
काठमाडौं । चालु आवमा अहिलेसम्म वार्षिक पुँजीगत खर्चको एक चौथाइ मात्र खर्च भएको देखिएको छ ।चालु आवको फागुन महिनासम्म वार्षिक लक्ष्यको एक चौथाइ पनि नपुगेको देखिएको हो ।महालेखा नियन्त्रणको कार्यालयका अनुसार मंगलबारसम्म गरिएको आकलन अनुसार २५.०३सम्म मात्र भएको छ । सो आकलन अनुसार ८८ अर्ब २० करोड ८६ लाख रुपैया बराबरको पूँजीगत खर्च भएको हो ।
यो वर्ष सरकारले ३ खर्ब ५२ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य तय गरेको छ । अर्थ मन्त्रालयले ११ चैतसम्मको सबै मन्त्रालयको पूँजीगत खर्चको विश्लेषण गरे अनुसार एक दर्जन मन्त्रालयको पूँजीगत खर्च गत वर्ष यसै अवधिको तुलनामा नेगेटिभ ग्रोथ (अधोगति) मा गएको छ ।
पूँजीगत खर्च विवरण अनुसार सबैभन्दा कमजोर अवस्था उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको देखिएको छ । यो मन्त्रालयले ११ चैतसम्म ७ करोड ८५ लाख रुपैयाँमात्र पूँजीगत खर्च मात्र गरेको छ । यो कुल लक्ष्यको ३.७३ प्रतिशतमात्र हो । गत वर्षको यसै अवधिको तुलनामा भने ७६.२१ प्रतिशत कम हो ।
गत आव सोही अवधिमा उद्योग मन्त्रालयले ३३ करोड रुपैयाँ पूँजीगत खर्च गरिसकेको थियो । यो मन्त्रालयले यस वर्ष कुल २ अर्ब १० करोड ६६ लाख रुपैयाँ बराबर पूँजीगत खर्चको जिम्मा पाएको छ ।उद्योग मन्त्रालयको समग्र बजेट खर्चसमेत यस वर्ष बहुतै कमजोर छ । अर्थ मन्त्रालयको अर्थवार्षिक समीक्षामा समेत उद्योग मन्त्रालयको प्रदर्शन यस वर्ष सबैभन्दा कमजोर रहेको पाइएको थियो ।
पूँजीगत खर्चको कमजोर प्रदर्शन गर्ने मन्त्रालयमध्ये दोस्रो स्थानमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय छ । यस मन्त्रालयको चालु आवको पूँजीगत खर्च विनियोजन ४ अर्ब ७७ करोड ७ लाख रुपैयाँ छ । खर्च भने ३५ करोड ९५ लाखमात्र छ । जुन गत आव यसै अवधिको तुलनामा ६९.४८ प्रतिशत कम हो ।तेस्रो स्थानमा रक्षा मन्त्रालय छ । यस मन्त्रालयसँग यो वर्ष ५ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बराबर पूँजीगत बजेट छ । ११ चैतसम्म रक्षाले मात्र ८२ करोड २२ लाख खर्च गर्न सकेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ६१.३४ प्रतिशत घटी हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij