
काठमाडौँ । यो साताको सेयर बजार ओरालो बिन्दुमा घटेर बन्द भएको देखिएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा ५.६६ अंकको गिरावट देखियो । ५.६६ अंकको गिरावटका साथ नेप्से परिसूचक २६४०.९६ अंकमा अडियो ।
तर बजारको अंक घटेपनि कारोबार रकम बढेको देखियो । अघिल्लो दिन जम्मा ५ अर्ब १६ करोडको कारोबार भएकोमा बिहीबार ७ अर्ब ९७ करोडको कारोबार भयो । ९४ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने एउटाको स्थिर रह्यो ।
धेरैजसो सेक्टरका सूचकमा गिरावट देखिएपनि हाइड्रोपावर सेक्टरमा बिहीबार आकर्षण देखिएको थियो । यो सूचक १.१३ प्रतिशत बढ्यो । त्यस्तै लगानी समूह ०.०३ प्रतिशत बढ्यो भने अरु सबै घटे ।उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०४ प्रतिशत घट्यो । बैंकिङ ०.४३, विकास बैंक ०.२८, फाइनान्स ०.५६, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.५६, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.१२, अन्य ०.६७ तथा व्यापार ०.८५ प्रतिशतले घटे ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढेको देखियो । रिभर फल्स पावर, बुटवल पावर, पियोर इनर्जी र बरुण हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको देखियो । त्यस्तै सप्तकोशी विकास बैंकको ९.५०, राधि विद्युत्को ७.५६, एसियन हाइड्रोको ७.३१, उपकार लघुवित्तको ६.५४, युनिभर्सल पावरको ६.४४ तथा दोर्दीखोला हाइड्रोपावरको ५.१० प्रतिशत बढेको देखियो ।
अघिल्लो दिनसम्म १० प्रतिशतले बढेको ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य बिहीबार ९.३० प्रतिशत घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको ३.९०, सुपर माइ हाइड्रोपावरको ३.५५ तथा जनउत्थान सामुदायिक लघुवित्तको मूल्य ३.४७ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर, ङादी ग्रुप, अरुण काबेली क्रमशः अगाडि रहेको देखिएको छ ।नयाँ गभर्नर नियुक्त भएपछि बजारले गति लिने अपेक्षा गरेकाहरूको विश्वासमा तत्काल ठेस लागेको छ । यसै बीच बजेट आएको छ । बजेट पछि आउने मौद्रिक नीतिले नयाँ गभर्नरले लिने बाटोबाट सेयर बजारको दशा र दिशामा परिवर्तन हुन सक्ने सेयर बजार पर्यवेक्षकहरू बताउँछन् ।
निर्वतमान गभर्नरले ल्याएको उछालको रेकर्डलाई नयाँ गभर्नरको नियुक्तिले भंग गर्ने अपेक्षा सेयर बजार लगानकर्ताहरूको रहेको छ ।अब नयाँ साताको सुरुवात उकालोको लयबाट हुने लगानीकर्ताहरूले विश्वास व्यक्त गरेका हुन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij