
काठमाडौँ । पुनर्बीमा व्यवसाय गर्ने पुनर्बीमक कम्पनीहरूको लगानी वार्षिक रूपमा बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहको दुई पुनर्बीमा कम्पनीको पाँच वर्षमा विभिन्न क्षेत्रमा गर्ने लगानी १५० प्रतिशतले वृद्धि भएको देखिएको हो ।प्राधिकरणको तथ्यांकअनुसार कम्पनीहरूले आव २०७६/७७ मा १५ अर्ब ४२ करोड ४० लाख लगानी गरेकोमा २०८०/८१ मा आइपुग्दा ३८ अर्ब ५६ करोड ४८ लाख लगानी गरेको देखिएको हो ।
कम्पनीहरूले आव २०७७/७८ मा २४ अर्ब ४ करोड ३६ लाख लगानी गरेका थिए । जुन आव २०७६/७७ को तुलनामा ५५.८८ प्रतिशतले वृद्धि भएको थियो । उक्त आवमा हिमालयन इन्स्यारेन्स कम्पनीले लगानी सुरु गरेको हुँदा लगानीमा ठूलो वृद्धि भएको बीमा प्राधिकरणले जनाएको छ ।
आव २०७८/७९ मा कम्पनीहरुको लगानी ११.७८ प्रतिशतले बढेर २६ अर्ब ८७ करोड ५० लाख भएको छ । आव २०७९/८० मा आइपुग्दा ११.७५ प्रतिशतले वृद्धि भएर ३० अर्ब ३ करोड २७ लाख लगानी भएको छ । जीवन बीमा, निर्जीवन बीमा कम्पनीहरूले जस्तै पुनर्बीमा कम्पनीहरूले पनि सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाको निक्षेपमा लगानी गरेका छन् । प्राधिकरणको तथ्यांकअनुसार आव २०८०/८१ मा दुई पुनर्बीमा कम्पनीले वाणिज्य बैंकको निक्षेपमा कुल लगानीको ७५.५५ प्रतिशत लगानी गरेको छ ।
उक्त आवमा दुई पुनर्बीमा कम्पनीले वाणिज्य बैंकको निक्षेपमा २९ अर्ब १३ करोड लगानी गरेको छ । कम्पनीहरूले आव २०८०/८१ मा २९ अर्ब १३ करोड लगानी गरेका छन् ।जस अनुसार नेपाल पुनर्बीमा कम्पनीले १५ अर्ब ५४ करोड, हिमालयन रिइन्स्योरेन्स कम्पनीले १३ अर्ब ५९ करोड लगानी गरेको छ । विकास बैंकमा पुनर्बीमा कम्पनीहरूले बढीमा २ अर्ब एक करोड लगानी गरेका छन् । जुन कुल लगानीको ५.२३ प्रतिशत लगानी हो ।
आव २०८०/८१ मा नेपाल पुनर्बीमा कम्पनीले १ अर्ब ८६ करोड र हिमालयन रिइन्स्योरेन्सले १५ करोड लगानी गरेको छ । त्यसैगरी ‘ग’ वर्गको बैंकमा पुनर्बीमा कम्पनीको लगानी १० करोड रुपैयाँ छ । यस क्षेत्रमा नेपाल पुर्नबीमा कम्पनीको मात्रै लगानी देखिन्छ । उक्त कम्पनीले १० करोड लगानी गरेको हो ।सरकारी बचत तथा ऋणपत्रमा ३० करोड रुपैयाँ लगानी गरेको छ । जसमा नेपाल पुर्नबीमा कम्पनीले लगानी रहेको छ । हिमालयन रिइन्स्योरेन्सको लगानी यस क्षेत्रमा लगानी छैन ।
यसबाहेक सूचीकृत पब्लिक कम्पनीको शेयरमा कम्पनीहरूले १ अर्ब १७ करोड लगानी गरेका छन् । जसमा हिमालयन रिइन्स्योरेन्सले १ अर्ब ८ करोड र नेपाल पुर्नबीमा कम्पनीले ९ करोड रुपैयाँ लगानी गरेको छ ।घरजग्गामा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था भए पनि पुर्नबीमा कम्पनीले आव २०८०/८१ मा लगानी गरेको देखिँदैन । त्यसैगरी पूर्वाधार, कृषि, पर्यटन, ऊर्जा, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पनि कम्पनीले लगानी गरेको देखिँदैन ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij