
काठमाडौं। विश्वव्यापी साइबर सुरक्षामा गम्भीर खतरा देखा परेको छ। हालै सार्वजनिक गरिएको एक रिपोर्ट अनुसार, करिब १६ अर्बभन्दा बढी पासवर्ड र लगइन विवरण इन्टरनेटमा चुहावट भएको पुष्टि भएको छ। यो हालसम्मकै सबैभन्दा ठूलो साइबर डाटा लीकको घटना भएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
फोर्ब्स डटकममा प्रकाशित समाचार अनुसार, चुहिएको डाटामा विश्वका प्रमुख प्रविधि कम्पनीहरूसहित सामाजिक सञ्जाल, VPN सेवा, डेभलपर पोर्टल र अन्य निजी प्लेटफर्महरूका प्रयोगकर्ताका संवेदनशील विवरण समावेश छन्।
अनुसन्धानकर्ता भिलियस पेटकाउसकसले बताएअनुसार, यी विवरणहरू ३० फरक डाटासेटमा विभाजित छन्, जसमा प्रत्येकमा दशौं लाखदेखि तीन अर्बभन्दा बढी डाटा रहेका छन्। “यो केवल पुरानो ह्याकको पुनःप्रयोग होइन,” पेटकाउसकस भन्छन्, “यो नयाँ, प्रयोगयोग्य र जोखिमयुक्त सूचना हो, जुन साइबर आक्रमणको स्पष्ट नक्सा बन्न सक्छ।”
विशेषज्ञहरूले यी डाटा चोरी इनफोस्टिलर (Infostealer) नामक ह्याकर समूहहरूले गरेका हुनसक्ने बताएका छन्। चोरी गरिएको पासवर्ड डार्क वेबमा खुलेआम बिक्रीमा राखिएको हुनसक्ने चेतावनी दिइएको छ।
यस्ता पासवर्ड प्रयोग गरी बैंक खाता, सामाजिक सञ्जाल, कार्यालय प्रयोग प्रणाली, र ईमेल जस्ता खाताहरूमा पहुँच प्राप्त गर्न सकिने खतरा रहेको जनाइएको छ।
यस किसिमको पासवर्ड चुहावटमा नेपालबाट प्रयोग हुने विभिन्न अन्तर्राष्ट्रिय प्लेटफर्महरूको प्रयोगकर्ता डेटा पनि परेको हुनसक्ने विज्ञहरू बताउँछन्। नेपाली प्रयोगकर्तालाई समेत तत्काल सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको छ।
साइबर सुरक्षाविद्हरूले निम्न सल्लाह दिएका छन्:
पुराना पासवर्डहरू तत्काल परिवर्तन गर्नुहोस्।
जहाँसम्भव दुई तहको प्रमाणीकरण (2FA) अनिवार्य रूपमा प्रयोग गर्नुहोस्।
प्रत्येक खाताका लागि फरक र बलियो पासवर्ड राख्नुहोस्।
पासवर्ड म्यानेजर प्रयोग गर्नुहोस्।
अपरिचित लिंक, ईमेल वा सन्देशहरूमा क्लिक नगर्नुहोस्।
यसअघि मे २३ मा प्रकाशित एक रिपोर्टमा १८ करोड ४० लाख पासवर्ड चुहिएको उल्लेख गरिएको थियो, तर अहिलेको यो खुलासा त्यसको कैयौं गुणा बढी र खतरनाक मानिएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij