Logo

Jun 20 2025 | २०८२, असार ६गते

Jun 20 2025 | २०८२, असार ६गते

images

पहिलो पटक नेपालमा आलुबाट बनेको फ्रेन्च फ्राइजको निर्यात हुन सुरु

पहिलो पटक नेपालमा आलुबाट बनेको फ्रेन्च फ्राइजको निर्यात हुन सुरु

  • काठमाडौँ । आलु कच्चा पदार्थ  हुने  उद्योगले फ्रेन्च फ्राइजलगायतका उत्पादन गरी विदेशमा निर्यात गर्न थालेको छ । नेपालमा पहिलो पटक फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योगको रूपमा स्थापित  फस्र्ट च्वाइस फुड्स प्रालिले रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४मा उत्पादित आलुजन्य उत्पादनहरूको भारतीय बजारमा निर्यात थालिएको जनाएको हो ।

    उद्योगका सञ्चालक तथा अध्यक्ष कृष्णप्रसाद पौडेलले जनाए अनुसार पछिल्लो तीन महिनामा १० कन्टेनर फ्रेन्च फ्राइज भारत निर्यात भइसकेको छ। यो उत्पादनले नेपालमा पूर्ण रूपमा आयातमा हुने फ्रेन्च फ्राइजको परनिर्भरतामा कमी आउने र निर्यात बजारमा हिस्सा ओगटन सक्ने विश्वास अध्यक्ष पौडेलको छ ।

    गत फागुनदेखि व्यावसायिक उत्पादन सुरू गरेको उद्योगले बिहीबार काठमाडौंमा किसान, वितरक, नीति निर्माता र सरोकारवालाहरूसँग आफ्ना उत्पादनसम्बन्धी जानकार सार्वजनिक गर्न एक कार्यक्रम गरेको थियो । उद्योगले फ्रेन्च फ्राइज, आलु टिक्की, स्माइलीज र ह्यास ब्राउन उत्पादन गर्छ। 

    युरोपेली प्रविधिमा आधारित खाद्य प्रशोधन उद्योगको रूपमा यो उद्योग नेपालमा पहिलो पटक स्थापित भएको  हो। यो करिब पाँच बिगाहा जमिनमा फैलिएको छ ।  भवन ६० हजार वर्ग फिटको छ । पूर्ण क्षमता विस्तारका लागि २ अर्बभन्दा बढी लगानी आवश्यक छ। हालसम्म करिब डेढ अर्ब लगानी भएको जनाइएको छ । यसमा ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत स्वपुँजी छ। उद्योगमा अहिले २ सय जनाले रोजगारी पाएको जनाइएको छ ।

    यो उद्योगले नेपालमै पहिलोपटक ब्रान्ड रेपुटेसन कम्प्लायन्स ग्लोबल स्ट्यान्डर्ड (बिआरसिजिएस) प्रमाणपत्र प्राप्त गरेको छ। यो खाद्य सुरक्षा र गुणस्तरको विश्वव्यापी मानक हो। हाल दैनिक ३० देखि ४० हजार किलो फ्रेन्च फ्राइज उत्पादन भइरहेको छ ।पौडेल मध्यमवर्गीय परिवारका हुन्। ११ वर्ष भारतमा वैदेशिक रोजगारीमा बिताएर २०५८ मा स्वदेश फर्किएका उनले मासु पसल र पछि मासु प्रशोधन उद्योग सञ्चालन गरे।  उनले अहिले करिब २ अर्ब लगानीमा यो फ्रेन्च फ्राइज उद्योग स्थापना गरेका हुन् ।

    french fries.jpg

     उत्पादन सार्वजनिक कार्यक्रममा सहभागी भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो उद्योगले मध्यमवर्गीय उद्यमीको सम्भावना दर्शाएको जनाए । उद्योगले भारतको उत्तराखण्डस्थित पाल फ्रोजन ग्रुपमार्फत फ्रेन्च फ्राइज निर्यात गर्छ। साउदी अरबिया, मलेसिया, अमेरिका र दुबईमा निर्यात गर्ने  तयारी भइरहेको पौडेलले जनाए । नेपालमा काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी, दाङ र नेपालगञ्जमा ५ वितरक, १२ चेन रेस्टुरेन्ट, १५० भन्दा बढी सप्लायर, ४०० रेस्टुरेन्ट र १७१ आधुनिक मार्टमार्फत बजार विस्तार गरिएको छ। कार्यक्रममा कतिपय सहभागीहरूले आलु उत्पादनको निर्यात उद्योग नेपालमा स्थापित गरिएबाट अचम्म मानेका थिए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij