Logo

May 30 2025 | २०८२, जेठ १६गते

May 30 2025 | २०८२, जेठ १६गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ १४ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ १४ बुधबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ १४ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    राष्ट्र बैंकको संशोधित निर्देशन : सेयर धितो कर्जाको जोखिमभार घट्यो, मौज्दात कायमको सीमा कडा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा गरिएको नीतिगत परिवर्तनअनुसार बैंक तथा वित्तीय संस्थाहरू (बाफिया) लाई लागू हुने एकीकृत निर्देशनमा संशोधन गरेको छ। यस संशोधनसँगै सेयर धितो कर्जाको जोखिमभारमा महत्वपूर्ण परिवर्तन गरिएको छ।

     

    राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जाका लागि जोखिमभार घटाएर १०० प्रतिशत कायम गरेको छ। यसअघि यस्तो कर्जाको जोखिमभार अधिकतम १२५ प्रतिशतसम्म कायम थियो। अबबाट बैंक तथा वित्तीय संस्थाहरूले उक्त कर्जामा बढी जोखिम भार गणना गर्नुपर्ने छैन, जसले पूँजी व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

    नेसनल लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा असार ५ गते, लाभांश प्रस्ताव सार्वजनिक

    काठमाडौँ । नेसनल लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित लाभांशसहित वार्षिक साधारण सभा असार ५ गते गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा बिहान १०:३० बजे सभा आयोजना गर्ने तय गरेको हो। सभामा सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, कर प्रयोजनका लागि थप ०.७८९ प्रतिशत नगद लाभांश पनि स्वीकृत गरिने उल्लेख गरिएको छ। यस्तै, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक चयन गर्ने एजेन्डा पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ। कम्पनीले सभा प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्ने जानकारी दिएको छ, जसअनुसार जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    शेयर बजार : नेप्से परिसूचकमा १६.५५ अंकले बढेर २६९२.१८ बिन्दुमा, ८ अर्ब ५८ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा  १६.५५ अंकले बढेर २६९२.१८ आएको छ । आज ८ अर्ब ५८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । बैंकिङ समूहमा केही उत्साह देखिएको छ ।

     

    यस दिन ३ सय २३ कम्पनीको २ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी हाइड्रोपावर र युनिभर्सल पावर कम्पनी परेका छन् ।

    सगरमाथा जलविद्युतलाई १००% हकप्रद सेयर बिक्री गर्न स्वीकृति

    काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले हाल कायम १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजीको आधारमा १स्१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ।

    आयोगको स्वीकृति पश्चात् अब कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर जारी गर्न निवेदन पेश गर्नेछ। बोर्डले स्वीकृति प्रदान गरेपछि मात्र औपचारिक रूपमा हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढ्नेछ।

    सानिमा बैंकले ३.३९ लाख संस्थापक सेयर बिक्री खुला, न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ

    काठमाडौं ।  सानिमा बैंकले संस्थापक सेयरधनी खेमराज लामिछानेको नाममा रहेको ३ लाख ३९ हजार ४८४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। लामिछानेले उक्त सेयर बिक्री गर्न निवेदन दिएपछि बैंकले औपचारिक रूपमा बिक्री प्रक्रिया अघि बढाएको हो।

    बैंकका अनुसार, हालका संस्थापक सेयरधनीहरूले आज (जेठ १४ गते) देखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाडौंमा सम्पर्क गरेर आवेदन दिन सक्नेछन्।

    हिमालयन लाइफ इन्सुरेन्सले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने

    काठमाडौं ।हिमालयन लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकले यो निर्णय गरेको हो।

    कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको आधारमा करसहित ८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

    कान्तिपुर फर्मास्युटिकल्सको आईपीओ प्रत्याभूतिका लागि एलिट क्यापिटल जिम्मेवार

    काठमाडौँ ।  साधारण शेयर बिक्रीको प्रक्रियामा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अण्डरराईटिग ९धितोपत्र प्रत्याभूति०का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ । एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबीच सो सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । 

     

     

    एलिटले कान्तिपुरको रु १७ करोड बराबरको १७ लाख कित्ता साधारण शेयरको प्रत्याभूति गरेको हो । यससम्बन्धि सम्झौतामा मंगलवार कान्तिपुर फर्मास्यूटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गर्नुभयो । कान्तिपुर फर्मास्यूटिकल्सले शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

    राष्ट्रियसभाको बैठक चलिरहँदा दर्शकदीर्घामा प्रतिनिधिसभाका सांसद पुगेपछि .....

    काठमाडौँ ।भिजिट भिषा’ प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभाको बैठकमा विरोध जनाए । 

     

    बिहान ११ः०० बजेका लागि बोलाइएको बैठक झण्डै दुई घण्टा ढिला गरी सुरू भयो । सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नु भएलगत्तै विपक्षी दलले पुनः विरोध जनाए ।

    बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी आधा घण्टाका लागि स्थगित भयो । बैठक स्थगन भएपछि सांसदहरूले फुर्सद पाउनुभयो । केही सांसद सञ्चारकर्मीलाई प्रतिक्रिया दिन थाल्नुभयो भने कोही आपसमा छलफल गर्न थाल्नुभयो ।

    स्वदेशमै केही हुन्छ, हुँदैछ भन्ने आशावाद पलाएको छ : प्रधानमन्त्री

    काभ्रेपलाञ्चोक ।प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि आफूहरुको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशावाद देखिएको बताउनुुभएको छ । काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गर्नुहुँदै  उहाँले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिनुुले स्थानीय जनतामा आत्मविश्वास पलाएको छ भन्नुभयो । 

     

    उहाँले केही भएन भनेर गलत भाष्य सिर्जना गर्नेहरुले भएको विकास नदेखेको टिप्पणी गर्दै कुनै पनि अवस्थामा परिवर्तन ल्याउन एकैदिनमा सम्भव नहुने भएकाले यसका लागि इमानदार र लगातारको प्रयास आवश्यक रहेको जनाउनुुभयो ।

    तीनकुने घटनाबारे देवेन्द्रलाल नेपाली नेतृत्वको स्वतन्त्र नागरिक छानबिन आयोगले प्रतिवेदन सार्वजनिक

    काठमाडौँ । गत चैत १५ गते राजावादी आन्दोलनका क्रममा भएको तीनकुने घटनाबारे देवेन्द्रलाल नेपाली नेतृत्वको स्वतन्त्र नागरिक छानबिन आयोगले प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले  बुधबार सार्वजनिक प्रतिवेदनमा तीनकुने घटनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र कानुनी व्यवस्थाको उल्लङ्घन भएको निष्कर्ष निकालेको हो ।

     

    नेपालको संविधान, मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र र विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरूको तीनकुने घटनामा उल्लङ्घन भएको  आयोगको ठहर छ ।  २८ पृष्ठको प्रतिवेदनमा चैत १५ गते तीनकुनेमा गरिएको सभा मुलुभूत रुपमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको भनिएता पनि समान विचार भए धेरै सङ्घ सङ्गठन तथा अभियान र तिनका नेता नेतृत्व सहभागी रहेकाले घटना अघिको अवस्थामा कार्यक्रम परिचालनको स्वामित्व र समन्वय कसले गर्ने भन्ने नेतृत्वको होडबाजीका कारण सभा सञ्चालनको परिस्थितिको जस अपजस कसैले नलिने मनोविज्ञान सबैमा  रहेको देखिएको उल्लेख छ । 

    राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा सुन्दर प्लाइउड सेन्टरका प्रोपराइटर  आकाश अग्रहरी विरुद्ध एक करोड बढीको राजस्व चुहावट मुद्दा दायर

    काठमाडौँ ।राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत् राजस्व चुहावटसम्बन्धी कसूरमा १ करोड बढीको मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२को दफा २०(६) बमोजिम जेठ १४ गते मुद्दा दायर गरेको हो ।

     

    राजस्व अनुसन्धान कार्यालय बुटवलका कार्यालय प्रमुख विवेक घिमिरे जनाए अनुसार जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिा वडा न ८ लुम्बिनी गेटस्थित सुन्दर प्लाइउड सेन्टरका प्रोपराइटर आकाश अग्रहरीले  सञ्चालन गरेको  पसल र गोदाममा खानतलासी गरिएको थियो । खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गर्दा प्रतिवादी अग्रहरीले  राजस्व चुहावट गर्ने उद्देश्यले प्रस्तुत फर्मका नाममा मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगरेको , बीजक जारी नगरी मालवस्तु बिक्री गरेको , मौज्दात विवरण भन्दा अधिक मालवस्तु फेला परेको र खरिद तथा भन्सार पैठारी गरेको कुनै प्रमाण नभएको कार्यालय प्रमुख विवेक घिमिरेले नयाँ सडकसँगको कुराकानीमा बताए ।

    ऊर्जामन्त्री र अमेरिकी राजदूत बीच भेटवार्ता : एमसिसी परियोजनाबारे छलफल

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको ऊर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको थियो ।

     

    भेटमा ऊर्जामन्त्री खड्काले एमसिसी परियोजनामार्फत अगाडि बढाइएका आयोजनाको काम निरन्तर अगाडि बढिरहे पनि एमसिसी केही समयदेखि होल्ड भएकाले केही अन्यौलता सिर्जना गरेको बताउनुभयो । उहाँले एमसिसी परियोजना निरन्तर अगाडि बढ्ने र ऊर्जा क्षेत्रमा अमेरिकाको थप सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

    आज सुनको मूल्य तोलामा रु एक हजार ६०० ले घटेर एक लाख ८९ हजार ३०० कायम

    काठमाडौँ । मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुन तोलामा रु एक हजार ६०० ले घटेको छ । सोही परिमाणको चाँदी रु १० ले बढेको छ ।
     
    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु दुई हजार पाँच निर्धारण भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३२६ अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, डलरको खरिददर १३६.२४ रुपैयाँ

    काठमाडौँ ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ । 

     

     

    युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १५५ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ३८ पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १६४ रुपैयाँ ७० पैसा र बिक्रीदर १६५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । 

     

     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij