Logo

Jun 29 2025 | २०८२, असार १५गते

Jun 29 2025 | २०८२, असार १५गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् असार १४ शनिबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् असार १४ शनिबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार १४ शनिबार  । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक  समाचारहरू...

    विमान दुर्घटनाको आठ दिनपछि पार्टी गरेको भिडियो सार्वजनिक, कर्मचारी कारबाहीको प्रक्रिया सुरु

    नयाँ दिल्ली। अहमदाबाद विमान दुर्घटनाको ८ दिनपछि पार्टी गरेको भिडियो भाइरल भएपछि एयर इन्डियाले आफ्नो ग्राउन्ड ह्यान्डलिङ भेन्चर एआईएसएटीएसका ४ कर्मचारीलाई राजीनामा दिन निर्देशन दिएको छ।

     

    एयर इन्डियाले शुक्रबार एक विज्ञप्तिमा भनेको छ, “हामी दुर्घटनाबाट प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्छौं। भाइरल भिडियोमा देखिएका कर्मचारीहरूको व्यवहार हाम्रो कम्पनीको नीति विपरीत छ। त्यसैले जिम्मेवारहरू विरुद्ध कडा अनुशासनात्मक कारबाही गरिएको छ।”

    भाइरल भिडियो जुन २० मा एयर इन्डियाका कर्मचारीहरूले गुरुग्रामस्थित एआईएसएटीएस कार्यालयमा पार्टी गरेको देखिन्छ। सामाजिक सञ्जालमा यो भिडियो निकै निन्दा र आलोचनाको विषय बनेको छ। प्रयोगकर्ताहरूले एयर इन्डियाको संवेदनशीलतामाथि प्रश्न उठाएका छन्।

    बैंकहरूको आधार दर घट्दै, तर कर्जा प्रवाह अझै सुस्त

    काठमाडौं। पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरूको औसत आधार दर २.०४ प्रतिशत विन्दुले घटेको छ। यसले ग्राहकहरूले बैंकबाट कर्जा लिने ब्याजदरमा पनि कमी आएको छ। तरलता बढे पनि कर्जा माग अपेक्षाकृत कम रहँदा बैंकहरूमा लगानीयोग्य रकम धेरै थुप्रिएको छ।

     

    नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि जेठ मसान्तसम्म कर्जा प्रवाह ८.२३ प्रतिशतले बढेर ४९ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। तर यो वृद्धिदर अपेक्षितभन्दा कम रहेको बताइएको छ। सो अवधिमा निक्षेप संकलन ८.७५ प्रतिशतले बढेर ६२ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ।

    अधिक तरलताका कारण बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाउँदै आएका छन्। यसले स्रोतको लागत र आधार दरमा पनि गिरावट आएको छ। बैंकहरूको औसत आधार दर यस वर्ष असारमा ६.१८ प्रतिशत कायम छ, जुन गत वर्षको असारको ८.२२ प्रतिशतभन्दा कम हो।

    वैदेशिक रोजगारीः ठगीको अभियोगमा पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–९ बस्ने पर्सा सखुवा प्रसौनी गाउँपालिका–६ घर भएका २३ वर्षीय सुनिलकुमार सोनारलाई पक्राउ गरिएको छ । 

    सुनिलले सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट रु १० लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई काठमाडौँ महानगरपालिका–१० बाट बिहीबार पक्राउ गरेको हो ।

    प्रधानमन्त्री ओली ‘विकासका लागि वित्त’ सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा आयोजना हुन लागेको चौथो संयुक्त राष्ट्रसङ्घीय "विकासका लागि वित्तसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (FFD-4)" मा सहभागी हुन २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गर्नुभएको छ। सम्मेलन यही असार १६ देखि १९ गतेसम्म सञ्चालन हुनेछ।

     

    प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति तथा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, मुख्यसचिव एकनारायण अर्याल लगायत उच्चपदस्थ सरकारी अधिकारी र सुरक्षा निकाय प्रमुखहरूले बिदाइ गरेका थिए।

    सङ्खुवासभामा मनसुनजन्य विपद्को पूर्वतयारी

    किमाथाङ्का । सङ्खुवासभामा मनसुनजन्य विपद्बाट क्षति हुन नदिन पूर्वतयारी भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा  पूर्वतयारी गरिएको हो । 

    सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले तत्काल उद्धार तथा खोजका लागि आवश्यक पर्ने उपकरण प्रदेश तथा सङ्घीय सरकारसँग माग गरेको छ । मनसुनजन्य विपद्को समय आवश्यक पर्ने खाद्यान्न तीन महिनासम्म पुग्नेगरी भण्डारण गरिएको छ ।

    बाढीपहिरो तथा कटान हुनसक्ने जोखिमयुक्त क्षेत्रको पहिचान, सम्भाव्य उच्च जोखिममा रहेका बस्तीको पहिचान गरी प्रभावित हुनसक्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण, अत्यावश्यक खाद्य तथा गैरखाद्य सामग्री भण्डारण गर्ने, बाढीको उच्चजोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिने, आपत्कालीन प्रतिकार्यका लागि सामग्रीसहित खोज तथा उद्धार कार्यमा तत्काल खट्न सक्नेगरी जिल्लास्थित सुरक्षा निकाय तयारी अवस्थामा राख्ने निर्णय भएको छ ।

    विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा पुनः प्रवेश, एमाले सदस्यता नवीकरण

    काठमाडौं।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनरागमन गर्दै नेकपा (एमाले) को सदस्यता नवीकरण गरेकी छिन्। उनले लामो समयदेखि चल्दै आएको अड्कलबाजीलाई अन्त्य गर्दै अब पुनः पार्टी राजनीतिमा सक्रिय भूमिका खेल्ने संकेत दिएकी छन्।

     

    जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा राजधानीको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बोल्दै भण्डारीले भनिन्, “फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भइसकेपछि मैले पार्टीको सदस्यता नवीकरण गरेर पुनः एमालेमा सक्रिय हुने निर्णय गरेकी छु।”

    उनले एमाले परिवारको सदस्य हुन पाएकोमा गर्व महसुस भएको बताउँदै, विशिष्ट पद या महत्वाकांक्षा नभएको र देश तथा जनताको सेवा नै आफ्नो मूल लक्ष्य रहेको स्पष्ट पारिन्।

    नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित, आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल नागरिकता ९दोस्रो० विधेयक, २०८२’ लाई बहुमतले पारित गरेको छ। गृहमन्त्री रमेश लेखकद्वारा पेस गरिएको विधेयकले विशेषगरी नेपाली आमाबाट जन्मिएका सन्तानले आमाकै नाममा नागरिकता पाउने व्यवस्था सुनिश्चित गरेको छ।

     

    विधेयकमार्फत अदालतका पूर्वनिर्णयहरूलाई कार्यान्वयनमा ल्याउने प्रयास गरिएको गृहमन्त्री लेखकले स्पष्ट पार्नुभयो। खासगरी वैदेशिक रोजगारमा गएकी महिलाका सन्तान नागरिकता नपाउने समस्याको समाधानका लागि यो कानुन आवश्यक रहेको बताइएको छ।

    नयाँ व्यवस्थाअनुसार विदेशी भूमिमा जन्मिएर नेपालमै बसोबास गर्ने, बाबुको पहिचान नभएका र विदेशी नागरिकता नलिएका व्यक्तिहरूले स्वघोषणाबाट अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछन्। साथै, नाबालक परिचयपत्र पाउने सीमा पनि थप स्पष्ट पारिएको छ।

    प्रतिनिधिसभाः राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित

    काठमाडौँ। राष्ट्र ऋण उठाउने विधेयक, २०८२ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले उत्पादन, उत्पादकत्व वृद्धि र विकास तथा समृद्धिको आकाङ्क्षा पूरा गर्न ऋण लिन आवश्यक रहेको बताउनुभयो । साधारण खर्चका लागि ऋण लिने नभई पुँजीगत खर्चका लागि मात्रै लिनुपर्ने भनेर सदनबाट आएका सुझाव ग्रहणयोग्य रहेका उहाँले उल्लेख गर्नुभयो ।

     

    “उत्पादन र उत्पादकत्व वृद्धि गर्नका लागि ऋण लिने हो । चालु आर्थिक वर्षको र आगामी आर्थिक वर्षको बजेटको स्रोत हेर्ने हो भने आन्तरिक राजस्वले व्यहोर्ने खर्चको दायित्व बढाएर प्रस्ताव गरिएको छ । ऋणबाट व्यहार्ने खर्चको दायित्व घटेको छ”, पौडेलले भन्नुभयो । विगतको ऋणको साँवाब्याज तिर्न बढी रकम खर्च हुने गरेको अर्थमन्त्री पौडेलले बताउनुभयो । उक्त विधेयकमाथिको छलफलको क्रममा सांसद डा प्रकाशशरण महतले सार्वजनिक ऋण बढ्दै जानु र त्यस्तो रकम पुँजी निर्माणमा खर्च हुन नसक्नु गम्भीर समस्याका रूपमा रहेको बताउनुभयो । “हरेक वर्ष आन्तरिक ऋणको आकार बढिरहेको छ । आन्तरिक वा बाह्य ऋण किन लिने हो भन्ने कुरामा सरकार गम्भीर हुन जरुरी छ । साधारण खर्च धान्न आन्तरिक ऋण लिँदै जाने हो भने त्यो दिगो हुँदैन”, उहाँले भन्नुभयो ।

    प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित

    काठमाडौँ । प्रतिनिसभाबाट आर्थिक विधेयक, २०८२ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । उक्त विधेयक बहुमतले पारित भएको हो । आजको बैठकमा आर्थिक विधेयक, २०८२ माथि प्राप्त संशोधनहरु माथि छलफल भएको थियो । संशोधन प्रस्तावमाथिको छलफलका क्रममा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले कर नीतिमा स्थिरता कायम गरी लगानीको वातावरण बनोस् भन्ने उद्देश्यसहित धेरै हेरफेर नभएको बताउनुभयो । करको दायरा विस्तार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्ने, अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउने लगायतका विषयहरु आर्थिक ऐनको प्राथमिकतामा रहेको उहाँको भनाइ थियो । हरेक वर्ष राजस्वका दरहरु हेरफेर गर्दा लगानीकर्तालाई त्यसले समस्या पार्नसक्ने अवस्थालाई मध्यनजर गर्दै नीतिगत स्थिरतामा जोड दिइएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

     
     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij