Logo

Mar 22 2025 | २०८१, चैत ९गते

Mar 22 2025 | २०८१, चैत ९गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् चैत ८ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् चैत ८ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत ८ शुक्रबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    ‘मुलुक विकासको मार्गमा अघि बढिरहेको छ’ : महामन्त्री गगन थापा

    नवलपरासी ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय मुलुक विकासको मार्गमा अघि बढिरहेको बताउनुभएको छ ।

     

     

    पश्चिम नवलपरासीको परासीमा आज आयोजित कांग्रेस नवलपरासी प्रतिनिधिसभा क्षेत्र नं २ को प्रथम क्षेत्रीय सम्मेलनमा उहाँले स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा विकास हुँदै गएको बताउनुभयो । 

     

    उहाँले भन्नुभयो, “२०४६ सालपछि देशमा, स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा उल्लेख्य मात्रामा विकास भएको छ । हामीले केही भएको छैन भन्नुभन्दा विकासले गति लिँदैछ भन्नु आवश्यक छ ।”

    नेपाल आयल निगमको साधारण सभा चेत ४ गते , १० प्रतिशत लाभांश प्रस्ताव गर्ने

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडले लाभांश घोषणा गरेको छ । 

     

    निगमको चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो घोषणा गरेको हो । घोषित लाभांश पारित गर्न निगमले साधारणभा आह्वान गरेको छ । 

    सभा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष, सिंहदरबार, काठमाडौंमा चैत २९ गते दिउँसो १ बजेदेखि शुरु हुनेछ ।सभाले चुक्ता पुँजीको १० प्रतिशत ९करसहित० नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ ।

    एनएमबि बैंकको १ लाख २२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौ । एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

    सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनु पर्नेछ । उक्त समयमा हाल कायम संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

    स्वाभिमान लघुवित्तको बोनस सेयर घोषणा

    काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले  गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । यस लघुवित्तको बिहीबार  बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    यसपटक नेरुडे मिर्मिरे लघुवित्तले  लाभांश वितरण नगर्ने

    काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।  यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।

    सुन र चाँदीको मूल्यमा घटबढ, आज सुन तोलामा रू १ हजार र चाँदी तोलामा रू ३५ घट्यो

    काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रू एक हजार र चाँदी तोलामा रू ३५ घटेको हो ।

     

    बिहीबार प्रतितोला रू एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
    यस्तै, आज चाँदी प्रतितोला रू एक हजार नौ सय ९५ मा खरिदबिक्री हुनेछ ।

    ‘औद्योगीकरणबाट मात्रै अर्थतन्त्र सुधार गर्न सकिन्छ’ : मन्त्री भण्डारी

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले तीव्र औद्योगीकरणबाट मात्रै रोजगारी सृजना गरी अर्थतन्त्र सुधार गर्न सकिने धारणा राख्नुभएको छ ।

     

     

    आज यहाँ आयोजित नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो राष्ट्रिय महाधिवेशनमा उहाँले औद्योगिक क्षेत्रको सुधार गर्दै उद्योगी व्यवसायीलाई सहज रूपमा व्यवसाय सञ्चालन गर्ने वातावारण बनाउनु मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।

     

    मन्त्री भण्डारीले आर्थिक तथा सामाजिक विकासका लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्रका रूपमा सम्भावना बोकेको उद्योग र व्यवसाय भएकाले यस क्षेत्रको विकासबिना देशको अर्थतन्त्र सुधार गर्न नसकिने धारणा व्यक्त गर्नुभयो ।

    अमेरिकी धम्की अर्थहीन : खामेनी

    तेहरान ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कारबाहीको चेतावनी दिएपछि इरानका सर्बोच्च नेता आयातोल्लाह खामेनीले आफ्नो देशविरुद्ध अमेरिकी धम्की ‘अर्थहीन’ भएको बताउनुभएको छ ।

     

    अयातोल्लाह अली खामेनीले फारसी नयाँ वर्ष नौरुजको अवसरमा टेलिभिजनमा प्रत्यक्ष सम्बोधन गर्दै भन्नुभयो, “अमेरिकीहरूले थाहा पाउनुपर्छ कि इरानविरूद्धको धम्कीले ‘उनीहरूलाई कहीँ पनि पु¥याउँदैन’ ।” 

    उहाँले भन्नुभयो, “ यदि उनीहरूले इरानविरूद्ध केही गरे भने उनीहरूलाई कडा झापड लाग्नेछ भनी अमेरिकी र उसका अन्य सहयोगीले कुरा बुझ्नुपर्छ ।”
    गत मार्च ७ मा ट्रम्पले खामेनीलाई पत्र लेख्दै तेहरानको आणविक कार्यक्रमबारे वार्ता गर्न आग्रह गरेको र तेहरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाही गर्ने चेतावनी दिनुभएको थियो ।

    एलन मस्कको एक्सद्वारा सामग्री नियमनमा भारत सरकारविरुद्ध मुद्दा दर्ता

    मुम्बई ।एलन मस्कको सोसल मिडिया प्लेटफर्म एक्सले सोसल मिडिया सामग्री हटाउन अनुरोध गर्न नियन्त्रण आदेशको प्रयोग गरेकामा भारत सरकारविरुद्ध मुद्दा दायर गरेको छ ।

     

     

    विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भारत नियमित रूपमा सामाजिक सञ्जाल सामग्री हटाउन सरकारले गरेको अनुरोधको सङ्ख्याका लागि विश्वव्यापी रूपमा शीर्ष पाँच देशमध्ये एक हो ।

     

    एक्सको नयाँ मुद्दा प्लेटफर्मको भारतीय सरकारको सेन्सरशिप शक्तिहरू विरुद्धको नवीनतम चुनौती हो र यो मुद्दा मस्कको स्टारलिङ्क र टेस्ला विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्रमा प्रवेश गर्न तयार भएको बेला आएको हो ।

    सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पताले छुट दिने

    काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले आफ्नो सेवामा विशेष छुट दिने भएका छन् । उक्त प्रयोजनका लागि सगरमाथा आरोही सङ्घले ती दुई कम्पनीसँग छुट्टाछुट्टै सम्झौता गरेको छ ।

     

         सगरमाथा आरोहण गरेको ७१ वर्ष पुगेको स्मरण गर्दै विश्वकीर्तिमानी र कीर्तिमानी आरोहीलाई सेवामा विभिन्न छुट दिने सम्झौता भएको छ । सङ्घमा आबद्ध आरोही र आरोहीका परिवारलाई यती एयरलाइन्सबाट उडान गर्दा टिकटको न्यूनतम मूल्यमा थप विशेष छुटको व्यवस्था गरिएको छ । सोसम्बन्धी सम्झौतामा सङ्घका तर्फबाट अध्यक्ष माया शेर्पा र एयरलाइन्सका तर्फबाट प्रमुख व्यापार अधिकृत युवराज विष्टले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
         
    यसैगरी ह्याम्स अस्पतालले प्रदान गर्ने सेवामा सगरमाथा आरोही सङ्घको सिफारिसमा विश्व कीर्तिमानी आरोहीलाई ५० प्रतिशतसम्म छुटको, कीर्तिमानी आरोही र आरोहीका परिवारलाई ३० प्रतिशतसम्म छुट दिइनेछ ।

    शनिबारदेखि ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’

    काठमाडौँ।जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ हुने भएको छ । आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा जल सम्बद्ध सङ्घसंस्थाको सहकार्यमा चैत ९ र १० गते पहिलोपटक राष्ट्रिय पानी सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिइएको हो । आयोगका सचिव मधुप्रसाद भेटुवालले सरकारले पानीलाई उच्च प्राथमिकतामा राखेर विभिन्न गुरुयोजना निर्माण गरिरहेको बताउनुभयो । उहाँले बढीभन्दा बढी जनताले लाभ पाउने गरी मन्त्रालयले पानीका क्षेत्रमा योजना बनाइरहेको बताउनुभयो । सचिव भेटुवालले नेपालका २१ वटा हिमताल विस्फोटको जोखिममा रहेको भन्दै ती हिमताललाई संरक्षण गर्न आयोग लागिरहेको जानकारी दिनुभयो ।

    ‘दिगो पर्यटन परियोजना’ का लागि पर्यटन बोर्ड र ‘युएनडिपी’बीच सम्झौता

    काठमाडौँ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना (एसटिपी)’ कार्यक्रम सुरु गर्ने भएका छन् । आज यहाँ बोर्डमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी र युएनडिपी नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र युएनडिपीको एसिया र प्यासिफिक क्षेत्रीय निर्देशक क्रिस्टोफ बहुइटको उपस्थितिमा बोर्डका सिइओ जोशी र युएनडिपी नेपालकी आवासीय प्रतिनिधि योकोसुकाले सम्झौतापत्र आदानप्रदान गर्नुभयो । स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यसहित पर्यटन सेवासुविधा सुधार, सीपमूलक तालिम र पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्न अघि बढाइएको परियोजना सफल बनाउन सरकार प्रतिबद्ध रहेको मन्त्रालयका सचिव सिंहले बताउनुभयो ।

    नेपालको डेमोक्र्याटिक सिस्टम नै फेर्ने मनसाय भारतको नरहेको परराष्ट्रमन्त्री राणाको भनाइ

    काठमाडौँ  । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत वर्तमान सरकार परिवर्तन हुने चाहना नराखेको बताएकी छिन् ।शुक्रबार छिमेकी राष्ट्र भारतको भ्रमण सकेर स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग यस्तो बताएकी हुन् ।

     

    भारतीय पक्षको समर्थन भने लोकतान्त्रिक गतिविधिलाई नै रहेको आफूले थाहा पाएको बताउँदै मन्त्री राणाले   नेपालमा पछिल्लो समय भइरहेका राजनीतिक गतिविधिबारे धेरै कुरा भारतमा आफू गरेको पनि बताइन् ।

    राजस्व अनुसन्धान विभागद्वारा चालु आवको ८ महिनामा  दुई अर्ब बढीको मुद्दा दायर,७४ करोड बढी रुपैयाँ धरौटी माग

    काठमाडौँ। राजस्व अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०८१/८२को फागुन मसान्तसम्मको आठ महिनासम्म बिगो र सजाय माग दाबी गरी  दुई अर्ब बढीको मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले  राजस्व चुहावटसम्बन्धी चालु आवको ८ महिनामा ४८.५७ प्रतिशतका दरले उजुरी फछर्यौट गरी १४० जनालाई प्रतिवादी बनाइ २९ मुद्दामा १  अर्ब ३ करोड ५१ लख २२ हजार १ सय २२ रुपैयाँ  बिगो रकम र  बिगोको शतप्रतिशत सजाय मागदाबी  गरी २ अर्ब ७ करोड २ लाख  ४४ हजार २ सय ४४ रुपैयाँ बराबरको मुद्दा दायर गरेको हो ।

     

    विभागले सार्वजनिक गरेको कार्य प्रगति विवरण अनुसार अनुसन्धानको क्रममा ७४ करोड १९ लाख  ९५ हजार ८ सय ४५ रुपैयाँ धरौटी माग गरिएको जनाएको हो । सो क्रममा साढे सात सय सूचना दर्ता भएको जनाइएको छ ।
    विदेशी विनिमय अपचलनतर्फ विभागले सवा तेह्र प्रतिशत उजुरी फर्छ्यौट गरी ५९ मुद्दा दायर गरेको छ ।

    एकै विद्यालयका आठ जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिँदै

    सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसइई परीक्षा दिइरहेका छन् । यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेका सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

     

     

    विद्यालयबाट चारवटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन सङ्ख्या एकै प्रदेशमै बढी रहेको विद्यालयको दाबी छ । विसं २०२९ मा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन सुरु गरिएको थियो । प्रदेशकै नमूना विद्यालयअन्तर्गत गर्ने यस विद्यालयमा ं२ सहित हाल चार हजार ५०० विद्यार्थी अध्ययनरत रहेका विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिनुभयो ।

    इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी विस्फोट, सतर्कता स्तर बढाउन आग्रह

    जकार्ता ।दक्षिण–मध्य इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकी ज्वालामुखी शुक्रबारसम्म तीन पटक विस्फोट भएको छ । विस्फोटले आठ हजार मिटर अग्लो खरानी स्तम्भ पठाउँदै अधिकारीहरूलाई ज्वालामुखी वरपरको खतराको क्षेत्र विस्तार गर्न प्रेरित गरेको थियो । स्थानान्तरणका बारेमा जानकारी तत्काल उपलब्ध थिएन ।

     

     

    पूर्वी नुसा तेङ्गारा प्रान्तको फ्लोरेसको दुर्गम टापुमा रहेको ज्वालामुखीमा सयौँ भूकम्प आएका छन् र पछिल्लो सात दिनमा दृश्यमान ज्वालामुखी गतिविधि उल्लेखनीय रूपमा बढेको छ ।

     

    अधिकारीहरूले विस्फोटको चेतावनीलाई उच्चतम स्तरमा बढाएका छन् र खतराको क्षेत्रलाई क्रेटरबाट सात किलोमिटरबाट आठ किलोमिटरमा विस्तार गरेका छन् ।

    हुथी–सम्बद्ध चिनियाँ तेल प्रशोधन केन्द्रमाथि अमेरिकी प्रतिबन्ध

    वासिङ्टन । ह्वाइट हाउसले इरानमाथि दबाब बढाउँदा अमेरिकाले बिहीबार हुथी–सम्बद्ध जहाजहरूबाट ५० करोड डलर बराबरको इरानी तेल खरिद गर्ने चीनस्थित एक तेल प्रशोधन केन्द्रमाथि प्रतिबन्ध लगाएको छ । 

     

     

    अमेरिकी अर्थ मन्त्रालयले एक बयानमा करिब ‘आधा अर्ब डलर’ मूल्यको इरानी तेल खरिद गरेको चीनको शान्डोङ प्रान्तमा रहेको एक ‘चिपट रिफाइनरी’ माथि प्रतिबन्ध लगाउन गइरहेको घोषणा गरेको छ । 

     

    टिपट रिफाइनरीहरू चीनमा साना, निजी स्वामित्वका सञ्चालनहरू हुन् र यिनीहरू देशमा ठूला राज्य–स्वामित्वका उद्यमहरूको विपरीत खडा छन् ।

    स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गर्नुभएको छ ।

    नेकपा (एमाले)को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गर्नुभयो । कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिनुपर्ने उल्लेख गर्दै उहाँले यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहन गर्न सरकार तत्पर रहेकोे बताउनुभयो ।

    सार्वजनिक लेखा समितिले उजुरीको निष्कर्ष १५ दिनभित्र गर्ने

    काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले ४८ वटा उजुरी छानबिन गरी १५ दिनभित्र निष्कर्षमा पु¥याउने निर्णय गरेको छ ।
      
    समितिको आजको बैठकले त्यसका लागि विषयगत रुपमा सातवटा उजुरी अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो । 

     

    बैठकमा उहाँले भन्नुभयो, “सात दिनभित्र समिति सचिवालयले सबै उजुरीका सम्बन्धमा तत्तत् निकायसँग प्रतिक्रिया माग गर्ने तथा १५ दिनभित्र सबै उजुरीलाई निर्णयमा पु¥याइनेछ ।” 

    समितिले छानबिनका लागि छनोट गरेका उजुरीमा नेपाल टेलिकमसँग सम्बन्धित ६, धितोपत्र बोर्डसगँ सम्बन्धित पाँच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नागरिक उड्डयन प्रधिकरण, लुम्बिनी विकास कोष, नेपाल वायुसेवा निगमसँग सम्बन्धित ६ छन् ।

    आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित

    काठमाडौँ । गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् । 

     

     

    एक महिनामा देशभर ५०१ आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।  आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ । आगलागीबाट १४६ पशुचौपाय मरेका छन् । घटनापछि ३८ परिवार विस्थापित भएका छन् । आगलागीबाट रु ४० करोड ४८ लाख बराबरको क्षति भएको छ । विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

    ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत बारा–ढल्केबर खण्ड निर्माण सम्पन्न

    काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबर सबस्टेसनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी, सर्लाही, रौतहट हुँदै बारा र मकवानपुरको सीमानामा पर्ने सरस्वती डाँडासम्मको १०० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।

    धनुषाको ढल्केबरबाट पूर्वतर्फ पर्ने सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण निर्माण सम्पन्न भई गत असारबाट सञ्चालनमा आइसकेको छ । ढल्केबरबाट पश्चिमतर्फको विद्युत् प्रवाहलाई थप सहज बनाउन रौतहटको चन्द्रनिगाहपुर ९चपुर० बजार नजिक रहेको जङ्गलसम्मको करिब ६० किलोमिटर ४०० केभी प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा सञ्चालनमा ९चार्ज० ल्याइएको छ ।

    ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट आगामी सातामा

    काठमाडौं ।  ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ आगामी साताभित्र बाँडफाँट गर्ने तयारी गरिएको छ। बिक्री प्रबन्धक नेपाल प्रभु क्यापिटलका अनुसार केही थोरै प्रक्रियागत कामहरू बाँकी रहेकाले अर्को हप्ता आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ।

    यो आइपीओमा भारी प्रतिस्पर्धा भएको छ, जसमा मागभन्दा १६.०२ गुणा बढी आवेदन परेको छ। यस अनुसार गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने बताइएको छ। कुल १९ लाख ८५ हजार ६६३ व्यक्तिहरूले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताको लागि आवेदन दिएका छन्।

    राजस्व अनुसन्धान कार्यालय कोहलपुरद्वारा सुनको अवैध ओसारपसार गर्ने रञ्जित रसाइली विरुद्ध मुद्दा दायर

    कठमाडौँ । राजस्व अनुसन्धान कार्यालय कोहलपुरले डेढ अर्ब  बढी बिगो र जरिवाना मागदाबीसहित राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ ।सुनको अवैध ओसारपसार गरी राजस्व चुहावटको कसुरमा घोराही उपमहानगरपालिका वडा न १४ बस्ने रञ्जित रसाइली विरुद्ध उच्च अदालत तुलसीपुर दाङ इजलासमा चैत ६ गते उक्त मुद्दा  दायर गरिएको हो ।राजस्व अनुसन्धान विभागको प्रवक्ता तथा उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार प्रतिवादी रंजित रसाइलीबाट बरामद भएको सुनको सम्बन्धमा अनुसन्धान गर्दा प्रतिवादीसँग सुन खरिद गरेको पुष्ट्याई गर्ने प्रमाणहरु नरहेको तथा प्रतिवादीले चोरी पैठारी गरी ल्याएको पुष्टि हुने देखिएको जनाइएको छ ।

    चोरी तस्करी नियन्त्रण गर्न राजस्व अनुन्धान कार्यालय बुटवल आक्रामक  , आठवटा मुद्दा दर्ता , लाखौँ रुपैयाँ जरिवाना र लाखौँको सामान जफत

    काठमाडौँ । राजस्व अनुसन्धान कार्यालय बुटवल  चोरी तस्करी नियन्त्रण गर्न आक्रामक  देखिएको छ ।चोरी तस्करी नियन्त्रणका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलले गश्ती परिचालन तथा निगरानी तीव्र बनाएको छ । कार्यालयले केही समय यता विभिन्न खाद्य वस्तुहरू चिनी , मटर, चिनी, काजु बदाम, गहँु, तोरीलगायतका खाद्य वस्तुहरू नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

     

    रुपन्देहीका सीमा नाका बाट मटर तस्करी गरि देशका अन्य शहरहरुमा ओसारपसार गरिरहेको सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालय बुटवलले गश्ती , निगरानी र अनुगमनलाई  तीव्रता दिएको  राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले नयाँ सडकलाई बताए । यसअघि राजस्व अनुसन्धान कार्यालय बुटवलले  ५० लाख बढी जरिवाना तिराएको छ । बाँकी चोरी तस्करीका सम्बन्धमा अनुसन्धान भइरहेको बुटवल कार्यालय स्रोतले जनाएको छ ।

    महायज्ञ गर्ने भन्दै एक दलित परिवारको घर भत्काउने घटनाका दोषीलाई कारबाही गर्न माग

    काठमाडौँ ।समन्यायिक समाज नेपालले महायज्ञ गर्ने भन्दै सिरहाको औरही गाउँपालिका–५ का दीपक मरिक ९डोम० को घर भत्काइएकाप्रति ध्यानाकर्षण गराउँदै दोषीलाई कारबाही गर्न माग गरेको छ । 
     
     समाजका अध्यक्ष भक्त विश्वकर्माले विज्ञप्ति जारी गरी महायज्ञ गर्ने भन्दै स्थानीय दलित समुदायका मरिकको घर भत्काइएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग गर्नुभयो । 
     
          जातीय भेदभाव तथा छुवाछुत कसुर तथा सजाय ऐन, २०६८ तथा अन्य कानुनी प्रावधानहरूको कडाइपूर्वक कार्यान्वयन गरी दोषीमाथि कडा कारबाही र पीडितलाई न्याय दिन नेपाल सरकारसमक्ष समाजले माग गरेको हो ।
         
          “यही चैत १७ गतेदेखि सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि दीपक मरिक ९डोम० को घर भत्काइएको छ, जसकारण पीडित परिवार अहिले विस्थापित भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणको बिजुली कटौती: ललितपुरका विभिन्न स्थान प्रभावित

    काठमाडौँ ।नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो ।
     
    प्राधिकरणका अनुसार, भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुन्डोल, पुरानो मन्त्री क्वाटर, सम्झिखेल, अरूण थापा चोक क्षेत्रमा आज दिउँसो १२ देखि २ बजेसम्म लाइन काटिने छ । पाटनको एक सय ३२ केभी सबस्टेशनको प्राविधिक कामका लागि लाइन काटिन लागेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरेको छ । 

     

    ती स्थानमा बिजुली काटिँदा ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले माफी मागेको छ ।

    देशभरको मौसम स्थिति: पश्चिमी वायु र स्थानीय वायुको प्रभाव, हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

     

      कोशी र मधेस प्रदेशलगायत मुुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

      महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहनेछ । 

     

    कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ ।

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९० पैसा र बिक्रीदर १३८ रुपैयाँ ५० पैसा कायम भएको छ ।

     

     

    युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५० रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५७ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

     

     

    अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९६ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ २८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।

     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij