Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख ९ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख ९ मंगलबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख ९ मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    शेयर बजार : नेप्से परिसूचकमा ४.९३ अंकले घटेर २६९३.३५ बिन्दुमा, ८ अर्ब ३२ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ४.९३ अंकले घटेर २६९३.३५ बिन्दुमा आएको छ । आज ८ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । आज १३ मध्ये ४ वटा समूहका सूचक बढेका छन् । 

     

    यस दिन ३ सय १९ कम्पनीको २ करोड २५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४४ करोड ६० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन पावर पाटर्नर र हिमालयन रिइन्सुरेन्स परेका छन् ।

    नारायणी डेभलपमेन्ट बैंक थप संकटमा : तेस्रो त्रैमासमै १ करोड २६ लाख रुपैयाँ घाटा, एनपीएल ४४.९६% पुग्यो

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १ करोड २६ लाख रुपैयाँको खुद घाटामा पुगेको छ। गत वर्षको सोही अवधिमा बैंक ४२ लाख ७१ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो, जुन यस वर्ष झनै बढेको देखिन्छ।

     

    बैंकको खुद ब्याज आम्दानी ८१.१४% ले घटेर १२ लाख २० हजार रुपैयाँमा झरेको छ, जबकि गत वर्ष यस अवधिमा ६४ लाख ६९ हजार रुपैयाँ आम्दानी भएको थियो। यसले बैंकको आम्दानी संरचनामा गम्भीर कमजोरी आएको देखाउँछ।

    सिन्धु विकास बैंक नाफामा फर्कियो, ७ करोड ८४ लाख रुपैयाँ खुद नाफा

    काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ७ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै उल्लेखनीय वित्तीय सुधार गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा ५ करोड ४० लाख रुपैयाँ घाटामा रहेको बैंक यो त्रैमासमा सकारात्मक नतिजा ल्याउन सफल भएको हो। नाफा वृद्धिमा इम्पेयरमेन्ट चार्ज रिभर्स गर्नु र ११ करोड २० लाख रुपैयाँको सञ्चालन नाफा मुख्य कारण हुन्, जुन अघिल्लो वर्ष ५ करोड ५१ लाख रुपैयाँको घाटामा सीमित थियो।

    तर, बैंकको खुद ब्याज आम्दानी भने ३४.७४ प्रतिशतले घटेर ९ करोड ३४ लाख रुपैयाँमा झरेको छ, जसले सञ्चालन चुनौतीहरू अझै बाँकी रहेको देखाउँछ। हाल बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ करोड १७ लाख रुपैयाँ सञ्चित भएको छ।

    सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

    सिरहा ।सिरहाबाट पेस्तोलसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार बरियारपट्टी गाउँपालिका–१ मा गरेको चेकको क्रममा बिना नम्बर प्लेटको मोटरसाइकलमा भारततर्फ जाँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । 

     

    उहाँका अनुसार पक्राउ पर्नेमा मोटरसाइकल चालक भारत मधुवनीका १९ वर्षीय राजीव सिंह र सोही मोटरसाइकलको पछाडी सवार १९ वर्षीय प्रिन्स सिंह रहेका छन् ।

    शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट गर्नुभएको छ ।

     

     

    नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएका असन्तुष्टिबारे उल्लेख गर्दै भन्नुभयो, “उहाँ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु । सहयोग गरिरहेको छु । सिकाइराखेको छु । ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठीक भएन भनेर राजीनामा दिनुभएको हो । यसमा अन्य प्रचारबाजी गर्नुको कुनै अर्थ छैन ।”

    कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’

    काठमाडौँ ।  खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेश र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताउनुभएको छ ।

     

     

    आज सिंहदरबारस्थित राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० सम्बन्धी विषयमा खानेपानी मन्त्रालयबाट हालसम्म भएका कार्य प्रगति र आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमबारे भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।

    भारतीय मन्त्री खट्टरले गरे अरुण तेस्रोको स्थगलत भ्रमण

    संखुवासभा ।  भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टरले नेपालको समृद्धि ऊर्जा क्षेत्रबाट गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको स्थलगत अवलोकन गर्ने क्रममा विद्युत् मन्त्री खट्टरले नेपाल जलविद्युत् क्षेत्रमा अपार सम्भावना रहेको भन्दै  यस्तो बताएका हुन् ।  उनले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न सके दुवै देशलाई फाइदा हुने भएकाले निर्माणमा तीव्रता दिनुपर्नेमा बताए । भारत सरकार नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको पनि उनले विश्वास दिलाए ।

     

    ऊर्जामन्त्री दीपक खड्काको निमन्त्रणमा दुईदिने औपचारिक भ्रमणमा आएका मन्त्री खट्टरले संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका हुन्। भारतीय लगानीमा निर्माण भइरहेको उक्त आयोजनाको पावर हाउस र बाँध क्षेत्रको निरीक्षण गरिएको थियो।

    ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

    काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना ल्याएको छ । बैंकले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै दिगोपन तर्फ अग्रसर हुन रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको हो । यस कर्जाको मुख्य उद्देश्यहरु नवीकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने रहेको बैंकले जनाएको छ । यो कर्जाबाट उत्पादनमूलक उद्योग तथा व्यवसायहरु जस्तै होटल, हस्पिटल, कोल्ड स्टोर, हाउजिङ्ग कम्पनी, व्यापारिक भवन, शैक्षिक संस्थाहरुले प्रत्यक्ष लाभ लिन सक्नेछन् ।

    नागरिक लगानी कोषबाट सहभागीहरूलाई एक अर्ब ५२ करोड थप प्रतिफल प्रदान

    काठमाडौँ ।  नागरिक लगानी कोषले बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरूलाई प्रतिफल प्रदान गरेको छ ।कार्यक्रमका सहभागीहरूको  खातामा जम्मा भएको रकममा एक प्रतिशतका दरले एक अर्ब ५२ करोड रुपैयाँ प्रतिफल प्रदान गरेको कोषले जनाएको हो ।

     

    कोष सञ्चालक समितिको बैठकले २०८१ असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूलाई २०८० चैत मसान्तसम्मको कोष मौज्दातमा कुल सञ्चित मुनाफाबाट उक्त प्रतिफल प्रदान गर्ने निर्णय गरेको हो । बचत वृद्धि अवकाश कोषका सहभागीहरूको खातामा कोषले प्रदान गरेको थप रकम जम्मा भइसकेको छ । यसअघि पनि कोषले थप प्रतिफल प्रदान गर्दै आइरहेको छ ।

    ट्रम्पको धम्कीले क्युबेकलाई क्यानाडाको नजिक ल्याउँदै

    मन्ट्रियल ।लामो समयदेखि गहिरो जरा भएको स्वतन्त्रता आन्दोलनका लागि परिचित क्युबेकले डोनाल्ड ट्रम्पको तीखो आक्रमणको सामना गर्दै क्यानाडाको भागका रूपमा आफ्नो पहिचानलाई दुर्लभ जोशका साथ अँगाल्दै आएको छ ।

     

     

    अमेरिकाको उत्तरी छिमेकी विरुद्ध अमेरिकी राष्ट्रपतिको आक्रमण र यसलाई ५१औँ राज्य बनाउने उहाँको घोषित लक्ष्यले देशभरका मानिसहरूलाई २१औँ शताब्दीमा क्यानाडाली हुनुको अर्थ के हो भनेर पुनर्विचार गर्न प्रेरित गरेको छ । उक्त पुनर्विचारलाई आउँदै गरेको सामान्य निर्वाचनले थप प्रोत्साहन दिएको छ ।

     

    अपेक्षाहरू विपरीत क्यानाडाको बहुमतबाट आफूलाई अलग राख्न मन पराउने क्युबेक–फ्रान्सेली भाषी प्रान्त नयाँ देशभक्तिको भावनालाई सबैभन्दा बढी उत्साहपूर्वक अपनाउनेहरू मध्ये एक भएको छ ।

    भरतपुर आन्तरिक राजस्व कार्यालयमा तीन हजारभन्दा बढी करदाता आय विवरण नबुझाई बेपत्ता, राजस्व लक्ष्य नजिकै

    चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरका करदाताहरुमध्ये तीन हजार १०० करदाताले आफ्नो आय विवरण बुझाएका छैनन् । पुस मसान्तभित्र आय विवरण बुझाई सक्नुपर्ने भए पनि ती करदाताले हालसम्म विवरण नबुझाएका हुन् । 

     

    कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार आर्थिक मसान्तको तीन महिनाभित्र आय विवरण बुझाउनुपर्ने व्यवस्था छ । पुस मसान्तसम्म विवरण बुझाउँदा जरिवाना नलाग्ने भए पनि अहिलेसम्म उनीहरुले नबुझाएका हुन् । ती करदातालाई कर्मचारी खटाएर विवरण पेस गर्न लगाइएको पौडेलले बताउनुभयो । 

     

    उहाँले भन्नुभयो, “पुस मसान्तसम्म चार हजार करदाताले आयकर नबुझाएको भए पनि पछिल्लो तीन महिनामा ९०० करदाताले विवरण बुझाएका छन् ।” यसका लागि कार्यालयले कर्मचारी खटाएर आय विवरण पेस नगरेका करदाहरुलाई भेट्ने र आय विवरण बुझाउन अनुरोध गर्ने गरेका छन् ।

    कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल

    काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीका अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलनको ऐतिहासिक यात्रा, वर्तमान अवस्था र भावी दिशाबारे मन्तव्य व्यक्त गर्दै लेनिनको जन्मजयन्तीका दिन पार्टीको स्थापना हुनु ऐतिहासिक संयोग मात्र नभई प्रेरणाको विषय भएको बताउनुभयो । 

     

    अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उहाँले “लेनिनबाट प्रेरणा लिएर स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी आज ७७ वर्षको भएको छ, जुन सम्पूर्ण कम्युनिष्ट आन्दोलनका लागि गर्वको विषय हो”, भन्नुभयो ।

    पूर्व पर्यटनमन्त्री आले विरुद्ध विमानस्थल खरिदमा अनियमितता गरेको उजुरी उपर छानबिन बढाउँदै लेखा समिति

    काठमाडौँ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले  पूर्व पर्यटनमन्त्री प्रेमबहादुर आलेविरुद्धको उजुरीमाथिको छानबिन अगाडि बढाएको छ।मन्त्रीको जिम्मेवारीमा रहँदा आलेले  धनगढी विमानस्थल विस्तारका लागि  जग्गा खरिदमा अनियमितता गरेको भन्दै वैशाख ४ गते परेको उजुरीमा समितिले छानबिन अगाडि बढाएको हो।

     

    समितिका सभापति ऋषिकेश पोखरेलले हाल लेखा समितिका सदस्य समेत रहेका पूर्व पर्यटनमन्त्री आलेमाथि लागेका आरोपबारे पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भूमि सुधार मन्त्रालयबाट आवश्यक कागजात मगाउने निर्णय मंगलबार गरेका छन्। 

    आलेमाथि व्यक्तिगत कम्पनी खडा गरेर जग्गा खरिद गरेको आरोप लगाइएको छ। उनले तत्कालीन मेगा बैंकका कर्मचारी अमित श्रेष्ठ, बिटुमिन ठेकेदार पवन गुप्ता र आफ्ना स्वकीय सचिव हेमन्त रेग्मीसँग मिलेर विमानस्थल आसपासमा जग्गा खरिद गरेको उजुरीमा दाबी गरिएके छ।

    भारतीय विद्युत्मन्त्री काठमाडौँमा अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकन गर्ने

    काठमाडौँ । भारतका विद्युत् र आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपालको दुईदिने भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नुभएको छ ।

     

     

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका भारतीय मन्त्री खट्टर सङ्खुवासभा जिल्लास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकनका क्रममा अहिले त्यसतर्फ प्रस्थान गर्नुभएको ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिनुभयो ।

    श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको खुद नाफा ५७%ले बढ्यो, तेस्रो त्रैमासमा ४ करोड नाफा

    काठमाडौँ । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ करोड ९१ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.३१ प्रतिशतले वृद्धि हो। गत वर्ष यो कम्पनीले सोही अवधिमा ३ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो।

    नाफा वृद्धिको प्रमुख कारण कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा उल्लेख्य सुधार हुनु हो। अघिल्लो वर्ष १५ करोड १६ लाख रुपैयाँ रहेको ब्याज आम्दानी २५.४५ प्रतिशतले बढेर १९ करोड रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन नाफा पनि ५७.३१ प्रतिशतले बढेर ७ करोड १ लाख रुपैयाँमा पुगेको छ।

    कुमारी बैंकद्वारा ५ लाख ६ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

    काठमाडौँ ।  कुमारी बैंक लिमिटेडले आफ्ना एक संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले सार्वजनिक गरेको सूचनाअनुसार, हालका अन्य संस्थापक सेयरधनीहरूले यी सेयर खरिदका लागि वैशाख ९ गतेदेखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। इच्छुक सेयरधनीहरूले आवेदन पत्र कुमारी बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय, नक्साल नागपोखरी, काठमाडौंमा बुझाउनु पर्नेछ। सेयर मूल्य भने बिक्रेताले तोकेको दरमा हुनेछ। निर्धारित समयसीमाभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा, ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ। यो अवसर संस्थापक सेयरधनीहरूका लागि लगानी विस्तार गर्ने उपयुक्त मौका हुन सक्छ।

    बैशाख ११ गतेदेखि कक्षा १२को परीक्षा सञ्चालन गर्ने बोर्डको निर्णय ,दुविधामा नपर्न आग्रह

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले  बिहान एक  बैठक बसी  परीक्षा नरोक्ने निर्णय गरेको हो ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिए ।

     

    शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका बेला बोर्डले यस्तो निर्णय गरेको हो ।तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि द्विविधा नराखी परीक्षाको तयारी गर्न अनुरोध गरे । उनले भने ‘परीक्षा हुन्छ ।’

    वीरगन्ज भन्सारमा तालिमप्राप्त कुकुर परिचालन गरी एकवर्षमा ४२ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद

    वीरगन्ज (पर्सा)। सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल पर्साको सक्रियता बढाएसँगै छिमेकी मुलुक भारतबाट भन्सार छलीका सामान बरामद हुने क्रम ह्वात्तै बढेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति राधेश्याम धिमालले एक वर्षको अवधिमा रु ४१ करोड ९२ लाख ३१ हजार ७०७ को अवैध तथा शङ्कास्पद मालसामान बरामद गरेको जानकारी दिनुभयो ।

     

    “सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न पदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ”, उहाँले भन्नुभयो, “ सशस्त्र प्रहरीले वीरगन्ज भन्सार नाकामा दुईवटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ ।”

    आज रिलायबल समृद्धि योजनाको इकाई खरिदका लागि आवेदन दिने अन्तिम दिन

    काठमाडौँ । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्टले ल्याएको ‘रिलायबल समृद्धि योजना’ सामूहिक लगानी कोषमा आज (बैशाख ९ गते) आवेदन दिन सकिने अन्तिम दिन हो। बैशाख ३ गतेदेखि निष्काशनमा आएको यो बन्दमुखी प्रकृतिको म्युचुअल फण्ड १० वर्षे अवधिको हुनेछ।

     

    योजनाअन्तर्गत कम्पनीले प्रतिइकाई १० रुपैयाँको दरमा १० करोड इकाई सार्वजनिक निष्काशनमार्फत बिक्री गरिरहेको छ, जसको कुल मूल्य एक अर्ब रुपैयाँ बराबर हुन्छ। कुल निष्काशित इकाईमध्ये १५ प्रतिशत सुरक्षित गरिएको छ—जसमा १४ प्रतिशत रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडलाई र बाँकी १ प्रतिशत योजना व्यवस्थापक कम्पनीलाई छुट्याइएको हो। बाँकी रहेका ८ करोड ५० लाख इकाई भने सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिँदैछ।

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा कायम भएको छ । 

     

     

    युरोपियन युरो एकको खरिदर १५६ रुपैयाँ ७० पैसा र बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा, युके पाउन्डस्ट्रलिङ एकको खरिदर १८१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ७३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा कायम गरिएको छ । 

     

     

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ २१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । 

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij