
एनआरएनए एकता महाधिवेशमा अध्यक्ष पदमा तपाइँ प्रतिस्पर्धी हुनुहुन्थ्यो, तर किन एक्कासी छोड्नुभयो नि ?
गैरआवासीय नेपाली संघ (एनआरएनए) सबैको साझा चौतारी हो । यो सबैको आस्थाको धरोहर हो । यो संस्थाको कुर्सीमा बसेर जवर्जस्ती गर्न पाइँदैन भन्ने मेरो बुझाई हो । पछिल्लो सयम संस्थामा दुई चिरा भएपछि सम्मानित सर्वोच्च अदालतले दिएको परमादेशलाई टेकेर सबै एकै ठाउँमा उभिने सुवर्ण अवसर मिलेको थियो । तर त्यो अवसरमा केही साथीहरु छुट्नुभएको छ । उहाँहरु पक्कै पनि जोडिनुहुनेछ । एकताको महाधिवेशनको परिवेशमा म आफैँ पनि आयोजक समितिको सदस्य भएको नाताले मेरो काँधमा उम्मेदवारीको भन्दा पनि जिम्मेवारीको भारी अलि गरुङ्गो थियो । मलाई एउटा मात्र पीडा थियो यो गैरआवासीय नेपाली संघ अझै बाहिरका साथीहरुले प्रेडिक्ट गरेजस्तो एकताको महाधिवेशन हुन सक्दैन कि, केही साथीहरुले पक्षपात गर्दै महाधिवेशन गराउन सक्दैन भन्ने चर्चाहरु आउँदा मलाई यो पवित्र उद्देश्यका लागि स्थापना भएको संस्थामा एकताको महाधिवेशन गराउन को कसका कस्ता कमीकमजोरीहरु केलाउँदै यो सम्पन्न गराउन सबैको काँधमा जिम्मेवारी छ, त्यसलाई गराएरै छोड्नुपर्छ भन्ने मेरो महसुस थियो । आम गैरआवासीय नेपाली दाजुभाइ दिदी बहिनीलाई आग्रह गरेर, सही तरिकाले सम्पन्न गरेर यो संस्थालाई थप जिम्मेबार र दर्बिलो बनाउनेबाहेक बिकल्प पनि थिएन ।
तपाइँले उम्मेदवारी फिर्ता लिएर मध्यपूर्वका नेपालीहरुको भावनामा चोट पुर्याउनुभयो भन्ने आरोप छ नि ?
पहिला मध्यपूर्वका नेपालीहरुको जनसंख्या हिसाव गरेर अघि बढ्न लागेको भन्दै यूरोपका साथीहरुले आरोप लगाउने गर्थे । तर मध्यपूर्वमा एनआरएनए बाँचुपर्छ । म योभन्दा धेरै भन्न चाहन्न । यो कुरा सबै एनआरएनए र यहाँका गैरआवासीय नेपाली दाजुभाइ दिदी बहिनीहरु सबैलाई राम्रोसँग थाहा छ । एनआरएनएको अधिकारिकता रहनुपर्छ, कानूनी वैधता रहनुपर्छ, मध्यपूर्व र मलेसियामा बस्ने करिव तीस लाख नेपालीहरुको भावनालाई समेट्नुपर्छ भन्ने मेरो मान्यता हो । यो संस्था रहे न हामीले सामाजिक क्रियाकपाल, सरकारसँगका सहकार्यका पाटाहरु अघि बढाउन सक्छौं । संस्था नै कानूनीरुपमा धरासायी बनिरहेको छ, आईसीयूमा छ, संस्था नै मर्ने कि बाँच्ने भन्ने स्थितिमा पुगेको छ भने मर्न दिनुभन्दा जसले बढी योगदान दिएको छ उसैले कहिलेकाहीँ सेक्रिफाइस गर्ने परिस्थिति निर्माण हुन्छ । त्यही कुरालाई आत्मसात गर्दै म व्यक्तिभन्दा पनि संस्थागत हितलाई मध्येनगर गर्दै जिम्मेवारीको हिसावले उम्मेदवारी फिर्ता लिएको हुँ । जुन अभिभारा मेरो काँधमा थियो, त्यो मैल बहन गरेँ ।
उसोभए तपाइँले जिम्मेवारी बहन गर्नकै लागि जितेको अध्यक्ष पद पनि छोड्नुभएको होत ?
यो संस्था पवित्र उद्देश्यकसाथ स्थापना भएको हो । यो विदेशमा बस्ने नेपाली र सबै नेपालीहरुको आस्थाको धरोहर हो । पछिल्लो समय यो आस्थाको धरोहर धर्मराएको छ । व्यक्तिगत स्वार्थमा, राजनीतिको दलदलमा धकेलिँदा यहाँ ठूलो चिन्ताको विषय बन्दै गएको छ । यसलाई हामीले दर्बिलो बनाएर एकताको महाधिवेशनमा छुटेका साथीहरुलाई ल्याउने वातावरण मिलाउनु पर्ने मेरो जिम्मेवारी थियो । यो मैंले पुरा गरेँ । कतिपय साथीहरुको चाहना मलाई अध्यक्ष बनाउने थियो तर घ्यू केमा पोखियो भन्दा भातमा भनेजस्तै भएको छ । महेशजी अध्यक्ष भएर आउँदै गर्दा छुटेका साथीहरु पक्कै पनि समाहित हुनुहुन्छ । यो संस्था फेरि पहिलाकै जस्तो चार्ममा फर्किन्छ । र, यही नै सबैको जित हो ।
भनेपछि केही छुटेका अभियन्ताहरु पनि जोडिएर एकता हुन्छ भन्नेमा तपाइँ ढुक्क हुनुहुन्छ ?
एकता भइसकेको छ । केही छुटेका साथीहरु फेरि आउनुहुन्छ । सबै साथीहरु आएपछि हामीले एउटै मञ्च सेयर गर्नेछौँ । सबै राजनीतिक दलका नेताहरु विदेश आउँदा कहाँ जाने, कसकोमा बस्ने भन्ने दकस छोडेर राम्रो वातावरण सिर्जना हुनेछ भन्ने विश्वास लिएको छु ।
छुटेका अभियन्ताहरुको आउने आधार चाहिँ के देख्नुहुन्छ ?
हामीहरुले उहाँहरुलाई यथार्थता बुझाउन नसकेको पनि हुनसक्छौँ । क्याप्टेनको सिटमा महेश श्रेष्ठ हुनुहुन्छ । हामीले केही लचकता अपाउन सक्नुपर्छ । झोला पनि किन्ने र हात्ती पनि किन्ने अनि झोलामा हात्ती अटाउन त सकिँदैन । डा. बद्री केसी, म, महेशजि, हेमराजजि बसेर कमिन्टमेन्ट पनि गरेका थियौँ, महाधिवेशन सम्पन्न गर्न । त्यही भएर हामी काठमाडौंमा भेला भएका थियौँ । केही साथीहरुलाई पद मिलाउने काम बाँकी छन्, ती बिस्तारै हल हुँदै जान्छन् । कसैले मनमा तुष पालेर बस्नु उचित हुँदैन ।
तपाईँ र बद्री केसीबीच पछिल्लो समय के भइरहेको छ ? सामाजिक सञ्जालमा केही संयुक्त फोटो पनि सार्वजनिक भएको थियो नि ?
त्यो संस्थागत लडाईँ हो, व्यक्तिगत होइन । एकताको ११ औं महाधिवेशन गराउन केही साथीहरुले संस्थागत रुपमा धोका त दिनुभएकै हो नि त । मैंले संस्थालाई घात गर्नु हुँदैन भनेर उम्मेदवारीबाट पछि हटेको हो । त्यो मेरो व्यक्तिगत चाहना होइन । अधिवेशन सम्पन्न भइसकेपछि निर्वाचनमा जाहेर भएका मतका बारेमा कोट्याइरहनु पनि जायज होइन । उहाँहरुलाई नेपाल सरकारले गरेको निर्णय सुनेर आफूहरु गलत रहेछौँ भन्ने महसुस पक्कै पनि भएको होला ।
अव तपाइँहरुबीच चुनावको र जुँगाको लडाइँ चाहिँ कहिलेसम्म रहन्छ त ?
यो बारेमा हामीले सबैलाई बुझाउन नसकेका पनि हुनसक्छौँ । मेरो लडाइँ भनेको गैरआवासीय नेपाली संघमा पारदर्शीता, सबैको साझा चौतारी र सबै आस्थाको धरोहर बनाउने नै हो । यो फलानो अध्यक्ष नभई नहुने, फलानो राजनीतिक पार्टीले बोकेको व्यक्ति नभई नहुने भन्ने लडाइँ होइन । आम श्रमिकका मुद्धा, उनीहरुले पठाएको रेमिटेन्स सधैैँ नेपालमा चल्ने तर एनआएनए र श्रमिकका समस्या ज्यूँकात्यूँ रहनु दुर्भाग्य हो । नेपाल फर्किँदा प्रत्येक नेपाली हवाई टिकटमा ३० देखि ४० हजार रुपैयाँ ठगिँदै आएका छन् । यी कुराहरु नीतिगत रुपमा समाधान हुनुपर्छ । अस्ति बजेटमै पनि श्रमिकका स्वास्थ्य जाँचका कुरा के भए ? सामाजिक सुरक्षाका विषय के भए ? मेरो चिन्ता यतातिर हो । कसैसँग जँुगाको लडाइँ होइन, आम श्रमिकको पीडा बोल्ने मानिस हुँ । उहाँहरुको चाहना पनि मैले नजिकबाट छामेको छु । मैले कुनै पनि व्यक्तिगत स्वार्थप्रेरित भएर केही काम गरेको छैन । एक दिन उहाँहरुले सबै बुझेर आउनुहुनेछ ।
एनआरएनएका नेताहरुले मध्यपूर्वका आवाज उठाइदिएनन् भन्ने आरोप हो तपाईंको ?
मध्यपूर्वकाले नागरिकताको इस्यू उठाउँदै गर्दा बाहिरका साथीहरुको सामाजिक सुरक्षाका सवालमा कति आवाज उठाइदिनुभयो ? मैंले टिकटको मूल्य बढ्यो भनेर बोल्दै गर्दा कति साथीहरुले ती समस्याका बारेमा बोल्नुभयो ? यीलगायतका धेरै कुराहरु छन् । हामीहरु क्रिटिकल अवस्थामा छौंँ, इतिहास साक्षी छ । मध्यपूर्वका यी एजेण्डा र मुद्दा नबोकी नहुने खालका हुन् भन्ने मेरो बुझाई र ठम्याई हो ।
अबको तपाइँको अभियान के हुन्छ त ? केमा क्रियाशील रहनुहुन्छ ?
म सामाजिक क्षेत्रबाट कहिलै टाढा हुन सक्दिन । सहयोग गर्ने भावना मेरो रगतमा मेरो बुवा आमाबाटै आएको छ । कति गर्न सकेँ भन्ने कुरा समाजले पक्कै पनि मूल्याङ्कन गर्दै जाला । म पदमा रहेर मात्रै एनआरएनएमा सेवा गर्ने भन्ने होइन । म जहाँ भएपनि संस्थाको हितका लागि समर्पित भएर साथी भाइहरुसँगै योगदान दिइरहन्छु । मेरो पनि परिवार छ, बिजनेश छ, प्रतिबद्ध स्टाफहरु हुनुहुन्छ । यो बिचमा मेरा छुटेका कामहरुलाई पनि निरन्तरता दिने छु । मेरो अध्ययन रोकिएको छ । त्यो पनि पुरा गर्नु छ । समयको मागअनुसार म एक्टिभ हुँदै जानेछु ।
तपाइँ कतारमा व्यवसाय पनि सञ्चालन गर्दै आउनुभएको छ । तपाइँको व्यवसायिक यात्रा चाहिँ कसरी अगाडि बढ्छ ?
म व्यवसायी भन्दा पनि उद्यमी हुँ । जागिर नपाएर भौँतारिँदै गर्दा जागिर सबैले जागिर पाउनुपर्छ भनेर नै म उद्यमी बनेको हुँ । मेरोमा काम गरेर नेपाली श्रमिकहरुले नेपालमा आफ्नो घर परिवारमा तलव पठाउनुभएको छ । यसैमा म खुशी छु । कतार सम्भावनाको खानी भएको मुलुक हो । काम गर्दैगर्दा केही कमीकमजोरी पनि हुन सक्छन् । तर ती गल्ती नियतजन्य भने हुनुहुँदैन । म मेरो व्यवसाय, संघर्ष र सामाजिक अभियानप्रति सन्तुष्ट नै छु तर अझै गर्न बाँकी धेरै छ । मेरो करियर भर्खर सुरु हुँदै छ । पछिल्लो एक दशक सामाजिक अभियानमै लागिरहेको छु । म अव सामाजिक अभियानसङ्गै ब्याबसायमा सक्रिय हुन्छु ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij