
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार १० मंगलबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....
लेखा समितिको निर्णयका कारण कम्तीमा २३वटा कम्पनी आईपीओ निष्कासन गर्नबाट वञ्चित
काठमाडौँ । लेखा समितिको कम्पनीको नेटवर्थ ९० वा सो भन्दा कम भएको कम्पनीको आईपीओ अनुमति नदिनु भनी गरिएको निर्णयका कारण विभिन्न २३ वटा कम्पनी समस्यामा परेका छन् ।जलविद्युत कम्पनी ७ , होटल ५ र प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न लागेका ११ वटा कम्पनीको सेयर निष्कासन उक्त निर्णयबाट स्थगनमा परेका हुन् । धितोपत्र बोर्डका अनुसार लेखा समितिले २०८० पुस १३ गते दिएको निर्देशनले २३ कम्पनीको आईपीओ निष्कासन रोकिएको हो ।
ह्याविट्याट पावर कम्पनीको विशेष साधारण सभा असार २५ गते, आईपीओ र हकप्रद शेयर निष्कासनको तयारी
काठमाडौं । ह्याविट्याट पावर कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। कम्पनीको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित विभिन्न महत्त्वपूर्ण एजेन्डा पारित गर्न विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो। सो विशेष साधारण सभा आगामी असार २५ गतेका लागि तय गरिएको छ।
कम्पनीले जारी पूँजी वृद्धि गर्ने र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गर्नेछ। साथै, आईपीओ तथा हकप्रद शेयर सम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई जिम्मेवारी दिने प्रस्ताव समेत सभामा पारित गरिनेछ। प्रबन्धपत्र संशोधनसम्बन्धी प्रस्ताव पनि एजेन्डामा समावेश गरिएको छ।
शेयर बजार : नेप्से परिसूचकमा १.०८ अंकले बढेर २६०१.८४ बिन्दुमा, ५ अर्ब ७६ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा १.०८ अंकले बढेर २६०१.८४ बिन्दुमा आएको छ । आज ५ अर्ब ७६ करोड बढीको सेयर कारोबार भएको छ ।
यस दिन ३ सय १६ कम्पनीको १ करोड ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा बुटवल पावर कम्पनी अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत कम्पनी र हिमालयन पावर पार्टनर परेका छन् ।
इजरायलले युद्धविराम प्रस्तावमा सहमति जनाएपछि तेलको मूल्यमा गिरावट
टोकियो ।इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग द्विपक्षीय युद्धविरामको प्रस्तावमा सहमति जनाएको बताएपछि मङ्गलबार तेलको मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।
इजराइल र यसको कट्टर शत्रु इरानबीच १२ दिने युद्धपछि ऊर्जा बजारको झट्काको डर कम भएको छ ।
नेपाललाई लगानी गन्तव्यका रूपमा प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह
काठमाडौँ ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाललाई लगानी गन्तव्यका रूपमा प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ ।
आज अध्यक्ष ढकाल र दक्षिण अफ्रिकाको भारतका लागि उच्चायुक्त तथा नेपालका लागि राजदूत प्रो अनिल सुकलालसँग भएको भेटवार्ताका क्रममा उहाँले नेपाल विशेष गरी पर्यटन पूर्वाधार विकासका क्षेत्रमा दक्षिण अफ्रिकी लगानीकर्ताका लागि उत्कृष्ट सम्भावना रहेको उल्लेख गर्दै त्यहाँका व्यवसायीलाई नेपालमा लगानी प्रवर्द्धन गर्न सहयोग गरिदिन आग्रह गर्नुभयो ।
उहाँले नेपाल र दक्षिण अफ्रिकाबीचको व्यापार अहिले सीमित भए पनि दुवै मुलुकबीचको व्यापारिक सम्बन्धलाई विस्तार गर्ने स्पष्ट सम्भावना रहेको तथा नेपालमा कृषि प्रशोधन, जलविद्युत्, पूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रमा आकर्षक लगानी अवसर रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले पर्यटनलाई नेपालको सबैभन्दा प्राकृतिक रूपमा सम्पन्न क्षेत्रका रूपमा रहेको बताउनुभयो ।
प्रतिनिधिसभामा दुई विधेयक स्वीकृत , अर्को बैठक असार १४ गते
काठमाडौँ । प्रतिनिधिसभाको बैठकले दुई विधेयकलाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको हो ।
त्यस्तै उहाँले नै प्रस्तुत गर्नुभएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकले सर्वसम्मत स्वीकृत गरेको छ । उपप्रधानमन्त्री पौडेलले प्रस्तुत गर्नुभएको उक्त प्रस्तावहरूमाथिको छलफलमा यस अघि सांसदहरू अमनलाल मोदी, भगवती चौधरी, राजेन्द्र केसीले भाग लिई आफ्ना धारणा राख्नुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १४ गते बिहान ११ बजे बस्नेछ ।
धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिनेछ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा र सिरहामा जोड्ने कमला पुल सकेसम्म छिट्टै निर्माण गरिने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक तथा खर्च कटौतीको प्रस्तावको सम्बन्धमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका विभिन्न निकायसँग सम्बन्धित छलफलमा सांसदहरूको स्पष्टीकरणमाथि जवाफ दिँदै उहाँले उक्त पुल छिटो बन्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
एलएस अटोको एलईभी ०१ मोडलका गाडीहरू नेपाल भित्रिए
काठमाडौँ । एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो एक नयाँ ऊर्जा सवारी साधन कम्पनी हो। विगत २५ वर्षदेखि विभिन्न ब्रान्डको अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण उत्पादन जस्ता सम्पूर्ण काम (टर्नकी प्रोजेक्ट) गर्दै आएको छ। कम्पनीले आफ्नै अटोमोबाइल ब्रान्डको इभी तयार गरेको हो। संघाइ लन्च अटोमोटिभले चीनमा अटोमोबाइल मात्र होइन, उच्च गतिमा चल्ने रेल, हेलिकप्टर डिजाइनसम्ममा सहभागिता जनाएको छ। यो कम्पनीको जियाङसी प्रान्तमा वार्षिक १ लाख ५० हजार उत्पादन क्षमता भएको आफ्नै कारखाना रहेको छ। कम्पनीले युरोपेली बजार लक्षित गर्दै टर्कीमा समेत उत्पादन प्लान्ट स्थापना गर्दैछ। कम्पनीले अहिलेसम्म नेपालसहित युएइ, मौरिसस, टर्की, इजिप्ट, नाइजेरिया, कजाकिस्तान र अन्य ११ देशमा आफ्नो उपस्थिति जनाइसकेको छ।
लेखा समितिको निर्णयका कारण कम्तीमा २३वटा कम्पनी आईपीओ निष्कासन गर्नबाट वञ्चित
काठमाडौँ । लेखा समितिको कम्पनीको नेटवर्थ ९० वा सो भन्दा कम भएको कम्पनीको आईपीओ अनुमति नदिनु भनी गरिएको निर्णयका कारण विभिन्न २३ वटा कम्पनी समस्यामा परेका छन् ।जलविद्युत कम्पनी ७ , होटल ५ र प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न लागेका ११ वटा कम्पनीको सेयर निष्कासन उक्त निर्णयबाट स्थगनमा परेका हुन् । धितोपत्र बोर्डका अनुसार लेखा समितिले २०८० पुस १३ गते दिएको निर्देशनले २३ कम्पनीको आईपीओ निष्कासन रोकिएको हो ।
लेखा समितिले आईपीओमा जान लागेका कम्पनीको नेटवर्थ ९० वा सोभन्दा कम भएको सेयर निष्कासन गर्न नदिनु भनी निर्णय गरेको थियो । समितिको निर्देशनका कारण रिचेत जलविद्युत कम्पनीको सेयर निष्कासन सार्वजनिक लेखा समितिले २०८० पुस १३ गते देखिएको निर्देशनअनुसार अघि नबढेको हो । आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षण भएको रिपोर्टअनुसार कम्पनीको नेटवर्थ ९० भएको भन्दै नयाँ नेटवर्थ अपडेट गराउनुभन्दै फागुन ९ गते पत्र काटेको छ । लेखा समितिको निर्देशनका कारण बेनी हाइड्रो पावर कम्पनीले पनि आईपीओ अनुमति पाएको छैन । फागुन ९ गते पत्र काट्दै हाल नेटवर्थ ९० रहेकाले लेखापरीक्षण भएको आव २०८०÷८१ को रिपोर्टअनुसार विवरण पठाउन पत्र काटेको छ ।
मौद्रिक नीति ल्याउन अघि सुधार गर्ने संकेत दिए गभर्नर डा. पौडेल
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन अघि सुधार गर्ने संकेत दिएको छ । गभर्नर डा. विश्वनाथ पौडेललाई उद्योगी व्यवसायीहरूले मौद्रिक नीतिमार्फत समस्या समाधान गर्न गरेको आग्रह पछि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक निर्देशनबाट यस्तो संकेत दिएको हो ।
राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्न थोरै समय बाँकी रहेको छ । उनले त्यस अघि सेयर बजार लगायत क्षेत्रमा लगानीकर्ताका केही माग पुरा गरेका छन् । लगानीकर्ताले दुई वर्ष अघिदेखि राख्दै आएको माग एकै पटक सम्बोधन गरिएको छ ।
अर्बिट इनर्जी लिमिटेडले गर्ने भयो आईपीओ निष्कासन, विशेष साधारण सभा असार २० गते
काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। असार ८ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओसहित अन्य विविध प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा कम्पनीको रजिस्टर्ड कार्यालय हाँडीगाउँ, काठमाडौंमा दिउँसो ३ बजे आयोजना गरिनेछ।
कम्पनीले आईपीओसँगै हकप्रद शेयर पनि जारी गर्ने प्रस्ताव ल्याएको छ। यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया तथा जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश गरिनेछ।
सिङ्गापुरका प्रधानमन्त्रीलाई ‘आधिपत्य’ विरुद्ध लड्न चिनियाँ राष्ट्रपति सीको आग्रह
बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा भएको भेटमा सिङ्गापुरका प्रधानमन्त्रीलाई व्यापारमा ‘आधिपत्य’ र संरक्षणवाद विरुद्धको लडाइँमा सामेल हुन आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री लरेन्स वोङको चीनको पहिलो आधिकारिक भ्रमण बिहीबारसम्म हुनेछ ।
उहाँले मङ्गलबार बिहान बेइजिङको भव्य ग्रेट हल अफ द पिपलमा सीसँग भेट गर्नुभयो । राज्य प्रसारक सिसिटिभीका अनुसार भेटमा सीले चीन र सिङ्गापुरलाई ‘इतिहासको सही पक्षमा र निष्पक्षता र न्यायको पक्षमा उभिन’ काम गर्न आग्रह गर्नुभयो ।
काठमाडौं आकाशमा घुमिरह्यो ल्हासाबाट आएको विमान, तेज हावाले अवतरणमा अवरोध
काठमाडौं । चीनको ल्हासाबाट काठमाडौं आउँदै गरेको हिमालय एयरलाइन्सको एक विमान निर्धारित समयमै अवतरण गर्न असमर्थ भएको छ। विमान १२:३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम भए तापनि, तीन बजेसम्म पनि नेपाली आकाशमै घुमिरहेको देखिएको छ।
विमान अवतरण हुन नसक्नुको मुख्य कारण काठमाडौंको आकाशमा रहेको अत्यधिक हावाको गति भएको जनाइएको छ। तेज हावाका कारण विमानस्थलमा अवतरणका लागि आवश्यक सुरक्षित वातावरण तयार हुन सकेको छैन। मौसम प्रतिकूल हुँदा विमानहरूलाई निर्धारित समयभन्दा लामो समय आकाशमा होल्ड गरिनु पर्ने अवस्था आउने गरेको छ।
संस्थागत लगानीकर्ताहरूका लागि प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटललगायतमा लगानीका क्षेत्र विस्तार गरिँदै
काठमाडौँ । संस्थागत लगानीकर्ताहरूका लागि प्राइभेट इक्विटी िर भेन्चर्स क्यापिटललगायतमा लगानीका क्षेत्र विस्तार गर्न सरकारले पहल अगाडि बढाएको छ । नयाँ विस्तारले पुँजी बजारमा लगानी बढाइरहेका संस्थागत लगानीकर्ताहरुले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलमा रकम प्रवाह गर्न पाउने छन् ।
बैंकहरुले कर्जाको माग बढ्न नसकेका कारण ब्याजदर घटाउँदै आएका छन् । ब्याजदर घटदै गएपछि सेयर बजारमा कर्जा प्रवाह गर्न बाध्य भएका संस्थागत लगानीकर्ताका लागि सरकारले लगानीका क्षेत्र बढाउन लागेको बुझिएको हो ।सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न दिनका आवश्यक बन्देज हटाउन कानुन संशोधन गर्न लागिएको सम्बद्ध स्रोतले जनाएको छ ।सम्बन्धित ऐन संशोधनका लागि तयार पारिएका मस्यौदाहरूबारे अर्थ मन्त्रालयमा छलफल अगाडि बढाइएको छ।
उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको होः गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले उपलब्ध स्रोतको सीमामा रहेर बजेट विनियोजन गरिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत गृह मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकमाथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले बजेटको सीमाका कारण शतप्रतिशत माग सम्बोधन हुन नसकेको बताउनुभयो ।
‘लालीबजार’ मा स्वस्तिमा
काठमाडौँ । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको ब्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित हुनुभएको छ । निर्माण पक्षले आज एक पोस्टर सार्वजनिक गर्दै अभिनेत्री खड्काको सो चलचित्रमा अभिनय रहने बताएको छ ।
अभिनेत्री खड्काले आफू देखिएको पात्रभन्दा भिन्न रहेकाले चलचित्रमा अभिनय गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला चलचित्रको तुलनामा यसपटक फरक स्वस्तिमा देख्नुहुनेछ । अभिनेत्रीका रुपमा हामीलाई फरक काम गर्ने इच्छा हुन्छ तर, त्यस्तो भूमिका र विश्वसनीय निर्माण समूह कमै पाइन्छ । यसपटक कथावस्तुसहित समग्र विषय उपयुक्त भएकाले काम गर्न लागेकी हुँ ।”
वैदेशिक रोजगार ठगीको मुद्दाको सम्बोधन गर्न संस्थागत संरचनामा विस्तारकार्य अघि बढाएका छौँ’ : सुरक्षामन्त्री शरत सिंह भण्डारी
काठमाडौँ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले वैदेशिक रोजगार ठगीको विषयलाई सम्बोधन गर्न नीतिगत व्यवस्था मिलाउनुपर्ने आवश्कता औँल्याउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत यस मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले वैदेशिक रोजगार ठगीका मुद्दालाई सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयलाई थप जिम्मेवारी दिइने बताउनुभयो । वैदेशिक रोजगार विभागमा हाल करिब ३६ हजार वैदेशिक रोजगार ठगीका मुद्दा दर्ता भएको र कानुनको छिद्रलाई आधार मानेर ठगी गर्नेको क्रम बढ्दो छ ।
इजरायल–इरान १२ दिने युद्ध अन्त्यतर्फ: ट्रम्पको मध्यस्थतामा युद्धविराम घोषणा
बिरसेबा ।तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने युद्धको अन्त्य गर्नेछ ।
दुवै पक्षले सम्झौता स्वीकार गर्नुअघि तेहरानले इजराइललाई लक्षित गरी अन्तिम मिसाइल आक्रमण गरेपछि मंगलबार बिहान कम्तीमा चार जनाको मृत्यु भएको थियो भने इजरायलले बिहान हुनुअघि इरानभरका ठाउँहरुलाई लक्षित गरेर हवाई आक्रमण गरेको थियो ।
खाडी मुलुकको आकाश खुलेसँगै त्रिभुवन विमानस्थलमा अलपत्र यात्रु गन्तव्यतर्फ
काठमाडौं।कतारको ‘एयरस्पेस’ अस्थायी रूपमा बन्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रुहरू आजदेखि गन्तव्यतर्फ जान थालेका छन्।
नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका कतार गन्तव्यका उडानहरू अचानक रद्द भएपछि सयौँ यात्रु विमानस्थलमै रोकिएका थिए। इरानको आक्रमणपछि कतारले आफ्नो आकाश बन्द गरेकाले यस्तो अवस्था सिर्जना भएको हो।
भिजिट भिसा प्रकरण: छानबिनका लागि गठित उच्चस्तरीय समितिको कार्यादेशबारे संसदलाई जानकारी
काठमाडौँ।गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे गठित उच्च स्तरी छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले सो समिति गठन र कार्यादेशका बारेमा जानकारी गराउनुभएको हो ।
उहाँले भन्नुभयो, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हाल भइरहेको अनुसन्धानकार्यमा असर नपर्ने गरी अध्यागमन व्यवस्थापन, भिजीट भिसालगायत अन्य भिसा र सोबाट सृजित समस्याका सम्बन्धमा अध्ययन एवं छानबिन गरी देहायका क्षेत्रमा केन्द्रीत रही सुझावसहितको प्रतिवेदन पेश गर्ने समितिको कार्यक्षेत्र रहेको छ ।”
सबै राजनीतिक दलका प्रमुख सचेतकलाई 'एसएमएस' पठाएर अन्तिमपटक खबरदारी
काठमाडौं । सरकारले बजेटमा ल्याएको विद्युत खरिद सम्झौतामा 'टेक एण्डे पे' (लिउ र तिर) प्रावधान फिर्ता लिन ऊर्जा उद्यमीहरुले सबै राजनीति दलका प्रमुख सचेतकलाई 'एसएमएस' पठाएर अन्तिमपटक खबरदारी गरेका छन् ।संसदबाट बजेट पारित हुने दिन अन्तिमपटक नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी र जनता समाजवादीका प्रमुख सचेतकलाई ऊर्जा उद्यमीहरूले एकैपटक एसएमएस पठाएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष एवं आन्दोलन समितिका संयोजक मोहनकुमार डाँगीले जानकारी दिए ।
मंगलबार छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ५०० रुपैयाँ कायम
काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले रुपैयाँले घटेर १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । यता, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर २१ सय ६० रुपैयाँ कायम भएको छ ।
हिमालयन लाइफ इन्सुरेन्सले प्रस्ताव गर्यो ८% नगद लाभांश, साधारण सभा आज नक्सालमा
काठमाडौं। हिमालयन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आज वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभा काठमाडौंको नक्सालस्थित आम्रपाली बैंक्वेटमा बिहान १०:३० बजे सुरु हुने जानकारी गराइएको छ।
यस वर्षको साधारण सभामा कम्पनीले आफ्ना शेयरधनीहरूलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ। लाभांश प्रस्तावित रकम कम्पनीले अघिल्लो आर्थिक वर्षमा हासिल गरेको नाफाबाट वितरण गरिनेछ।
व्यवसायीको मागमा राष्ट्र बैंकको सुनुवाइ, चालु पुँजी कर्जाको समयसीमा २०८३ असारसम्म विस्तार
काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनमा लचकता अपनाउँदै कार्यान्वयन म्यादमा एक वर्षको अवधि थप गरेको छ। केन्द्रीय बैंकले सोमबार जारी गरेको परिपत्रमार्फत बैंकर तथा व्यवसायीहरूका मागलाई सम्बोधन गर्दै, अब यो नीति आगामी आर्थिक वर्ष २०८३ को असार मसान्तसम्म लागू हुने स्पष्ट पारेको छ।
यसअघि निर्धारित म्याद अनुसार व्यवसायीहरूले चालु पुँजी कर्जालाई २०८२ असारभित्रै समायोजन गर्नुपर्ने बाध्यता थियो। तर, समयमै समायोजन गर्न कठिन हुने भन्दै व्यवसायीहरूले समय थपको माग गर्दै आएका थिए। गभर्नर विश्वनाथ पौडेलको नेतृत्वमा बैंकले उक्त मागलाई सम्बोधन गर्दै नीतिमा आवश्यक परिमार्जन गरेको हो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij