
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले नै अनेक खालका चलखेल र प्रपञ्चहरू गरिरहेको बताएका छन् । शुक्रबार बैतडीको पाटनबाट जनतासँग माओवादी– मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले गभर्नर पद नियुक्तिमा चलखेल गरिरहेको आरोप लगाएका हुन् ।
उनले भने ‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्ति हुनुपर्ने पद हो । अहिलेसम्म सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन । त्यसमा अनेक खालका चलखेल र प्रपञ्चहरू भइराखेका छन्,’ उनका अनुसार यो सबै कारणले सरकार गलत दिशा तिर गएको छ । राष्ट्र र जनताको हित विपरीत गएको छ । यो देशका मजदुर किसानहरूको हित विपरीत गएको छ ।
जनताको आवाजलाई, जनताको मतलाई बेवास्ता गरेर भ्रष्टाचारलाई नै प्रश्रय दिने अनि विकृति र विसंगतिलाई नै प्रश्रय दिने काम हो भने माओवादी केन्द्र मात्रै होइन तराई–मधेश–पहाड–हिमालका सम्पूर्ण जनता सबै राजनीतिक दलका कार्यकर्ताहरू पनि एउटा शक्तिशाली आन्दोलनमा आउन बाध्य हुने उनले बताए ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij