Logo

Jun 27 2025 | २०८२, असार १३गते

Jun 27 2025 | २०८२, असार १३गते

images

डिजिटल स्वास्थ्यमा नेपालको पहलबारे मन्त्री पौडेलद्वारा अन्तर्राष्ट्रिय सम्मेलनमा जानकारी

डिजिटल स्वास्थ्यमा नेपालको पहलबारे मन्त्री पौडेलद्वारा अन्तर्राष्ट्रिय सम्मेलनमा जानकारी

  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले थाइल्याण्डको बैंककमा सम्पन्न संयुक्त राष्ट्रसंघीय क्षेत्रीय मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालको डिजिटल स्वास्थ्य प्रणाली सुदृढीकरणका प्रयासहरूबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका छन्।

    सम्मेलनमा बोल्दै मन्त्री पौडेलले स्वास्थ्यसम्बन्धी छरिएका तथ्यांकलाई एकीकृत गर्न नेपालले नीति निर्माणको स्तरमै पहल थालिसकेको उल्लेख गरे। उनले नागरिक परिचयपत्रमा जनसङ्ख्या तथा स्वास्थ्यसम्बन्धी विवरण समेट्ने काम अगाडि बढाइएको बताए।

    “एकीकृत तथ्यांकको अभावमा नीति निर्माणमा चुनौती आइरहेको छ, तर डिजिटल स्वास्थ्य सुधारमार्फत अब यी समस्या क्रमशः हट्दै जानेछन्,” मन्त्री पौडेलले भने। उनले यस कार्यमा अन्तर मन्त्रालयस्तरीय सहकार्यलाई थप सुदृढ बनाइने जानकारी पनि दिए।

    सम्मेलनका क्रममा मन्त्री पौडेलले एसिया–प्रशान्त क्षेत्रका लागि राष्ट्रसंघीय कार्यकारी सचिव अर्मिदा सलिसा अलिसजाभानासँग छुट्टै छलफल गर्दै डिजिटल रुपान्तरणका क्रममा प्राविधिक चुनौती समाधानमा संस्थागत सहकार्यको आवश्यकता औंल्याए।

    स्वास्थ्य मन्त्रालयका सहसचिव ढुण्डीराज निरौलाले पनि नेपालका प्रयासहरूलाई एसिया–प्रशान्त क्षेत्रबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए। उनले चाँडै ल्याउन लागिएको नयाँ जनसंख्या नीतिमा डिजिटल प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारे।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij