Logo

Apr 24 2025 | २०८२, वैशाख १२गते

Apr 24 2025 | २०८२, वैशाख १२गते

images

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

  •  

    नयाँदिल्ली ।हिमालय क्षेत्रमा भएको भीषण आक्रमणमा दुई दर्जनभन्दा बढी भारतीय पुरुष मारिएपछि भारत प्रशासित काश्मीरका विद्यार्थीहरूले भारतमा उत्पीडन र धम्कीको सामना गरेको रिपोर्ट गरेको एक विद्यार्थी सङ्गठनले बिहीबार जनाएको छ ।

     

    मङ्गलबार पर्यटकीय स्थल पहलगाममा बन्दुकधारीहरूले एक नेपाली र २५ भारतीय गरी २६ जना मानिसको हत्या गरेका थिए । सन् २००० पछि विवादित मुस्लिम बहुल क्षेत्रमा नागरिकहरूमाथि भएको यो सबैभन्दा घातक आक्रमण हो ।

     

    बचेका व्यक्तिहरूले बन्दुकधारीहरूले पुरुषहरूलाई लक्षित गरेको र इस्लामिक आस्थाको घोषणा दिन सक्नेहरूलाई छाडेको भारतीय मिडियाले जनाएको छ ।

     

    यी हत्याले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतलाई स्तब्ध पारेको छ र हिन्दू राष्ट्रवादी समूहहरूलाई आक्रोशित बनाएको छ ।

     

    उत्तराखण्ड, उत्तर प्रदेश र हिमाचल प्रदेश लगायत राज्यमा काश्मीरी विद्यार्थीहरूलाई बुधबार भाडाको अपार्टमेन्ट वा विश्वविद्यालयको हस्टल छोड्न भनिएको जम्मू कश्मीर विद्यार्थी सङ्गठनका संयोजक नासिर खुहेमीले बताउनुभयो ।

     

    हिमाचल प्रदेशको एउटा विश्वविद्यालयमा छात्रावासको ढोका तोडेपछि विद्यार्थीहरूलाई उत्पीडन र शारीरिक आक्रमण गरिएको खुहेमीले जानकारी दिनुभयो ।

     

    उहाँका अनुसार ती विद्यार्थीलाई ‘आतङ्कवादी’ भनिएको थियो । “यो केवल सुरक्षाको मुद्दा मात्र होइन”, उहाँले भन्नुभयो, “यो एक विशेष क्षेत्र र पहिचानका विद्यार्थीहरू विरुद्ध घृणा र निन्दा गर्ने जानाजानी र लक्षित अभियान हो ।”

     

    उत्तराखण्डको राजधानी सहर देहरादुनमा दक्षिणपन्थी समूह हिन्दू रक्षा दलको चेतावनीपछि करिब २० जना विद्यार्थी बुधबार विमानस्थलतर्फ भागेका छन् ।

     

    विद्यार्थीहरूका अनुसार समूहले काश्मीरी मुस्लिम विद्यार्थीहरूलाई चाँडै सहर नछोडेमा गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको थियो ।

     

    सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ । दुवै मुलुकले उच्च–उचाइको यस क्षेत्रलाई पूर्ण रूपमा दावी गर्छन्, तर यसको अलग–अलग भागलाई शासन गर्छन् ।

     

    विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित काश्मीरमा विद्रोह गर्दै आएका छन् ।

     

    भारतीय सुरक्षा बलले आक्रमणकारीहरूका लागि काश्मीरमा ठूलो खोजी सुरु गरेको छ र यस कारबाहीमा ठूलो सङ्ख्यामा मानिसहरूलाई हिरासतमा लिइएको छ ।

     

    बुधबार भारतले इस्लामाबादलाई ‘सीमापार आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाएको थियो र कूटनीतिक उपायहरूका साथ आफ्नो छिमेकीसँगको सम्बन्धलाई घटाएको थियो ।

     

    पाकिस्तानले पहलगाम आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij