
सिरहा।सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा पञ्चायती गर्ने एक जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । वडा सदस्य नथुनी साहलाई सिरहा जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । अदालतका मुख्य न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । यसैगरी, अदालतले पञ्चायतीमा भूमिका खेल्ने अन्य ६ जनासँग जनही डेढ लाखका दरले धरौटी माग गरेको छ । अदालतका श्रेस्तेदार निरज पोखरेलका अनुसार, स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, रामदेव सदा, कारी सदा र अपहरण तथा बलात्कारका आरोपित दुई नाबालकका आफन्त पर्ने दुई जना गरी ६ जनासँग जनही एक लाख ५० हजार रुपैयाँ धरौटी माग भएको हो ।
अपहरण तथा बलात्कारका मुख्य आरोपित नाबालकलाई भने अदालतले परिवारको जिम्मामा छाडिदिएको छ । यस्तै, स्थानीय रामविनोद मण्डल र कमलेश दासलाई भने साधारण तारेखमा रिहा गर्ने आदेश भएको श्रेस्तेदार पोखरेलले जानकारी दिए । यस घटनामा अपहरण तथा बलात्कारका आरोपित दुई नाबालक र घटना गाउँमै मिलाउन पञ्चायती गर्ने ८ जना गरी दस जना अझै फरार छन् । उनीहरुका नाममा कानुन बमोजिम म्याद जारी हुने सिरहा जिल्ला अदालतले जनाएको छ । गएको ३० माघमा रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । मृत्युअघि शौच गर्न जाँदा चार जना युवकले सामूहिक बलात्कार गरेको उनले बताएकी थिइन् । त्यसपछि उक्त बलात्कारको घटनालाई गाउँमा पञ्चायत बसेर मिलापत्र गराइएको थियो । रिंकु मृत भेटिएपछि उनको परिवारले प्रहरीमा जाहेरी दिएका थिए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij