
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक अघि आगामी अर्थिक वर्षको बजेट तयारीबारे छलफल गर्न लागेका छन् ।सिंहदरवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्री र सचिवहरुसँग छलफलको आयोजना गरिएको हो ।
प्रधानमन्त्री ओलीको सचिवालयलले जानकारी सार्वजनिक गरे अनुसार सो बैठक आज दिउँसो साढे ३ बजेका लागि बोलाइएको हो ।प्रधानमन्त्री ओलीले विभिन्न योजना तथा कार्यक्रमका प्रगतिबारे जानकारी लिने भएका हुन् । यसअघि तयारीका बारेमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विभिन्न मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग बजेटको सीमा र राजस्व संकलनको अवस्थाबारे छलफल गरेर सम्भावित आयोजना बनाउन आग्रह गरेका थिए ।
बिहीबारको नियमित मन्त्रिपरिषद्को बैठक अघि प्रधानमन्त्रीले बजेटबारे सबै मन्त्री र सचिवहरूको उपस्थितिमा यो छलफलको आयोजना गर्न लागेका हुन् । सम्भवतः छलफलपछि केही विशेष निर्णय लिन सक्ने बुझिएको हो ।
सरकारले नयाँ बजेट जेठ १५ गते संसद पेश गर्नैपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि मिनी बजेट भनिने सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।
त्यसको तयारी यसअघि सुरु भइसकेको छ । बजेट तयारीका बारेमा मन्त्री र सचिवहरूको उपस्थितिमा हुन लागेको यो बैठकलाई महत्वपूर्ण मानिएको तयारीमा संलग्न स्रोतले जनाएको छ । बजेट तयारीमा भइरहेका दबाबलाई प्रधानमन्त्रीको निर्देशनबाट हलुँगो बनाउने काम हुने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij