Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

भन्सार छली ल्याइएका मोबिल र मोटर पार्टससहित पक्राउ

भन्सार छली ल्याइएका मोबिल र मोटर पार्टससहित पक्राउ

  •  

    भद्रपुर । जिल्ला प्रहरीले नेपाल–भारत सीमा क्षेत्र हुँदै अवैध रूपमा भन्सार छली, चोरीपैठारी गरी ल्याइएका गाडीका मोबिल र अन्य पाटपुर्जा बरामद गरेको छ । 

     

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले मेचीनगर–६ कालिखोलास्थित भारतबाट नेपाल आउँदै गरेको अवैध सामानसहित भारतीय नम्बरको कार बरामद गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार चेकजाँचका क्रममा कारको सिटमुनी ‘फल्सबटम’ बनाएर रु नौ लाख १५ हजार पाँच सय ८२ मूल्य बराबरका मोबिल र मोटरका पाटपुर्जा बरामद भएका हुन् ।

     

    कार चालक भारत पश्चिम बङ्गाल दार्जिलिङका ३४ वर्षीय अमित सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाएर थप अनुसन्धान सुरु गरिएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो । 

     

    चिया निर्यात ५० दशमलव प्रतिशतले बढ्यो 

     

    मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको आठ महिनामा चिया निर्यात ५० दशमलव ४० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउनदेखि गत फागुनसम्ममा रु तीन अर्ब २० करोड दुई लाख ९१ हजार मूल्य बराबरको चिया निर्यात भएको हो । 

     

    उक्त अवधिमा १२ हजार पाँच सय ७६ दशमलव ३५ मेट्रिकटन चिया निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । गत आवको सोही अवधिमा रु दुई अर्ब १२ करोड ७६ लाख ३७ हजार मूल्य बराबरको चिया निर्यात भएको थियो । 

     

    कार्यालयका अनुसार चालु आवको फागुन मसान्तसम्म अलैँचीको निर्यात १२ दशमलव आठ प्रतिशतले बढेको छ । हुमागाईंका अनुसार चालु आवको आठ महिनामा रु पाँच अर्ब ८३ करोड ७३ लाख ६८ हजार मूल्य बराबरको अलैँची निर्यात भएको छ । गत आवको सोही अवधिमा रु पाँच अर्ब १७ करोड २६ लाख ९७ हजार मूल्य बराबरको अलैँची निर्यात भएको थियो । 

     

    भन्सार कार्यालयका अनुसार सिमेन्ट क्लिङ्कर दुई सय चार दशमलव सात प्रतिशत, भेनियरसिट ७४ दशमलव तीन प्रतिशत र मोलासिसको निर्यातमा चार हजार पाँच सय ८९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । 

     

    फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, अम्रिसोलगायत वस्तुको निर्यातमा कमी आएको भन्सार प्रमुख हुमागाईंले जानकारी दिनुभयो । उहाँका अनुसार मेची भन्साबाट चालु आवको आठ महिनामा रु १७ अर्ब ९० करोड ६१ लाख २५ हजारको वस्तु निर्यात भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij