
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत १४ शुक्रबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई सरकारको अपिल
काठमाडौँ । सरकारले अमानवीय र गैरकानुनी गतिविधिमा संलग्न नहुन आमनागरिकलाई अपिल गरेको छ । गृह मन्त्रालयद्वारा आज साँझ जारी प्रेस विज्ञप्तिमा कानुनको उल्लङ्घन गर्ने जोसुकैलाई कानुनको दायरामा ल्याई विधिको शासन स्थापित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ ।
पूर्व राजाका समर्थकहरूद्वारा आयोजित प्रदर्शनका क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गर्दै भएको हिसात्मक प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
व्यक्तिका निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत यातायातका साधनहरूमाथि भएको तोडफोड र आगजनीजस्ता अमानवीय एवं अमर्यादित घटना गैरकानुनी तथा घोर भत्र्सनायोग्य रहेको विज्ञप्तिमा उल्लेख छ । यस्ता हिंसात्मक एवं आपराधिक घटना गर्ने–गराउने कार्यका लागि प्रदर्शनका आयोजक स्वयं नै पूर्ण रूपमा जिम्मेवार हुनुपर्ने सरकारले स्पष्ट पारेको छ ।
राजावादी समूहको हिंसात्मक गतिविधि : कोटेश्वर भाटभटेनीमा लुटपाट र तोडफोड
कोटेश्वर । कोटेश्वर भाटभटेनीमा राजावादी समूहले प्रदर्शन बिथोलिएपछि लुटपाट र तोडफोड गरेका छन्। प्रदर्शनकारीहरूले भाटभटेनी सुपरस्टोरको परिसरमा राखिएका फलफूल र विभिन्न सामानलाई लुटेका छन्। सोही समूहले तीनकुने नजिक आलोकनगरस्थित नेकपा ९एकीकृत समाजवादी०को पार्टी कार्यालयमा आगजनी पनि गरेका थिए।
नेको इन्सुरेन्सको ६ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला
काठमाडौं । नेको इन्सुरेन्स कम्पनीले आज (चैत १५ गते) देखि ६ लाख कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । यसमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको प्रतिकित्ता भाउ न्यूनतम २६० रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यसमा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल, बागदरबार काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।
प्रुडेन्सियल इन्सुरेन्सको ८० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले आज (चैत १५ गते) देखि ८० हजार कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । यसमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको प्रतिकित्ता भाउ न्यूनतम १८५ रुपैयाँ तोकिएको छ ।
लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।
हिंसात्मक झडपमा परी एकको मृत्यु, ३५ घाइते : गृह मन्त्रालय
काठमाडौँ । पूर्वराजाका सर्मथकहरूले आज काठमाडौँको तीनकुने क्षेत्रमा गरेको हिंसाक प्रदर्शनका क्रममा भएको झडपमा एक जनाको मृत्यु र ३५ जना घाइते भएका छन् ।
गृह मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको जानकारी दिनुभयो ।
“झडपमा घाइते भएका महर्जनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो”, सहसचिव रिजालले भन्नुभयो, “काठमाडौँका विभिन्न स्थानमा भएको प्रदर्शनका क्रममा ३५ जना घाइते भएका छन् ।”
सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग
काठमाडौँ । समाजवादी मोर्चा नेपालले प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्ने आपराधिक तत्वलाई यथाशीघ्र कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
मोर्चाले आज विज्ञप्ति जारी गर्दै राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । मोर्चाले यस प्रकारका उच्शृङ्खल र अराजककार्यको भत्र्सना र निन्दा गरेको छ ।
राजधानीमा आयोजना गरेको जनप्रदर्शनबाट अत्तालिएका यथास्थितिवादी तत्वले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय, काठमाडौँ जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजको निजी निवास, निजी तथा सार्वजनिक सम्पत्ति र सञ्चार गृहमा तोडफोड तथा आगजनी गरेको मोर्चाले जनाएको छ ।
‘आगामी बजेट उत्कृष्ट बनाउन सबैको सहकार्य आवश्यक छ’ : खानेपानीमन्त्री प्रदीप यादव
काठमाडौँ ।खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई प्रभावकारी बनाउन सबैको सहकार्य र समन्वय आवश्यक पर्ने बताउनुभएको छ ।
आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा मातहतका निकायसँग ‘चालु आर्थिक वर्षको पुँजीगत खर्च र आगामी आवको बजेट तथा कार्यक्रम तर्जुमा’सम्बन्धी बैठकमा उहाँले बजेट प्रभावकारी बनाउन आवश्यकता अनुसार समन्वय गर्न मातहतका निकायलाई आग्रह गर्नुभयो ।
मन्त्री यादवले भन्नुभयो, “स्थानीय तहबाट प्राप्त सुझावलाई ग्रहण गरौँ, योजना तथा कार्यक्रमलाई उत्कृष्ट बनाउन ठोस योजना अघि सारौँ ।” आगामी आवका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा र प्राथामिकताका विषयमा स्थानीय सरकार, खानेपानी उपभोक्ता महासङ्घलगायत निकायको महत्त्वपूर्ण भूमिका रहनेमा उहाँले जोड दिनुभयो ।
रसुवागढी नाकाबाट सवारी साधन भित्रिनेक्रम बढ्दो, आठ महिनामा चार हजारभन्दा बढी चिनियाँ गाडी भित्रिए
रसुवा । उत्तरी नाका रसुवागढीबाट आर्थिक वर्ष २०८१/८२ को साउनदेखि फागुन मसान्तसम्म चार हजारभन्दा बढी चिनियाँ सवारीसाधन नेपाल भित्रिएका छन् । रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार साउनदेखि फागुनसम्म आठ महिनामा चार हजार छ सय ३७ वटा सानाठूला सवारीसाधन भित्रिएका हुन् ।
आयातित सवारीसाधनमा विशेषगरी विद्युतीय कार, भ्यान, माइक्रोबस तथा इन्धनबाट चल्ने गाडी छन् । सो नाकाबाट गत आव २०८०/८१ मा सात हजार तीन सय ७७ वटा सवारीसाधन नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।
यसैबीच रसुवागढी हुँदै नेपाल भित्रिएका तर नियमानुसार कानुनी प्रक्रिया पूरा गर्न बाँकी रहेका कैयौँ सवारीसाधन नाका नजिकैको टिमुरेस्थित खुला स्थानमा पार्किङ गरी राखिएका छन् ।
एकीकृत समाजवादीद्वारा घटनाको छानबिनको गरी दोषीलाई कारबाहीको माग
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय कार्यालयमा गरिएको तोडफोड तथा आगजनीको छानबिनको माग गरेको छ ।
पार्टीका उपाध्यक्ष एवं केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले आगलागी तथा तोडफोडप्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्नुभयो । उहाँले भौतिक संरचना तोडफोड तथा हिंसात्मक कार्यको निन्दा गर्दै प्रारम्भिक चरणको छानबिन सुरू गरिएको बताउनुभयो । उक्त घटनाबाट भएको नोक्सान तथा क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ ।
घिसिङको रिटमा कारण देखाउ आदेश
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिरिङको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले रिटउपर सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।
घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तिम आदेशको माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । अदालतले आज लिखित जवाफ माग गर्दै अन्तरिम आदेश हुने वा नहुने विषयमा दुवै पक्षलाई छलफलका लागि यही चैत १७ बोलाएको छ ।
राजावादीहरूले तिनकुनेमा गरे तोडफोड र आगजनी
काठमाडौँ । काठमाडौँ तीनकुनेमा राजावादी प्रदर्शनकारीले घरहरूमा तोडफोड र आगजनी गरेका छन् । विभिन्न ठाउँबाट ¥यालीसहित तीनकुने आएर सभामा परिणत हुने पूर्व जानकारी अनुसार कार्यक्रम बढ्नु भन्दा पहिले नै भीड भड्किएको हो । उनीहरूले तीनकुने सडक किनारमा रहेका घरहरूको सिसा फुटाएका हुन् । तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि स्थिति तनावग्रस्त बन्न पुगेको हो । प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढासमेत प्रहार गरेका छन् । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
बङ्गलादेशः पूर्व प्रधानमन्त्री हसिनाविरूद्ध सरकारविरूद्ध षड्यन्त्र गरेको अभियोगमा मुद्दा दायर
ढाका । बङ्गलादेशी प्रहरीले पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध अन्तरिम सरकारविरूद्ध षडयन्त्र गरेको आरोपमा नयाँ फौजदारी मुद्दा दायर गरेको शुक्रबार जनाएको छ।
गत अगष्टमा विद्यार्थी नेतृत्वको क्रान्तिमा सत्ताच्युत भएपछि हसिना अहिले छिमेकी मुलुक भारतमा निर्वासित अवस्थामा हुनुहुन्छ ।
पूर्व प्रधानमन्त्री हसिना र उहाँको अवामी लिग पार्टीका शीर्ष नेता तथा कार्यकर्ता वफादारहरू विरुद्ध धेरै आपराधिक अभियोगहरू जारी गरिएका छन् । हसिना नेतृत्वमा रहँदा सुरक्षा बलहरूले गत वर्षको विद्यार्थी आन्दोलनका समयमा सयौँ प्रदर्शनकारीहरूको हत्या गरेको थियो ।
ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री
टोकियो । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार र पार्ट्समा २५ प्रतिशत शुल्क लगाउने निर्णयलाई ‘बुझ्न कठिन’ भएको बताउनुभएको छ ।
केही हप्ताअघि इशिबा र ट्रम्पबीच मैत्रीपूर्ण वार्ता भएको केही समयपछि यो कर वासिङ्टनको सबैभन्दा नजिकको आर्थिक तथा रणनीतिक सहयोगीहरूमध्ये एक जापानका लागि ठूलो झट्का साबित भएको छ । जापानी अटो कम्पनीका सेयरहरू शुक्रबार दोस्रो दिन पनि घटेका छन् ।
“राष्ट्रपति ट्रम्पले के भनिरहनुभएको छ भने मित्र र शत्रु दुवै छन् र मित्रहरू अझ कठिन हुन सक्छन् । यो बुझ्न निकै कठिन छ”, विधायिका समितिको सत्रमा इशिबाले भन्नुभयो ।
भूकम्पपछि बैंककको ३० तले भवन ढल्दा ४३ जना फसे
बैंकक ।म्यान्मामा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् ।
थाई राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेष र धातुको घुमाउरो गुच्छामा परिवर्तन भएको थियो ।
शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७।७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
महर्जन कन्स्ट्रक्सनले ढिलाइ गरेको भन्दै महालक्ष्मी नगरपालिकाको कृष्णमन्दिरबाट चाङ्गाथली जाने बाटो अवरुद्ध
ललितपुर । महालक्ष्मी नगरपालिकाको हिजोदेखि सडकखण्ड अवरुद्ध गरिएको छ । महालक्ष्मी नगरपालिकाको कृष्णमन्दिर चोकबाट पवनप्रकृति स्कूल जानेबाटोको साढे सातसय मिटरको बाटोमा अवरोध खडा गरिएको हो ।
स्थानीयहरूले बाटो बनाउन ढिला गरेको भन्दै बाटो बन्दगरी विरोध प्रदर्शन गरिएको नगरपालिका वडा न ५का वडा अध्यक्ष कपिल केसीले बताएका छन् ।
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ७६ हजार दुई सय पुग्यो
काठमाडौँ। सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा रू एक लाख ७६ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू २० बढेर रू दुई हजार ४० कायम भएको छ
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदका बारेमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कार्यकारी निर्देशक पदबाट हटाइएका कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्। दुवै रिटको पेसी आज तोकिएको छ।
घिसिङले आफूलाई कार्यकारी निर्देशकको पदबाट गैरकानुनी रूपमा हटाइएको भन्दै रिट दायर गरेका छन्। उनले शाक्यको नियुक्ति बदर गर्दै आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकको पदमा पुनः बहाल गर्नका लागि आग्रह गरेका छन्। साथै, उनले शाक्यको कार्यकाललाई चुनौती दिँदै, मन्त्रीपरिषद्को निर्णयको समीक्षा गर्न पनि माग गरेका छन्।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७० पैसा र बिक्रीदर १४८ रुपैयाँ ३५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ २६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij