
काठमाडौँ । सेयर लगानीकर्ताको गुनासो सुन्ने र समाधान गर्ने प्रभावकारी हेल्पडेस्क वा पोर्टल निर्माण गर्ने लगायतका आवश्यकताबारे ध्यान दिन आग्रह गरिएको छ ।सेयर लगानीकर्ताहरूको विभिन्न संघ संस्थाहरूले मोबाइल एप, अनलाइन प्रणाली र डिजिटल साक्षरता अभिवृद्धिको माध्यमबाट दुर दराजका लगानीकर्तालाई सेवा पु¥याउनुपर्ने आवश्यकता औँल्याउँदै यस्तो बताएका हुन् ।
सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष तारा प्रसाद फुल्लेल , नेपाल पुँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाई , स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लिश्वर कार्की (रोहन)समेतले संयुक्तरूपमा एक विज्ञप्ति जारी गरी यस्तो आग्रह गरेका हुन् । केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङग लिमिटेडका नवनियुक्त सीईओलाई सफल कार्यकालको शुभकामना दिँदै जारी गरेको सो विज्ञप्तिमा आईपीओमा आवेदन प्रक्रिया थप सहज, पारदर्शी र प्रभावकारी बनाउन , क्लियरिङ र सेटलमेन्ट प्रक्रियामा समयसीमा छोट्याउने, लगानीकर्ताको गुनासो सुन्ने र समाधान गर्ने प्रभावकारी हेल्पडेस्क वा पोर्टल निर्माण गर्ने जस्ता काम गर्नुपर्ने आवश्यकता औँल्याइएको हो ।
यस्ता कार्यक्रमले पूँजी बजारमा लगानीकर्ताको विश्वास बढाउने र सम्पूर्ण प्रणालीलाई मजबुत बनाउने कुरामा उनीहरूले विश्वास व्यक्त गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘ यहाँको सफल नेतृत्वमा केन्द्रीय निक्षेप प्रणाली तथा क्लियरिङग लिमिटेडको प्रगति थप सुदृढ, विश्वासिलो र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्ने विश्वास लिनुका साथै सहकार्य गर्दै अगाडि बढ्ने कुराको समेत प्रतिबद्धता व्यक्त गर्दछौं ।’
नेपालको पूँजी बजार प्रणालीलाई सशक्त, सुरक्षित, पारदर्शी तथा प्रविधिमैत्री बनाउने अभियानमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको संस्था सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले विगत दुई दशकमा पूँजी बजारको आधारभूत पूर्वाधारका रूपमा आफूलाई स्थापित गर्न सफल भएको उनीहरूले जनाएका छन् ।
नव नियुक्त सीईओ प्रविन पन्दाकलाई लगानीकर्ताका ती संघ–संगठनहरूको तर्फबाट हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जारी उक्त विज्ञप्तिमा पन्दाकलाई नेपाल स्टक एक्सचेञ्ज(नेप्से) लगायत पूँजी बजार, बैंकिङ तथा प्रविधि क्षेत्रका जानकार र अनुभवी व्यक्तित्वको रूपमा व्यक्त गरिएको छ । पन्दाकको नेतृत्वमा सीडीएससी अझ थप नवप्रवर्तनशील, उत्तरदायी तथा लगानीकर्ता–मैत्री बन्ने उनीहरूले आशा र विश्वास व्यक्त गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ ‘ सीडीएससी एण्ड क्लियरिङ लिमिटेड नेपालको पूँजी बजारमा डिम्याट प्रणाली मार्फत शेयरधनीहरुको लगानीलाई सुरक्षित, व्यवस्थित र डिजिटल माध्यमबाट संचित गर्ने उद्देश्यले स्थापना भएको संस्था हो। यसले मुलुकभरका शेयर लगानीकर्ताका लागि हितग्राही खाता (डिम्याट अकाउन्ट), कागजरहित शेयर कारोबार, आईपीओ आवेदन प्रणाली (सी आस्बा) र शेयर ट्रान्सफर लगायतका विविध सेवा प्रदान गर्दै आएको छ। साथै हालैको अवधिमा मर्जर एवं एक्विजिसनको ट्रान्जेक्सन क्लियरिङ, बोनस शेयर तथा लाभांश वितरणको डिजिटल प्रक्रिया, तथा ई–क्लियरिङ सिस्टम मा आधारित पोष्ट ट्रेड सर्भिस हरूको प्रवर्धनले सीडीएससीको भूमिका थप विस्तृत र महत्वपूर्ण बनेको जनाइएको छ।
लगानीकर्ता पूँजी बजारको मेरुदण्ड हुन। तसर्थ, सीडीएससीको भावी योजना र कार्यान्वयनमा लगानीकर्ता–मैत्री नीतिहरू, प्रविधिको पहुँच विस्तार, शिक्षा तथा सचेतना अभियान तथा ग्राहक सेवा प्रणालीमा पारदर्शिता र जवाफदेहिताको सुदृढीकरण जस्ता विषय प्राथमिकतामा पर्ने कुरामा उनीहरू विश्वस्त रहेको विज्ञप्तिमा जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij