Logo

Apr 21 2025 | २०८२, वैशाख ९गते

Apr 21 2025 | २०८२, वैशाख ९गते

images

नासाका सबैभन्दा वृद्ध अन्तरिक्ष यात्री ७०औँ जन्मदिनमा पृथ्वीमा अवतरण

नासाका सबैभन्दा वृद्ध अन्तरिक्ष यात्री ७०औँ जन्मदिनमा पृथ्वीमा अवतरण

  •  

    वासिङ्टन ।केक, उपहारहरू र परिवारसँग सामान्य उत्सव धेरै वृद्ध नागरिकहरूले आफ्नो ७०औँ जन्मदिन मनाउने तरिका हुनसक्छ ।

     

    तर नासाका सबैभन्दा ज्येष्ठ कार्यरत अन्तरिक्ष यात्री डन पेटिटले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) मा सात महिनाको मिसन पूरा गर्न एक अन्तरिक्ष यानमा पृथ्वीतर्फ हुइँकिँदा ७० वर्ष पूरा गर्नुभयो ।

     

    अमेरिकी र दुई रुसी अन्तरिक्ष यात्रीहरू बोकेको सोयुज क्याप्सुल आइतबार पेटिटको महत्त्वपूर्ण जन्मदिनमा कजाकिस्तानमा अवतरण गर्‍यो ।

     

    अन्तरिक्षमा दुई सय २० दिन बिताउँदै पेटिट र उहाँका चालक दलका सदस्यहरू अलेक्सेई ओभचिनिन र इभान भ्यागनरले पृथ्वीको तीन हजार पाँच सय २० पटक परिक्रमा गर्नुभयो र उहाँहरूले मिसनको अवधिमा नौ करोड ३३ माइलको यात्रा पूरा गर्नुभयो ।

     

    यो पेटिटको चौथो अन्तरिक्ष उडान थियो । उहाँले आफ्नो २९ वर्षको करियरमा कक्षमा १८ महिनाभन्दा बढी समय बिताउनुभएको छ ।

     

    तीनै जना अन्तरिक्ष स्टेसनबाट छुटेको केही घण्टापछि आइतबार बिहान ६ः२० बजे (०१२० जिएमटी) कजाकिस्तानको जेज्काजगानको दक्षिणपूर्व भागको दुर्गम क्षेत्रमा अवतरण गर्नुभयो ।

     

    अवतरणको नासाका तस्बिरहरूले सूर्योदयलाई पृष्ठभूमिको रूपमा राखेर सानो क्याप्सुल प्यारासुटबाट पृथ्वीमा झर्दै गरेको देखायो ।

     

    उद्धारकर्ताहरूले उहाँहरूलाई अन्तरिक्ष यानबाट फुलाउन सकिने मेडिकल टेन्टमा लगेपछि अन्तरिक्ष यात्रीहरूले थम्स–अप इशाराहरू दिनुभयो ।

     

    पेटिटलाई जहाजबाट बाहिर निकालिँदा केही थकित देखिए पनि नासाले एक विज्ञप्तिमा उहाँ ‘राम्रो अवस्थामा हुनुहुन्छ र पृथ्वीमा फर्केपछि उहाँका लागि अपेक्षा गरिएको दायरामा हुनुहुन्छ’ भनेको छ ।

     

    त्यसपछि उहाँ टेक्सासको एजेन्सीको जोन्सन स्पेस सेन्टरका लागि नासाको विमानमा चढ्नुअघि कजाख सहर कारागन्डाका लागि उडान गर्न तयार हुनुहुन्थ्यो ।

     

    अन्तरिक्ष यात्रीहरूले आफ्नो समय आइएसएसमा पानी स्वच्छता प्रविधि, विभिन्न अवस्थाहरूमा बोटबिरुवाको वृद्धि र माइक्रोग्राभिटीमा आगोको व्यवहार जस्ता क्षेत्रहरूको अनुसन्धानमा बिताउनुभएको नासाले बताएको छ ।

     

    तीनै जनाको सात महिनाको यात्रा नासाका अन्तरिक्ष यात्रीहरू बुच विलमोर र सुनी विलियम्सले अनपेक्षित रूपमा कक्षीय प्रयोगशालामा बिताएको नौ महिनाभन्दा केही कम थियो । विलमोर र विलियम्सले परीक्षण गरिरहेको अन्तरिक्षयानमा प्राविधिक समस्याहरू आए र उहाँहरूलाई पृथ्वीमा फर्काउन अयोग्य ठहर गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij