Logo

May 21 2025 | २०८२, जेठ ७गते

May 21 2025 | २०८२, जेठ ७गते

images

कञ्चनपुरका सात वडा तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

कञ्चनपुरका सात वडा तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

  • काठमाडौं ।महाकाली नदीको गाइडबन्ड निर्माणमा भएको ढिलाइका कारण उच्च जोखिममा परेका कञ्चनपुरका सात वडा क्षेत्रलाई सरकारले तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

    गत वर्षको बाढीले महाकाली नदीमा क्षति पुर्‍याएपछि भीमदत्त नगरपालिका र दोधारा चाँदनी क्षेत्रका वडाहरूमा जोखिम बढेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले सिफारिस गरेको थियो। त्यसकै आधारमा मन्त्रिपरिषद्को निर्णयअनुसार भीमदत्त नगरपालिका–११, १२, १३ र दोधारा चाँदनी नगरपालिका–३, ८, ९, १० विपद् संकटग्रस्त क्षेत्र घोषित गरिएको हो।

    जिल्ला प्रशासन कञ्चनपुरका प्रमुख लक्ष्मण ढकालले क्षेत्र घोषणा भए पनि काम कसरी अगाडि बढाउने भन्नेबारे अझै स्पष्ट निर्देशन प्राप्त नभएको बताएका छन्।

    भीमदत्त–१२ का वडाध्यक्ष भूपेन्द्रसिंह रावलका अनुसार भने, क्षेत्र संकटग्रस्त घोषणासँगै नेपाली सेनाले निर्माण कार्यको जिम्मा लिने जानकारी पाएको बताएका छन्। स्थानीयहरूले पटकपटक बाँध निर्माणको माग गर्दै आन्दोलन पनि गरेका थिए।

    गत वर्ष भदौमा आएको बाढीले महाकाली नदीमा निर्माणाधीन पोखरीको गाइडबन्ड भत्काएको थियो। गाइडबन्ड पुनःनिर्माणमा ढिलाइ हुनुमा प्रारम्भिक डिजाइन परिवर्तन, ठूला ढुंगाको अभाव, र समयमै स्वीकृति नपाउनु प्रमुख कारण हुन्।

    निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफइसी जेभीका इञ्जिनियर किशोर पाण्डेका अनुसार भेरिएसन स्वीकृत नहुँदा एक वर्षदेखि निर्माण रोकिएको छ र अब ठेक्का तोड्ने तयारी भइरहेको छ।

    महाकाली नदीमा निर्माणाधीन चार लेनको ८ सय मिटर लामो पुलसँगै, दुबै किनारमा २७ सय मिटर लामो र ६ सय मिटर चौडाइका पोखरीहरू निर्माणाधीन छन्। पुल, पहुँच मार्ग र गाइडबन्डसहित हालसम्म ९५ प्रतिशत काम सकिएको छ। सन् २०७४ मा सुरु भएको यो परियोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित ३ अर्ब २७ करोड रुपैयाँको लागतमा सम्झौता भएको थियो। अहिले गाइडबन्ड र २ सय मिटर पहुँच मार्ग कालोपत्रे मात्र बाँकी रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij