काठमाडौँ । ट्रंक तथा डेडिकेटेड महशुलबापतको अतिरिक्त प्रिमियम शुल्क नतिरेपछि १५ वटा उद्योग अहिले पनि अन्धकारमा परेका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार, यसअघि विद्युत् लाइन काटिएका २५ वटामध्ये महशुल बुझाउने १० वटा उद्योगमा मात्र लाइन पुनःजोडिएको हो।
प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार, महशुलबापतको किस्ता रकम नबुझाउने १५ वटा उद्योगमा हालसम्म पनि विद्युत् लाइन जोडिएको छैन। उनका भनाइमा, किस्ता तिर्न नआएकाले ती उद्योगमा लाइन काटिएकै अवस्थामा रहेको हो।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले निजी क्षेत्रका उद्योगीहरूसँग छलफल गरी मध्यमार्गी समाधानको प्रस्तावमा सहमति गरेकी थिइन्। तर उद्योगीहरूले अझै पनि महशुलबापतको बक्यौता रकम तिरेका छैनन्।
प्राधिकरणले २८ किस्तामा बक्यौता तिर्न आग्रह गरे पनि, उद्योगीहरूले भने विवादित रकमको एक किस्ता बराबरको रकमलाई धरौटीका रूपमा बुझाउने प्रस्ताव गरेका थिए। तर प्राधिकरणले उक्त रकमलाई धरौटीका रूपमा स्वीकार गर्न अस्वीकार गरेपछि यो विवाद थप पेचिलो बन्दै गएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij