
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटबीच आज भेटवार्ता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पाण्डेले सशक्तिकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई युएनडिपीले गर्दै आएको सहयोग प्रभावकारी रहेको बताउनुुभयो । युएनडिपीले दिगो विकास, फोहरमैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी प्रदेशमा महत्त्वपूर्ण सहयोग गरेकामा उहाँले प्रशंसा गर्नुभयो ।
पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, जलवायू परिर्वतनलगायत प्रदेशको प्राथमिकताका क्षेत्रमा युएनडिपीसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको उहाँले बताउनुभयो ।
यी क्षेत्रमा सहकार्य गर्दा प्रदेश सरकारले लिएको नीति अनुसार युवा पलायन रोक्न, रोजगारी सिर्जना गर्न, बाँझो जमिनमा खेती विस्तार गर्न र उद्यमशीलता प्रवर्द्धनमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
नेपालको पर्यटकीय राजधानी पोखरा र आसपासका जिल्लालाई इको पर्यटन, खेल पर्यटन, धार्मिक पर्यटनको रुपमा विकास गर्ने सरकारको योजनामा सहकार्य गर्न सकिने मुख्यमन्त्री पाण्डेले बताउनुभयो । भेटमा युएनडिपीका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटले गण्डकी प्रदेश सरकारसँगको भेट नेपालको पहिलो औपचारिक कार्यक्रम भएको बताउनुभयो ।
पिएलजिएसपी कार्यक्रमअन्तर्गत कार्यान्वयन भएका कार्यक्रमको प्रभावकारिताका बारेमा उहाँले चासो व्यक्त गर्नुभयो । उक्त अवसरमा युएनडिपीको सहकार्यमा सञ्चालित पिएलजिएसपी कार्यक्रमलाई थप प्रभावकारी बनाउने, नयाँ सहकार्यको क्षेत्र पहिचान गर्ने विषयमा छलफल गरिएको थियो ।
गण्डकी प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले दोस्रो पञ्चवर्षीय योजनामा सरकारले लिएको रणनीतिका बारेमा जानकारी गराउनुभयो । भेटघाटमा गण्डकी प्रदेश प्रमुख सचिव रघुराम विष्ट, युएनडिपीका नेपालस्थित आवासीय प्रतिनिधि क्योको योकोसुकालगायत प्रतिनिधिमण्डलको सहभागिता थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij