढेर २७३६.४८ बिन्दुमा, ८ अर्ब २३ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा १७.२८ अंकले बढेर २७३६.४८ बिन्दुमा आएको छ । आज८ अर्ब २३करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । विकास बैंक र माइक्रोफाइनान्सबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । 
    यस दिनमाछापुच्छ्रे बैंकको संस्थापक सेयर सबैभन्दा धेरै अर्थात् ८१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन रिइन्सुरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर परेका छन् । 

     

    ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा  माग भन्दा ८.५८ गुणा बढी आवेदन

    काठमाडौं ।  ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा १ अर्ब २६ करोड ६८ लाख रुपैयाँ बरबरको आवेदन परेको छ । दोस्रो दिन अर्थात् बुधबारसम्ममा १० लाख ३४ हजार १५६ जना सर्वसाधारण आवेदकहरुले १ करोड २६ लाख ६८ हजार कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा ८.५८ गुणा बढी हो ।

     

    ओम मेगाश्री फर्मास्युटिकल्सले मंगलबारदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

    फिलिपिन्सका पूर्व राष्ट्रपति डुटेर्तेलाई हेग लगिँदै, स्वदेश फिर्ता गर्न छोरीको अपिल

    मनिला । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्तेका वकिलले लागूऔषधविरुद्धको घातक कारबाहीका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)मा सुनुवाईका लागि लगिँदै गरेको छ । 

     

    पूर्व राष्ट्रपति डुटेर्तेलाई लिएर नेदरल्याण्ड्सका लागि उडेको एक विमान दुबईमा केही घण्टा रोकिएपछि बुधबार पुनः उडान सुरु गरेको ‘फ्लाइट ट्र्याकिङ साइट’ले जनाएको छ ।

    डुटेर्ते अझै पनि निजी स्वामित्वको विमानमा हुनुहुन्छ वा सार्वजनिक विमानमा भनेर पुष्टि गर्न सकिएको छैन । 

     

    आइसिसीका अनुसार डुटेर्तेमाथि ‘मानवताविरुद्धको हत्याको अपराध’ को आरोप लगाइएको छ, जसमा अधिकारवादी समूहहरूले दशँैं हजार गरिब पुरुषहरूको हत्या गरेको अनुमान गरेका छन्।

    चैत ७ गते प्रतिनिधिसभामा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर’

    काठमाडौँ । आगामी चैत ७ गते बस्ने प्रतिनिधिसभाको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर’ कार्यक्रम हुनेभएको छ । 

     

    प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर’ सम्बन्धी कार्यक्रम आगामी चैत ७ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको सभामुख देवराज घिमिरेले संसद्लाई जानकारी गराउनुभयो । 

    उहाँले भन्नुभयो, “प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नउत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह नौमा रहेका सदस्यले यस महिनामा प्रश्न सोध्नका लागि नियमावली नियम ५८ बमोजिम अगामाी चैत ३ गते आइतबार दिनको २ बजेभित्र प्रतिनिधिसभाका सचिव समक्ष आफ्नो प्रश्न लिखित रूपमा दिइसक्नु हुन व्यहोरासभा समक्ष जानकारी गराउन चाहान्छु ।”

    ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित

    काठमाडौँ । प्रतिनिधिसभाबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले सो प्रस्ताव पेस गर्नुभएको थियो । 

     

     

    प्रधानमन्त्रीका तर्फबाट विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरूङले सरकारले सुशाससम्बन्धी विधेयकलाई प्रभावकारी बनाउँदै सुशासन कायम गर्ने उद्देश्यले अध्यादेशमार्फत विधेयक ल्याएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “योगमायालाई सम्मान गर्दा भोजपुर जिल्लावासीको कसरी अपमान हुन्छ रु,

    राष्ट्र बैंकद्वारा नेपाली नोट छाप्न ६ देशका ६ कम्पनी योग्य ठहर

    काठमाडौं । नेपाली नोट छाप्न ६ देशका ६ कम्पनी योग्य ठहर गरिएका छन् ।  नेपाल राष्ट्र बैंकले नोट छपाइको खरिद सेवाको लागि पूर्वयोग्यताको आवेदनहरू मध्ये ६ देशका ६ कम्पनी योग्य देखिएको जनाएको हो । नेपाली नोट छपाइको लागि चीन, बेलायत, जर्मनी, रुस, फ्रान्स र पोल्याण्डसहित ६ देशका कम्पनी योग्य देखिएको राष्ट्र बैंकले जानकारी सार्वजनिक गरेको छ । नेपाली नोट छपाईको केन्द्रीय बैंकले १० जनावरी २०२५ मा पूर्व योग्यता परीक्षणका लागि आवेदन आह्वान गरेको थियो । नोटको डिजाइन, प्रिन्टिङ सप्लाई र डेलिभरीको लागि खरिद प्रस्ताव आह्वान गरेकोमा आवेदन दिएकामध्ये ६ कम्पनी योग्य देखिएको राष्ट्र बैंकले जनाएको छ ।

    मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरू सार्वजनिक, यस्ता छन् निर्णयहरू

    काठमाडौँ ।  मन्त्रिपरिषद् बैठकका   पछिल्ला निर्णयहरू सार्वजनिक भएका छन् ।  गत फागुन २६ गते साँझ प्रधानमन्त्रीको सरकारी निवासमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त दिन भएका निर्णयहरू बुधबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो  । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

     

    मन्त्रिपरिषद्का  यस्ता छन् निर्णयहरूः

    –भवानी विद्यापीठ माध्यमिक विद्यालय, पर्वतको छात्रावास भवन निर्माणको प्रश्तावित सम्भाव्यता अध्ययनसम्बन्धी आदान–प्रदान पत्र (लेटर अफ एक्सचेन्ज) स्वीकृत गर्ने र उक्त पत्रमा नेपाल सरकारको तर्फवाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने ।
    –जापान सरकारको सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि प्रस्तावित सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाटपोखरा– चीनको छेन्दु उडान हुँदै

    गण्डकी।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयासस्वरुप यही चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक चार्टर्ड उडान गरिने भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा पहिलोपटक व्यावसायिक चार्टर्ड उडान गर्न लागिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुभयो । “पोखराबाट अन्तर्राष्ट्रिय विमान सुचारु गर्नको लागि पटकपटक राज्यका सम्बन्धित उच्च निकायमा ध्यानाकर्षण गरिरहदा पनि उडान सुचारु हुन नसक्दा हामी निजी क्षेत्रका पर्यटन व्यवसायीले नै केही प्रयास गरौँ भन्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपालस्थित चिनियाँ राजदूतावास र सिचुवान एयरलाइन्स सँगको सहकार्यमा यो अन्तर्राष्ट्रिय उडान गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेल : बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश र स्थानीय सरकारलाई दिन नसकिने

    काठमाडौ  ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभा बैठकमा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व विधेयक २०८१ माथि छलफल गर्दै बजेट निर्माण र वितरणको अधिकार प्रदेश र स्थानीय सरकारलाई नदिइने बताएका छन्।

    उनले भन्नुभयो, 'बजेट प्रदेश र स्थानीय तहलाई दिन आकर्षक लाग्ला, तर यसरी देशको समग्र विकास सम्भव हुँदैन। संघीय सरकार र संसदले नीति निर्माण र बजेटको सम्पूर्ण अधिकार राख्न आवश्यक छ।'

     

    मन्त्री पौडेलले आगामी बजेटमा गोजीका आयोजनाहरू हटाउने पक्षमा रहेकाले यसमा सांसद र संसदको सहयोगको अपेक्षा पनि गरेका छन्।

    चेक अनादरमा चेकमा लेखिएको रकमको पाँच प्रतिशत जरिवाना लाग्ने प्रावधान ल्याइँदै

    काठमाडौँ । चेक अनादरमा चेक लेखिएको रकमको पाँच प्रतिशत  जरिवाना लाग्ने प्रावधान ल्याउन लागिएको छ ।राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा  चेक अनादरको विषय अदालती प्रक्रियामा जाँदा चेकमा उल्लेख गरिएको रकमको पाँच प्रतिशत जरिवाना लाग्ने व्यवस्थामा सहमति गरेको छ ।

     

    राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति बैठकमा समिति सभापति तुलसाकुमारी दाहालले सो जानकारी दिएकी हुन् । कसैले खातामा रकम नभएको चेक दिएको छ भने ४५ दिनभित्र फछ्र्योट गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको जनाइन् ।

     उनका अनुसार यदि पैसा नतिर्ने अवस्था भयो ४५ दिनसम्म र समन्वय र सहकार्य पनि हुन सकेन भने अदालती प्रक्रियामा जाने हो ।  तोकिएको रकमको केही जरिवानाको प्रतिशत पनि राखिएको छ । अर्को सम्बन्धित व्यक्तिले लिनुपर्ने रकमको केही ब्याजको कुरा पनि गरेको छ र जरिवाना चाहिँ पाँच प्रतिशत राखेर जानुपर्छ ।

    लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने

    सिरहा। लहान नगरपालिका–४ मा पाँच सय शय्याको मुटु र मधुमेह रोगको सुविधासम्पन्न अस्पताल बन्ने भएको छ । नेपाल हृदय रोग निवारण सङ्घद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामक दुई अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको रु दुई अर्ब आर्थिक सहयोगमा निर्माण प्रक्रिया सुरु गरिएको अस्पतालका ‘कन्सल्टेन्ट फिजीसियन’ डा सञ्जयप्रसाद साहले जानकारी दिनुभयो । डा साहका अनुसार लहान नगरपालिकाले उपलब्ध गराएको ११ बिघा जग्गामा अस्पताल बन्ने छभने यसको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । “आगामी पाँच वर्षभित्र अस्पताल निर्माण गरिसक्ने लक्ष्य छ,” उहाँले भन्नुभयो नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक जग्गामा तत्काललाई दुईवटा भवन निर्माण गरी गत माघ ४ गतेबाट ओपिडी सेवा सञ्चालन गरिसकिएको छ, जसको सोमबार औपचारिक उद्घाटन भइसकेको छ ।

    प्रधानमन्त्रीसमक्ष अन्तर–व्यवस्थापिका मञ्चको घोषणापत्र हस्तान्तरण

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष अन्तर–व्यवस्थापिका मञ्च, नेपालको १०औँ सम्मेलनबाट पारित सातबुँदे घोषणापत्र हस्तान्तरण गरिएको छ । उक्त मञ्चको गत पुस १–३ गते गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न सम्मेलनका निष्कर्षसहितको सात बुँदे घोषणापत्र आज प्रधानमन्त्री निवास, बालुवाटारमा हस्तान्तरण गरिएको हो । घोषणापत्र हस्तान्तरणका अवसरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, उपाध्यक्ष विमला घिमिरेसहित सातै प्रदेशका सभामुख, उपसभामुख र सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयलगायत सहभागी हुनुहन्थ्यो । सो घोषणापत्रमा सङ्घीयता एवं संविधान कार्यान्वयनलाई तीव्रता दिन सङ्घ, प्रदेश र स्थानीय तहको साझा सूचीअन्तर्गत निर्माण गरिने कानुनको सन्दर्भमा तीनवटै सभाको परस्पर सम्बन्ध विकास गर्ने प्रतिबद्धता गरिएको छ । यस्तै बन्न बाँकी कानुनको अध्ययन र पहिचान गरी सङ्घीय संसद्बाट कानुन निर्माण गर्न पहल गर्ने जनाइएको छ । घोषणापत्रमा संसदीय विषयगत समितिको कामकारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यले समन्वय र सहजीकरण गर्न सम्बन्धित नियमावलीमा प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रियसभाका

    बुधबार मूल्यमा वृद्धि भइ प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ

    काठमाडौँ ।  बुधबार सुनको मूल्यमा प्रति तोला   ६ सय र चाँदी ३० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य बुधबार प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ निर्धारण भएको हो ।
    गत सोमबारको  तुलनामा ५ सय घट्दा मंगलबार सुन प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

     

    चाँदी उच्च मूल्यमा पुगेको छ। बुधबार कारोबार मूल्य प्रति तोला २ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा तोलामा ३० रुपैयाँ बढेर उक्त मूल्य कायम भएको हो।

    निक्षेप संकलन उपकरणबाट ५० अर्ब रुपैया बैंकिङ प्रणालीबाट तान्दै राष्ट्र बैंक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न लागेको छ ।केन्द्रीय बैंक राष्ट्र बैंकले आज दिउँसो तीन बजेसम्म योग्य बोलकबोलकर्ताहरूलाई ब्यादर प्रस्तावका लागि आह्वान गरेको हो ।

     

    अनलाइन बिडिङ सफ्टवेयरको उपयोग गरी राष्ट्र बैंकद्वारा इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई घटीमा १० करोड र बढीमा ५ करोडले भाग जाने रकम बोलकबोल गर्न भनिएको छ ।

    बोलकबोलकर्ताले बोलकबोल गरिएको रकमलाई राष्ट्र बैंक बाहेक अन्य बैंकमा धितोको रूपमा प्रयोग गर्न पाउने छन् ।

    फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

    काठमाडौँ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणका लागि आग्रह गर्नुभएको छ । फ्रान्सको पेरिसस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्तरुपमा पेरिसमा आयोजना गरेको ‘नेपाल इभिनिङ’ कार्यक्रममा मन्त्री पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणको निम्तो दिनुभएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री पाण्डेले भन्नुभयो, “नेपाल भ्रमण गर्न सबै फ्रान्सेली नागरिकहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं । नेपाललाई आफ्नो यात्रा सूचीमा समावेश गर्न अनुरोध गर्दछौं ।” मन्त्री पाण्डेले नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक खेलकुद तथा आध्यात्मको अनुपम संगम रहेको उल्लेख गर्दै नेपाल भ्रमण गर्ने पर्यटकका लागि अविस्मरणीय अनुभव हुने विश्वास व्यक्त गर्नुभएको छ ।

    ‘क्यान विभाजन विधेयक छिट्टै पारित हुन्छ’

    काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा विनोदप्रकाश सिंहले नेपाल युरोपेली सङ्घ (इयू) को सुरक्षा सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल एशोसिएशन अफ टूर मण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ६०औँ वार्षिकोत्सवको मङ्गलबार उद्घाटन गर्दै उहाँले इयूको चासोको रुपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) विभाजन विधेयक छिट्टै संसद्बाट पारित हुने र योसँगै नेपाल इयूको सुरक्षा सूचीबाट हट्ने दाबी गर्नुभयो । प्राधिकरण विभाजनसम्बन्धी विधेयक हालै सङ्घीय संसदमा पेस भएको छ । यसलाई संसद्को दुवै सदनले छलफल गरेर पारित गर्नुपर्ने हुन्छ । “नेपाललाई इयूको सुरक्षा सूचीबाट बाहिर निस्कने पहिलो सर्त भनेकै प्राधिकरणलाई विभाजन गरेर नियामक र सेवाप्रदायक बनाउने हो”, सचिव सिंहले भन्नुभयो, “उक्त विधेयक अहिले संसद्मा दर्ता भएको छ । यसमा पनि विभिन्न प्रतिक्रिया आइरहेका छन् ।”   युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको छ । सन् २०१३ बाटै अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो ।

    नेको इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन म्याद थप, चैत १४ गतेसम्म अवसर

    काठमाडौं।नेको इन्सुरेन्सले हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ । यसमा अब चैत १४ गतेसम्म आवेदन दिन सकिनेछ ।

     

    नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको छ । जसअनुसार यसले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

    युक्रेन र अमेरिकाबीच समझदारी : ३० दिने अस्थायी युद्धविरामको सहमति

    जेद्दा ।मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने तथा खुफिया जानकारी आदानप्रदानमा रोक नलगाउने जनाएको छ। यस वार्ताको क्रममा युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति जनाएको छ। 

     

    ह्वाइट हाउसमा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्तावबारे प्रतिक्रिया जनाउँदै युक्रेनले यसमा सहमति जनाएको र आशा गरिएको छ कि रुसले पनि समर्थन गर्ने बताउनुभयो । उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्ने संकेत गर्दै आपसी समझदारीका लागि पहल गर्ने उल्लेख गर्नुभयो ।

    देशका अधिकांश भागमा आज मौसम सफा रहने

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय  वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

     

    महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना  छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

    बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ ।
     
    युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर १५२ रूपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपैयाँ ०४ पैसा र बिक्रीदर १८० रूपैयाँ ८२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ८४ पैसा र बिक्रीदर १५८ रूपैयाँ ५२ पैसा कायम गरिएको छ ।
     
    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रूपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ५१ पैसा र बिक्रीदर १०४ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij