
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ २३ शुक्रबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन मन्त्री पौडेलद्वारा तयारी शुरु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल सरकारका सम्पूर्ण राष्ट्रसेवक तथा संगठित क्षेत्रका कर्मचारीलाई अनिवार्य रूपमा स्वास्थ्य बीमामा आवद्ध गराउने पहल सुरु गरेका छन्। यसका लागि उनले आन्तरिक तयारी अघि बढाएका छन्।
नीतिगत तथा बजेटीय आधारमा अघि बढ्दै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावअनुसार सरकारद्वारा प्रस्तुत हालैको नीति तथा कार्यक्रम तथा आगामी वर्षको बजेटमा राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा अनिवार्य रुपमा समावेश गरिने उल्लेख गरिएको छ। स्वास्थ्य बीमा ऐन, २०७४ मा उल्लेखित व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्यसहित मन्त्री पौडेलले सबै मन्त्रालय, आयोग, निकाय र मातहतका विभागहरूमा पहल गर्ने निर्णय गरेका छन्।
नर्थ समिट हाइड्रो कम्पनीले आईपीओ निष्कासन गर्ने
काठमाडौँ । नर्थ समिट हाइड्रो कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ३८ लाख ४० हजार कित्ता आईपीओ जारी गर्ने भएको हो। प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरले आइपीओ जारी गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले आईपीओ जारी गर्ने प्रयोजनका लागि माछापुच्छ्रे क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले यस सम्बन्धमा दुई शुक्रबार सम्झौता गरेका छन्।माछापुच्छ्रे क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नर्थ समिट हाइड्रोका तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षत्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सानिमा फ्लेक्सी फण्डको इकाई जेठ २६ गतेदेखि कारोबारमा, नक्सालस्थित कार्यालयमा सेवा उपलब्ध
काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा फ्लेक्सी फण्डको इकाईहरु जेठ २६ गतेदेखि औपचारिक रूपमा कारोबारमा आउने भएका छन्। खुलामुखी प्रकृतिको यो योजनाले गत फागुन २५ गते इकाई बाँडफाँट गरेको थियो।
सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यस फण्डका इकाईहरू सानिमा क्यापिटलको नक्सालस्थित कार्यालयबाट किनबेच गर्न सकिने व्यवस्था गरिएको छ।
कारोबार समय:
इकाई खरीद: आइतवारदेखि बिहीवारसम्म, विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म
इकाई विक्री: आइतवारदेखि बिहीवारसम्म, विहान ११ बजेबाट अपरान्ह ३ बजेसम्म
हिम स्टार उर्जा कम्पनीको आइपीओ जेठ ३० देखि खुला, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई प्राथमिकता
काठमाडौं । हिम स्टार उर्जा कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी आगामी जेठ ३० गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन खुला गर्ने घोषणा गरेको छ। कम्पनीले आफ्नो जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँ मध्ये ३० प्रतिशत, अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो।
आयोजनाबाट प्रभावित स्थानीयका लागि
कम्पनीले यसमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबर, अर्थात् १ लाख ८६ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई बिक्री गर्न लागेको हो।
यी सेयरहरूमा प्रतिकित्ता १०० रुपैयाँ दरले आवेदन दिन सकिनेछ।
राधी विद्युत कम्पनीले दोर्दी खोला जलविद्युतको १६ लाखभन्दा बढी सेयर बिक्री गर्ने
काठमाडौं । राधी विद्युत कम्पनीले दोर्दी खोला जलविद्युत कम्पनीमा रहेको आफ्नो १६ लाख ४४ हजार ८८८ कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको छ। कम्पनीले सार्वजनिक सूचना प्रकाशित गर्दै, उक्त सेयरहरू बजार मूल्यअनुसार बिक्री गरिने जानकारी दिएको हो।
बिहीबारको कारोबार मूल्यअनुसार दोर्दी खोलाको सेयर दर प्रतिकित्ता ४१०.०३ रुपैयाँ रहेको छ। यस मूल्यका आधारमा राधी विद्युत कम्पनीले करिब ६७ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको अनुमान गर्न सकिन्छ।
सुनको भाउ स्थिर, चाँदीमा ७५ रुपैयाँको वृद्धि
काठमाडौं — लगातार बढ्दै आएको सुनको मूल्य शुक्रबार स्थिर रहेको छ भने चाँदीको मूल्यमा भने उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ। यो मूल्य बिहीबारको दरसँग समान छ, जसले सुनको मूल्य वृद्धिमा हाललाई विराम लागेको देखिन्छ।
गत ६ दिनमा सुनको मूल्यमा कुल ५ हजार ९ सय रुपैयाँले वृद्धि भएको थियो। सो अवधिमा शुक्रबारदेखि बिहीबारसम्म दैनिक रूपमा सुनको भाउ क्रमशः ७००, ३००, १०००, २९००, ५०० र ५०० रुपैयाँले बढेको थियो।
घट्दो लयमा बन्द भयो यो साताको सेयर बजार, उकालोको लयमा खुल्ने लगानकर्ताको अपेक्षा
काठमाडौँ । यो साताको सेयर बजार ओरालो बिन्दुमा घटेर बन्द भएको देखिएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा ५.६६ अंकको गिरावट देखियो । ५.६६ अंकको गिरावटका साथ नेप्से परिसूचक २६४०.९६ अंकमा अडियो ।
तर बजारको अंक घटेपनि कारोबार रकम बढेको देखियो । अघिल्लो दिन जम्मा ५ अर्ब १६ करोडको कारोबार भएकोमा बिहीबार ७ अर्ब ९७ करोडको कारोबार भयो । ९४ कम्पनीको मूल्य बढ्दा १५३ को घट्यो भने एउटाको स्थिर रह्यो ।
धेरैजसो सेक्टरका सूचकमा गिरावट देखिएपनि हाइड्रोपावर सेक्टरमा बिहीबार आकर्षण देखिएको थियो । यो सूचक १.१३ प्रतिशत बढ्यो । त्यस्तै लगानी समूह ०.०३ प्रतिशत बढ्यो भने अरु सबै घटे ।उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.०४ प्रतिशत घट्यो । बैंकिङ ०.४३, विकास बैंक ०.२८, फाइनान्स ०.५६, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.५६, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.१२, अन्य ०.६७ तथा व्यापार ०.८५ प्रतिशतले घटे ।
बाजुराको बाम्का बजारमा ग्यास सिलिण्डर विस्फोट, ३१ भन्दा बढी पसल जलेर नष्ट
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो एक होटलमा ग्यास सिलिण्डर विस्फोट भई भीषण आगलागी भएको छ। उक्त घटनामा ३१ वटा भन्दा बढी पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) इकवाल हवारीका अनुसार खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट भएपछि आगलागी फैलिएको हो। 'मानवीय क्षति नभए पनि भौतिक क्षति अत्यन्तै ठूलो भएको छ,; डीएसपी हवारीले बताए। उनका अनुसार जलेका पसलका साथै आगो फैलिन नदिनका लागि भत्काइएका पसलसमेत गरी कुल ३१ पसल नष्ट भएका छन्।
काठमाडौँको तीनपिप्लेमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका(३ तीनपिप्ले भुवनेश्वरी मन्दिर नजिक आज माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अलिराज बोहराका अनुसार आज दिउँसो काभ्रेको बनेपाबाट भुवनेश्वरी मन्दिर घुम्न आएका यात्री बोकेको बा१ज ८६८५ नम्बरको माइक्रोबस तारकेश्वर(३ तीनपिप्ले भुवनेश्वरी मन्दिर नजिक उकालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो ।
इनड्राइभ काठमाडौं कार्यालयको उद्घाटन गरियो
काठमाडौं । नेपालको एक अग्रणी राइड हेलिङ एप, इनड्राइभले काठमाडौंमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ। यो चालक साझेदारहरुलाई सहयोग गर्ने र शहरभरि राइडहरुको लागि सेवाको गुणस्तर बढाउने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्ने एउटा प्रमुख कदम हो।
नयाँ कार्यालयले चालक समुदायलाई सशक्त बनाउने र समग्र इनड्राइभ अनुभव सुधार गर्ने उद्देश्यले विभिन्न सेवाहरुको लागि केन्द्रको रुपमा काम गर्नेछ। यो कार्यालयको सुरुवातसँगै, इनड्राइभले अब व्यक्तिगत रुपमा चालक सपोर्ट र प्रशिक्षण, समुदाय र सुरक्षा-केन्द्रित पहलहरु, स्थानीयकृत मार्केटिङ र साझेदारी कार्यक्रमहरु, तथा स्थानीय बजार अनुरूप आफ्नो सेवाहरु सञ्चालनका लागि समर्थन प्रदान गर्नेछ।
एकैपटक कान्तिपुर दैनिकका पत्रकार, कर्मचारी, सञ्चालक, व्यवस्थापक भई एक करोड बढी लाभ लिने र लिन सहयोग गर्ने विरुद्ध मुद्दा दायर
काठमाडौँ । मन्थली नगर विकास समिति रामेछापमा कार्यरत अस्थायी नायब सुब्बा पदका कार्यरत टिकाप्रसाद भट्टले कर्मचारी एकै पटक कर्मचारीसँगै पत्रकार, सहकारी सञ्चालक, विज्ञापन एजेन्सीको व्यवस्थापक भएर दोहोरो तथा तेहोरो सुविधा लिएको ठहर गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।अस्थायी नायब सुब्बामा कार्यरत उनले खरिदार पदबाट नासु पदमा बढुवा लिनुका साथै स्थायी कर्मचारी सरह गैरकानूनी ढंगबाट ग्रेड सुविधा लिएको, अनिश्चितकालीन म्याद थप गर्नुका साथै बढुवासमेत भएको भेटिएपछि उक्त मुद्दा दायर गरिएको हो ।
उनले दिएको निवेदन, शैक्षिक योग्यता र कार्यसम्पादनको स्तरलाई हेरी बढुवा गर्ने राय पेश गरेकोमा बढुवाका लागि खटिएको कार्यदलले कुनै प्रक्रिया पूरा नगरेर खरिदारबाट सुब्बा पदमा बढुवा गरेको पनि भेटिएको मात्रै नभइ भट्ट २०५३ सालदेखि कान्तिपुर पब्लिकेशनमा विभिन्न पदमा कार्यरत रहेर काम गर्दै आएको, २०६७ मा कान्तिपुरको पूर्णकालीन स्थायी कर्मचारीको नियुक्ति लिएर नियमित पारिश्रमिक तथा तलब सुविधा खाइपाई आएको समेत भेटिएको हो ।
मौसमी जटीलताका कारण पाकिस्तानका विद्यालय बन्द
पाकिस्तान ।जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी जटिलताका कारण विद्यालय बन्द हुँदा पाकिस्तानका विद्यालयहरु बन्द भएका छन् ।
गर्मी, विषाक्त धुवाँ र असामान्य चिसोका कारण उत्पन्न जोखिमबाट बच्चाहरूलाई जोगाउने उद्देश्यले विद्यालय वन्द गरेको प्रशासनले जनाएको छ ।
गर्मीले मे महिनामा पञ्जाबमा ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) सम्म तापक्रम पुगेकाले धेरै प्रान्तहरूमा विद्यालयको समय कटौती गरी गर्मी बिदा दिइएको हो ।
ऐतिहासिक सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीयवासीले आग्रह गरेका छन् ।
काठमाडौँको महानगरपालिकाको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यसहित स्थानीयवासीको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास, बालुवाटारमा गरेको भेटमा ऐतिहासिक सुन्धारा तथा धरहरा क्षेत्रमा खुला बगैँचा, मुद्रा तथा भूकम्प सङ्ग्रहालय र देशकै सबैभन्दा ठूलो भूमिगत सुविधायुक्त पार्किङसहित नयाँ धरहरा निर्माण गर्न विशेष पहल गर्नुभएकामा स्थानीय बासिन्दाकोतर्फबाट धन्यवाद पनि दिएको थियो ।
ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् बृक्षारोपण कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरुमा बृक्षारोपण कार्यक्रम गरेको हो ।
यसै अवसरमा बैंकले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला, लम्कीचुहाँ नगरपालिकाको बालचौरमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा १,००० कागतीका विरुवा रोपण गरेको हो ।
काठमाडौं महानगरपालिकाभित्र डिजेल र पेट्रोलबाट चल्ने आधाभन्दा बढी सवारीसाधन मापदण्ड विपरीत
काठमाडौँ । काठमाडौं महानगरपालिकाभित्र डिजेल र पेट्रोलबाट चल्ने आधाभन्दा बढी सवारीसाधन मापदण्ड विपरीत चलिरहेको पाइएको छ । प्रदूषण परीक्षण गर्दा गाडीहरूको अवस्था यस्तो देखिएको हो ।
महानगरभित्र सञ्चालन भएका २ हजार ५ सय ३२ सवारीसाधनको प्रदूषण परीक्षण गर्दा १ हजार ३०३ वटा अर्थात ५१.४६ प्रतिशत सवारीसाधन मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको छ ।
सवारीसाधनको स्थलगत प्रदूषण परीक्षणको नतिजा अनुसार ६११ पेट्रोल गाडीको प्रदूषण परीक्षण गर्दा ९५ वटा अर्थात् १५ प्रतिशत बढी गाडी मापदण्ड विपरीत रहेको पाइएको काठमाडौँ महानगरले जनाएको छ । यस्तै १ हजार ९२१ डिजेल गाडीको प्रदूषण परीक्षण गर्दा १ हजार २०८ वटा अर्थात् ६२.८८ प्रतिशत गाडीको प्रदूषण मापदण्ड विपरीत रहेको पाइएको छ ।
विषादीयुक्त फलफूल तथा तरकारीको गुणस्तर परीक्षणमा कडाइ गरौँ : राष्ट्रियसभा सांसद
काठमाडौँ ।राष्ट्रियसभा सांसदहरूले हानिकारक विषादीको प्रयोग भएका फलफूल तथा तरकारी बिक्रीवितरणमा नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभाको आजको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले बजारमा बिक्रीवितरण भइरहेका फलफूल तथा तरकारीको कडाइका साथ गुणस्तर परीक्षण गर्न माग गर्नुभयो । “फलफूल तथा तरकारीमा अत्यधिक विषादीको प्रयोेग हुने गरेको र समयअगावै विषादीयुक्त तरकारी बजारमा बिक्रीवितरण गरेको समाचार बारम्बार सुनिरहेका छाँै”, उहाँले भन्नुभयो, “फलफूल पनि पाक्ने समय अगाडि पकाउने औषधिको प्रयोग गरी बजारमा ल्याइएको छ । गुणस्तर परीक्षण गरी आमनागरिकले उपभोग गर्ने वातावरण बनाउनुपर्छ ।”
उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट
काठमाडौँ ।उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताउनुभएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आज गोकर्णेश्वर–५ बागमती करिडोरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उहाँले सहरी विकास मन्त्रालयले बागमतीसहित उपत्यकाका नदी स्वच्छ बनाउन रु तीन अर्ब ४२ करोड विनियोजन गरेको बताउनुभयो ।
मन्त्री सिंहले वातावरण संरक्षण गर्ने जिम्मेवारी सबैको साझा दायित्व भएको उल्लेख गर्दै वातावरण संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
यस्ता छन् सार्वजनिक लेखा समितिका निर्णय
काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन पारित भएको छ ।
सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिनुभयो ।
बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले नक्कली कागजात पेस गरी बोलपत्रमा समावेश भएको भनि आएका गुनासाका विषयमा प्रस्ट नभई सम्झौता अघि नबढाउन निर्देशन दिएको छ ।
यस्ता छन् सार्वजनिक लेखा समितिका निर्णय
काठमाडौँ, २३ जेठः प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन पारित भएको छ । सभापति ऋषिकेश पोखरेलले समितिको आजको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिनुभयो । बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले नक्कली कागजात पेस गरी बोलपत्रमा समावेश भएको भनि आएका गुनासाका विषयमा प्रस्ट नभई सम्झौता अघि नबढाउन निर्देशन दिएको छ । यस्तै, बेरुजु फरछ्यौटका सम्बन्धमा तीन तहकै जनप्रतिनिधिको सहभागितामा असार ९ र १० गते काठमाडौँमा राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको छ ।
मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा
महेन्द्रनगर (धनुषा)। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै आलोपालोको सहमितअनुसार छिट्टै कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो ।
४५ लाख रुपैयाँ भन्दा बढीको अवैध सुनसहित नागढुंगाबाट एक भारतीय नागरिक पक्राउ
काठमाडौँ । प्रहरीले ४५ लाख रुपैयाँ भन्दा बढीको अवैध सुनसहित नागढुंगाबाट एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले भारतको पश्चिम बंगालका ३१ वर्षीय महादेव सामान्तलाई पक्राउ गरेको हो । उनलाई प्रहरी प्रभाग नागढुंगा र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको जनाइएको छ ।
काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा. प्र. ०३–००१ ख ३१३९ नम्बरको बसमा चढी उनी काठमाडौं आउँदै थिए । सोही क्रममा प्रहरीले उनीबाट २७४.८३ ग्राम अवैध सुन बरामद गरिएको जनाएको छ ।
आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५७ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij