Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् चैत १३ बुधबार  मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् चैत १३ बुधबार  मुख्यमुख्य आर्थिक समाचारहरू ...

  •  

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत १३ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    नेपाल धितोपत्र बोर्डले ब्रोकर मर्जरसम्बन्धी निर्देशिका पारित, पुँजी वृद्धि र मर्जरको नयाँ मार्ग खुला

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर मर्जरसम्बन्धी नयाँ निर्देशिका पारित गरेको छ। यस निर्णयसँगै ब्रोकर कम्पनीलाई मर्जरको माध्यमबाट पुँजी वृद्धि गर्ने अवसर प्राप्त हुनेछ। बोर्डको बुधबारको बैठकमा स्वीकृत यस निर्देशिकाले ब्रोकर कम्पनीलाई २०८२ असारसम्म पुँजी वृद्धि गर्नको लागि समय दिएको छ।

    यसअघि, ३७ ब्रोकर कम्पनीहरूले बोर्डमा कार्ययोजना पेश गरेका थिए, जसमा २४ वटा ब्रोकर कम्पनीहरूले मर्जर, बोनश र राइट शेयरको विकल्प चयन गरेका छन्। नयाँ लाइसेन्स प्राप्त ४२ ब्रोकर कम्पनीले पहिले नै पुँजी कायम गरेको छ भने पुराना ५० कम्पनीमध्ये १२ वटा कम्पनीले पुँजी कायम गर्न सफल भएका छन्।

     

    नेपाल धितोपत्र बोर्डले २०७९ भदौमा धितोपत्र कम्पनीलाई २०८२ असारमासम्म पुँजी वृद्धि गर्न निर्देशन दिएको थियो। बोर्डले सिमित व्यवसाय गर्ने कम्पनीलाई २० करोड रुपैयाँ पुँजी थप गर्न भनेको छ भने, पूर्व कार्यरत कम्पनीलाई ६० करोड रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएको छ। यसका साथै, धितोपत्र व्यापारीको पुँजी १ अर्ब ५० करोड रुपैयाँ तोकेको छ।

    एनआईसी एशिया सेलेक्ट–३० फण्डको फागुन महिनामा नाफा घट्यो

    काठमाडौं । एनआईसी एशिया सेलेक्ट–३० फण्डले फागुन महिनासम्म रू.२ करोड ४१ लाख ४६ हजार नाफा कमाएको छ, जुन माघ महिनाको रू. ३ करोड ७६ लाख २८ हजारको तुलनामा कम हो।

     

    माघ महिनामा फण्डले रू। ५ करोड १३ लाखभन्दा बढी आम्दानी गरेको थियो, भने फागुन महिनामा यसले रू। ३ करोड ९७ लाखभन्दा बढी आम्दानी गरेको छ। माघ महिनामा खर्च रू। १ करोड ३७ लाख २४ हजार रहेको थियो भने फागुन महिनामा खर्च रू। १ करोड ५६ लाख पुगेको छ। खर्च बढी र आम्दानी कम भएकाले फण्डको नाफामा कमी आएको हो।

    शेयर बजार : नेप्से परिसूचकमा ४०.४७ अंकले बढेर  २६२३.२१ बिन्दुमा, ४ अर्ब २० करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ४०.४७ अंकले बढेर  २६२३.२१ बिन्दुमा आएको छ । । आज ४ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् ।

     

    यस दिन ३ सय १७ कम्पनीको ९१ लाख ४२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४१ करोड ८६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स परेका छन् ।  

    दागी सांसदलाई रिलायन्स स्पिनिङ मिल्स आईपीओ विवाद छानबिन अगुवाइको जिम्मा

    काठमाडौँ । सार्वजनिक लेखा समितिले दागी सांसदलाई रियलाइन्स स्पिनिङ मिल्स आईपीओ विवाद छानबिन समितिको अगुवाइ गर्ने जिम्मा दिएको छ ।बुक बिल्डिङमार्फत आईपीओ निष्काशन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सको आईपीओमाथि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले यस्तो समिति बनाइ छानबिन थालेको हो ।समितिले ९ महिना पछि  रिलायन्सको आईपीओमाथि प्रश्न उठाउँदै  कार्यदल गठन गरेर छानबिन अगाडि बढाएको छ।

     

    समिति स्रोतका अनुसार  उपसमितिले उजुरीलाई हेरेर रिलायन्स स्पिनिङ मिल्सको आईपीओबारे छानबिनका लागि कार्यदल बनाएको छ। कार्यदललाई छानबिन गरेर एक महिनाभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । कांग्रेस सांसद सञ्जय गौतमको संयोजकत्वमा गठित उपसमितिले रिलायन्स स्पिनिङ मिल्सको आईपीओबारे परेको उजुरीमाथि छानबिन गर्न सिफारिस गरेको थियो।

    चीनलाई लक्षित गरेर दर्जनौं संस्थामाथि अमेरिकाद्वारा प्रतिबन्ध

    वासिङ्टन ।संयुक्त राज्य अमेरिकाले बेइजिङको कृत्तिम बौद्धिकता (एआई) र उन्नत गणना क्षमतामा खलल पुर्याउने उद्देश्यले मंगलबार दर्जनौं संस्थालाई व्यापार कालोसूचीमा राखेको वाणिज्य विभागले जनाएको छ ।

     

     

    यो कारबाहीले चीन, संयुक्त अरब इमिरेट्स र इरानलगायत देशका ८० संस्थालाई प्रभावित पारेको छ र विभागले उनीहरुको ‘अमेरिकी राष्ट्रिय सुरक्षा र विदेश नीति विपरीतका गतिविधिहरु’ भनेको छ ।

     

     

    ‘प्रतिबनध सूची’ मा थपिएकाहरुलाई सरकारी अनुमति बिना अमेरिकी वस्तुहरु र प्रविधिहरु प्राप्त गर्न प्रतिबन्ध लगाइएको छ । अमेरिकी वाणिज्यमन्त्री हावर्ड लुटनिकले भने, “हामी विरोधीहरुलाई अमेरिकी प्रविधिको दुरुपयोग गरेर आफ्नो सेनालाई बलियो बनाउन र अमेरिकी जीवनलाई खतरामा पार्न अनुमति दिनेछैनौँ ।”

    अर्घाखाँचीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

    अर्घाखाँची ।अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा तीनको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

     

    शितगङ्गा नगरपालिका–२ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नं को बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल र आठ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको छ

    वर्ल्डलिंकले १० लाख ग्राहकसम्मको यात्रा सफलतापूर्वक पार ग¥यो

    काठमाडौँ ।  वर्ल्डलिंकले १० लाख ग्राहकसम्मको यात्रा सफलतापूर्वक पार गरेर  ऐतिहासिक उपलब्धि हासिल गरेको छ। २०५२ सालमा जब केही गर्ने सपना, सीमित स्रोतसाधन र अपार आशाका साथ यो यात्राको सुरुवात गरिएको थियो। त्यस बखत इन्टरनेट सेवा नेपालको लागि अत्यन्तै नौलो सेवा थियो। 

     

    बिजुली र टेलिफोन समेत नपुगेका गाउँ-बस्तीहरूमा इन्टरनेट पुर्याउने सपना त्यतिबेला असम्भव लाग्थ्यो। तर हामीसँग एउटा दृढ संकल्प थियो जुन हरेक नेपालीलाई विश्वसँग जोड्ने, प्रविधिलाई सर्वसुलभ बनाउने, र जनजीवनलाई सजिलो तथा समृद्ध बनाउने। त्यही उद्देश्यले हामीले हाम्रो कम्पनीको नाम "वर्ल्डलिंक" राख्यौं जुन नेपाललाई विश्वसँग जोड्ने माध्यमका रूपमा रहेको कम्पनीले जनाएको छ ।

    आज हामी देशका दूरदराजका गाउँ बस्ती तथा कुनाकन्दरा सम्म इन्टरनेट पुर्याउन सफल भएका छौँ, त्यहाँका बासिन्दाहरुको अनुहारमा देखिएको त्यो मुस्कान र खुसी नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो। तपाईंहरूको साथ, भरोसा र मायाले हामीलाई यहाँसम्म ल्याएको हो।

    क्रिप्टोकरेन्सीको अवैध कारोबार गर्ने ११ जना भारतीय नागरिक पक्राउ

    काठमाडौँ । प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट झन्डै ३ अर्बको अभौतिक मुद्रा कारोबार गर्ने गिरोहका ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा भारत राजस्थान घर भएका २४ वर्षीय सनी मिणा, २५ वर्षीय मोहित बर्मा, २६ वर्षीय पिउस भारद्वाज, २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशान्त भारद्वाज, २३ वर्षी आकाश बर्मा, १९ वर्षीय अंकितकुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षकै विकाश कुमार रहेका छन्  ।

     

    अनलाइन जुवा (सट्टाबाजी) खेल्ने÷खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई  बूढानीलकण्ठ नगरपालिका–३ देउला टोलस्थित एक घरबाट ११ जना भारतीय नागरिकलाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ ।घर भाडामा लिएर अनलाइन जुवा खेलिरहेको अवस्थामा मंगलबार उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    राष्ट्र बैंक कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठद्वारा राजीनामा

    काठमाडौँ । राष्ट्रिय योजना आयोगका सदस्य समेत रहेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । आयोग सदस्य नियुक्त भएसँगै उनी काजमा योजना आयोगमा काम गरिरहेका हुन् । राष्ट्र बैंक गभर्नरका आकाँक्षी श्रेष्ठले राष्ट्र बैंकबाट राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । अहिले उपप्रधानमन्त्री तथा अर्थमन्त्री संयोजकत्वको गभर्नर सिफारिस समितिले काम गरिरहेको छ । उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अघिल्लो कार्यकालमा अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार भएर काम गरेका थिए ।

    प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ दिनुपर्छ : अध्यक्ष दाहाल

    काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चित्त बुझ्दो जवाफ दिनुपर्ने बताउनुभएको छ । 

     

     

    नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यसबारे प्रधानमन्त्री ओलीले चित्त बुझ्दो जवाफ नदिए प्रतिनिधिसभाको बैठक चल्न नदिने उल्लेख गर्नुभयो । 

     

    उहाँले भन्नुभयो, ‘कुलमानलाई बर्खास्त गरिएको विषयमा प्रधानमन्त्रीले संसद्को रोष्टममा आएर चित्त बुझ्दो जवाफ दिनुपर्छ, चित्त बुझ्दो जवाफ आए सदन चल्छ, नत्र चल्दैन ।” उहाँले प्रधानमन्त्री ओलीसँग टिआरसीको विषयमा छलफल भएपनि कुलमानलाई बर्खास्त गर्नेबारे कुनै छलफल नभएको प्रस्ट पार्नुभयो ।

    काँकरभिट्टा नाकाबाट करिब १२ अर्ब ७४ करोडको पेट्रोलिय पदार्थको आयात

    भद्रपुर । चालु आर्थिक वर्षको आठ महिनामा पूर्वी नाका काँकरभिट्टाबाट रू १२ अर्ब ७४ करोड १५ लाखबढीको पेट्रोलिय पदार्थ आयात भएको छ । उक्त मूल्य बराबरको पेट्रोल, डिजेल, एलपि ग्यास, एटिएफ र मट्टितेल आयात भएको हो । 

     

     

    गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रू ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा रू १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । 

     

    मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले पेट्रोलियम पदार्थमा आयात घटे पनि राजस्व बढेको बताउनुभयो । कार्यालयको तथ्याङ्क अनुसार चालु आवको आठ महिनामा पेट्रोलिय पदार्थको आयातबाट रू छ अर्ब १२ करोड ४२ लाख राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रू पाँच अर्ब ८० करोड १८ लाख राजस्व सङ्कलन भएको थियो ।

    नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग छैन : प्रधानमन्त्री

    काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आज यहाँ आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मानिसहरुले आँकलन नै नगरेको भए देश र जनताका लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउनुपर्ने बताउनुभयो । “हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छन । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस् ।

    भारतीय लगानीकर्ताहरुलाई नेपालको विद्युत उत्पादन क्षेत्रमा लगानी गर्न आग्रह

    नयाँ दिल्ली । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।  भारतको राजधानी नयाँ दिल्लीमा बुधवार भएको नेपाल भारत ऊर्जा सम्मेलन (India-Nepal Energy Summit) को अवसरमा बोल्दै अध्यक्ष कार्कीले नेपाल सरकारले हालै मात्र सन २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन पुर्‍याउने महत्वकांक्षी लक्ष्य लिएको, त्यसका लागि ४६.५ अर्ब डलर लगानी आवश्यक रहेकोले अहिले नेपालमा लगानीको सुनौलो अवसर रहेको बताए ।

     

    उनले २०५७ देखि मात्र विद्युत उत्पादन सुरु गरेको नेपाली निजी क्षेत्रले अहिले कुल जडित क्षमता ३५०० मेगावाट पुग्दा यसको ८० प्रतिशत (करिब २८०० मेगावाट) हिस्सा ओगटेको पनि जानकारी गराए । नेपाल र भारत बीच हाल १००० मेगावाट विद्युत आदान प्रदान भइरहेकोमा आगामी १० वर्षभित्र त्यसलाई बढाएर १० हजार मेगावाट पुर्‍याउने विषयमा दीर्घकालिन सम्झौता भइसकेको, भारती कम्पनीको लगानीमा नेपालमा ५ हजार मेगावाट बराबरका आयोजना अघि बढिरहेको र थप हजारौ मेगावाट बराबरका आयोजनाले भारतीय लगानी पर्खिरहेको कार्कीले बताए ।

    रिकु सदाय बलात्कार र शंकास्पद मृत्यु प्रकरण : पञ्चायती गर्ने वडा सदस्य पुर्पक्षका लागि कारागार चलान

    सिरहा।सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा पञ्चायती गर्ने एक जनालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । वडा सदस्य नथुनी साहलाई सिरहा जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । अदालतका मुख्य न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । यसैगरी, अदालतले पञ्चायतीमा भूमिका खेल्ने अन्य ६ जनासँग जनही डेढ लाखका दरले धरौटी माग गरेको छ । अदालतका श्रेस्तेदार निरज पोखरेलका अनुसार, स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, रामदेव सदा, कारी सदा र अपहरण तथा बलात्कारका आरोपित दुई नाबालकका आफन्त पर्ने दुई जना गरी ६ जनासँग जनही एक लाख ५० हजार रुपैयाँ धरौटी माग भएको हो ।

    सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा

    इटहरी । इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ९ः३० बजे सुरु भएको आगो करिब छ घण्टापछि नियन्त्रणमा आएको हो । 

     

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक योगराज खतिवडाका अनुसार आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल तथा झण्डै तीन सयको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो । भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको उहाँले बताउनुभयो । 

    के कारणले आगो लागेको भन्नेबाचरे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । आगलागी भएको भवनबाट ११ जनाको सकुशल उद्धार गरिएको थियो ।

    बङ्गलादेशका युनुस पहिलो राजकीय भ्रमणका लागि चीन प्रस्थान

    ढाका । बङ्गलादेशका अन्तरिम सरकार प्रमुख मुहम्मद युनुस आफ्नो पहिलो राजकीय भ्रमणका क्रममा बेइजिङ प्रस्थान गर्नुभएको छ । छिमेकी भारतसँग चिसिएको सम्बन्धका बीच नयाँ मित्र बनाउने उहाँको अन्तरिम सरकारको प्रयास देखिन्छ ।

     

     

    चौरासी वर्षीय नोबेल पुरस्कार विजेता युनुसले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नुहुनेछ र शनिबार अन्य धेरै उच्चस्तरीय बैठकपछि फर्कनुहुनेछ ।

     

    विद्यार्थी नेतृत्वको विद्रोहपछि नयाँदिल्ली भाग्नुभएकी स्वेच्छाचारी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि युनुसले गत अगस्टमा बङ्गलादेशको कार्यभार सम्हाल्नुभएको थियो ।

    लोकतन्त्र आएपछि केही पनि भएन भन्ने भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ : गृहमन्त्री लेखक

    भक्तपुर ।गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्तिपछि सरकारले देशमा धेरै कामहरु गरेको भए पनि केही पनि गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

     

     

    भक्तपुरको दूधपाटीस्थित जुद्ध बारुणयन्त्र कार्यालय  भवनको उद्घाटन गर्दै गृहमन्त्री लेखकले लोकतन्त्र प्राप्तपछि सरकारले केही गर्न सकेन, देशमा केही भएन भन्ने गरी भाष्य निर्माण गर्नु गलत भएको बताउनुभयो । 

     

    गृहमन्त्री लेखकले भन्नुभयो, “तत्कालीन राजा ज्ञानेन्द्र शाहले ‘कु’ गरेर प्रजातन्त्र समाप्त पारेको दिन जनताले बिर्सनुभएको छैन भन्ने मलाई विश्वास छ । प्रजातन्त्र समाप्त पारेर राज्य सत्ता एकलौटी हातमा लिएपछि सबभन्दा पहिला नेपाली सेना र प्रहरीले सञ्चारमाध्यममा छापा मारेर समाचारमा रोक लगाएको, प्रकाशित पत्रिकाहरु बन्द गराउनेदेखि जफत गरेर लगेको, पत्रकारलाई धम्क्याएको, जनताको आवाज बन्द गराएको सिङ्गो प्रेस जगत् र जनताले बिर्सेका छैनन्, त्यसैले यो व्यवस्था चाहिँदैन भनेर नेपाली जनताले भन्न सक्नुहुन्न ।”

    नेपाल धितोपत्र बोर्डले ब्रोकर मर्जरसम्बन्धी निर्देशिका पारित, पुँजी वृद्धि र मर्जरको नयाँ मार्ग खुला

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर मर्जरसम्बन्धी नयाँ निर्देशिका पारित गरेको छ। यस निर्णयसँगै ब्रोकर कम्पनीलाई मर्जरको माध्यमबाट पुँजी वृद्धि गर्ने अवसर प्राप्त हुनेछ। बोर्डको बुधबारको बैठकमा स्वीकृत यस निर्देशिकाले ब्रोकर कम्पनीलाई २०८२ असारसम्म पुँजी वृद्धि गर्नको लागि समय दिएको छ।

    यसअघि, ३७ ब्रोकर कम्पनीहरूले बोर्डमा कार्ययोजना पेश गरेका थिए, जसमा २४ वटा ब्रोकर कम्पनीहरूले मर्जर, बोनश र राइट शेयरको विकल्प चयन गरेका छन्। नयाँ लाइसेन्स प्राप्त ४२ ब्रोकर कम्पनीले पहिले नै पुँजी कायम गरेको छ भने पुराना ५० कम्पनीमध्ये १२ वटा कम्पनीले पुँजी कायम गर्न सफल भएका छन्।

    भन्सारसम्बन्धी कानुन संशोधन र एकीकरण  विधेयक अर्थ समितिबाट पारित

    काठमाडौँ । संसदीय समितिले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई  पारित गरेको छ ।सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई पारित गरेको हो । यस अघि समितिमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनउपर छलफल भएको थियो ।

     

    समितिको बैठकको निर्णयबारे जानकारी दिँदै समिति सभापति सन्तोष चालिसेले समितिले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको बताए ।

    श्रमिक रोजगारदाता जोड्ने एप पीटीई वर्क सार्वजनिक

    काठमाडौंँ । श्रमिक र रोजगारदातालाई जोड्ने एप एक समारोहबीच सार्वजनिक गरिएको छ । काठमाडौंँको शंकर होटेलमा पार्ट टाइम इजि वर्क (पीटीई वर्र्क) नामक एपको श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको उपस्थितिमा सार्वजनिक गरिएको हो ।

     

    कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोगजार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले यो एपले मूलुकमा डिजिटल  पोर्टलको माध्यमबाट दक्ष जनशक्ति उत्पादनमा सहयोग  पुग्ने विश्वास व्यक्त गरे । उनका अनुुसार एपको मुल नारा नै डाइरेक्ट डिल, नो किचकिच हो ।

    सोपान मल्टिपल कम्पनीको ३ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । सोपान मल्टिपल कम्पनीको ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

     

    कम्पनीको संस्थापक समूहको ३ लाख ३ हजार ४२६ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। संस्थापक शेयरधनीले सोही मूल्य वा सोभन्दा बढी कबोल गरी शेयर खरिद गर्न सक्नेछन्।

    दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित

    सियोल । दक्षिण कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रहरूलाई ध्वस्त पारेको छ । 

     

     

    अधिकारीहरूका अनुसार आगलागीले १८ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी संरचनाहरू नष्ट भएको तथा २७ हजार मानिसलाई विस्थापित हुन बाध्य पारेको छ । 

     

    आगलागीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये एक दक्षिणपूर्वी उइसेङ जङ्गलमा लागेको डढेलो निभाउने प्रयासमा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् । कोरिया वन सेवाले उद्धार कार्य जारी रहेको र विमानमा एक पाइलट मात्र थिए भन्ने अनुमान गरेको छ ।

    विन नेपाल लघुवित्तले चैत २१ गतेदेखि एफपीओ बिक्री गर्ने

    काठमाडौं ।  विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ । यस लघुवित्तले ५१ लाख २९ हजार २०० रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो । 

    जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२।५० कित्ता सेयर निष्कासन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो ।

    राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट  तीस अर्ब रुपैयाँ तान्दै

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढेको तरलता व्यवस्थापन गर्न  बुधबार ३० अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब रुपैयाँ निक्षेप २१ दिनका लागि उठाउन लागेको हो।

     

    राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग यसबारे प्रस्ताव माग गरेको छ। बुधबार मध्यान्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।राष्ट्र बैंकले साँवा तथा ब्याज चैत ३१ गते भुक्तानी गर्नेछ।

     

    नबिल बैंकको कामु सीईओमा मनोज ज्ञवाली

    काठमाडौं । नबिल बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको आज चैत १३ गते बसेको बैठकले ज्ञवालीलाई कामु सीईओमा नियुक्त गरेको छ।

     

    उनका अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ज्ञानेन्द्र ढुंगानाले दिएको राजीनामा सञ्चालक समितिबाट स्वीकृत भएको छ । ढुंगानाले दिएको राजीनामा चैत १० गतेदेखि लागू हुने गरी स्वीकृत भएको हो ।

    पेट्रोलियम पदार्थको आयातमा ६४ करोडको कमी, राजस्वमा ५.६% वृद्धि

    भद्रपुर । चालु आर्थिक वर्षको आठ महिनामा काँकडभिट्टाबाट रु १२ अर्ब ७४ करोड १६ लाख मूल्य बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ । 

     

    गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु ६४ करोड १७ लाख ५९ हजारले पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । गत आवको आठ महिनामा रु १३ अर्ब ३८ करोड ३३ लाखको पेट्रोलियम पदार्थ आयात भएको थियो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले पेट्रोलियम पदार्थको आयात घटे पनि राजस्व बढेको बताउनुभयो ।

    देशका अधिकांश आज भागमा मौसम सफा रहने पूर्वानुमान

    काठमाडौँ ।हाल देशमा पश्चिमी तथा स्थानीय  वायुको आंशिक प्रभाव रहेको  जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा  बाँकी भागको  मौसम  सफा रहेको बताएको छ । 

     

    महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

    नेपालको प्रमुख निर्यात वस्तु: ४७ अर्ब ९४ करोडको सोयाबिन तेल र ७ अर्ब ९८ करोडको सूर्यमुखी तेल

    काठमाडौँ । नेपालले पछिल्लो आठ महिनामा करिब ५६ अर्ब बराबरको खानेतेल निर्यात गरेको छ । विदेशबाट कच्चा पदार्थ आयात गर्ने र नेपालमा प्रशोधन गरी मूल्य अभिवृद्धि गरेर खानेतेल बेच्दा निर्यात उल्लेख्य रुपमा बढेको हो ।

     

     

    भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात ११ दशमलव २० र निर्यात ५७ दशमलव २० प्रतिशतले बढेको छ । अर्थात् गतवर्षको तुलनामा यसवर्ष नेपालको निर्यातमा खानेतेलको निकै ठूलो हिस्सा देखिएको छ । 

     
    यस्तो छ आजका लागि विदेशी मुद्राको सटहीदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा रहनेछ ।

     

     

    त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रूपैयाँ १४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रूपैयाँ २७ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९५ पैसा कायम गरिएको छ ।

     

     

    अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ९१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रूपैयाँ २७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०२ रूपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

     

     
     
     
     
     
     
     
     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij