
काठमाडौँ /विराटनगर । भारत राजस्थानका बलदेव चौधरीले सुनसरीको इटहरीमा खोलेको राजस्थान स्टोनेजले भन्सार महसुल छली गरेको अभियोगमा १६ लाख रुपैयाँ जरिवाना तिर्नुपरेको छ।राजस्थान स्टोनेजले भन्सारमा जाँचपासका लागि ल्याएको वस्तुको तौल गलत घोषणा गरेर महसुल छली गर्न खोजेकोले जरिवाना तिर्न लगाइएको हो । कम्पनीले ग्रिन च्यानलबाट आउने वस्तुमा महसुल छली गर्न खोजे मूल्यको ५०० प्रतिशतसम्म जरिवाना लाग्ने कानुनी प्रावधानका कारण चौधरीलाई १६ लाख बुझाउनु परेको हो।
विराटनगर भन्सारका प्रमुख उमेश श्रेष्ठले जानकारी सार्वजनिक गरे अनुसार राजस्थान स्टोनेजले १६ लाख रुपैयाँ जरिवाना बुझाएर सामान छुटाएको छ । उक्त उद्योगलाई मूल्यको ४०० प्रतिशत जरिवाना, महसुल र महसुलको शतप्रतिशत जरिवाना गरि १६ लाख रुपैयाँ जरिबाना तिराइएको छ ।अन्य उद्योगले भन्दा राजस्थान स्टोनेजले आफ्ना तयारी ग्रेनाइट बजारमा सस्तोमा बिक्री गर्दै आएको थियो।
यस उद्योगले लागत मूल्यभन्दा पनि कममा किन तयारी वस्तु बिक्री गर्छ भनेर खोज्दै जाँदा उसले कच्चा पदार्थ ढुंगा आयात गर्दा महसुल छल्ने गरेको पाइएको अनुसन्धानबाट खुलेको थियो। यसपछि सुराकीले राजस्थान स्टोनेजले जाँचपासका लागि ल्याएको ढुंगा तौल गरेर मात्र छाड्न भन्सार कार्यालयलाई भने अनुसार गर्दा छली समातिन पुगेको छ ।विराटनगर भन्सार कार्यालयका अनुसार गुनासो आइरहेको थियो। त्यसैले सो कम्पनीको ढुंगा आएपछि तौल गरेर मात्र जाँचपास गर्ने अडान लिइयो । तौल गर्दा घोषणा गरेभन्दा कम पाइयो ।
भन्सार ऐन अनुसार सामान्यतया वस्तु रातो, हरियो र पहेँलो गरी तीन वटा च्यानलबाट जाँचपास गरिन्छ। रातो च्यानलबाट जाँचपास गर्नेले वस्तुको परिमाण ठगी गरेमा मूल्यको २०० प्रतिशतसम्म जरिवाना हुन्छ। तर, हरियो र पहेँलो च्यानल प्रयोग गर्नेले ठगी गरेमा उक्त २०० मा थप ३०० प्रतिशत पनि थपिएर मूल्यको ५०० प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ ।
सामान्यतया औद्योगिक कच्चा पदार्थ हरियो (ग्रिन) च्यानलबाट जाँचपास हुने परम्परा अनुसार राजस्थान स्टोनेजले यही च्यानल प्रयोग गर्दै आएको थियो। तर उद्योगका सञ्चालक चौधरीले भने भन्सार कार्यालयले आफूलाई पूर्वाग्रह राखेर जरिवाना गराएको दाबी गरेका छन् । उनका अनुसार राजस्थानबाट ढुंगा पठाउने कम्पनीले नै बिलमा तौल कम उल्लेख गरेको रहेछ। यस्तो समस्या कहिलेकाहीँ आउँछ। यो विषय भन्सार प्रमुखलाई बारम्बार जानकारी गराइयो । तर प्रमुखबाट पूर्वाग्रही व्यवहार गरियो ।
साथै उनले भन्सार कार्यालयको यस मनोमानीविरूद्ध न्यायिक निरूपणमा जाने जनाएका छन् । तर उनको भन्सार चेकजाँच गराउने भन्सार एजेन्ट भन्सार एजेन्ट तारा पुलामी यसअघि निलम्बनमा परेका एजेन्ट हुन् ।पुलामीका अनुसार राजस्थान स्टोनेजले ढुंगा निर्यात गर्ने कम्पनीले गरेको गल्तीको सजाय भोग्नुपरेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij