
काठमाडौँ ।समय सीमा थपेको विषयलाई धेरै व्यवसायीहरुले सकारात्मक रुपमा लिएका छन्। पूर्व बैंकर एवम् अर्थविद् अनलराज भट्टराईले पनि नयाँ गभर्नरले उद्योगी व्यवसायीको आवश्यकता अनुसार नै केन्द्रीय बैंकले चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई संशोधन गरेको बताउँछन्। बैकर र व्यवसायीहरुको चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनको कारण व्यवसाय सञ्चालनमा कठिनाई रहेको र यसलाई समीक्षा गर्नुपर्छ भन्ने मागकै आधारमा संशोधन गरिएको हो भन्ने अर्थविद् भट्टराईले बताए।
केन्द्रीय बैंकले नेपालको अर्थतन्त्रको अवस्था हेरेर अगाडि बढ्न खोजेको संकेतको रुपमा बुझ्नुपर्छ भन्ने उनको भनाइ छ। धेरैले चालु पुँजी कर्जालाई राष्ट्र बैंकले तोकेको सीमा भित्र ल्याइसकेको भए पनि क्यास रिकभरी साइकलमा विद्यमान समस्या, एसएमई क्षेत्रमा समस्याका कारण उधारो असुलीमा कठिनाइ भएकाले चालु पुँजी कर्जा मार्गदर्शनलाई संशोधन गर्नैपर्ने अवस्था आएको थियो। राष्ट्र बैंकको अहिलेको नीतिले उद्योगी व्यवसायीमा सकारात्मक सन्देश दिएको छ।
नेपालमा निक्षेपकर्ताको हकहितमा धेरै आवाज उठाउने गरिन्छ, तर ऋणीको हकहितको पक्षमा खासै आवाज उठाइएको पाइँदैन। वास्तवमा निक्षेपको उपभोग गरेर बैंकलाई कमाउन प्रत्यक्ष योगदान गर्ने त ऋणी नै हुन्। ऋणीहरुलाई पनि विषम परिस्थितिले असर गर्छ। व्यापार व्यवसायमा सहजीकरण हुनु भनेको नै बैंकको व्याज असुली हुनु हो। यो भनेको निक्षेपकर्ताले सही ढंगले प्रतिफल पाउनु हो। अहिलेको विषम परिस्थितिमा ऋणी मात्र होइन, निक्षेपकर्ताले पनि न्यून व्याजको मार भोग्नु परेको छ।
यस्तै समस्याका कारण बैंकको ऋण बढ्न सकेन। ऋणको माग नबढ्दा एकातिर निक्षेपकर्ताको व्याज घटेको छ भने व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताको आम्दानी घटेपछि त्यसको मागमा फेरि पनि सर्वसाधारण लगानीकर्ता परेका छन्। कर्जा लिने ऋणीलाई सहजीकरण गरियो भने अर्थतन्त्र अगाडि बढ्छ। तिनीहरुले ऋणको सही सदुपयोग गरेर रोजगारी सिर्जना गर्छन् र उत्पादन वृद्धि गर्छन्। जुनसुकै नीतिले ऋणीलाई सहयोग गरेमा त्यसले समग्र अर्थतन्त्रमा आत्मविश्वास, रोजगारी, उत्पादन र आर्थिक क्रियाकलाप वृद्धि गर्नेछ। यसले बैंकको नाफामा पनि वृद्धि हुनेछ। खराब कर्जा घट्ने र कर्जा नोक्सानी व्यवस्था कम हुँदा खुद नाफा बढ्नेछ जसले लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्छ।
यदि यो सर्कुलर नआएर ऋणीले तिर्नुपर्ने रकम नतिरेको अवस्थामा खराब कर्जामा वर्गिकरण गर्नुपर्ने थियो भने बैंकको खराब कर्जा बढ्ने थियो। यसले कर्जा नोक्सानी व्यवस्थामा ठूलो रकम जान्थ्यो र बैंकको नाफामा असर पर्थ्यो। धेरै रकम कर्जा नोक्सानीमा छुट्याउनु पर्दा बैंकको पुँजी कोषमा दबाब पर्ने थियो। बैंकको नाफा घट्दा सरकारको राजस्वमा पनि असर पर्न सक्ने थियो। यसले सबैतिर नकारात्मक प्रभाव पार्ने थियो। अब ऋण तिर्नुपर्ने समय पनि पछि धकेलिएपछि खराब कर्जा नबढ्ने भयो।
बैंकिङ क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो। अर्थतन्त्रमा पैसा चलायमान गर्ने काम बैंकले गर्छ। यो हाम्रो शरीरमा रक्त सञ्चार जस्तै हो। केन्द्रीय बैंकले रक्त सञ्चारमा अवरोध गर्ने विभिन्न नीतिहरूले अर्थतन्त्रलाई गतिशील हुनबाट रोक्दै आएको थियो। अब अवरोधहरू खुल्दै गइरहेका छन् र अर्थतन्त्र सुधारतर्फ अगाडि बढ्ने संकेत देखिन्छ। विस्तारै अर्थतन्त्र चलायमान हुनेछ र सकारात्मक नतिजा ल्याउनेछ भन्नेमा अर्थविद् भट्टराई आशावादी छन्।
यता पूर्व बैंक पर्शुराम कुँवर क्षेत्रीले चालु पुँजी कर्जा मार्गदर्शनमा भएको संशोधनले बैंकलाई मार्ग प्रशस्त गरेको प्रतिक्रिया दिएका छन्। उनले भने, “मार्गदर्शनमा आएको संशोधनले बैंकर र ऋणी दुवैलाई सहजता प्रदान गरेको छ। ऋण तिर्ने समय पछाडि सारिदिएकाले प्रोभिजनिङ गर्नुपर्ने रकम बचत हुनेछ र बैंकको नाफा केही वृद्धि हुने देखिन्छ।”
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij