
तनहुँ । नेपाल विद्युत् प्राधिकरणले जलविद्युत् आयोजनाको हाइड्रो र इलेक्ट्रो मेकानिकल जनशक्ति उत्पादन गर्नका लागि तालिम केन्द्र सञ्चालनको तयारी गरेको छ ।
यहाँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रमा तालिम केन्द्र सञ्चालन गरी जनशक्ति परनिर्भरता हटाउन लागेको हो । भारत र चीनको निर्भरता हटाउने कार्य अघि बढाइएको मस्र्याङ्दी जलविद्युत् केन्द्रका प्रबन्धक पशुपतिराज गौतमले जानकारी दिनुभयो ।
तालिम सञ्चालनपछि ३०० जनाले रोजगारी पाउने छन् । गौतमले भन्नुभयो, “दक्ष ६० प्रतिशत तथा अदक्ष ४० प्रतिशतले रोजगारी पाउने विश्वास गरिएको छ ।” निर्माण सम्पन्न भएका तथा निर्माणाधीन आयोजनाको बिग्रिएका उपकारण मर्मत तथा नयाँ उपकरण जडानका लागि जनशक्ति तयार गर्न तालिम केन्द्र सञ्चालन गर्न लागेको हो ।
जलविद्युत् आयोजना निर्माणका लागि धेरै जग्गा चाहिने हुँदा केन्द्रसँग एक हजार सात रोपनीभन्दा धेरै जमिन तथा भवन तथा टहराहरु प्रशस्त भएकाले तालिम केन्द्र सञ्चालन गर्न सकिने हुँदा ऊर्जा तथा जलस्रोत मन्त्रालयमा प्रस्ताव पठाइएको गौतमले बताउनुभयो । गौतमले भन्नुभयो, “नेपालको मध्यभाग र सडकको पहुँचमा रहेकोले खेर गइरहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रको जमिनको सदुपयोगको लागि तालिम केन्द्र सञ्चालन गर्न प्रस्ताव पेस गरेका छौँ ।” तालिम सञ्चालनपछि भारतीय र चिनियाँ प्राविधिकलाई विस्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
केही मेसिन बिग्रिँदासमेत हप्तौँसम्म चिनियाँ वा भारतीय कम्पनीको टोली पर्खेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सहयोग पुग्नेछ । स्थानीयस्तरमा रोजगारी वृद्धि, मर्मत सम्भारको काम छिटो सम्पन्न गर्न सहज र खेर गएको जमिनको सदुपयोगको लागि मेकानिक तालिम सञ्चालन गर्न सकिए प्रभावकारी हुने गौतमले जानकारी दिनुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij