
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज १७ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
सोमबार ईदको अवसरमा सार्वजनिक विदा दिने सरकारको निर्णय
काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल फित्र (ईद) को अवसरमा भोलि सोमबार, चैत १८ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ। गृह मन्त्रालयका अनुसार, सोमबार सरकारी कार्यालयहरू साथै सेयर बजार, बैंक र वित्तीय संस्थाहरू पनि बन्द हुनेछन्।
राष्ट्रिय वाणिज्य बैंकलाई २ अर्ब ५ करोड रुपैयाँको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डको स्वीकृति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई २ अर्ब ५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्नेछ, जसमा १५ लाख इकाई सर्वसाधारणका लागि जारी हुनेछ र १० लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत बैंकले आफ्नै पहलमा बिक्री गर्नेछ।
यस ऋणपत्रको नाम ७ वर्षको अवधि रहेको ७ प्रतिशत आरबीबीएल डिबेन्चर २०८८ हो, जसमा वार्षिक ब्याजदर ७ प्रतिशत तोकिएको छ। ऋणपत्रको बिक्री प्रबन्धकको जिम्मेवारी काम सानिमा क्यापिटलले पाएको छ।
नेपाल एसबीआई बैंकका ग्राहकलाई छुटको सुविधाः दुसित थानी रिसोर्ट र होटेल क्रिस्टलमा विशेष लाभ
काठमाडौं । नेपाल एसबीआई बैंकका ग्राहकले अब दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेलमा १५ प्रतिशतसम्म छुट पाउने अवसर पाएका छन्। बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताले रिसोर्टमा खाद्य, पेय पदार्थ र अन्य सुविधामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यस सम्झौतापत्रमा नेपाल एसबीआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा र दुसित थानी हिमालयन रिसोर्टकी सह निर्देशक सितु श्रेष्ठबीच आदानप्रदान भएको हो।
मितेरी डेभलपमेन्ट बैंकको १० लाख ५६ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मितेरी डेभलपमेन्ट बैंकका १० लाख ५६ हजार ७३४.२६ कित्ता बोनस सेयर सूचीबद्ध भएका छन्। बैंकले गत वर्षको नाफाबाट ९.५०७९ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। जसलाई अब नेप्सेले सूचीकृत गरेको छ।
शेयर बजार : नेप्से परिसूचकमा ३२.२२ अंकले बढेर २६९५.५५ बिन्दुमा, ७ अर्ब ५६ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ३२.२२ अंकले बढेर २६९५.५५ बिन्दुमा आएको छ । आज ७ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।
यस दिन ३ सय २३ कम्पनीको १ करोड ५५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६९ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर परेका छन् ।
पुँजी बढाउन ब्रोकर कम्पनीका लागि मर्जरसम्बन्धी सेबोनको निर्देशिका जारी
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले ब्रोकरको पुँजी वृद्धिका लागि मर्जरसम्बन्धी निर्देशिका जारी गरेको छ ।सेबोनले निर्णय गरेको साढे दुई वर्षपछि मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका जारी गरेको हो । सेबोनले तोकिएको पुँजी कायम गर्न नसक्ने ब्रोकरलाई निर्देशिका बनाएर मर्जर तथा प्राप्तिको बाटो खुला गरिदिएको छ ।
सेबोनले २०७९ मा धितोपत्र व्यवसायी वा धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ संशोधन गरेर ब्रोकरको पुँजी वृद्धि गर्ने निर्णय गरे अनुसार २०८२ असारसम्म समय दिएको छ।
आज फरवार्ड माइक्रोफाइनान्सको साढे ३ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री भर्ने अन्तिम दिन
काठमाडौं ।फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले ३ लाख ६३ हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्दैछ। यो लिलामीका लागि आज (चैत १७ गते) कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ, र यो आवेदन प्रक्रिया आजदेखि बन्द हुनेछ।
लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनीसहित अन्य व्यक्तिहरू, कम्पनीहरू र संघसंस्थाहरूले पनि आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम ५३१ रुपैयाँ वा सो भन्दा बढी मूल्यमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।
राजतन्त्र पुनःस्थापित गर्ने प्रयास व्यर्थ हुनेछः उपप्रधानमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजतन्त्र पुनःस्थापित गर्ने प्रयास व्यर्थ हुने बताउनुभएको छ ।
आज रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले राजतन्त्रले आफ्नो उपादेयता आफैँ समाप्त गरिसकेकाले अब नेपालमा कहिल्यै राजतन्त्र नफर्किने जिकिर गर्नुभयो ।
उपप्रधानमन्त्री पौडेलले २०५८ सालको दरबार हत्याकाण्डपछि नै राजतन्त्रको औचित्यमाथि प्रश्न उठ्न थालेको उल्लेख गर्दै जनआन्दोलनपछि राजतन्त्र समाप्त भएको स्पष्ट पार्नुभयो । राजसंस्थाको पुनरुत्थानको पक्षमा भइरहेका गतिविधिप्रति कटाक्ष गर्दै उहाँले भन्नुभयो, “राजतन्त्र ब्यँुताउनु भनेको श्मशानघाटबाट मुर्दा फर्काउनुजस्तै हो ।”
रविन्द्र मिश्र र धवल शमशेरलाई थप अनुसन्धान गर्न ५ दिनको म्याद थप
काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवल शमशेर राणासहित अन्य पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको छ। प्रहरीले राज्यविरुद्धको अपराधमा संलग्नताको आरोपमा आइतबार उनीहरूलाई अदालतमा उपस्थित गराएको थियो।
यस घटनासँग सम्बन्धित, चैत १५ गते तीनकुने क्षेत्रको राजावादी प्रदर्शनमा दुई जनाको ज्यान गएको र थुप्रै निजी सम्पत्तिमा क्षति पुगेको थियो। प्रदर्शनकारीहरूले मिडिया लक्षित आक्रमणसमेत गरेको थियो।
१५ वर्षपछि राष्ट्रिय बाह्य मिचाहा प्रजाति रणनीति स्वीकृत
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज राष्ट्रिय बाह्य मिचाहा प्रजाति व्यवस्थापन रणनीति तथा कार्यान्वयन योजना स्वीकृत गर्नुभएको छ ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले तयार गरी विगत १५ वर्षदेखि स्वीकृत प्रक्रियामा रहेको र स्वीकृत हुन नसकेको राष्ट्रिय मिचाहा प्रजातिको रणनीति तथा कार्यान्वयन २०८१ योजना आज मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको हो ।
अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्य सरोकारवाला निकायको राय सुझाव समावेश गरी तयार गरिएको रणनीति योजना करिब १५ वर्षपछि स्वीकृत भएको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले जानकारी गराउनुभयो । जटिल समस्याका रुपमा रहेको मिचाहा प्रजातिलाई यस रणनीतिले नियन्त्रण गर्न र फैलावट हुन नदिने महानिर्देशक केसीले बताउनुभयो ।
प्रजातान्त्रिक विचार समाजद्वारा तीनकुने घटनाको भत्र्सना, दोषीलाई कारबाही गर्न माग
काठमाडौँ ।प्रजातान्त्रिक विचार समाजले पूर्वराजाका समर्थकद्वारा विरोध कार्यक्रमका नाममा काठमाडौँको तीनकुने क्षेत्रमा घटाइएको तोडफोड, आगजनी, लुटपाटजस्ता अराजक तथा हिंसात्मक गतिविधिको भत्र्सना गर्दै सो घटनामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।
समाजले आज एक प्रेस विज्ञप्ति जारीगरी शान्तिपूर्ण विरोध प्रदर्शनका माध्यमबाट संविधानसम्मत माग राख्न पाउने लोकतान्त्रिक मूल्य, मान्यताविपरीत रचिएको अराजक गतिविधि भत्र्सना लायक र दण्डनीय रहेको ठहरगरी संलग्न पक्षलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको हो ।
यसैगरी एभिन्यूज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको मृत्युप्रति दुःख व्यक्त गर्दै कान्तिपुर टिभी, अन्नपूर्ण पोष्ट, हिमालय टिभीको भवनसहित विभिन्न सवारीसाधनमाथि भएको आक्रमण, तोडफोड, आगजनी एवं लुटपाटजस्ता घटना घटाउन भूमिका निर्वाह गर्ने पक्षलाई पनि कारबाही गर्न माग गरिएको छ ।
संघीय अस्पतालको कुल आम्दानीको १ प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गरिने
काठमाडौँ ।संघीय अस्पतालको कुल आम्दानीको एक प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गरिने भएको ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारका लागि संघीय अस्पताल विकास समितिको कुल आम्दानीको १ प्रतिशत कोषमा जम्मा गराउने निर्णय गरेका हुन्।
मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बीमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै जम्मा गराउने निर्णय गरेका हुन्। मन्त्रालयको यस तयारीमा अर्थ मन्त्रालयले सहमति समेत दिइसकेको जनाइएको छ ।
म्यान्मामा ’कू’ विरोधी समूहद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि आंशिक युद्धविरामको घोषणा
नेपिडो । म्यान्मामा शक्तिशाली भूकम्पका कारण उद्धार कार्य र अन्य राहत कार्यमा सहयोग पु¥याउन यहाँको एक सशस्त्र विद्रोही समूहले आइतबारदेखि लागु हुने गरी दुई साताका लागि आंशिक युद्धविरामको घोषणा गरेको छ ।
पिपुल्स डिफेन्स फोर्स (पिडिएफ) ले सन् २०२५ मार्च ३० देखि भूकम्प प्रभावित क्षेत्रमा रक्षात्मक कार्यबाहेक आक्रामक सैन्य कारबाहीमा दुई साताको युद्धविराम लागू गर्नेछ,” छायाँ ‘नेशनल युनिटी गभर्नमेन्ट’ले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
निर्वासनमा रहेको सरकारले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा सुरक्षा, यातायात र अस्थायी उद्धार र चिकित्सा शिविर स्थापना सुनिश्चित गर्न संयुक्त राष्ट्रसङ्घ र गैरसरकारी संस्थासँग सहकार्य गर्ने बताएको छ ।
अमेरिकी व्यापार मिसन समाप्त हुँदा भारतीय कर छुटको कुनै सङ्केत छैन
नयाँदिल्ली ।भारत र संयुक्त राज्य अमेरिकाले यस वर्षसम्ममा द्विपक्षीय व्यापार सम्झौताको एक भागलाई अन्तिम रूप दिन सहमत भएका छन् । यद्यपि दुवै पक्षले विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको राष्ट्रका लागि कुनै कर छुटको सङ्केत दिएका छैनन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पारस्परिक व्यापार कर व्यवस्था सुरु भएको केही दिनपछि अप्रिल २ देखि दुवै देशले नयाँदिल्लीमा व्यापार वार्ता गरेका थिए । वार्तामा भारतविरुद्ध दण्डात्मक आयात कर ९शुल्क० समावेश छ ।
भारतको संरक्षणवादी नीति र संयुक्त राज्य अमेरिकासँगको यसको व्यापार अधिशेषले यसलाई ट्रम्प प्रशासनबाट सम्भावित प्रतिकारात्मक करहरूको सामना गर्न खुला छाडेको छ ।
राकम कर्णालीमा ५० शय्याको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत
काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको ११औँ बैठकले दैलेखको आठबीसकोट नगरपालिकामा राकम कर्णालीमा ५० श्ययाको स्याटलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकबाट उक्त स्थानमा विगतमा १५ श्ययाको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना अनुमोदन गरेको हो । सो अस्पतालको पूर्वाधार, जनशक्ति र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार र अन्य पक्षसँग प्रस्ताव गर्नेछ ।
सर्वोच्चद्वारा पाथीभरा केबलकार निर्माण तत्काल रोक्न अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गरी सर्वोच्च अदालतले यस्तो अन्तरिम आदेश दिएको हो ।
अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न सर्वोच्चले भनेको छ । गत बुधबार न्यायाधीश शारंगा सुवेदीको इजलासले चैत २६ गते अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई झिकाएको छ ।
बिक्रीमा राखिने मालवस्तुको लेबल नराखिएको पाइए चैत २०पछि कारबाही गरिने
काठमाडौँ । बिक्रीमा राखिने मालवस्तुको लेबल नराखिएको पाइए चैत २०पछि कारबाही गरिने भएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना निकालेर बजारमा बिक्री गरिने मालवस्तुमा लेबल राख्न चैत २० गतेसम्मको अन्तिम समय सीमा तोकी दिएको हो ।
स्वदेशमा उत्पादित वस्तु भए सम्बन्धित उत्पादकले र विदेशबाट पैठारी गर्ने वस्तु भए पैठारीकर्ताले लेबल अनिवार्यरुपमा राख्नुपर्ने जनाइएको छ । लेबलमा उत्पादकको नाम, ठेगाना र दर्ता नम्बर, वस्तुको उत्पादन र उपभोग्य मिति र ब्याच नम्बर, वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिकतम खुद्रा बिक्री मूल्य देखिने गरी उल्लेख गरिनुपर्नेछ ।
नेपाल–चीन कूटनीतिक सम्बन्धका ७० वर्षः सिछुआन–नेपाल व्यापार आदानप्रदान महिना सुरु
काठमाडौँ । चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ ।
सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिछुआन प्रान्तको राजधानी छेन्दुमा गत शुक्रबार व्यापार आदानप्रदान सिछुआन शृङ्खला प्रारम्भ भएको हो ।
त्यसअवसरमा सिछुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिछुआन बीचको सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको, हालै पोखरा महानगरका प्रमुखको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिछुवान विमान कम्पनीले सोझै छन्दुमा हवाई सेवा थालेपछि पारस्परिक आदानप्रदान बढेको बताउनुभयो ।
मधेस मुख्यमन्त्रीद्वारा मिर्चैयाका अस्पताल अनुगमनः दुई जना पक्राउ
सिरहा ।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको व्यापारिक बजार मिर्चैयामा सञ्चालित अस्पताल तथा पूर्व–पश्चिम राजमार्ग केन्द्रित होटलको अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन भएका सिद्धकामना हस्पिटलका दुई कर्मचारीलाई पक्राउ गरिएको छ । अनुगमन टोली देखेपछि अस्पताल भर्ना भएका बिरामी छोडेर उनीहरू भागेका थिए ।
एनआइसी एसिया बैंकले चैत २५ गतेदेखि ५० लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने
काठमाडौं । एनआइसी एसिया बैंकले चैत २५ गतेदेखि आफ्नो नयाँ १० वर्षे ऋणपत्र ‘७ एआइसी एसिया डिबेन्चर २०९१’ बिक्री गर्न सुरु गर्ने भएको छ। बैंकले कुल ५० लाख इकाई ऋणपत्र जारी गर्ने तयारी गरेको छ, जसको मूल्य प्रतिइकाई १ हजार रुपैयाँ राखिएको छ।
यस ऋणपत्रको ४० प्रतिशत, अर्थात २० लाख इकाई, सर्वसाधारणलाई उपलब्ध गराइनेछ, जबकि ६० प्रतिशत, अर्थात ३० लाख इकाई, प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गरिनेछ। सर्वसाधारणका लागि छुट्याइएको इकाईमा ५ प्रतिशत, अर्थात १ लाख इकाई, म्युचुअल फन्डलाई प्रदान गरिनेछ।
सुनको मूल्यमा प्रतितोला १ लाख ७६ हजार ८ सय कायम
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । पछिल्लो समय एकपछि अर्को गर्दै बढिरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएकोमा आइतबार त्यसमा ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँ कायम भएको हो ।
यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य
काठमाडौँ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५२, गाजर (लोकल) प्रतिकिलो रु ४५, गाजर (तराई) प्रतिकिलो रु ४०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ५०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३० तथा भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, तितो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ६०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ९०, घिरौला प्रतिकिलो रु ८०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिण्डी प्रतिकिलो रु ११० कायम गरिएको छ ।
देशका अधिकांश भागमा आज मौसम सफा रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ ।
विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १४६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७७ रुपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १०२ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij