
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत १ शुक्रबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका सेवामा प्राविधिक समस्या, सेवा अवरुद्ध
काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आज साढे ३ बजेदेखि आफ्नो सेवा अवरुद्ध हुने जानकारी दिएको छ। संस्थाले जनाएको छ कि, सेयर, सि आस्वा, सि–केवाइसी लगायतका सेवाहरु सञ्चालन गर्न प्रयोग गरिएका सर्भरहरुमध्ये एक सर्भरमा प्राविधिक समस्या आएको हो। यस कारणले तुरुन्तै मेमोरीको मर्मत र प्रतिस्थापनको आवश्यकता परेकोले केही समयका लागि सेवामा अवरोध आउने बताइएको छ।
ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा माग भन्दा १२.८१ गुणा बढी आवेदन
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा १ अर्ब ७९ करोड ८५ लाख ७८ हजार रुपैयाँ बरबरको आवेदन परेको छ । आज सम्ममा १४ लाख ८० हजार ५७८ जना सर्वसाधारण आवेदकहरुले १ करोड ७९ लाख ८५ हजार ७८० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा १२.८१ गुणा बढी हो ।
गरिमा विकास बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ४९ हजार ९८०.९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमा २ लाख ५१ हजार ९५२.११ कित्ता सेयरमा बैंकका संस्थापक सेयरधनी, अन्य जो कोही व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुकले यसमा आजबाट १५ दिन भित्र यस विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई आवेदन दिनु पर्नेछ ।
सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि समिति गठन
काठमाडौँ । माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन तयारीका लागि संयुक्त समिति गठन गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा चोपलाल भुसालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्नुभएको हो ।
समितिमा मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख, नेपाल मेडिकल काउसिन्सलका रजिष्ट्रार, चिकित्सा शिक्षा आयोगका निर्देशक तथा सदस्यसचिव सदस्य रहने समितिमा चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखाका अधिकृत सदस्यसचिव रहनेगरी तोकिएको छ ।
क्यानाडा : नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिंँदै कार्नी
ओटावा । मुलुक संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा बिग्रिएको बेला पूर्व केन्द्रीय बैंकर मार्क कार्नी शुक्रबार क्यानाडाको अर्को प्रधानमन्त्रीका रूपमा शपथ लिँदै हुनुहुन्छ ।
उहाँ जस्टिन ट्रुडोको उत्तराधिकारी बन्नुभएको छ । ट्रुडोले करिब एक दशक सत्तामा रहेपछि र गत वर्ष घट्दो समर्थनपछि जनवरीमा आफ्नो राजीनामा घोषणा गर्नुभएको थियो ।
सत्तारूढ लिबरल पार्टीले ट्रुडोको स्थानमा कार्नीलाई व्यापक समर्थन दिएको छ । उक्त समर्थनले ऐतिहासिक सङ्कटबीच दुई केन्द्रीय बैंकको नेतृत्व गर्नुभएका कार्नीको अनुभवले सम्भावित विनाशकारी व्यापार युद्धको सामना गरिरहेको जनसङ्ख्यालाई आश्वासन दिने आशा गरेको छ ।
परोपकार प्रसूति अस्पतालको अध्यक्षमा डा पाण्डे नियुक्त
काठमाडौँ ।परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल विकास समितिको अध्यक्षमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा सरोजा कार्की पाण्डे नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्यामन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरीय निर्णय गर्दै उहाँलाई नियुक्त गर्नुभएको हो । डा पाण्डेले सोही अस्पतालमा १५ वर्ष वरिष्ठ कन्सल्ट्यान्टका रूपमा सेवा गरिसक्नुभएको छ । उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट स्त्रीरोग विशेषज्ञमा एमडी गर्नुभएको छ ।
फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी सङ्कलन
ताप्लेजुङ । जिल्लास्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा फागुनमा जम्मा रु १३ लाख तीन हजार पाँच सय भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
समितिले भक्तजनले चढाएको भेटी मासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धताअनुरूप यो विवरण सार्वजनिक गरेको हो । फागुनमा पाथीभरा दर्शन गर्न पुगेका भक्तजनको सङ्ख्या सात हजार चार सय २८ रहेको समेत समितिले जनाएको छ । उक्त सङ्ख्या साविकको तुलनामा न्यून छ । गत वर्षको फागुनमा १७ हजार नौ सय १२ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । यस्तै सो समयमा रु ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम जम्मा भएको थियो ।
मलङ्गवामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते
मलङ्गवा । जिल्लाको मलङ्गवा–नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा–४, मा एम्बुलेन्सल ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् ।
बिहीबार राति गम्हरियाबाट मलङ्गवातर्फ जाँदै गरेको एम्बुलेन्सले पैदल हिँडिरहेका व्यक्तिलाई ठक्कर दिँदा सोही नगरपालिका–३ का ५५ वर्षीय जयप्रकाश जयसवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सरोज राईले जानकारी दिनुुभयो । घाइते वडा नं ४ का ५२ वर्षीय जितु राय र भारत सितामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि जनकपुर पठाइएको उहाँले बताउनुभयो ।
सरकार र कुलमान विवादले उद्योगहरूमा १२ घन्टासम्म लोडसेडिङ हुँदै
काठमाडौँ। उद्योगहरूमा १२ घन्टा लोडसेडिङ हुने अवस्था आएको छ ।शनिबार १५ मार्चदेखि भारतबाट दिउँसोमात्र विद्युत् आयात हुने भएपछि उद्योगहरूमा १२ घण्टासम्म लोडसेडिङ हुने भएको हो ।हाल नेपालले भारतबाट पिक आवर बाहेकको समयमा विद्युत् आयात गरिरहेको छ । त्यो भनेको साँझ ६ देखि १० बजेसम्म बाहेक २० घण्टा विद्युत् आयात भइरहेको छ ।
त्यसरी आयात हुने विद्युत्ले नेपालको उत्पादनबाट नपुग्ने माग धान्न सहयोग गरेको छ । तर पनि उद्योगमा दैनिक ८ घण्टासम्म लोडसेडिङ भइरहेको छ ।१५ मार्चदेखि भने सन आवर अर्थात बिहान ६ देखि बेलुका ६ बजेसम्म १२ घण्टा मात्रै भारतबाट विद्युत् आयात हुने भएको छ । भारतबाट दिउँसो मात्रै विद्युत् आयात हुँदा पनि आपूर्तिमा खासै असर नपर्ने विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषको दाबी छ ।भारतबाट राति विद्युत् नआउँदा पनि घरायसी ग्राहकमा चाहिँ लोडसेडिङ नहुने उनको भनाइ छ ।
इरानसँगको आणविक वार्ताका लागि ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न आग्रह
बेइजिङ । चीनले तेहरानको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्ने आशाका साथ शुक्रबार इरान र रुसका कूटनीतिज्ञसँग छलफल सुरू गर्नुअघि इरानमाथिको ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न अमेरिकासँग आग्रह गरेको छ ।
सन् २०१५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा तेहरानको आणविक विकासमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताबाट अमेरिका पछि हटेको थियो ।
रिपब्लिकन राष्ट्रपति ट्रम्पले जनवरीमा ह्वाइट हाउसमा फर्केपछि इरानसँग नयाँ आणविक सम्झौताको लागि आह्वान गर्नुभएको छ तर तेहरानले भने जबसम्म दण्डात्मक प्रतिबन्धहरू कायम रहन्छन् तबसम्म त्यस्तो कुनै सम्झौता सम्भव नभएको बताएको छ।
विद्युत् नियमन आयोगको सदस्य भट्टराईद्वारा शपथग्रहण
काठमाडौँ । विद्युत् नियमन आयोगकी सदस्य भागिरथी भट्टराई ज्ञवालीले शपथग्रहण गर्नुभएको छ । यही फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नियुक्त भट्टराईले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा आज मन्त्रालयमा शपथग्रहण गर्नुभएको हो । उहाँलाई विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले शपथग्रहण गराउनुभएको हो ।
यसअघि २०७६ सालदेखि २०८१ वैशाखसम्म सोही आयोगको सदस्य पदमा कार्यरत भट्टराईले आज दोस्रो कार्यकालका लागि शपथग्रहण गर्नुभएको हो । आयोग स्थापनाकालमा सदस्य रहननुभएकी उहाँले सोही समयमा विद्युत् उपभोक्ता हक, हित र संरक्षण समितिको संयोजकका रुपमा काम गर्र्नुभएको थियो ।
स्वास्थ्य सेवा विभागका महानिर्र्देशक र स्वास्थ्य बीमा बोर्डका निर्देशकको पदबहाली
काठमाडौँ । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टङ्क बाराकोटीले पदबहाली गर्नुभएको छ । आज महानिर्देशकको पत्र बुझेपछि कार्यालयमा पुगी पदभार ग्रहण गर्नुभएको हो ।
डा बाराकोटी स्वास्थ्य मन्त्रालयको १२औँ तहमा अतिरिक्त सचिवमा कार्यरत हुनुहुन्थ्यो । यसअघि महानिर्देशकमा डा विकास देवकोटा हुनुहुन्थ्यो । उहाँ सचिवमा बढुवा भएपछि डा बाराकोटीलाई उक्त पदमा नियुक्त गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गत फागुन २७ गते मा मन्त्रिस्तरीय निर्णय गरी उहाँलाई महानिर्देशकमा नियुक्त गर्नुभएको थियो ।
सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले रू सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा रू आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ । अर्थात दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा रू एक खर्ब ५३ करोड ४७ लाख खर्च बढी छ ।
त्यस्तै, यस अवधिमा सरकारको विकास खर्च पनि निकै कमजोर देखिएको छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार फागुन मसान्तसम्ममा पुँजीगत खर्च वार्षिक विनियोजनको २३ दशमलव ३७ प्रतिशत मात्रै छ । सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भएकोमा हालसम्म रू ८२ अर्ब ३३ करोड ६० लाख बराबर मात्रै खर्च भएको देखिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा बिना सूचीकरण गरी हेलिकप्टर उडाए शुल्क दोब्बर लाग्ने
काठमाडौँ । अन्नपूर्ण संरक्षित क्षेत्रमा नियमित उडान गर्न चाहने हेलिकप्टर कम्पनीले स्थानीय सरकारसँग उडान सूचीकरणपत्र लिनुपर्ने प्रावधान राखिएको छ ।सूचीकरण नभई यस क्षेत्रमा उडान गर्न चाहे प्रतिउडान दोब्बर शुल्क तिर्नुपर्ने गरी अन्नपूर्ण गाउँपालिकाले कार्यविधि संशोधन गरी यस्तो प्रावधान राखेको हो ।
गाउँपालिकाले कार्यान्वयन गर्दै आएको अन्नपूर्ण आधार शिविरमा हेलिकप्टर उडान पर्यटन शुल्क व्यवस्थापन कार्यविधि २०७९मा हालै पहिलो संशोधन गरी सूचीकरण नगरी हेलिकप्टर उडाए दोब्बर शुल्क लिने नियम राखेको छ । सूचीकरण भएका हेलिकप्टरले हरेक उडान बापत १० हजार रुपैयाँ तिर्नुपर्छ ।
भारतीय अन्तरिक्ष मिशन स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा
नयाँ दिल्ली।भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशन अन्तर्गत दुईवटा उपग्रहहरूको ‘अनडकिङ’ पूरा गरेको जनाएको छ । स्पेस डकिङ भनेको दुई अन्तरिक्षयान अन्तरिक्षमा एकसाथ जोडिनु हो । डकिङ स्वचालित वा कम्प्युटरद्वारा नियन्त्रित हुन सक्छ ।
इसरोले स्थानीय समय अनुसार बिहान ०९ः२० बजे पहिलो प्रयासमा स्पाडेक्स उपग्रहहरू अनडक गर्ने महत्वपूर्ण कार्य पूरा गर्यो ।
अन्तरिक्ष एजेन्सीले उपग्रहहरूको अनडकिङ ४५ डिग्रीको झुकावमा ४६० किलोमिटरको गोलाकार कक्षमा भएको एक विज्ञप्तिमा उल्लेख गरेको छ । साथै, एजेन्सीले उपग्रहहरू अहिले स्वतन्त्र रूपमा परिक्रमा गरिरहेको र उनीहरूको अवस्था सामान्य रहेको जनाएको छ ।
योजना आयोगका पदाधिकारीसँग छलफलः गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धिगरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठूला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गर्नुभएको हो ।
प्रभु बैंकद्वारा क्रस बोर्डर डिजिटल भुक्तानी सेवाको नयाँ सुरुवात
काठमाडौँ । प्रभु बैंकले डिजिटल भुक्तानी र क्रस बोर्डर कारोबारमा नयाँ सुरुवात गरेको छ। मुक्तिनाथ मन्दिर परिसरमा भीम यूपीआई सेवा शुभारम्भ गरी डिजिटल भुक्तानी र क्रस बोर्डर कारोबारमा नयाँ सुरुवात गरेको बैंकले शुक्रबार जनाएको हो ।
बैंकद्वारा जारी प्रेस विज्ञप्तिमार्फत नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहबीच सेवा शुभारम्भ गरेको जनाइएको छ । यो सेवा सुरुवातसँगै अब भारतीय नागरिकले आफ्नो बैंक खाताबाट भीम यूपीआईमार्फत क्यूआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्नेछन्।
एक चौमासिक मात्र बाँकी रहँदा पुँजीगत खर्च एक चौथाइ पनि खर्चिएन
काठमाडौँ। चालु आर्थिकको एक चौमासिक मात्र बाँकी रहँदासम्म पुँजीगत खर्च एक चौथाइ पनि खर्चिएको छैन् । आव २०८१÷८२ को ८ महिनामा पुँजीगत बजेट जम्मा २३ प्रतिशत मात्र खर्च भएको हो ।
सरकारले चालु आवका लागि ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ पुँजीगत बजेट छुट्याएकामा फागुन मसान्तसम्म जम्मा ८१ अर्ब ७७ करोड रुपैयाँ मात्रै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यो अवधिमा चालुतर्फ भने लक्ष्यको ५१ प्रतिशत खर्च भएको छ।
चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरिएकामा फागुन मसान्तसम्म ५ खर्ब ८३ अर्ब ७१ करोड खर्च भएको छ।यसैगरी वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोडमध्ये ४७ प्रतिशत अर्थात १ खर्ब ७२ अर्ब ८९ करोड रुपैयाँ खर्च भएको छ।
चैत महिनामा अधिकांश वाणिज्य बैंकहरूको ब्याजदर हेरफेर गरिएन्
काठमाडौँ । चैतमा अधिकांश वाणिज्य बैंकहरूको ब्याजदर हेरफेर भएको छैन् ।१५ वाणिज्य बैंकहरूको ब्याज दर चैत महिनाका लागि हेरफेर भएको छन् ।सामान्य हेरफेर हुने वाणिज्य बैंकहरूमा नेपाल बैंक, कुमारी बैंक, लक्ष्म सन् राइज बैंक , सिटिजन्स बैंक र हिमालय बैंक रहेका छन् ।
आज चैत १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको बैंकको ब्याजदर सामान्य हेरफेर हुने नेपाल बैंकले व्यक्तिगत ब्याजदरमा ०.१ घटाएको हो । फागुनमा ५.६ रहेकोमा चैतका लागि ५.५ मा झारिएको छ । कुमारीले दुवै तर्फ ०.१प्रतिशतले बढाएको छ ।
होली आउनसम्म चालु आवमा पौने १६ करोड बढीको रंग आयात, भारत र चीनबाट सबै भन्दा बढी
काठमाडौँ । होलीको विस्तारसँगै रंगको आयातमा वृद्धि भइरहेको पाइएको छ । चाडपर्वको सम्बन्ध अर्थतन्त्र र तिनका खेलाडीसँग हुन थालेपछि यसको असर बजारमा पर्नु स्वाभाविक हो । होली रङहरूको पर्व भएकाले विभिन्न थरी रङको प्रयोग होलीमा हुने गर्छ । सरकारी तथ्यांक केलाएर हेर्दा चालु आर्थिक वर्ष २०८१÷८२ को सात महिना अवधिमा भारत र चीनबाट १५ करोड ८९ लाख ६० हजार रुपैयाँ बराबरको रङ नेपालबाट भित्रिएको हो । यो भनेको १३ लाख ३९ हजार ५३ किलो बराबर हो ।
भन्सार विभागको पछिल्लो तथ्यांक हेर्दा गत सात महिनामा दक्षिणी छिमेकी भारतबाट सबैभन्दा धेरै रङ आयात भएको देखिन्छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८० रुपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १५८ रुपैयाँ १५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६० पैसा र बिक्रीदर ९७ रुपैयाँ ०२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौँ ।हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई मुख्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने तथा बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । साथै उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij