
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेलले कुनै पनि बैंकले ग्राहकलाई ठगी गरे तुरुन्त कडा कारबाही गरिने चेतावनी दिएका छन्। नेपाल राष्ट्र बैंक जनकपुर कार्यालयको आयोजनामा नेपाल उद्योग वाणिज्य महासंघ तथा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग आयोजित छलफल कार्यक्रममा बोल्दै उनले सर्वसाधारणको सम्पत्ति सुरक्षित राख्ने र बैंकको सेवा धेरै मानिससम्म पुर्याउने आफ्नो प्रमुख उद्देश्य भएको स्पष्ट पारे।
गभर्नर पौडेलले ग्राहकलाई विभिन्न बहानामा समस्यामा पार्ने वा ठगी गर्ने बैंकलाई ूबिना कुनै छुट तुरुन्त कारबाहीू गर्ने बताएका छन्। उनले यो चेतावनी विशेषगरी त्यसपछि दिएका हुन् जब धनुषाका व्यापारीहरूले बैंकले ऋण लिएर फिर्ता गर्न नसक्ने ऋणीहरूको धितो लिलाम गर्ने गरेको गुनासो गरे।
छलफलमा सहभागी स्थानीय व्यवसायी तथा किसानहरूले बैंकहरूले साना ग्राहकप्रति उपेक्षा गर्ने गरेको गुनासो गरेका थिए। उनीहरूले साना उद्यमी र कृषकहरूलाई कर्जा प्राप्तिमा समस्या भोगिरहेको बताएका थिए। त्यसका जवाफमा बैंकका प्रतिनिधिहरूले मधेश प्रदेशमा ऋण लिएर समयमा तिर्न नसक्नेहरूको संख्या धेरै रहेको जानकारी गराए।
गभर्नर पौडेलले मुलुकमा धनी र गरिबबीचको आर्थिक खाडल घटाउनु आफ्नो प्रमुख प्राथमिकता भएको बताए। उनले मौद्रिक नीतिलाई वित्तीय नीतिको अधीनमा राख्दै कम नियम, तर कडा सुपरिवेक्षणमार्फत देशको अर्थतन्त्रलाई सबल बनाउने लक्ष्य राखिएको बताए।
उनले बैंकको पैसा केही सीमित धनी व्यक्तिको हातमा मात्र केन्द्रित हुनु नहुने भन्दै, साना व्यवसायी र सर्वसाधारणसम्म ऋण सेवा सहज रुपमा पुग्नुपर्नेमा जोड दिए। छलफलमा बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल र सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले सहभागी उद्यमीका सुझावहरू नीति निर्माणमा प्राथमिकताका साथ समावेश गरिने बताएका छन्।
कार्यक्रममा सहभागी उद्यमीहरूले व्यवसाय सञ्चालनमा भोगिरहेका समस्याहरू, वित्तीय पहुँचको अभाव, र कर्जाको सहजता जस्ता महत्वपूर्ण विषयमा आफ्ना अनुभव र विचार राखेका थिए।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij