Logo

Apr 24 2025 | २०८२, वैशाख १२गते

Apr 24 2025 | २०८२, वैशाख १२गते

images

तराईमा चर्को गर्मीको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

तराईमा चर्को गर्मीको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

  • काठमाडौं।देशका तराई क्षेत्रमा चर्को गर्मी बढ्ने पूर्वानुमानसहित मौसम विभागले नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेष गरी बिहीबार र शुक्रबार अत्यधिक तापक्रम मापन हुने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले सुझाव दिएको हो।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा गर्मी अत्यधिक बढ्ने देखिएको छ। लुम्बिनी प्रदेशको केही भागमा तातो हावा चल्ने र तातो लहर (हिट वेभ) को असर देखिन सक्ने भएकाले थप सतर्कता आवश्यक रहेको विभागले जनाएको छ।

    हाल लुम्बिनी प्रदेशका केही तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ भने अन्य धेरै स्थानहरूमा ३८ डिग्रीभन्दा माथिको तापक्रम रेकर्ड भइरहेको छ।

    तातो मौसमका कारण मानिसहरूमा थकान, कमजोरी, अत्यधिक तिर्खा, टाउको दुख्ने, चक्कर आउने, मांसपेशी दुख्ने, बेहोसी हुने, बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउनुपर्ने विभागको सुझाव छ।

    महाशाखाले दिइएको सल्लाहअनुसार चर्को घाम लाग्दा घरभित्र वा छायाँयुक्त स्थानमा रहनु, अत्यावश्यक भएमा मात्र बाहिर निस्कनु, हल्का र सुतिको कपडा लगाउनु, टाउको छोप्न टोपी वा गम्छाको प्रयोग गर्नु, प्रशस्त मात्रामा पानी, जुस वा अन्य चिसो पेयपदार्थ पिउनु, र स्वास्थ्यमा समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनु उपयुक्त हुन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij