Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

देशभर आंशिकदेखि मध्यम वर्षाको सम्भावना, उच्च भूभागमा हिमपातको चेतावनी

देशभर आंशिकदेखि मध्यम वर्षाको सम्भावना, उच्च भूभागमा हिमपातको चेतावनी

  • काठमाडौं । देशका अधिकांश भागमा आज आंशिकदेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान केन्द्रले जनाएको छ। सातवटै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ भने केही स्थानमा चट्याङ र हावाहुरीको पनि सम्भावना रहेको छ।

    मौसमविद् हरिप्रसाद दाहालका अनुसार कोसी, मधेस, गण्डकी र वाग्मती प्रदेशमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विशेषगरी मकवानपुरको मार्खु क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जानकारी उनले दिएका छन्।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुन सक्नेछ। अन्य क्षेत्रका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा रहेका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। मधेस र कोसी प्रदेशको तराई भूभागमा कतिपय स्थानमा हावाहुरीसमेत चल्ने पूर्वानुमान गरिएको छ।

    काठमाडौं उपत्यकामा बिहान मौसम अपेक्षाकृत स्थिर रहे पनि दिउँसो वर्षा हुने सम्भावना रहेको मौसमविद् दाहालले बताएका छन्। उनका अनुसार, “बिहान मौसम खुला रहे पनि दिउँसो काठमाडौंमा वर्षा हुने देखिएको छ।”

    रातिको समयमा कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ।

    वर्तमानमा देशमा पश्चिमी वायु प्रणाली तथा स्थानीय वायूको प्रभाव देखिएको छ। साथै, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत मौसम प्रणालीमा परेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij