
काठमाडौँ । ट्रान्सफर्मर उत्पादक कम्पनी नीकको अहिलेसम्मकै सुपर फास्ट चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। कम्पनीले हुवावे र गाडी चार्जरको सहकार्यमा ४०० वाटको चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो।विद्युतीय सवारीको बढ्दो प्रयोगलाई ध्यान दिएर हेटौडामा यो चार्जिङ स्टेसन स्थापना गरिएको जनाइएको छ ।यसको चार्जिङ हब ४०० किलोवाट सिस्टमको हो। चार्जिङ स्टेसन प्रोजेक्टका सिनियर इन्जियर नितेश श्रेष्ठले जनाए अनुसार प्रत्येक चार्जर ८० किलोवाटको सेट गरिएको छ। ती चार्जरको क्षमता १८० किलोवाटसम्म छ।
५ वटा चार्जरमध्ये ३ वटा चार्जरले डीसी लिएर डीसी करेन्टमै चार्ज दिन्छ। जुन जेपीटी टाइपको हो । २ वटा चार्जरले एसी लिएर डीसीमा चार्ज दिन्छ । यो सीसीएस टु हो ।ईभीका लागि हाल नेपालमा उपलब्ध चार्जिङ स्टेसनहरुको तुलनामा नीकले सञ्चालनमा ल्याएको फास्ट चार्जर करिब ५० प्रतिशत चलाख रहेको दाबी गरिएको छ ।नेपालमा अहिले इन्स्टल भएका चार्जरहरुको क्षमता ३० देखि ६० किलोवाटसम्मको छ। नीकले हुवावे र गाडी चार्जरको सहकार्यमा राखेको चार्जिङ स्टेसन ८० किलोवाट भएको प्रोजेक्ट म्यानेजर श्रेष्ठको भनाइ छ । उनका अनुसार अहिले सञ्चालनमा आएको फास्ट चार्जर मात्र हो । यो सुपर फास्ट चार्जर हो। अहिलेसम्म इन्स्टल भएको चार्जिङ स्टेसन १२५ एम्पियरको हुन्छ। हामीले सञ्चालनमा ल्याएको यो चार्जरले २५० एम्पियरको हो। त्यसले गर्दा यो चार्जिङ स्टेसन चाहिँ सुपर फास्ट भनिन्छ ।
चार्जिङ स्टेसनको कुल लागत २ करोड रुपैयाँ रहेको जनाइएको छ । चार्जिङ स्टेसनको एच–पोल स्ट्रक्चरमा निर्माण गरिएको छ। जसमा ५०० केभीएको ट्रान्सफर्मरलाई पोल माउन्टेड (पोलमा झुन्डाएर राख्ने) गरिएकोले ५० प्रतिशत जग्गा क्षेत्रलाई घटाउन मद्दत गर्छ। प्यानल बोर्ड पनि एडप्टर सिस्टमको राखिएकोले सेवालाई छिटो छरितो बनाउन मद्दत गर्छ।बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चार्जिङ स्टेसनको उट्घाटन गर्दै यस्तो उपयोगी सुपर फास्ट चार्जिङ स्टेसनको प्रविधि सबै क्षेत्रमा पु¥याउनुपर्ने धारणा सार्वजनिक गरेका थिए ।
नीकका प्रबन्ध निर्देशक कुशकुमार जोशीले जतिसक्यो छिटो चार्ज गर्न पाइयोस भनी सुपर फास्ट चार्जर सञ्चालनमा ल्याएको बताए। उनका अनुसार अहिले धेरै जसो चार्जिङ स्टेसनमा बत्ती नभएको बेला कुरेर बस्नुपर्ने समस्या छ। तर यसमा अहिले २४० किलोवाट र २२० किलोवाटको सोलार पनि राखिएको छ । यसले गर्दा यहाँ २४ सै घण्टा चार्ज गर्न सकिने व्यवस्था गरिएको छ । हुवावे नेपालका डिजिटल डिपार्टमेन्टका प्रमुख जेम्स ज्याङले हुवावेले नेपालमा एडभान्स टेक्नोजीमा काम गरिरहेको बताए । उनका अनुसार आगामी दिनमा यो भन्दा अझै सुपर फास्ट चार्जिङ हबमा सञ्चानलमा ल्याउने योजना सार्वजनिक गरे ।
उनका अनुसार नेपालमा एडभान्स टेक्नोजीमा ह्वावेले काम गरिरहेको छ । यो पनि त्यसैको एउटा कडी । एक कप कफी पिउँदा पिउँदै गाडी चार्ज फुल भइसकेको हुनेछ।नीकले बुटवल, धनगढी, धार्के र काठमाडौंमा गरी थप ८ वटा यस्तै चार्जिङ स्टेसन छिटै सञ्चालनमा ल्याउने जानकारी कार्यक्रममा दिइएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij